परम्परागत चिनियाँ चिकित्सा र आयुर्वेदिक चिकित्सा प्रणाली हजारौं वर्ष पुराना उपचार विधि हुन् । यी विधिलाई आधुनिक चिकित्सा प्रणालीको परिप्रेक्ष्यमा मिथ्या विज्ञान भन्ने पनि छन् । कतिपय चिकित्सक र वैज्ञानिकहरूले यी प्रणालीलाई केवल प्लेसिबो प्रभाव भनेर भन्ने गरेका छन् ।
तर परम्परागत चिकित्सा प्रणालीको ऐतिहासिक महत्व, सांस्कृतिक प्रभाव र वैज्ञानिक प्रमाणले यस्तो धारणाको खण्डन गर्छन् । चिकित्सा र विज्ञानको सम्बन्ध बुझ्न पहिले विज्ञान र चिकित्साबीचको भिन्नता बुझ्नुपर्ने छ ।
विज्ञान सत्यको खोजी गर्छ, तर यो पूर्ण छैन । हरेक नयाँ खोजसँग पुराना सिद्धान्तहरू परिमार्जित हुन्छन् । जस्तै- न्युटनको नियमलाई आइन्सटाइनको सापेक्षताको सिद्धान्तले चुनौती दिएको छ । त्यस्तै, वैज्ञानिकता र वैधता समान होइनन् । कुनै उपचार वैज्ञानिक मापनमा सिद्ध नगरे पनि त्यसलाई प्रभावहीन भन्न सकिंदैन ।
चिकित्सा विज्ञानको खोजीमा छैन, यसको मुख्य उद्देश्य भनेको रोगको उपचार गर्नु हो । यदि कुनै उपचारले रोगीलाई लाभ पुर्याउँछ भने त्यो उपचार चाहे वैज्ञानिक आधारमा प्रमाणित होस् वा नगरे पनि चिकित्सकका दृष्टिकोणबाट प्रभावकारी मानिन्छ ।
आधुनिक चिकित्सा प्रणालीका कतिपय समर्थकहरूले टीसीएम र आयुर्वेदलाई ‘प्लेसिबो प्रभाव’ भनी दाबी गर्छन् । यी प्रणालीलाई प्लेसिबो मात्र मान्न नसकिने प्रमुख कारण छन् ।
इतिहास
यी प्रणाली हजारौं वर्षदेखि लाखौं मानिसले रोग रोकथाम र उपचारमा उपयोग गर्दै आएका छन् । अझै भनौं ऋषिमुनिहरुले प्रयोग गरेको जडिबुटी र तिनै जडिबुटीको कारण आयु बढाउन सकिने दाबी नकार्न सकिन्न ।
च्यवनप्राश, गुडूची, अश्वगन्धा जस्ता आयुर्वेदिक औषधिले इम्युनिटी बुस्ट गर्ने गुण देखाएका छन् । चिनियाँ औषधि विज्ञानमा अकुपञ्चर र हर्बल मेडिसिनले दीर्घकालीन प्रभावकारिता देखाएको छ । जिन्सेङ र रेइशी मसरुम जस्ता औषधिहरूले वैज्ञानिक रूपमा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक गुण पुष्टि गरेका छन् ।
वैज्ञानिक प्रमाण र अनुसन्धान
चिनियाँ वैज्ञानिक अनुसन्धान : अकुपञ्चरले स्नायुप्रणाली सक्रिय गर्न, रक्तप्रवाह सुधार गर्न र दुखाइ व्यवस्थापन गर्न मद्दत गर्ने वैज्ञानिक प्रमाण छन् । अध्ययनले अकुपञ्चरले न्युरोलोजिकल गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखाएको छ ।
सन् २००५ मा गरेको अध्ययनले अकुपञ्चरले लिम्बिक प्रणाली र सबकोर्टिकल ग्रे स्ट्रक्चर सक्रिय÷निष्क्रिय गर्दै पीडा र भावनात्मक प्रतिक्रियालाई नियन्त्रित गर्ने देखाएको छ।
सन् २००७ को अध्ययनले अकुपञ्चरले प्रिफ्रन्टल कर्टेक्स र डिफल्ट मोड नेटवर्कजस्ता मस्तिष्कका क्षेत्रबीचको कार्यात्मक सम्बन्ध बढाउने देखाएको थियो । जसले संज्ञानात्मक नियन्त्रण र पीडाको व्यवस्थापनलाई सहयोग पुर्याउँछ ।
त्यस्तै वैज्ञानिक झाङले २०१३ मा गरेको अध्ययनमा अकुपञ्चरले स्ट्रोक र पार्किन्सन्स रोगजस्ता न्युरोलोजिकल अवस्थाहरूमा न्युरोप्लास्टिसिटी बढाउने र कार्यक्षमता सुधार गर्ने पाइएको छ । मेङसिन लु २०२३ को अनुसार अकुपञ्चरले दुवै मस्तिष्कीय गोलार्ध (बिल्याटरल सेरेब्रल हेमिस्फेयर)मा कार्यात्मक सम्बन्धको असामान्यतालाई विभिन्न लक्ष्यमार्फत सुधार गर्न सक्छ । यसले स्ट्रोकपछिको मोटर रिकभरी (मांसपेशीको कार्यक्षमता पुनर्स्थापना)मा सहयोग पुर्याउँछ ।
सन् २०२३ मा भएको अध्ययनले शिरोधाराले मानसिक तनाव घटाउने र निद्राको गुणस्तर सुधार गर्ने साथै हृदय सम्बन्धी मापदण्डमा पनि सुधार ल्याउँछ भनेर प्रमाणित गरिएको छ । स्वातिले सन् २०१९ मा गरेको अध्ययनले पञ्चकर्मले रुमाटोइड आर्थराइटिसका लक्षणहरू घटाउन मद्दत पुर्याउन सक्छ भनेर देखाउँछ ।
अझै विभिन्न आयुर्वेद औषधि जस्तै बेसार, अश्वगन्धाको प्रभावकारिताको बारेमा धेरै अध्ययन भएको छ । जसले यी जडीबुटीमा एन्टिइन्फ्लेमेटरी र एन्टिक्यान्सर गुण भएको पुष्टि गरिसकेको छ ।
लाखौं व्यक्तिको अनुभवजन्य प्रमाण
आयुर्वेद जस्ता वैकल्पिक चिकित्सा पद्धतिले पनि केही दीर्घकालीन समस्याहरूमा सुधार ल्याएका छन् । यस्ता पद्धतिले पाचन, मानसिक तनाव र शारीरिक अस्वस्थतामा सकारात्मक प्रभाव पार्ने देखिएको छ । यद्यपि यी पद्धतिको वैज्ञानिक प्रामाणिकता केही हदसम्म कम छ ।
यसको सट्टा, पारम्परिक र आधुनिक चिकित्सा पद्धतिको संयोजनले स्वास्थ्यको समग्र उपचारमा सहयोग पुर्याउन सक्छ ।
प्लेसिबो भन्दा माथि प्रभावकारिता
अकुपञ्चरका क्लिनिकल ट्रायलहरूले विशेषगरी दुखाइ कम गर्ने सम्बन्धमा प्लेसिबो भन्दा बढी प्रभावकारिता देखाएका छन् । विभिन्न अध्ययनले पेन क्लिनिकहरूमा अकुपञ्चरको उपयोगले विभिन्न प्रकारका दुखाइलाई प्रभावकारी रूपमा कम गरेको पुष्टि गरेका छन् ।
यस्तै, आयुर्वेदिक औषधिले शरीरको जैविक क्रियाकलापमा देखाउने प्रत्यक्ष प्रभावले प्लेसिबो प्रभावको दाबीलाई खारेज गर्छ, किनकि यी औषधिले शरीरमा विशिष्ट परिवर्तन ल्याएर स्वास्थ्यमा सुधार गर्छन् । यसले पनि के पुष्टि गर्छ भने अकुपञ्चर र आयुर्वेदिक उपचार केवल मानसिक विश्वासको आधारमा मात्र नभई शारीरिक स्तरमा पनि प्रभावकारी छन् ।
यी पद्धतिहरूले शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलनमा जोड दिंदै शरीरलाई समग्र दृष्टिकोणबाट हेरिन्छ । पश्चिमी औषधिले दीर्घकालीन स्वास्थ्य समस्याको समाधान गर्न सक्दैन भने चिनियाँ उपचार र आयुर्वेदिक उपचार विधि जस्तै क्रोनिक पेन, स्ट्रेस डिसअर्डर र डाइजेस्टिभ समस्यामा प्रभावकारी देखिएका छन् । यी पद्धतिले रोगको रोकथामलाई प्राथमिकता दिन्छ र जीवनशैली सुधार, योग, प्राणायाम, अकुपञ्चर, र तुइना मसाज जस्ता विधिलाई स्वास्थ्य सुधारका लागि विशेष महत्व दिन्छ ।
आधुनिक अनुसन्धान र परम्परागत चिकित्सा प्रणाली
भारतमा आयुष मन्त्रालयले आयुर्वेदमा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन दिइरहेको छ । जसले आयुर्वेदलाई आधुनिक विज्ञानसँग जोड्दै यसको प्रभावकारितामा थप प्रमाण प्रस्तुत गर्ने प्रयास गरेको छ । बेसार जस्ता जडिबुटीहरूको औषधिले विश्वव्यापी बजारमा सकारात्मक परिणाम देखाएका छन् । र, यसका चिकित्सकीय गुणहरूको प्रभावकारिता बढ्दै गएको छ ।
साथै, न्युरोसाइन्स र इम्युनोलोजी जस्ता क्षेत्रमा आयुर्वेदिक विधिको प्रभावका विषयमा गहिरो अध्ययन भइरहेको छ, जसले भविष्यमा आयुर्वेदको वैज्ञानिक आधारलाई अझ मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै चीनमा पारम्परिक चिनियाँ चिकित्सा प्रणालीलाई आधुनिक अनुसन्धानद्वारा सशक्त पार्ने कार्य भइरहेको छ । कोभिड–१९ महामारी समयमा परम्परागत चिनियाँ चिकित्साका औषधिहरूले उपचारमा सकारात्मक परिणाम देखाएको प्रमाणित भएको छ ।
अकुपञ्चरले नसा सम्बन्धी समस्या, माइग्रेन र दुखाइ व्यवस्थापनमा उल्लेखनीय प्रभावकारिता देखाएको छ । अझै भनौं विश्व स्वास्थ्य संगठनले आयुर्वेदलाई वैज्ञानिक आधारमा अध्ययन गर्न र प्रभावकारी विधिका रूपमा अघि बढाउन विशेष ध्यान दिएको छ । भारत र चीनका विश्वविद्यालयहरूले जडिबुटी, अकुपञ्चर र योगका प्रभावको क्लिनिकल अध्ययन गर्दैछन् ।
परम्परागत र आधुनिक चिकित्सा प्रणालीको एकीकरण
परम्परागत र आधुनिक चिकित्सा प्रणालीको एकीकरण मानव स्वास्थ्य सुधारमा नयाँ क्रान्ति ल्याउन सक्ने माध्यम बन्न सक्छ । उदाहरणको रूपमा, क्यान्सर उपचारमा मेडिकल चिकित्सा प्रणालीका किमोथेरापी र रेडियोथेरापीसँगै आयुर्वेदिक हर्बल मेडिसिन र चिनियाँ चिकित्सा प्रणालीका औषधिहरूले उपचारका दुष्प्रभावहरू कम गर्न सक्छन् । दुखाइ व्यवस्थापनमा पनि अकुपञ्चर र आयुर्वेदिक मसाजलाई पेन किलर औषधिसँग समन्वय गरेर दीर्घकालीन समाधान प्राप्त गर्न सकिन्छ ।
समग्रमा आयुर्वेद र चिनियाँ पद्दतिले आजको विज्ञान र चिकित्सा क्षेत्रलाई धेरै नयाँ विचार र दृष्टिकोण दिएका छन् । जसले आधुनिक चिकित्सा प्रणालीलाई पूरकको रूपमा काम गर्न सक्छ । यद्यपि, यी प्रणालीहरूको प्रभावकारिता र कार्यक्षमता अझ प्रमाणित गर्न थप प्रमाण आधारित अध्ययन आवश्यक छ ।