पायलको पार्श्वकथा

पायलको पार्श्वकथा


गत मेको अन्तिम साता ७७औं कान्स फिल्म फेस्टिभलमा पायल कपाडिया निर्देशित फिल्म ‘अल वी इम्याजिन एज लाइट’ ले ग्रान्ड प्रिक्स अवार्ड जित्यो । फ्रान्समा हुने संसारकै सबभन्दा प्रतिष्ठित मानिने कान्स फिल्म फेस्टिभलको यो दोस्रो सर्वोच्च पुरस्कार हो । त्यसपछि सामाजिक सञ्जाल तथा मिडियामा उनको चर्चा चुलिन थाल्यो ।

पछिल्लो ३० वर्षमा कपाडियाको फिल्म सर्वोत्कृष्ट पुरस्कार ‘पाम डि’अर’ का लागि कान्समा प्रतिस्पर्धामा मनोनित हुने पहिलो भारतीय फिल्म थियो । यो नै आफैंमा उपलब्धि मानिएका बेला ग्राण्ड प्रिक्स जित्नु झन् ठूलो उपलब्धि रह्यो । भारतको फिल्म स्कुल ‘फिल्म एन्ड टेलिभिजन इन्ष्टिच्युट अफ इन्डिया’ (एफटीआईआई) पुनेकी छात्रा पायलले कान्समा अवार्ड जितेको यो पहिलो पटक भने होइन ।

उनको डकुमेन्ट्री‘अ नाइट अफ नोइङ नथिङ’ ले सन् २०२१ को कान्समा उत्कृष्ट डकुमेन्ट्रीको ‘गोल्डन आई’ अवार्ड जितेको थियो । यो अवार्ड जित्ने उनी पहिलो भारतीय पनि हुन् । सन् २०१७ को कान्समा उनको सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड्स’ ले सर्ट फिक्सन फिल्म विधामा प्रतिस्पर्धा गरेको थियो ।

पायलले कान्समा पाएको सफलतापछि सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लाग्यो । त्यसमध्येको एउटा ट्विटले भने मेरो ध्यान तान्यो । लेखिएको थियो- ‘पायलले ग्रान्ड प्रिक्स जितेर कान्सबाट फर्के पनि मुद्दाका लागि अदालत त धाउनै पर्छ !’ एफटीआईआईमा भारतीय जनता पार्टीका समर्थक गजेन्द्र चौहानलाई प्रमुख बनाइएपछि भएको व्यापक विरोधबारे म थोरै जानकार थिएँ । तर, त्यो विरोधको अग्रमोर्चामा पायल पनि थिइन् भन्नेचाहिं थाहा भएन । त्यही ट्विट पढेपछि कौतूहल मेट्न खोजी गर्दा आन्दोलनको नेतृत्व नै उनैले गरेको भन्ने जान्दा मलाई आनन्द लागेको थियो ।

पायलले झेलेको मुद्दाको पार्श्वकथा हेर्न सन् २०१५ को एफटीआईआईसम्म पुग्नुपर्छ । त्यो बेला पायल निर्देशन पढ्दै थिइन् । मोदी सरकारले टेलिभिजन अभिनेता गजेन्द्र चौहानलाई एफटीआईआईको अध्यक्ष नियुक्त गरेको थियो । गजेन्द्रले टेलिभिजन सिरिज महाभारत (सन् १९८८-९०) मा युधिष्ठिरको भूमिका निभाएका थिए । उनमा सिने कलाको समझ, अध्ययन र कुनै भिजन नभए पनि सत्तारुढ भाजपासँगको चौहानको सम्बद्धता नै उनको नियुक्तिको एकमात्र योग्यता भएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । सरकारले अन्य सार्वजनिक संस्थानमा पनि पार्टी निकट व्यक्तिलाई नियुक्त गरेको भन्दै विद्यार्थी आक्रोशित थिए ।

विद्यार्थीहरू प्रदर्शनबाट महिनौं पछि हटेनन् । आन्दोलन चलिरह्यो, फैलियो पनि । निकै दिनसम्म पनि विद्यार्थी नगलेपछि यो आन्दोलनलाई प्रशासनले गम्भीर रूपमा लिन थाल्यो । एफटीआईआई प्रशासनले विद्यार्थीलाई ‘रेस्टिकेट’ गर्ने धम्की दिन थाल्यो । तैपनि उनीहरू हटेनन् । एफटीआईआई एक सरकारी फिल्म स्कुल भएको करदाताको पैसामा पढ्नुको सट्टा ‘आन्दोलन गरेर’ मस्ती गर्नेहरू हिन्दु विरोधी एवं देशविरोधी हुन् भनेर स्थापित गर्न प्रशासन सफल भयो । यसैक्रममा, एक दिन मध्यरातमा घेराबन्दी गरेर पुलिसले ५ जना विद्यार्थीलाई गिरफ्तार गर्‍यो । यसमा पायल पनि थिइन् ।

आन्दोलनलाई अघि बढाउन विद्यार्थीले भोक हड्ताल गरे । तैपनि प्रशासनले वास्ता गरेन । १३९ दिनपछि आन्दोलन त्यसै रोकियो । आन्दोलनकारी विरूद्ध एफटीआईआई प्रशासनले ‘एफआईआर’ दर्ता गरायो । पायलले पाउने छात्रवृत्ति रोकियो र ‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ बाट पनि उनको नाम काटिदियो । यो सबै विवरण समेत समेटेर पायलले बनाएको डकुमेन्ट्री ‘अ नाइट अफ नोइङ नथिङ’ले नै कान्समा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो ।

यो डकुमेन्ट्रीका एक पात्रको एउटा एकालाप मलाई निकै मनपरेको थियो-उनी भन्छिन्, ‘हाम्रा स्मृतिहरू हाम्रो समयसँगै अगाडि बढ्दैनन् । यादहरू पछाडि छोडिन्छन् र बिर्सिइन्छन् ।’ पायल र उनका साथीहरूले गरेको आन्दोलन असफल भए पनि संस्थागत स्मृतिमा रहिरहोस् भनेर यो डकुमेन्ट्री बनाएका थिए । भाजपा सत्तामा आएपछि विभिन्न कारणले अन्य सार्वजनिक विश्वविद्यालयका विद्यार्थीहरू पनि बारम्बार आन्दोलनमा होमिएका थिए । ती समग्र आन्दोलनलाई पायलको डकुमेन्ट्रीले समेटेको छ ।

पत्रकार गौरी लङ्केशको हत्या, जातका कारणले हुने ‘अनर किलिङ’, गाई मारेको आरोपमा भएका ‘लिन्चिङ’, महिलाको ‘ग्याङ रेप’ र हत्या, कथित माथिल्लो जातको क्याम्पस प्रशासनले जातका आधारमा गरेको विभेदका कारण हैदरावाद सेन्ट्रल युनिभर्सिटीका पीएचडी छात्र रोहित वेमुलाले गरेको आत्महत्या, जवाहरलाल युनिभर्सिटी (जेएनयू) नयाँ दिल्लीमा भएको ३०० प्रतिशतको शुल्क वृद्धिको विरोधमा भएको आन्दोलन, सिएए र एनआरसी विरूद्धको आन्दोलनमा जेएनयू, जामिया मिलिया र अलिगढ मुस्लिम युनिभर्सिटीका विद्यार्थीमाथि भएकोे धरकपड, कुटपिट र गिरफ्तारी, होस्टल र पुस्तकालयका विद्यार्थी र शिक्षकमाथि त्यहीं ‘घुसेर’ पुलिसले मच्चाएको बर्बरता आदि सम्झिरहनुपर्ने घटना हुन् । स्वतन्त्र भारतको इतिहासमा विशेष गरी विद्यार्थीमाथि यो हदको पुलिस बर्बरता असोचनीय थियो । विद्यार्थी आन्दोलनमै सरिक भएका जेएनयूका पीएचडी छात्र उमर खालिद अहिले पनि जेलमै छन् । ‘अ नाइट अफ नोइङ नथिङ’ ले आउने पुस्तालाई यो निस्सासिंदो समय सम्झाइरहनेछ ।

पायलले कान्समा ग्रान्ड प्रिक्स जितेको सिनेमाको चर्चा गर्नुअघि ‘विमिन टेलिङ विमिन्स स्टोरिज’ अर्थात् महिलाको कथा महिलाले नै भन्ने अभ्यासबारे केही कुरा राख्नु मनासिब हुन्छ । किन ? किनकि, अधिकांश सिनेमामा महिलाको चरित्रकरण र प्रस्तुतीकरण पुरुषले गरेका हुन्छन् । ‘मेल गेज’ ले भरिएका सिनेमाले ‘ख्याल गर्ने’ भनेको आम पुरुष दर्शकलाई मात्र हो । महिलाको कथा महिलाले नै लेखे र भने, बल्ल महिलाको मर्म पर्दामा आउँछन् । पायलको ‘अल वी इम्याजिन एज लाइट’ यस्तै एक सिनेमा हो ।

पायलको पार्श्वकथा

यो सिनेमाले तीन महिलाको कथा भन्छ, जसमध्ये दुई जना नर्स हुन् । भारतका अन्य राज्यबाट आएर मुम्बईका अस्पतालमा काम गर्ने यी महिलाहरू भिन्न-भिन्न उमेर समूहका छन् । ‘फिल्म कम्प्यानियन’ युट्युब च्यानलमा, अनुपमा चोपडासँगको अन्तर्वार्तामा पायल भन्छिन्, ‘काम वा पढाइको दौरान आफ्नो परिवारबाट टाढा भएपछि साथीहरू नै परिवार बन्छन् । अरू सम्बन्धमा जस्तो मित्रतामा परिभाषाको आवश्यकता पर्दैन । मुम्बई अवसरको शहर पक्कै हो तर शहरको चरित्र निर्दयी हुनाले खुशीसाथ बाँच्न पैसा अहम् हुन्छ । यो विरोधाभासले मलाई निकै तानेको थियो ।’ पायलले आफ्नो डेब्यु फिचर सिनेमामा मुम्बई जस्तो ‘निर्दयी’ शहरमा महिलाको मित्रताको कथा बुनेकी छन् ।

भनिन्छ, मान्छेको सार्वजनिक जीवनमा निजी जीवनको झल्को हुन्छ । पायलले मुम्बईको परिवारबाट टाढा भएपछि एफटीआईआईमा परिवार जस्तै साथीहरू पाएकी थिइन् । आफूले अनुभूत गरेको मित्रताको मिठास उनले यो सिनेमा मार्फत सबैलाई बाँडेकी छन् । पायलको जन्म मुम्बईमा भएको हो । पाँचदेखि बाह्र कक्षासम्म आन्ध्रप्रदेशमा पढेर उनी स्नातकका लागि मुम्बई नै फर्किइन् । एफटीआईआई प्रवेशका लागि गरेको पहिलो प्रयास असफल भएपछि उनले कुनै विज्ञापन एजेन्सीमा केही वर्ष काम गर्न पुगिन् । सन् २०१२ मा भने एफटीआईआईमा निर्देशन र पटकथा पढ्न उनको छनोट भयो ।

अनुराग माइनस वर्मा नामक पडकास्टमा पायललाई फिल्मप्रति रुझान आउनुको कारण बताएकी छन्, ‘कलेज पढ्दाताका मुम्बईमा हुने ‘मामी’, ‘मिफ’ र ‘एक्पेरिमेन्टा’ जस्ता फिल्म फेस्टिभलमा निकै फिल्म हेरिन्थ्यो । यस्ता फेस्टिभलमा विद्यार्थीलाई टिकट सस्तो हुनाले धेरै सिनेमा हेर्न सम्भव थियो । यसले सिनेमाप्रतिको बुझाइलाई फराकिलो पारिदियो । कथाहरूलाई यसरी पनि भन्न सकिने रहेछ भन्ने फरक दृष्टि दियो । त्यसैले फिल्म फेस्टिभलको महत्व सिनेमा बनाइरहेका र सिनेमा बनाउन चाहने दुवैलाई हुन्छ ।’

महिलाहरू फिल्म मेकिङमा प्रशस्त मात्रामा अझै किन छैनन् भन्ने प्रश्नको जवाफमा पायल भन्छिन्, ‘हामी अधिकांशको पढाइ सक्ने बित्तिकै जागिर खानुपर्ने बाध्यता हुन्छ । अरू रेगुलर करिअर छोडेर एफटीआईआई जस्तो संस्थामा फिल्म पढ्न जाने निर्णय लिनलाई एकदमै धेरै ‘प्रिभिलेज’ चाहिन्छ ! म यहाँ पुग्नुमा मेरो ब्याकग्राउन्ड हेरौं । मेरो आमा चित्रकार हो, मेरो हजुरआमा समेत कलेज जानुभएको थियो । मलाई अरू महिलालाई जस्तो पढाइसक्ने बित्तिकै पैसा कमाउने बाध्यता थिएन । यस हिसाबमा म एक प्रिभिलेज्ड महिला हो ।’

पायलको पार्श्वकथा

पायलको राजनीतिक चेतना पनि उम्दा छ । उनले पटक-पटक भन्ने गरेकी छिन् ‘सबै कुरामा राजनीति हुन्छ । अझ, सिनेमाको सुरुवात नै राजनीतिक सिनेमाबाट भएको हो । सोभियतका प्रोपोगाण्डाले भरिएका राष्ट्रवादी सिनेमा हुन् वा अमेरिकाका ‘बर्थ अफ द नेशन’ मार्काका । तपाईंको राजनीति, पृष्ठभूमि र गेज सिनेमामा आई नै हाल्छन् । बाठो भएर लुकाउन वा छिपाउन खोजे पनि त्यो दर्शकको नजरबाट बच्न सक्दैन । फेरि, आफूलाई अराजनैतिक करार गर्नु पनि आफैंमा एउटा राजनीति हो ।’

सामाजिक सञ्जालबाट टाढा बस्न रुचाउने पायलले केही दिनअघि वक्तव्य जारी गरिन् । त्यसमा, अवार्ड जितेपछिका दिनहरू सपना जस्तै लागेको र बधाई तथा शुभकामनाको बाढी नै आएकाले एकमुष्ट धन्यवाद दिएकी थिइन् । वक्तव्यमा उनले एफटीआईआईको महत्व दर्शाएकी थिइन्, ‘एफटीआईआई यस्तो संस्था हो जहाँ हामी फिल्म निर्माणकोे विचार मात्र नभई हामी बसिरहेको दुनियाँको पनि विमर्श गर्न सक्थ्यौं । फिल्म निर्माणको काम शून्यमा हुँदैन । बहस, विचार-विमर्श र आत्मचिन्तनको माध्यमबाट बनाउन चाहेको सिनेमाको धेरै नजिक पुग्न हामी सफल हुन्छौं । एफटीआईआई स्वतन्त्र विचारलाई प्रोत्साहन गर्ने ठाउँ हो । हाम्रो ब्याचमा धेरै विविधता थियो । देशका हरेक कुनाबाट विद्यार्थी आएका थिए । एक-अर्काको कुरामा सधैं सहमत हुन नसके पनि यस्तै असहमतिबाट हामीले धेरै कुरा सिक्यौं ।’

पायलको पुस्ताले सिनेमा पढेर, विचारमा खारिएर, सामाजिक चेतना सहितका सिनेमा बनाउनु एउटा सुखद् संयोग हो । त्यसमाथि अन्तर्राष्ट्रिय अवार्ड नै जित्न सक्नुले भविष्यलाई आशावादी बनाएको छ । १० वर्षयता नरेन्द्र मोदी राजमा बलिउड नै भाजपाको वैचारिकीमै नतमस्तक भइरहेको छ । त्यसको प्रभाव सिनेकर्मी लगायत सिनेमाको वैचारिकीमा पनि परेको छ । यस्तो कठिन समयमा निरंकुशता विरुद्ध उभिएर, मुद्दा झेलेर सिनेमा बनाइरहन ठूलै साहस चाहिन्छ । उनले कान्समा पाएको ‘ग्रान्ड प्रिक्स’ अवार्डले त्यही प्रतिरोधी साहसलाई सम्मान गरेको छ ।

पायलले क्यान्समा अवार्ड पाएपछि २८ मेमा भारतीय सांसद, कांग्रेस पार्टीका नेता एवं सुप्रसिद्ध लेखक शशी थरुरले प्रधानमन्त्री मोदीलाई पायल र उनका साथीहरूमाथि लगाइएको ‘मुद्दा’ फिर्ता लिन आग्रह गरेका छन् । उनले ट्विटरमा लेखेका छन्-‘मोदीजी, यदि इन्डियालाई पायलको यो सफलतामा गर्व छ भने तपाईंको सरकारले नियुक्त गरेको अयोग्य अध्यक्षको विरोध गर्ने पायल र एफटीआईआईका उनका साथी विरुद्धको मुद्दा तत्काल फिर्ता लिनुपर्दैन ?’ थरुरले यो प्रश्न किन पनि उठाएका थिए भने यसको दुई दिन पहिले २६ मेमा प्रधानमन्त्री मोदीले समेत पायललाई बधाई दिंदै ट्विटरमा नै लेखेका थिए-‘पायलको यो ऐतिहासिक सफलतामा भारतलाई गर्व छ ।’

तेस्रो कार्यकालका लागि शपथ लिने तयारी गरिरहँदासम्म मोदी सरकारले मुद्दा फिर्ता भने लिएको छैन ।



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School