विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र पाणीनि तपोभूमि हो। व्यापक प्रचारप्रसार नहुँदा ओझेलमा परेको यो क्षेत्रको महत्व बुझाउन विश्व भाषासँग सम्बन्धित सबै संघसंस्था लाग्नुपर्छ। पाणिनि ऋषिको तपस्यास्थल पाणीनि तपोभूमि हो भन्नेमा विश्वका धार्मिक तथा बौद्धिक व्यक्तिहरूमा कुनै मतभिन्नता देखिँदैन।
श्रीवर्षाचार्यको सुयोग्य शिष्य पाणीनिको जन्मस्थल पाकिस्तानको लाहोर हो। उनले तक्षशिला विश्वविद्यालयमा अध्ययन पूरा गरेका थिए। पहिले पाटनीपुत्र नगर (हालको पटना) मा अध्ययन गर्दै गर्दा सर्वोत्कृष्ट हुन नसकेपछि शिवजीको आराधना गर्न हिमालय क्षेत्रतर्फ जान्छु भनी हिँडेका र तपस्या गर्ने स्थल खोज्दै जाँदा अर्घाखाँचीको पणेंनामा तपस्या गरेको भन्ने स्वामी कृष्णानन्द परमहंसले व्याख्या गरेका र उनले लेखेका विभिन्न ग्रन्थमा भेटिन्छ।
ध्यान तथा तपस्या गर्न मरुभूमि उपयुक्त नहुने, हिमालले ढाकेको ठाउँ पनि उपयुक्त हुँदैन भन्ने विचार गर्दै ध्यान र तपस्याका लागि जनसमुहको कोलाहलबाट टाढा रहेको समशीतोष्ण ठाउँ उपयुक्त हुने सोचेर उत्तम स्थानको खोजी गर्दै आउँदा दुर्वासा ऋषिले तपस्या गरेको दुर्वासा गुफा र रुरु क्षेत्रको बिचमा पर्ने घनघोर जंगलको बिचमा रहेको तपोभूमि फेला पर्यो। पणेंनामा सोचेजस्तै स्थान फेला परेपछि पाणिनि ऋषिले यहीं तपस्या गरेका थिए।
सुरुवातमा रूखका पात, मध्यमा पानी मात्र पिएर तथा अन्त्यमा हावा मात्र खाएर तपस्या गरेपछि भगवान् शिवजी प्रसन्न भएको स्वामी कृष्णानन्द परमहंसले प्रकाशन गरेका विभिन्न पुस्तकमा उल्लेख छ।
पाणीनि ऋषिको कठोर तपस्याबाट भगवान् शिवजी प्रसन्न भएर एक नर्तक (नाच्ने) को रूप धारण गरी डमरू बजाउँदै आएर नाचेका थिए। सोही नाच्ने क्रममा डमरूको आवाजबाट अइउण्, ऋलृक आदि चौध सूत्रको स्वर निस्किएको र सोही स्वरबाट पाणीनिले संस्कृत व्याकरण रचना गरेका थिए।
शिवजी प्रसन्न भएर प्रतिपादन गरेको चौध सूत्रलाई अहिले ‘माहेश्वर सूत्राणी’ पनि भन्ने गरिएको छ। सोही सूत्रका आधारमा संस्कृत व्याकरणको रचना गरिएको हो। १४ सूत्र भन्नाले अइउण्, ऋलृक्, एओङ्, ऐऔच्, हयबरट्, लण्, यमङणनम्र, झभय्, घढधस्, जवगडदश्, खफछटथचटतप्, कपय्, शषसर् र हल रहेका छन्। १४ सूत्रमा अन्तिम अक्षरको महत्व हुँदैन। अघिल्ला अक्षरबाट संस्कृत र नेपाली भाषाको स्वर, वर्ण र व्यञ्जन वर्ण बनेका छन्। यिनै सूत्रका आधारमा संहिता, गुण, वृद्धि, एकवचन, बहुवचन, प्रत्यय आदि बनेका छन्।
संस्कृत भाषामा रहेका हिन्दु धर्मका चार वेद तथा अन्य ५० भन्दा बढी संस्कृत पुस्तक अंग्रेजी भाषामा अनुवाद गरेका मेकस मुलरले भनेका छन्– ‘हिन्दुहरूको व्याकरणर अन्वयको योग्यता विश्वमा भएका जातिहरूको व्याकरणभन्दा श्रेष्ठ छ।’
पाणिनि ऋषिले पणेंनामा तपस्या गरेर निस्किएको चौध सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको संस्कृतका ज्ञाता पण्डित केशवानन्द मरासिनीले बताए। पाणीनिका चौध सूत्रलाई प्रचार–प्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणीनिपछि कात्यानी र पतञ्जलीसमेत लागिपरेका थिए भन्ने चर्चा भारत र नेपालका धार्मिक विद्वान्ले गर्ने गरेका छन्।
विश्वमा परिचित हुनुपर्ने नेपालकै ऐतिहासिक क्षेत्र
विश्वकै प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति तथा रचना भएको स्थान हो– अर्घाखाँचीको पाणीनि तपोभूमि। यो तपोभूमि अर्घाखाँची जिल्लाको पाणीनि गाउँपालिका वडा नं १ र २ को सिमाना दहको लेकमा पर्दछ। साविक पणेंना गाउँ विकास समितिमा पर्ने यो स्थलमा हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट पाणीनि नाम गरेका ऋषि आएर तपस्या गरेका थिए।
पाणीनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो। अर्घाखाँचीको पूर्वी सिमाना पाल्पा जिल्लाको सिमानामा पर्ने तपोभूमि क्षेत्र ऐतिहासिक मात्र नभएर प्राकृतिक रूपमा पनि सुन्दर छ। यस तपोभूमिबाट उत्तर फर्कंदा हिमालका हिम शृंखला, दक्षिण फर्कंदा तराईका फाँट तथा भारतीय भूमि गोरखपुरसम्म देख्न सकिन्छ। गुराँसका बोट तथा विभिन्न जडिबुटी पाइने यो क्षेत्र प्राकृतिक उपहारका रूपमा अवस्थित छ। यसलाई स्वर्गको टुक्राका रूपमा चित्रण गर्ने गरिएको छ।
अर्घाखाँचीको पाणीनि र पाल्पा जिल्लाको सिमानामा पर्ने तीनघरे (तीनधारे) बाट केही मिनेट उकालो चढेपछि यो क्षेत्रमा पुग्न सकिन्छ। अहिले यस क्षेत्रमा जान सडक सुविधा पुगेको छ। पिच बाटोकै प्रयोग गरेर पाणीनि तपोभूमि अर्थात् पाणीनि दह पुग्न सकिन्छ। बुटबलबाट तानसेन हुँदै पोखराथोकको बाटो प्रयोग गरेर र सालझण्डी ढोरपाटन सडक प्रयोग गरेर झन्डै दुई घण्टामा पुग्न सकिन्छ। यस तपोभूमिमा पुगेपछि पर्यटकले छुट्टै आनन्द प्राप्त गर्दछन्।
पहाडको चुचुरोमा समथर भूभाग। पाणीनि शिव सिद्ध आश्रममा रहेका विभिन्न देवीदेवता गणेश मन्दिर, हनुमान मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर तथा विभिन्न देवीदेवताका मन्दिर, धर्मशाला, पुराण मण्डप, फलफूलका बोटहरू सँगै रहेको समथर भूभागमा रहेको ऐतिहासिक दह। दहको बिचमा भगवान् शिवजीको मूर्ति।
साँच्चिकै प्रफुल्लित बनाउँछ यहाँ पुग्ने जोकोहीलाई। यस क्षेत्रको ऐतिहासिक पृष्ठभूमिसहित मनोरम प्राकृतिक दृश्यहरूको प्रचार–प्रसार गर्न सके विश्वकै ध्यान तान्न सक्ने पाणीनि तपोभूमि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्कर पोख्रेलले बताए। ‘यो क्षेत्रमा पाणीनि ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको छ’, उनले भने, ‘प्रचार–प्रसार गर्न भाषाको जननी क्षेत्रका रूपमा पनि स्थापित गर्न सकिन्छ।’
यो क्षेत्रका अनेक विशेषता छन्। वर्षा हुँदा एउटै भूभागबाट बगेको पानी उत्तरतर्फ गएमा कालिगण्डकी नदी र दक्षिण क्षेत्रमा बगेमा वाणगंगा नदीमा मिसिने गर्दछ। पवित्र धार्मिकस्थल प्युठानको स्वर्गद्वारी, गुल्मीको रेसुंगा र रुरु क्षेत्र, बुद्धको जन्मस्थल लुम्बिनी, अर्घाखाँचीकै प्रसिद्ध सुपा देउरालीनजिकै पर्ने यो भूभाग धार्मिक तथा प्राकृतिक दृष्टिकोणले पनि महत्वपूर्ण छ।
साउन महिनाभर यँहा साउने मेला लाग्ने गर्दछ। दैनिक रूपमा नित्य पूजाआजा हुनुका साथै साउन महिनामा रुद्राभिषेक, शतचण्डि तथा वेद पाठ पारायणलगायतका कार्य वैदिक विधिपूर्वक हुँदै आएको छ। साउन महिनाभर तपोभूमिमा रहेको दहमा नुहाउन श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति हुने गर्दछ।
पाणीनि गाँउपालिकाको नाम पाणीनि ऋषिले तपस्या गरेको तपोभूमिको नामबाट रहन गएको गाउँपालिकाका संस्थापक अध्यक्ष अच्युत गौतमले बताए। अर्घाखाँची जिल्ला र आसपासका क्षेत्रमा पाणीनि ऋषिको नामबाट विभिन्न विद्यालय, क्याम्पस, संघसंस्था तथा व्यवसाय पनि छन्।
ऐतिहासिक पृष्ठभूमि बोकेको तथा पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण यो क्षेत्रमा पूर्वाधार निर्माणका केही काम गर्नुपर्ने आवश्यकता देखिन्छ। आगन्तुकका लागी उपयुक्त आवास, सहज यात्रा, मनोरञ्जन तथा अध्ययनका लागि पर्याप्त साधनको उपलब्धता बढाउनुपर्ने देखिन्छ।
प्रचारप्रसारका लागि ‘पाणीनि तपोभूमि सम्मेलन’ गरिँदै
प्राचीनता र ऐतिहासिक पृष्ठभूमि बोकेको तपोभूमिलाई विश्वमाझ चिनाउन पाणीनि गाउँपालिकाले बृहत् सम्मेलन गर्न लागेको छ। यही चैत २७ र २८ गते दुईदिने सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए। यस स्थानको महत्व र गरिमालाई नेपालभित्र मात्र नभई विश्वभर उजागर गर्ने ध्येयले कार्यक्रम गर्न लागिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका मन्त्रीहरू, सचिवहरू आउने कार्यक्रम तय भएको छ। साथै श्री १०८ ज्ञानानन्द स्वामी सरस्वती लगायतका विद्वान पण्डितहरू आउने न्यौपानेले बताए।
कार्यक्रममा दुई दिनसम्म स्थलका बारेमा मन्थन गरिने, यसका ऐतिहासिक प्रमाणहरू दस्ताबेजीकरण गरिने, कार्यपत्र प्रस्तुतीकरण, गुरुयोजना पेस तथा घोषणापत्र जारी गर्ने तयारी रहेको आयोजकले जनाएको छ।
लुम्बिनीमा आएका पर्यटक तथा सुपा देउरालीमा आएका भक्तजनलाई पाणीनि तपोभूमि लैजान सके यो स्थान पर्यटकीय स्थलका रूपमा स्थापित हुन सक्छ। संस्कृत भाषा अध्ययन गर्नेले मात्र नभई विश्वका विविध भाषाको अध्ययन गर्नेले पाणीनि ऋषिका बारेमा अध्ययन गर्दछन्, तर यो तपोभूमिको गरिमा ओझेलमा परेको पाणीनि गाउँपालिका– १ का स्थानीय नारायण पोख्रेलले बताए।
लुम्बिनीभित्र पाणीनि तपोभूमि, गुल्मीको रेसुंगा, रुरुधाम, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको पाणीनि तपोभूमि र सुपा देउरालीजस्ता धार्मिक तथा ऐतिहासिक स्थलको एकीकृत कार्ययोजना बनाउन सके पर्यटकीय स्थलका रूपमा विकास हुने सम्भावना रहेको पोख्रेलको भनाइ छ।
विसं २०७६ सालमा सरकारले देशका सय गन्तव्यभित्र पारेको पाणीनि तपोभूमिलाई पर्यटकीय दृष्टिकोणबाट विकास गरेर लैजान आफूहरू लागिपरेको पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताए। यसको प्रचारप्रसार कम भएको हिसाबले पनि यसै स्थानमा सम्मेलनको अयोजना गर्न लागिएको उनको भनाइ छ।
प्रकाशित: २५ चैत्र २०८१ ०९:४९ सोमबार