प्रकाशित मिति : ९ असार २०८३, मंगलबार

फोटो: कर्मा ग्याल्जेन शेर्पा
नेपाली पर्वतारोहणको इतिहासमा अहिले पुरुष आरोहीहरूसँगै महिला आरोहीहरूको पनि उत्तिकै उल्लेखनीय वृद्धि भएको छ। कीर्तिमानहरू महिलाको नाममा पनि धेरै थपिएका छन्। पछिल्लो समय यो इतिहासमा महिलाहरूले पनि आफ्नो साहसको नयाँ पाना थपिरहेका छन्। तीमध्ये अग्रपंक्तिमा आउने एउटा नाम हो— पूर्णिमा श्रेष्ठ।
एउटा हातमा क्यामेरा बोकेर काठमाडौँका सडक र गल्लीहरूमा दौडिने फोटो पत्रकार कसरी हिमालको चुचुरोमा पुगेर विश्वकै दुर्लभ ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम लेखाउन सफल भइन्? यो कथा केवल हिमाल आरोहणको मात्र होइन, यो अदम्य साहस, समाजको दृष्टिकोण, आर्थिक अभाव र परम्परागत बन्धनमाथि विजय प्राप्त गरेको एउटा जीवन्त प्रेरणादायी दस्तावेज हो ।
पूर्णिमा श्रेष्ठ नेपालकी एक अग्रणी हिमाल आरोही, फोटो पत्रकार (फोटोजर्नलिस्ट) र जलवायु परिवर्तनकी पैरवीकर्ता हुन्। उनी विश्वकी पहिलो महिला हुन्, जसले एकै सिजनमा माउन्ट एभरेष्ट (सगरमाथा) तीन पटक चढ्ने कीर्तिमान कायम गरेकी छिन्। सन् २०२४ को मे महिनामा मात्र १३ दिनमा (मे १२, १९ र २५) उनले यो उपलब्धि हासिल गरिन्, जसलाई गिनिज वर्ल्ड रेकर्डले पनि आधिकारिक रूपमा मान्यता दिएको छ। हालसम्म उनले सगरमाथा ६ पटक चढिसकेकी छिन् र ८,००० मिटरभन्दा अग्ला ८ वटा हिमालको सफल आरोहण गरिसकेकी छिन्।

आरुघाटदेखि काठमाडौँको सङ्घर्ष
पूर्णिमा श्रेष्ठको जन्म गोरखा जिल्लाको आरुघाट गाउँपालिका–९ आरुटार (आरुघाट) मा एउटा मध्यमवर्गीय किसान परिवारमा भएको हो। ग्रामीण परिवेशमा हुर्केकी पूर्णिमाको बाल्यकाल अन्य नेपाली गाउँले बालबालिकाको जस्तै सामान्य थियो। घरमा पानीसमेत नभएको अवस्थामा उनी ठूलो भाँडो बोकेर पानी बोक्ने गर्थिन्। बाबुआमा जीविकोपार्जनका लागि खेतीपाती गर्थे। सानो छँदा उनले कहिल्यै आफू ठूलो भएर पर्वतारोही बन्ने सपना नदेखेको बताइन्। उनका लागि हिमाल केवल टाढाबाट देखिने हिउँको एउटा सेतो थुप्रो मात्र थियो।
आरुघाट गाउँ मनास्लु सर्किटको बाटोमा पर्छ, तर उनीहरूको परिवारसँग आधारभूत सुविधासमेत थिएन। गाउँको परम्पराअनुसार छिट्टै विवाह गरेर घरजम गर्नुपर्ने दबाब थियो, तर उनले यो बाटो अस्वीकार गरिन्। उनी सानैदेखि “केही ठूलो काम गर्नुपर्छ” भन्ने सोच राख्थिन्। उच्च शिक्षा हासिल गर्ने र जीवनमा केही फरक गर्ने सपना बोकेर १६ वर्षको उमेरमा उनी काठमाडौँ आइन्। आफन्तसँग बसेर एसएलसी उत्तीर्ण गरेपछि उनले मास कम्युनिकेसन र जर्नलिज्म (पत्रकारिता) विषयमा अध्ययन गरिन्।
कलेज पढ्दापढ्दै उनी पत्रकारिता क्षेत्रमा सक्रिय भइन् र आफ्नो माध्यम रोजिन्— फोटो पत्रकारिता। “तस्बिरले हजार शब्द बोल्छ” भन्ने मान्यताका साथ उनी कारोबार आर्थिक दैनिकमा फोटो पत्रकारको रूपमा काम गर्न थालिन्। क्यामेरा भिरेर राजनीतिक आन्दोलन, सामाजिक उथलपुथल, बजारका दृश्यहरू र दैनिक जीवनका क्षणहरूलाई कैद गर्नु उनको दैनिकी बन्यो। उनी फोटो जर्नालिष्ट क्लबकी सदस्य पनि हुन् र न्यूयोर्क टाइम्सले पनि उनले खिचेका थुप्रै फोटोहरू छापिसकेको छ। हाल उनी रोयटर्सका लागि हिमालको फोटो खिच्ने गर्छिन्।

‘मनास्लु म्याराथन’ र हिमालसँगको सम्बन्ध
सन् २०१७ मा पूर्णिमाको जीवनमा एउटा यस्तो मोड आयो, जसले उनको करिअर र पहिचानलाई सधैँका लागि बदलिदियो। गोरखाकै मनास्लु हिमाल क्षेत्रमा एउटा म्याराथन प्रतियोगिता हुने भएपछि उनी फोटो पत्रकारको हैसियतमा तस्बिर खिच्न मनास्लु बेसक्याम्प (४,८०० मिटर) पुगिन्।
त्यो उचाइमा पुगेपछि उनले पहिलो पटक हिमाललाई यति नजिकबाट नियाल्ने मौका पाएको बताइन्। बेसक्याम्पमा रंगीचंगी टेन्टहरू, विदेशी तथा नेपाली आरोहीहरूको उत्साह र उनीहरूको दृढता देखेपछि पूर्णिमाको मनभित्र अनेकौँ कुराहरू चल्न थाले। “यदि संसारभरका मानिसहरू यहाँ आएर यत्रो आँट गर्न सक्छन् भने, म त यहीँकै माटोमा हुर्केकी छोरी हुँ, मैले किन नसक्ने?” भनेर आफैँलाई प्रश्न गर्न थालिन्।
उनले त्यहीँबाट निर्णय गरिन्— आफैँ हिमालको चुचुरोमा पुगेर संसारलाई हेर्ने। हिमाल चढ्ने निर्णय गर्नु जति सहज थियो, त्यसलाई भुइँमा उतार्नु उति नै कठिन रहेको उनले बताइन्। पूर्णिमासँग हिमाल चढ्ने न त कुनै पूर्वअनुभव थियो, न त पर्वतारोहोणको प्राविधिक तालिम नै। त्योभन्दा ठूलो चुनौती थियो— आर्थिक अभाव। ८,००० मिटरभन्दा माथिका हिमाल चढ्न लाखौँ रुपैयाँ खर्च हुन्छ, जुन एउटा सामान्य जागिरे फोटो पत्रकारको पहुँचभन्दा बाहिरको कुरा थियो।
जब उनले हिमाल चढ्ने इच्छा व्यक्त गरिन्, सुरुमा धेरैले उनलाई पत्याएनन्। “पत्रकारिता गरिरहेकी एउटा केटीले कहाँ यति कठिन हिमाल चढ्न सक्छे र!” भन्दै मानिसहरूले शङ्का गरे। स्पोन्सर खोज्न उनी धेरै ठाउँमा धाइन्, तर धेरैजसो ठाउँबाट निराशा मात्र हात लाग्यो। तर, पूर्णिमामा हार मान्ने बानी थिएन। उनले आफ्नो गृहजिल्ला गोरखाका स्थानीय संघसंस्था, शुभचिन्तक र व्यक्तिगत रूपमा ऋणधन गरेर रकम जुटाइन्।
सबै अवरोधहरूलाई चिर्दै सन् २०१७ मा उनले मनास्लु (८,१६३ मिटर) हिमालको सफल आरोहण गरेर आफ्नो क्षमता प्रमाणित गरिन्। यो उनको जीवनको पहिलो ८,००० मिटरको हिमाल थियो। पहिलो प्रयासमै यति ठूलो सफलता हासिल गरेपछि उनको आत्मविश्वास अझ चुलियो। उनी भन्छिन्, “शुरूमा मसँग केही थिएन — अनुभव, पैसा, शारीरिक तयारी केही पनि थिएन। तर म प्रयास गर्न चाहन्थेँ।” मनास्लुको चुचुरोमा पुगेपछि केही सिकाइ र केही अनुभवको महसुस गरेको उनले बताइन्।
सगरमाथाको मोह र उपलब्धिहरू
मनास्लुको सफलतापछि पूर्णिमाले पछाडि फर्केर हेर्नु परेन। सन् २०१८ मा उनले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को सफल आरोहण गरिन्। त्यसपछि उनले एकपछि अर्को गर्दै कठिन हिमालहरू जित्दै गइन्।
उनको यात्रा तीव्र भयो। उनले अमादब्लाम चढिन् र २०२१ मा अन्नपूर्ण फर्स्ट (८,०९१ मिटर) चढ्ने नेपाली महिलाहरूको टोलीमा सामेल भइन्। उनी र अन्य ६ जना नेपाली महिलाले अन्नपूर्ण I को सफल आरोहण गरे, जसका लागि उनीहरूलाई विभिन्न सम्मान प्रदान गरियो। यो प्राविधिक रूपमा अत्यन्तै खतरनाक मानिने हिमाल थियो।
सन् २०२१ को अक्टोबरमा उनी र पासाङ ल्हामु शेर्पा अकिता मिलेर धौलागिरी (८,१६७ मिटर) चढ्ने पहिलो नेपाली महिलाहरू बने। यो विश्वको सातौँ अग्लो हिमाल हो र अत्यन्त चुनौतीपूर्ण मानिन्छ।
सन् २०२२ मा उनले कञ्चनजङ्घा (८,५८६ मिटर), ल्होत्से (८,५१६ मिटर), मकालु (८,४८५ मिटर) र के टु (८,६११ मिटर) चढिन्। के टु पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो र निकै ‘घातक’ मानिने हिमाल हो। यसरी छोटो समयमा उनले सातवटा ८,००० मिटरका हिमाल चढिसकेकी थिइन्। उनी नेपालकी सबैभन्दा छिटो ८,००० मिटरका हिमाल चढ्ने महिलामध्ये एक बनेकी छिन्।
एउटै सिजनमा छोटो समयभित्र तीन पटक सगरमाथाको चुचुरोमा पुग्ने विश्वकै पहिलो महिला आरोही
पूर्णिमाको पर्वतारोहण यात्राको सबैभन्दा ठूलो र ऐतिहासिक क्षण सन् २०२४ को वसन्त ऋतुमा आयो। पूर्णिमाले पर्वतारोहणको इतिहासमै एउटा यस्तो अद्भुत कीर्तिमान कायम गरिन्, जसले विश्वलाई नै चकित पारिदियो। उनी ८ के एक्सपीडिशन्ससँग जोडिएर एभरेष्टको दक्षिणी मार्ग (साउथ कोल) बाट तीन पटक चढिन्, पहिलो पटक १२ मे, २०२४ मा, दोस्रो पटक १९ मे, २०२४ मा तेस्रो पटक र २५ मे, २०२४ मा।
एउटै सिजनमा यति छोटो समयभित्र तीन पटक सगरमाथाको चुचुरोमा पुग्ने उनी विश्वकै पहिलो महिला आरोही बनिन्। यो १३ दिनको अवधिमा भएको थियो। उनी भन्छिन्, “तेस्रो आरोहणमा थकानले गहिरो असर पार्यो। क्याम्प सेकेण्डबाट बिहान छोडेर माथि जाँदा निद्रा लागिरहन्थ्यो। म हिउँको मुट्ठी लिएर अनुहारमा घोट्थेँ। तर मौसम राम्रो थियो र म एक कदम एक कदम गर्दै अगाडि बढेँ।” शिखरमा पुग्दा उनी भावुक भइन्। उनी र उनका गाइड कर्मा ग्याल्जेन मात्र त्यस दिन शिखरमा पुगेका थिए।
यो ऐतिहासिक सफलतापछि उनको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ मा लेखियो। गिनिज वर्ल्ड रेकर्डले मार्च ८, २०२६ (अन्तर्राष्ट्रिय महिला दिवस) मा आधिकारिक प्रमाणपत्र दियो। सन् २०२४ को अन्त्यतिर सीएनएनलेले उनलाई वर्षभरिका विश्वका उत्कृष्ट खेलकुद व्यक्तित्वहरूको सूचीमा समावेश गर्यो।

निरन्तर आरोहण र छैटौँ एभरेष्ट
२०२५ सम्म उनले सगरमाथा पाँच पटक आरोहण गरिसकेकी थिइन्। २०२६ मे २० मा उनी सातोरी एड्भेन्चर्ससँग आबद्ध भई छैटौँ पटक सगरमाथाको शिखरमा पुगिन्। त्यस दिन २२ जना आरोहीले शिखर चुमेका थिए, जसमा उनले गाइडको रूपमा पनि नेतृत्व गरेकी थिइन्। सन् २०२६ मा सगरमाथामा एकै दिन २७४ जना आरोही शिखरमा पुगेको रेकर्ड कायम भएको थियो, र सो अवसरमा खिचिएको पूर्णिमाको तस्बिर रोयटर्समार्फत प्रकाशित भएको थियो।
हालसम्म उनले ८,००० मिटरभन्दा अग्ला आठ वटा हिमाल १४ पटकभन्दा बढी आरोहण गरिसकेकी छिन्। उनको लक्ष्य विश्वका सबै १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने रहेको छ।
उनले आरोहण गरेका प्रमुख हिमालहरूमा मनास्लु (८,१६३ मिटर) रहेको छ, जुन उनले सन् २०१७ मा आफ्नो जीवनको पहिलो ८,००० मिटरभन्दा अग्लो हिमालका रूपमा आरोहण गरेकी थिइन्। सगरमाथा (८,८४८.८६ मिटर) उनी हालसम्म छ पटक आरोहण गरिसकेकी छिन् (२०१८ मा एक पटक, २०२४ मा तीन पटक तथा २०२५ र २०२६ मा थप एक–एक पटक)। अन्नपूर्ण–१ (८,०९१ मिटर) उनले सन् २०२१ मा पहिलो नेपाली महिला टोलीसँग आरोहण गरेकी थिइन्। धौलागिरी (८,१६७ मिटर) पनि उनले सन् २०२१ मा आरोहण गरेकी थिइन्, जहाँ उनी पासाङ ल्हामुसँगै पुग्ने पहिलो नेपाली महिला बनेकी थिइन्। सन् २०२२ मा उनले कञ्चनजङ्घा, ल्होत्से, मकालु तथा के–टु (८,६११ मिटर) को सफल आरोहण गरिन्। यसबाहेक, उनले अमादब्लाम हिमाल पनि आरोहण गरिसकेकी छिन्।
आर्थिक, सामाजिक र शारीरिक चुनौती
पूर्णिमाको यात्रा सजिलो थिएन। प्रत्येक अभियानमा लाखौँ खर्च हुन्छ, २०२४ को अभियानमा करिब ५६,००० अमेरिकी डलर खर्च भएको थियो। उनी ऋण लिएर, परिवार र साथीहरूबाट सहयोग मागेर अगाडि बढिन्। हिमालमा ट्राफिक जाम, हावा, हिउँ, लेक लाग्ने समस्या जस्ता जोखिमहरू छँदै थिए। “खासगरी महिलाहरू यस्तो काम गर्न सक्दैनन् भन्ने बुझाइ भएको समाजमा हिमाल चढ्न शारीरिक रूपमा पनि सहज थिएन,” उनले भनिन्। केटी मान्छेहरूमा हुने नियमित प्राकृतिक परिवर्तन र त्यसले ल्याउने विभिन्न चुनौती थिए नै। यी कुनै पनि कुराले आफूलाई खासै फरक नपारेको उनको भनाइ छ।
महिलाको रूपमा उनले सामाजिक दबाब, आर्थिक अभाव र शारीरिक थकानको सामना गरिन्। शेर्पा र पोर्टरहरूको अवस्था देखेर उनी उनीहरूको बीमा, सुरक्षा र दिगोपनका लागि वकालत गर्छिन्। “यो काम शरीरले दिउन्जेल मात्र गर्न सकिन्छ। सरकारले रिटायरमेन्ट फन्ड र बीमा दिनुपर्छ,” भन्ने उनको तर्क छ।

अझै पनि आफूलाई ज्यानले दिएसम्म आफू हिमालमा गइरहने र हिमालको चर्चा विश्वसामु गरिरहने बताउँछिन्। आरोहणका क्रममा देखिने र भोगिने कुनै पनि कुरालाई सकेसम्म क्यामेराको माध्यमबाट देखाइरहने बताइन्। हिउँभित्रका पीडा आम मानिसहरूलाई देखाउनु आफ्नो पेसागत धर्म रहेको बताइन्। आजभोलि पूर्णिमालाई आर्थिक रूपमा ठूलो चुनौती नभएको बताइन्। विभिन्न कम्पनीहरूले सहकार्य गरिरहेका छन्। अन्य आरोहीहरूलाई गाइड गर्छिन्, साथै विदेशी मिडियाहरूमा हिमालको फोटो बेच्ने गर्छिन्; जसले गर्दा आज सहज रहेको बताइन्।
महिला सशक्तीकरण र जलवायु पैरवी
पूर्णिमा श्रेष्ठको यो असाधारण साहसलाई नेपालले मात्र होइन, विश्वले नै सम्मान गरेको छ। उनी फोटोग्राफीमार्फत हिमालको सुन्दरता र जलवायु संकट देखाउँछिन्। उनी भन्छिन्, “हिमालहरू पृथ्वीका पानीका ट्याङ्की हुन्।” उनको कामले पर्यटन, संरक्षण र महिला सशक्तीकरणलाई जोड्छ। हिमाल हेर्दा जति सुन्दर छ, यसलाई जोगाउन पनि त्यत्तिकै चुनौती रहेको उनले बताइन्। तीव्र रूपमा पग्लिँदै गएको हिउँले हाम्रो भविष्य नै अन्योलमा परिरहेको उनको बुझाइ छ। आफू पहिलो पटक सगरमाथा जाँदा देखेको सगरमाथा र अन्तिम पटक जाँदाको सगरमाथामा धेरै फरक पाएको बताउँछिन्।

फोहोर व्यवस्थापनको समस्या र कीर्तिमानी संख्यामा आउने आरोहीहरूको सङ्ख्याले भोलिको दिनमा सगरमाथा झन् बिग्रिँदै जाने हो कि भन्ने चिन्ता उनमा छ। नेपाल सरकारले अन्य हिमालहरूलाई पनि अब खुला गर्नुपर्ने र नेपालकै ८,००० मिटरमाथिका अन्य हिमाल चढेपछि मात्र सगरमाथामा अनुमति दिनुपर्ने उनको बुझाइ छ। उनी थप्छिन्, “जसले गर्दा रोजगारी र साहसिक पर्यटन झन् बढ्नेछ, साथै सगरमाथाको भिड व्यवस्थापनमा सहज हुनेछ।”
जलवायु परिवर्तनका कारण मानिसहरू जाँदै नगएका हिमालहरू पनि पग्लिरहेका छन्। मानिस गएर नै हिउँ पग्लिएको होइन, त्यसैले हामीसँग भएको जति सम्भव छ, सबै हिमालहरूलाई नेपालको मुख्य आर्थिक स्रोतको रूपमा प्रयोग गर्नुपर्छ भन्ने उनको तर्क छ। तर कुनै पनि व्यवस्थापन र दिगो योजना गरिएन भने हामीले जति हिमालबाट कमाएका छौँ, त्यतिले भोलिको दिनमा व्यवस्थापन गर्न र हिमाल जोगाउन गाह्रो नपर्ला भन्न सकिन्न।

पूर्णिमाले नयाँ पुस्ताका महिलाहरूका लागि एउटा नयाँ बाटो कोरेकी छिन्। उनी भन्छिन् , “हिमाल चढ्नका लागि शारीरिक शक्ति मात्र होइन, मानसिक दृढता र सपना देख्ने आँट चाहिन्छ।” उनको सफलताले धेरै युवतीहरूलाई प्रेरित गरेको छ। पूर्णिमा अझै १४ वटै ८,००० मिटरका हिमाल चढ्ने लक्ष्यमा छिन्। उनी नेपालको पर्यटन र हिमाल उद्योगलाई दिगो बनाउन योगदान दिन चाहन्छिन्।
गोरखाको एउटा सामान्य गाउँबाट सुरु भएको पूर्णिमा श्रेष्ठको यात्रा आज विश्वको सर्वोच्च शिखरहरू हुँदै गिनिज बुकको पानासम्म पुगेको छ। क्यामेराको लेन्सबाट संसारलाई हेर्ने उनी आज आफैँ संसारको शिरमा उभिएकी छिन्। पूर्णिमा भन्छिन्, “महत्वपूर्ण कुरा प्रयास गर्नु हो।”
