प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार

फोटो: सिन्ह्वा/रासस
फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत भएको खेलमा जर्मनीले कुरासाओमाथि गोलको वर्षा गरेको छ। चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न समूह ‘ई’को पहिलो खेलमा जर्मनीले पहिलो पटक विश्वकपमा सहभागी कुरासाओलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो। योसँगै जर्मनीले ३ अंक जोडेको छ।
जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने दोस्रो हाफमा चार गोल थप्यो। जर्मनीका लागि काई हाभर्ट्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे। एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। तर, जर्मनीका निको स्लोटरबेकले ३८ औँ मिनेटमा गोल गर्दै टोलीलाई फेरि २–१ को अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा हाभर्ट्जले पेनाल्टीमार्फत गोल गरेपछि जर्मनी ३–१ ले अघि रह्यो।
त्यसैगरी मुसिएलाले खेलको ४७ औँ मिनेटमा गोल गरे भने ब्राउनले ६८ औँ मिनेटमा अर्को गोल थपे। त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभर्ट्जले ८८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै जर्मनीलाई ७–१ को जित दिलाए।
