बुढापाकाहरु भन्ने गर्छन्, ‘दूध धेरै उम्लियो भने पोखिन्छ ।’
ए मनुष्य ! पशुको रगत र मदिराको उन्मादले उम्लिएको तिम्रो जवानीको तापक्रम नाप्न मलाई मन छ । हेरौंला कति दिन टिक्छ तिम्रो चुरीफुरी ?
यो आलेख विशेष गरी मासु, मदिरा अर्थात मांशहार प्रवृत्तिले मात्तिएको-पात्तिएको जवानीसँग सम्बन्धित हुनेछ । यदि कसैको व्यक्तिगत जीवनमा मेल खान गएमा केवल संयोग मात्र हुनेछ ।
खासमा दशैंको मुखमा मलाई यो झटारो हान्न मन पटक्कै थिएन । तर जब मानविय संवेदनाले मुटु कटक्कै खायो तब केही नलेखी सुखै पाइएन । मलाई आशा छ, दशौंको व्यस्त समयमा पनि यदि कसैले एक चिम्टी फुर्सद निकालेर यो लेख पढ्छ र आफ्नो हृदय बदलेर माशंहार प्रवृत्तिलाई त्याग्न तयार हुन्छ वा आफूलाई दृढ संकल्पका साथ शाकाहारी कित्तामा उभ्याउन सक्यो भने मैले आफ्नो हृदयको भित्तामा नाम लेखेर सजाउने छु, स्वर्ण अक्षरले । भलै त्यो व्यक्ति मात्र एक जना किन नहोस् म आफ्नो प्रयास सफल भएको ठान्नेछु ।
तामासिक मनुष्यले ठाडै भन्यो– ‘म बरू स्वास्नी छाड्न सक्छु, तर मासु छाड्न सक्दिन ?’
अर्कोले थप्यो– ‘म त मासु भातै खान्न ’
तेस्रो व्यक्ति जो मदिराले मातेको थियो । उसले पनि थपिहाल्यो –‘म त झन् मदिरा बिना बाँच्न सक्दिन, जातले पाएको सौभाग्य कसरी गुमाउनु यार ?’ उसले ‘यार’ लगायो । मानौं उनीहरू यसैका लागि जन्मिएका हुन् । उनीहरूको नजरमा यही नै संसारको अन्तिम खुसी हो । मांशहार र मदिराप्रेमीलाई लाग्छ, संसारमा यो भन्दा अर्को सुख केही छैन ।
मैले गहिरो आत्मविश्लेषण गरें–‘आखिर मासुको मोह र मदिराको प्याला किन यति प्यारो हुन्छ कसै–कसैलाई ?’
आज पर्यन्त यो वाक्य मेरो मुटुमा सियोले घोचें झैं लाग्दछ । मस्तिष्क झनझनाइरहन्छ
हरे कस्तो जमना आयो ? मासु नभइ मान्छेले भात नै नखाने ? मदिरा नपिइ बोल्नै नजान्ने ? अनि मासु, मदिरा र मारुनीको तालमा मुखियाहरूलाई तरूनीहरूको उच्छृंखल नृत्य हेरेर आँखालाई पनि सेक्नैपर्ने ?
हाय ! कता जाँदैछ हाम्रो समाज ? कता जाँदैछौं हामी ? अनि कस्तो संस्कार देखासेखी गरिरहेका छौं हामी ?
घरमा कोही पाहुना आए भने पहिलै मासु किनेर ल्याउनैपर्ने । भलै उसले मासु खाओस् वा नखाओस् । पाहुनाले पनि पहिले थालमा आँखा गाडेर हेर्छ कि मासु छ कि छैन भनेर । राजमार्गका बग्रेल्ती होटलमा हुने मासुको व्यापाको त कुरै नगरौं । मासु जबरजस्ती टेबुलमा ल्याउँछ, ग्राहकले खाओस् वा नखाओस् । भातसँग मासु नखाने ग्राहकलाई होटलवालाले टेरपुच्छर लाउँदैनन्, पुलुक्क फर्केर पनि हेर्दैनन् ।
त्यति मात्र होइन मासु र मदिरा अनिवार्य जस्तो भैसको छ समाजमा । ‘ह्यापी वर्थ डे’ होस् वा ‘एनिभर्सरी’ । कसैको न्वारन होस् वा पाश्नी (अन्नप्राशन) । विवाहभोज वा बनभोज । दर खाने कार्यक्रम होस् वा तीज ।
कोही पाहुना घरमा आउनै नहुने । नयाँ साथीभाई जमघट हुनै नहुने । कोही साथी विदेश जानै नहुने, अनि विदेशबाट घर फर्किनै नहुने । कसैलाई दुई रूपैंयाको चिठ्ठा पर्नै नहुने । कुनै दुई पाङ्ग्रे वा चार पाङ्ग्रे साधनको जोहो गर्नै नहुने । कुनै नयाँ कार्यक्रम आयोजना गर्नै नहुने । सबै ठाउँमा यही मांशहार प्रवृत्ति हावी हुँदै गइरहेको छ । मदिरा, माछा, मासु, महिला, मनोरञ्जन र मोज मस्ती………………….। वाफ रे !
अनि गीत बज्छ त्यस्तै खालको– ‘माली गाईलाई बाँधेको दाम्ला यो रमाईलो छोडेर कहाँ जाम्ला ….!’
यही नै कलियुगका मानिसहरू दुर्भाग्य हो । जब कि एक दिन यो सारा संसार नै छोडेर जानैपर्छ । उसलाई यो कुराको ज्ञान नभएको होइन । तर ऊ पनि विवश छ । उही पाँच वटा मायारूपी ‘म’ को मोहनीमा फँसेको छ, पासोमा परेको चरो झैं । उसलाई आत्माको कुनै अनुभूत नै छैन । हृदयमा परमात्माको कुनै गुञ्जायस नै छैन । अनि के गरोस् बिचरो !
पहिले पहिले मलामीहरू आर्यघाटबाट घर फर्किँदा शरीर स्नान गरेर वा चोख्याएर मात्र गृह प्रवेश गर्दथे । तर आजकल त प्रायः मलामीहरू सोझै भट्टतिर दौडिन्छन् । मासु र रक्सीमा पौडिन्छन् । बुद्धि नाश भएपछि शुद्धिको के औचित्य ?
दशैंको त झन् के कुरा गर्नु ? मानौं ‘मासु, मदिरा र सुकुटी चपाउलाई नै दशैं आएको हो ।
आफ्नौ काखमा राखेर हुर्काएको लाम्काने खसीलाई धनको तराजुमा जोखेर कसरी परायलाई सुम्पिन मनले मानेको हो ? किन्नेले पनि खसीको शीरदेखि पाउँसम्म नियाल्छन् । थुतुनोदेखि मुतुनोसम्म आँखा लगाउँछन् । आफ्नो अवगुण बिर्सेर रौं, भूत्ला र खुरमा पनि आँखा नचाउँछन् । कतै खोट भेटिन्छ कि भनेर ।
उसले गर्धनमा हात लम्काउँछ । हातको बीत्ताले ढाँड नाप्छ । अनि न्वारादेखिको बल लगाएर दुई हातले जुरुक्क उचाल्छ । त्यसपछि तौलको हिसाब गर्दछ । अनेकौं बखेडा झिकेर मोलमोलाई गर्छ । अन्तमा तीनवटा विकल्प बाँकी रहन्छन्, उसले लाम्कानेलाई कि घिच्याएर लैजान्छ, कि छोडेर जान्छ, कि मुख मोडेर जान्छ ‘पछि आउँछौं’ भनेर । तत्कालै किनेर लैजाने परिस्थिति सृजना भयो भने उसले कागजको नोट खनखनी गन्छ, थुक लगाएर । मानौं कागजको नोटमा लाम्कानेको आँशु, जिन्दगी र आयु साटासाट गरिदैंछ । मानौं खसीको आयु मान्छेको हातमा छ । तर दुईखुट्टे नरपशुलाई पनि के थाहा कि उसको पनि जिन्दगी यमराजको हातमा छ भनेर ।
आज अन्य पशु र पंक्षीको पनि यही हाल छ । विचरो पशु न हो । आफूमाथि यति धेरै पीडा, अन्याय र अत्याचार हुँदा पनि ऊ सबथोक सहन बाध्य हुन्छ । गरोस् पनि के ? विचरो कडा अनुशासनको दाम्लोमा जकडिएको छ । यदि म त्यस ठाउँमा हुन्थें भने दाम्लो चुँडाएर बजियाको ‘हेडक्वाटर’ नै सिङ्ले उँधिनेर शख्त घाइते नै पारिदिन्थें । सहनुको पनि सीमा हुन्छ ।
ग्राहकले खसीलाई डोहोर्याएर पर पुगिसकेको हुन्छ । घरबेटी जोडले चिच्याउँछ –‘ पठाइदिनु है लाम्कानेको मासु….. ?’
हाय ! छोरो सरह पालेर र म्वाई खाएर हुर्काएको लाम्काने गोठै रित्तो पारेर गयो । तैपनि घरबेटीको मन रित्तो भएको छैन । बरू खुसी छ घरबेटी पैसाको विटो थुक लगाएर गन्न पाएकोमा । त्यति मात्र कहाँ हो र ? उही लाम्कानेको आलो रगत लत्पतिएको रातो मासु आईपुग्दछ घरमा । उसलाई दशैंको के चिन्ता ?
यस वर्ष पनि दशैंको उखरमाउलो परम्पराले निरन्तरता पाउने निश्चित प्रायः छ । हजारौं–लाखौं पशुपंक्षी र बोकाहरू बलिको बोको बन्नुपर्नेछ र आफूलाई बलि दिन सुम्पनुपर्नेछ धार्मिक परम्पराको नाममा । आखिर यो वहनाबाजी कहिलेसम्म ?
जनता जान्न चाहन्छन् कि हिजो धरान लगायत केही ठाउँहरूमा गाई र गोरू काटेर खाएको विषयलाई लिएर सडक र सदन तताउनेहरूको आज ओंठ किन बन्द छ ? मानव अधिकारको दुहाइ दिने र पशु अधिकारको विषयमा चोर औंला ठड्याउने पशुअधिकारकर्मीहरू आज कुन् मूसोको दूलोमा लुकेर बसेका छन् ? पशुमाथि भएको यो ज्यादती, अन्याय, अत्याचार, क्रुरता, वर्वरता कसरी टुलुटुलु हेरेर बसीरहेका छन् ? । जब कि दशैंको मुखमा हजारौं पशुहरूको आँशुले भनिरहेका छन् –‘पृथ्वी हाम्रो पनि साझा घर हो । हामीलाई नमार, पूरा आयु बाँच्न देऊ ।’
तर मान्छे ?
मान्छे आज पशुको स्तरभन्दा हदैदसम्म तल गिर्दै गएको छ । त्यसैले ऊ भन्दैछ– ‘म त मासु बिना भात नै खान्न । मासु नभइ भात नै रुच्दैन । खोयाबिर्के जलबिना एक पल पनि बाँच्न सक्दिन ।’
मासु र मदिराको लतमा उसले आफ्नो मानवता नै बिर्सिसक्यो । जब कि मान्छे नै सृष्टिको जिम्मेवार अभिभावक हो, हुनुपर्दथ्यो । भगवानलाई कम्तीमा पनि लागेको थियो कि मान्छेले निरीह पशुहरूको अधिकारलाई सम्मान गर्ला, संरक्षण गर्ला र अभिभावकत्व स्वीकार गर्ला । तर बिडम्बना ! भइदियो उल्टो ।
कुनै पनि शास्त्र वा धर्मले बलि वा बलिप्रथालाई स्वीकार गरेको छैन । बलिलाई कहिल्यै प्रोत्साहन दिइएको छैन । जब कि वेदको आदेश नै छ– ‘पशुलाई नमार ।’
बरू भनिएको छ– ‘गाई र ब्रह्मणहरूको रक्षाको विशेष उल्लेख गरिएको छ । यी प्राणीहरूलाई सम्पूर्ण सुरक्षा प्रदान गर्नुपर्दछ ।’
तथाकथित अनेकौं देवीदेउता वा भाकलका वहानामा निरीह पशुलाई बलि दिएर उसको प्राण हरण गर्नु घोर पाप हो । जब कसैले पशुको हत्या गर्दछ तब उसलाई एउटा आत्माको ‘हत्या’ गरेको वा सो सहरको बात (दोष) लाग्दछ ।
जब कुनै स्त्रीलाई घुरेर हेरेमा वा स्पर्श मात्रै गर्नाले पनि आकस्मिक बात लाग्न सक्दछ भने यहाँ त आत्माको हात्याको कुरो छ । एउटा पशुलाई काटेर, मारेर वा शरीर टुक्रा टुक्रा पारेर जति भाग लगाइन्छ वा जस–जसले माशंको रूपमा सेवन गर्दछन् ती सबै पापको भागीदार बन्दछन् । उनीहरूले एक दिन यसको एक एक मूल्य चुकाउनुपर्ने हुन्छ जसरी उक्त पशुको एक एक चोक्टा मासुको भागबण्डा गरिन्छ ।
प्रकृतिको विधान नै यस्तै छ । जब कि आफ्नो जन्म र मृत्यु पनि मनुष्यको हातमा छैन भने पशुलाई मार्ने अधिकार पनि मनुष्यलाई छैन, जुन् प्राकृतिक न्यायको सिद्धान्त अनुरूप पनि पशुहत्या कुनै हालतमा स्वीकार्य छैन-हुँदैन ।
श्रीमद्भगद्गीता यथारूपमा स्पस्ट बताइएको छ– ‘प्रत्येक प्राणी परमेश्वरको सन्तति हो । उहाँले एउटा कमिलाको हत्या भएको पनि सहनुहुन्न । यसका लागि मानिसले उपयुक्त सजाय भोग्नैपर्दछ । त्यसैले जिब्रोको स्वादको लागि पशुको हत्या गर्न रूचाउनेहरू घोर अज्ञानी हुन् ।’
स्मरणीय छ– दशैंको उपलक्ष्यमा सरकारी स्तरबाट अनुमति प्राप्त पशुवध पनि एक प्रकारको भयानक पशुहिंसा हो र कानूनी रूपमा यो अघोषित अपराध वा वैद्य अपराध नै हो । यसलाई पूर्णतया प्रतिबन्ध लगाउनु जरूरी छ । अन्यथा कानूनको आडमा मौलाएको यो पशुहिंसाको रवैयाका मारमा कयौं निरीह पशुहरू आफूलाई पशुबधशालामा प्राण त्याग गर्न अभिशप्त हुनेछन् । गड्डौंयौलादेखि गढीमाई मेलासम्मको यो निर्मम पशुवधको श्रृंखला यथाशक्य अन्त्य हुनु जरूरी एवं अनिवार्य छ ।
किनकी रगतको नाता र आत्माको दृष्टिकोणले सबै जीवहरू समान छन् । सृष्टिका सबै जीव र जीवात्माहरूको बाँच्ने पाउने अधिकारको सम्मान र संरक्षण गर्नु प्रत्येक सचेत नागरिकको कर्तव्य हो न कि झन् संकुचित एवं कुण्ठित गर्नु । धर्तीमा भयरहित वातावरण र सम्मानपूर्वक बाँच्न र विचरण गर्न पाउने जीवात्माको नैसर्गिक अधिकारको अपहरण गरेर पशुजगतमा आतङ्क मच्चाउनु, मार्नु र निर्मम हत्या गर्नु अपराध हो । यसकोअन्त्य हुनु जरूरी छ । अन्यथा ‘बुद्धको देश’ र ‘वैदिक सनातन धर्म’ मा गर्व गर्नुको के तुक ? विश्वबन्धुत्व र मानवताको नाममा गोहीको अभिशप्त आँशु चुहाउनुको के अर्थ ? स्वयं पशुको नजरमा ‘बुद्धिमानी प्राणी’ कहलिनु र ‘मानव’ हुनुको के सार्थकता ? दया र करूणाले भरिएको व्यथित हृदय लिएर गीता पढ्नुको के औचित्य ? अनि गीता पढेर अध्यात्म अंगाल्नुको के पुण्यलाभ ?
शास्त्रमा बताइएको छ –‘जुन् पशुलाई अहिले हामी मार्दछौं त्यही पशुले आगामी जन्ममा हामीलाई नै मार्ने अवसर पाउने छ । मानिसहरू वास्तविक ज्ञानको शिक्षा नहुनाले तिनीहरू अनुत्तरदायी भएका हुन् । यो अनुत्तरदायीपनलाई रोक्नका लागि सर्वसाधारण जनतामा सतोगुणी शिक्षा प्राप्त गरेपछि मानिसहरू गम्भीर बन्नेछन् र वस्तुको ज्ञान सही रूपमा प्राप्त गर्नेछन् । अनि मात्र मानिसहरू सुखी र समृद्ध बन्नेछन् ।’
अन्त्यमाः
अबोध शिशुको थुतुनोमा मासुको चोक्टा जबर्दस्त दलेर मांशहार पार्टीको साधारण सदस्यता ग्रहण गर्न बाध्य बनाइएका न्वारानको क्षणहरूदेखि दाहसंस्कारसम्मका कार्यक्रमहरू मांशहार प्रवृतिका लागि जिम्मेवार छन् । मानिसमा आध्यात्मिक ज्ञानको अभाव छ । संसार अन्धो छ । त्यसमा पनि आँखा देख्ने मानिसहरू ज्यादै कम छन् । दुई तिहाइभन्दा बढी मानिस मांशाहार छन् ।यहाँ निरीह पशुको रगत पिउन आतुर छ मान्छे ।
ए मनुष्यहरू हो !
सृष्टिका सबै जीवात्मालाई प्रेम गर । पशुपंक्षीको हिंसा बन्द गर । मांशहार प्रवृत्तिलाई त्याग । शाकाहारी जीवनतर्फ उन्मुख होऊ । प्रकृति माताको सम्मान (पूजा) गर । प्रकृतितर्फ फर्क । यसैमा छ मानव र मानवताको सर्वोपरी कल्याण ।
अझै पनि समय छ ।
हालः जोमसोम, मुस्ताङ