गण्डकी प्रदेशको राजधानी पोखरालाई २०८० चैत ४ गते नेपालकै पर्यटकीय राजधानी घोषणा गरियो । तर, पर्यटकीय राजधानीमा हुनुपर्ने सेवा-सुविधा विस्तार गरी यस क्षेत्रलाई थप चलायमान बनाउन सके मात्रै गण्डकी प्रदेश र समग्र नेपालको समृद्धिमा सहयोग पुग्ने देखिन्छ । पर्यटकीय राजधानी घोषित पोखराले गर्नुपर्ने बाँकी काम, योजनाबारे यस लेखमा चर्चा गरिएको छ ।
पर्यटन आधुनिक सेवाहरूको व्यावसायिक प्रयोग गर्दै मनोरञ्जन, विश्राम, आनन्द र व्यवसायका लागि घरबाट टाढा गएर समय बिताउने कार्य र प्रक्रिया हो । यो सामान्यतया आफ्नो वासस्थानभन्दा बाहिरका ठाउँहरूमा फुर्सद मिलाएर लगातार एक वर्षभन्दा कम र २४ घण्टाभन्दा बढी व्यापार, मनोरञ्जन, विश्राम, आनन्द र अन्य उद्देश्यका लागि यात्रा गर्ने र बस्ने प्रकिया हो ।
यो आन्तरिक, यात्रीको आफ्नै देशभित्र वा अन्तर्राष्ट्रिय यात्रीको देश बाहिर हुन सक्दछ । जबकि पर्यटक आफ्नो दैनिक परिवेश वा वासस्थानबाट बाहिर गएर एक वर्षभन्दा कम र २४ घण्टाभन्दा बढी समयको लागि धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक कार्य, मनोरञ्जन, विश्राम, आनन्द वा अन्य उद्देश्यको लागि यात्रा गर्ने यात्री हो ।
पर्यटन ऐतिहासिक ग्रिक र रोम सभ्यताको समयमा पनि थियो । आधुनिक पर्यटनको युग सत्रौं शताब्दीको अन्त्यतिर सुरु भएको देखिन्छ । नेपालमा भने आधुनिक पर्यटनको थालनी वि.सं. २००७ मा नेपाल विश्वका लागि खुला भएपछि सुरु भएको मानिन्छ ।
पर्यटनले उदीयमान अर्थतन्त्र र नेपाल जस्ता विकासोन्मुख देशको विकासको लागि ठूलो अवसर प्रदान गर्दछ । यसले रोजगारी सिर्जना गर्छ, स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ । स्थानीय पूर्वाधार विकासमा योगदान पुर्याउँछ । प्राकृतिक वातावरण, सांस्कृतिक सम्पदा र परम्पराको संरक्षण गर्न र गरिबी र असमानता कम गर्न मद्दत गर्दछ । यसको सबभन्दा ठूलो योगदान विदेशी मुद्राको प्राप्ति र देशको व्यापार सन्तुलनमा हुन्छ ।
सन् २०२३ मा पर्यटन क्षेत्रले विश्वको कुल गार्हस्थ्य उत्पादनमा ९.५ प्रतिशतको योगदान गरेको थियो । यो क्षेत्रको योगदान बढ्दै गएर सन् २०३३ सम्ममा १५.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
विश्व बैंकको आर्थिक वर्ष २०७८/७९ को अनुमान अनुसार पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६.७ प्रतिशतको योगदान गरेको थियो । यस क्षेत्रको कुल वार्षिक आय २.२ अर्ब अमेरिकी डलर बराबर थियो । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी देशको कुल रोजगारीमा झन्डै ७ प्रतिशतको योगदान गरेको छ ।
गण्डकी प्रदेशको सन्दर्भमा यस क्षेत्रले प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष रूपमा ४ प्रतिशत र अप्रत्यक्ष ६ प्रतिशत गरी कुल १० प्रतिशतको योगदान छ । त्यसकै हाराहारीमा नियमित र म्यादी रोजगारी सिर्जना गरेको छ ।
गण्डकी प्रदेशका जनताले पर्यटकीय राजधानी पोखरा घोषणाले पर्यटन क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने अपेक्षा गरेका छन् । आशा गरौं, जनताको यो अपेक्षामा कुनै तुषारापात नहोस् । यस कार्यलाई सफल बनाउन निजी क्षेत्रका पर्यटन व्यवसायी, संघीय र प्रदेश सरकार, पोखरा महानगर र प्रदेशभित्रका अन्य स्थानीय तहले गर्नुपर्ने बाँकी कामहरूमा सघन सहकार्य गरून् र सफलता प्राप्त होस् ।
हुनत पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दा कुनै सर्वस्वीकार्य मापदण्ड पूरा गरेर वा भविष्यमा यो घोषणाले अपेक्षित नतिजा हासिल गर्ने कुनै भावी मार्गचित्र तयार गरेर गरिएको छैन । यो घोषणा अर्थतन्त्रमा देखिएका मन्दीका लक्षणलाई दूर गर्न, नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र पोखरालाई देशभित्र र बाहिर चिनाउन पर्याप्त तयारी विनै घोषणा गरिएको छ ।
घोषणाले मात्र पोखराले पर्यटकीय राजधानीले गर्नुपर्ने क्रियाकलापको प्रभावकारी कार्यान्वयन गर्न सक्दैन । यसको सफलताको लागि पर्यटकीय राजधानी शहरले गर्नुपर्ने सबै क्रियाकलापको सूक्ष्म कार्ययोजना बनाई क्रमशः कार्यान्वयन गर्नुपर्दछ । अन्यथा यो राजनीतिक भाषणमा सीमित हुने र पोखराको द्रुत विकास गर्ने जनचाहनामा तुषारापात हुने खतरा देखिन्छ ।
पर्यटकीय राजधानी घोषणा गर्ने चलन नौलो होइन । अन्य देशले पनि आफ्ना शहरहरूलाई पर्यटन राजधानी घोषणा गर्ने गरेका छन् । भारतको महाराष्ट्र प्रदेशले ऐतिहासिक स्मारकलाई आधार मानी औरङ्गवाद शहरलाई प्रदेशको पर्यटकीय राजधानी शहर घोषणा गरेको छ ।
बहराइनले यसको मनमा शहरलाई सन् २०२४ को लागि खाडी राष्ट्रको पर्यटक शहर घोषणा गरेको छ । यस्तैगरी इरानले यसको अर्दाबी प्रदेशको राजधानी अर्दाबी शहरलाई सन् २०२३ मा पर्यटक राजधानी घोषणा गरेको थियो ।
६ मार्च २०२४ मा अजरबैजानको राजधानी बाकुमा भएको इस्लामिक राष्ट्रका पर्यटन मन्त्रीहरूको सम्मेलनले सन् २०२४ को लागि इस्लामिक विश्वका लागि उज्वेकिस्तानको ऐतिहासिक खिभ शहरलाई पर्यटक राजधानी घोषणा गरेको छ ।
८ राष्ट्र सम्मिलित चीन, रूस, काजकास्तान, ताजिकस्तान, उज्वेकिस्तान, पाकिस्तान र भारत सम्मिलित संघाई सहयोग संगठनले भारतको बनारस शहरलाई सन् २०२३÷२४ का लागि विश्वको पहिलो सांस्कृतिक तथा पर्यटकीय राजधानी शहर घोषणा गरेको थियो । त्यस्तै गरी फ्रान्सको राजधानी पेरिसलाई विश्वको पर्यटक राजधानी भनिन्छ र यसमा गत वर्ष मात्र ८ करोड पर्यटकले यात्रा गरेका थिए ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नु समग्र पर्यटन क्षेत्र र गण्डकी प्रदेशको लागि खुसीको कुरा हो । घोषणा हुनु मात्र पर्याप्त होइन, यसको कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य सवाल हो ।
पर्यटक राजधानी घोषित विश्वका अन्य शहरहरूमा पर्यटक आकर्षणको प्रभावकरिता हेर्दा पर्याप्त गृहकार्य र तयारी गरी भावी योजना सहित घोषणा भएका शहरहरूले उल्लेख्य प्रगति गरेका छन् । राजनीतिज्ञको लहडमा लहसिएर पर्याप्त तयारी र भावी योजना विनै घोषणा भएका शहरहरू घोषणामै सीमित भएका उदाहरण छन् ।
पर्यटकहरूले रुचाउने राजधानी शहरहरूमा युरोपमा पेरिस, लण्डन, रोम, आम्सटारडेम, प्राग, बर्लिन, भ्याटिकन सिटी, ब्रसेल्स र बुडापेस्ट प्रमुख हुन् । एशियामा बैंकक्, सिङ्गापुर, कोलम्बो र नयाँदिल्ली, अफ्रिकामा कायरो, माल्टा र केपटाउन, दक्षिण अमेरिकामा ब्युनर्स आयर्स र बोगटा, क्यारिबियन देशमा प्युटोरिको र उत्तर अमेरिकामा न्यु मेक्सिको सिटी आदि प्रमुख हुन् । यी शहरहरूमा पर्यटकहरू कला र संस्कृतिको अध्ययन तथा अवलोकन गर्न, उत्कृष्ट भोजनको स्वाद लिन र सस्तो मूल्यमा सामान किन्ने प्रयोजनको लागि भ्रमण गरेका छन् ।
त्यस्तैगरी पर्यटकको लागि उत्कृष्ट मानिने विश्वका १० प्रमुख शहरहरूमा लण्डन, इस्लामावाद, बर्लिन, वाशिङ्टन, पेरिस, रोम, टोकियो, बुडापेस्ट, वटवा र मस्को पर्दछन् । यी शहरहरूमा पर्यटकहरू शहरका भवनको आर्किटेक्चर, कला, संस्कृति, नमूना भौतिक पूर्वाधार, मनोरम शहर वरिपरिको प्राकृतिक दृश्य, मानव सभ्यता, ऐतिहासिक स्मारक आदिको अवलोकन तथा अध्ययन गर्न र उत्कृष्ट भोजनको स्वाद लिन भ्रमण गर्ने गरेका छन् ।
पर्यटकीय राजधानी हुन शहरभित्र पर्यटकको आकर्षणका विषयहरू जस्तै, शहर प्रवेश गर्न निःशुल्क भिसा, पुरातात्विक स्मारक, मनोरम प्राकृतिक दृश्य, मनै लोभ्याउने समुद्री तथा ताल–तलैयाका तट, सहज र सुलभ यातायात, उच्च गुणस्तरको खाना खुवाउने रेस्टुरेन्ट, फराकिला र सफा सडक, बहुभाषाको ज्ञान भएका हँसिला र फरासिला जनता, पर्यटक उत्पत्ति हुने देशका पर्यटकले रुचाउने मनोरञ्जनका साधनको सुलभता, सहज विदेशी मुद्राको सटही सुविधा, शहर वरपर घुमघामको लागि उत्कृष्ट गन्तव्यहरूको विकास, घुमघाममा सहजीकरण गर्ने टुर प्याकेजको विकास, बहुभाषाको ज्ञान भएका हँसिला, मिजासिला र घुमाउने ठाउँको बारेमा प्रष्ट र विस्तृत व्याख्या गर्ने क्षमता भएका टुर गाइड, विदेशी शहरसँग सीधा हवाई, रेल तथा समुद्री यातायातको सुविधा, होटलमा खुल्ला र ठूला कोठा, सम्मेलन पर्यटनमा आउने पर्यटकको लागि ठूला तथा साना बैठक कक्ष, होटलभित्रको उत्कृष्ट हाउसकिपिङ, उच्च गतिको इन्टरनेट सुविधा आदि महत्वपूर्ण हुन्छन् । अब नेपालको पर्यटकीय राजधानी घोषित पोखरा शहरको अवस्था र यस क्षेत्रका सरोकारवालाले गर्नुपर्ने वाँकी कामहरूबारे चर्चा गरौं ।
(क) पर्यटन व्यवसायीः पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न ठाउँमा पर्यटन व्यवसायीले २५ भन्दा बढी तारे होटल, करिब ४०० पर्यटकस्तरीय होटल, ३२० होमस्टे र करिब ७ हजार सामान्य होटल, लज तथा रेस्टुराँमा लगानी गरी सञ्चालन गरेका छन् । पर्यटन क्षेत्रमा निजी क्षेत्रको यो ठूलो लगानी हो । हाल पर्यटन व्यवसायले प्रदेशको अर्थतन्त्रसँग अग्र र पृष्ठ सम्बन्ध विकास गरेको छैन । आयातीत सामान होटल तथा रेस्टुराँमा खपत हुन्छन् र पर्यटन क्षेत्रले गरेको आम्दानी यसै क्षेत्रको लागि आवश्यक उपभोग्य वस्तु तथा सेवाहरू आयात गर्दा सकिन्छ । कमाइको सानो हिस्सा मात्र बचत हुन्छ ।
पर्यटकलाई घुमाउने र बसाइ लम्ब्याउने टुर प्याकेजहरू पर्याप्त बनेकै छैनन् । होटल व्यवसायीले कन्फ्रेन्स पर्यटनलाई उचित ध्यान दिन सकेका छैनन् । कुन देशका पर्यटकले कस्ता कोठा बस्नका लागि र कुन प्रकारका खाना रुचाउँछन् भन्नेबारे पर्याप्त अध्ययन गरेका छैनन् र त्यसअनुसार आफूलाई तयार गरेका छैनन् ।
पर्यटन व्यवसायीले आफ्ना यी कमी–कमजोरी सच्याउँदै पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न निम्न अनुसारका बाँकी काम गर्नुपर्दछ ः
१) होटल तथा रेस्टुराँमा खपत हुने तरकारी र अन्य खाद्य सामग्री पर्यटन व्यवसायीले स्थानीय कृषक समूहसँग सम्झौता गरी सीधै नियमित खरिद गर्ने वा आफ्नै कृषि फार्म विकास गरी आफूलाई चाहिने उपभोग्य वस्तु आफंै उत्पादन गरी स्थानीय अर्थतन्त्रसँग पर्यटनको अग्र र पृष्ठ सम्बन्ध विकास गर्ने ।
२) निजी क्षेत्रका सहयात्री व्यवसायीलाई पर्यटन क्षेत्रको लागि चाहिने खाद्य पदार्थ देशभित्रै प्रशोधन गर्न अनुरोध गर्ने र देशी उद्योगले प्रशोधन गरेका खाद्य पदार्थ प्रयोग गर्ने ।
३) टुर प्याकेजहरू बनाई पोखराभन्दा बाहिर पर्यटकलाई घुमाउन लैजाने व्यवस्था गर्ने । यसका लागि गण्डकी प्रदेशभित्र र बाहिरका होटलहरूसँग सम्बन्ध विस्तार गरी पर्यटक आदान–प्रदान गर्ने व्यवस्था मिलाउने । यसको लागि सुविधायुक्त सवारी साधन, तालिमप्राप्त टुर गाइड, गुणस्तरीय खाना र मनोरञ्जनको व्यवस्था गर्ने ।
४) कुन देशका पर्यटकले कस्ता कोठा, खाना र घुमघाम रुचाउँछन् भन्नेबारे अध्ययन गर्ने र साधारण होटल सञ्चालनभन्दा देशविशेषका पर्यटकलाई लक्षित गरी होटल व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
५) छिमेकी देश भारत, बंगलादेश र पाकिस्तानमा तापक्रम बढ्दै गएको र गर्मी समयमा हुने सभा, सम्मेलन र बैठकहरू चिसो ठाउँमा गर्ने अभ्यास विकास हुँदै आएकोले कन्फ्रेरेन्स पर्यटनका लागि होटलमा बैठक कक्षहरू विस्तार गरी तयारी गर्ने ।
६) पर्यटन क्षेत्रलाई चाहिने दक्ष जनशक्तिबारे अग्रिम योजना बनाई प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा तालिम सञ्चालन गर्ने र दक्षता प्राप्त गरेका स्थानीय जनतालाई रोजगार दिने ।
७) स्थानीय तहसँगको सहकार्यमा विद्युतीय पर्यटक बस सञ्चालन गरी पर्यटकलाई स्थानीय यातायातको सुविधा उपलब्ध गराउने ।
८) पर्यटकलाई बेच्ने स्वदेशी सामानहरू उत्पादन तथा संकलन गरी हरेक होटलमा कोसेली बिक्री कक्ष सञ्चालन गर्ने ।
९) पर्यटन क्षेत्रको लागि टुर गाइडको विकास, पोखरा बाहिर रात बिताउने साना–साना रिसोर्टहरूको निर्माण, रिसोर्टहरूमा सांस्कृतिक कार्यक्रम सञ्चालन, होमस्टेसँगको सम्बन्ध विस्तार आदि कामहरू गर्नुपर्दछ ।
(ख) पोखरा महानगरपालिकाः पोखरालाई पर्यटकीय राजधानी भनी गरेको घोषणा टिकाइराख्न काम गर्नुपर्ने दोस्रो मुख्य सरोकारवाला निकाय पोखरा महानगरपालिका हो । यसले यस घोषणलाई जीवन्त राखी पर्यटक प्रवद्र्धन गर्न निम्न अनुसारका कामहरू गर्नुपर्दछ ः
१) महानगरभित्र निर्माण भएका घरहरूको आकर्षण बढाउन घरमा एउटै नीलो रङ लगाउन अनुरोध गर्ने । अन्य रङ लगाएका घरले रङ फेर्दा रङ किन्न केही अनुदान दिने र नयाँ बनाउनेलाई नीलै रङ लगाउने नियम बनाई पर्यटक राजधानी शहरका घर नीलो रङका हुन्छन् भन्ने परिचय दिने ।
अब बन्ने नयाँ घरका अगाडि भागमा एउटै किसिमका कलात्मक झ्याल–ढोका हाल्न अनुरोध गर्ने । पुराना घरका झ्याल–ढोका फेर्न केही अनुदान दिने र पर्यटक शहरका घरका झ्याल ढोकाको छुट्टै पहिचान दिने । त्यस्तैगरी घरका पर्खालमा ढुंगा टाँस्ने, छतमा सानो स्लेटले छाएको चतुर्भुज आकारको प्यागोडा शैलीको मन्दिर बनाउने, अब बन्ने घर कम्पाउन्डमा हरियालीका लागि कम्तीमा दुई वृक्ष रोप्ने र पार्किङको व्यवस्था अनिवार्य गरी पर्यटक राजधानी शहरका घरको छुट्टै परिचय दिने ।
२) शहरको भूगर्भलाई दृष्टिगत गरी चारतले भन्दा अग्ला घर बनाउन अनुमति नदिने । चार तलाभन्दा अग्ला घर बनाउन बलियो भूगर्भ भएको ठाउँ पहिचान गरी सीमित ठाउँ तोक्ने ।
३) शहरमा घर बनाउँदा मुख्य बाटोलाई नछेक्ने गरी बनाउन लगाउने र मूल बाटोमा बटुवा हिंड्दा खुल्ला रूपमा हिमाल देखिने गरी हिंड्न पाउने व्यवस्था गर्ने ।
४) पर्यटन व्यवसायीसँगको सहकार्यमा पोखरा महानगरका मुख्यमुख्य ठाउँहरूको अवलोकन गर्न विद्युतीय पर्यटक बस सञ्चालन गर्ने ।
५) पर्यटन क्षेत्रलाई चाहिने आधारभूत तहको प्राविधिक जनशक्ति आफ्नै शैक्षिक संस्थाबाट उत्पादन गर्ने ।
६) सडक सदासर्वदा सफा राख्ने, सडकको दायाँ–बायाँ र खाली जग्गामा वृक्षरोपण गरी हरियाली प्रवद्र्धन गर्ने ।
७) प्रदेश सरकारसँगको सहकार्यमा तालहरूको सौन्दर्यकरण गर्ने ।
८) सेती नदीको दायाँ–बायाँ मापदण्डको जग्गा खाली गराई पर्यटक साइकल लेन बनाउने ।
९) कृषक समूह र पर्यटन व्यवसायीबीच सम्झौता गर्न सहजीकरण गर्ने ।
१०) प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्यमा पोखराको प्रस्तावित रिङरोड निर्माण गर्ने ।
११) पोखराको मुख्य शहरबाट ठूला पूर्वाधार बाहिर सार्ने र मुख्य सडकमा भीडभाड नगराउने ।
(ग) गण्डकी प्रदेश सरकारः पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यमा संलग्न गण्डकी प्रदेश सरकार तेस्रो महत्वपूर्ण सरोकारवाला निकाय हो । यस घोषणालाई टिकाइराख्न र अपेक्षित उपलब्धि हासिल गर्न गण्डकी प्रदेश सरकारले निम्नानुसारका कामहरू गर्नुपर्दछ ः
१) पर्यटन व्यवसाय अनुगमन, नियमन र मूल्यांकन गर्ने मापदण्ड बनाई पर्यटन क्षेत्रको गुणस्तर कायम राख्ने ।
२) क्षमता र गुणस्तरका आधारमा होटलहरूको वर्गीकरण गरी पर्यटक सूचना जारी गर्ने ।
३) पर्यटन गन्तव्यहरूका पूर्वाधार सुदृढीकरण गर्ने ।
४) पर्यटन क्षेत्रलाई चाहिने जनशक्ति जस्तै पर्यटक व्यवस्थापन, हाउस किपिङ, कोलिनरी आर्ट, खाद्य प्रशोधन तथा सञ्चय आदि विषयमा गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानबाट उत्पादन गर्ने ।
५) पोखरा महानगर र संघीय सरकारको समन्वयमा तालहरूको सौन्दर्यकरण गर्ने ।
६) पोखरा महानगर र संघीय सरकारको समन्वयमा पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा लामो दूरीको बसपार्क र प्रस्तावित पोखरा महानगरभित्र रिङरोड निर्माण गर्ने ।
७) पर्यटन क्षेत्रको विस्तारको लागि अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्ने ।
८) विद्युतीय सवारी साधनको लागि चार्जिङ स्टेसनहरूको निर्माण गर्ने ।
९) पोखरा महानगर र शुक्लागण्डकी नगरपालिकाबीच पर्ने पुँडिटारमा औद्योगिक क्षेत्र निर्माण गरी निजी क्षेत्रलाई पर्यटन क्षेत्रको लागि चाहिने खाद्य प्रशोधन उद्योग सञ्चालन गर्न आमन्त्रण गर्ने ।
१०) संघीय सरकारको समन्वयमा पोखरा र लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्गको मोड सुधार गरी स्तरोन्नति गर्ने ।
११) प्रदेशभित्र शान्ति र सुव्यवस्था कायम गर्ने ।
(घ) संघीय सरकारः पोखरालाई नेपालको पर्यटक शहर घोषणा गर्ने संघीय सरकारको भूमिका यस घोषणालाई कार्यान्वयन गरी नेपाल तथा पोखरामा थप पर्यटक आकर्षण गर्न महत्वपूर्ण हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटै यसको घोषणा भएकाले संघीय सरकारको पनि उत्तिकै यसमा दायित्व जोडिन्छ । यस घोषणाको सहज कार्यान्वयन गर्न संघीय सरकारले निम्नअनुसारका कामहरू गर्नुपर्दछः
१) पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्ने र यी विमानस्थलमा विश्वका विभिन्न वायुसेवा निगमहरूलाई आवतजावत गर्न आमन्त्रण गर्ने ।
२) पर्यटनको सुनौला त्रिकोणः सौरहा, पोखरा र लुम्बिनी जोड्ने निर्माणाधीन सडकमार्गको स्तरोन्नति समयमै सक्ने ।
३) पोखरा र लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्गको मोड सुधार गरी स्तरोन्नति गर्ने ।
४) पर्यटन पूर्वाधारको विकास र सुदृढीकरण गर्ने आदि ।
निष्कर्षः गण्डकी प्रदेशको राजधानी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नु समग्र पर्यटन क्षेत्र र गण्डकी प्रदेशको लागि खुसीको कुरा हो । घोषणा हुनु मात्र पर्याप्त होइन र यसको कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य सवाल हो ।
घोषणाको प्रकृति हेर्दा कुनै सर्वस्वीकार्य मापदण्ड पूरा गरेर वा भविष्यमा यो घोषणाले यी अपेक्षित नतिजा हासिल गर्छ भन्ने कुनै भावी मार्गचित्र तयार गरेर गरिएको छैन । भलै एउटा समिति बनाएर प्रतिवेदन तयार पारिएको र त्यही प्रतिवेदनका आधारमा घोषणा गरिएको भनिए पनि ठोस मार्गचित्र देखिन सकेको छैन ।
यो घोषणा अर्थतन्त्रमा देखिएका मन्दीका लक्षणलाई दूर गर्न, नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र पोखरालाई देशभित्र र बाहिर चिनाउनका लागि पर्याप्त तयारी विनै घोषणा गरिएको छ ।
पर्यटक राजधानी घोषित विश्वका अन्य शहरहरूको पर्यटक आकर्षणको प्रभावकारिता हेर्दा पर्याप्त गृहकार्य र तयारी गरी भावी योजना सहित घोषणा भएका शहरहरूले उल्लेख्य प्रगति गरेका छन् । राजनीतिज्ञको लहडमा लहसिएर पर्याप्त तयारी र भावी योजना विनै घोषणा भएका शहरहरू घोषणामै सीमित भएका उदाहरण पनि छन् ।
आशा गरौं, यो घोषणाले सकारात्मक दिशा पकड्नेछ र यसका सरोकारवालाहरू पर्यटन व्यवसायी, पोखरा महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त प्रयासले अपेक्षित नतिजा हासिल गर्नेछ ।
डा. शर्मा गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको दिगो विकास लक्ष्यका पूर्व सल्लाहकार हुन् ।