नेपाल मात्र होइन विश्वभर नवीन रोगको आयतन बर्सेनि बढ्दो छ। पछिल्लो शताब्दीदेखि नै दर्जनौँ चरित्रका क्यान्सर मात्र होइन बरु तरह तरहका अटोइम्युन डिजिज (स्वप्रतिरक्षा रोग) देखि मानसिक रोगीको संख्या अत्यधिक उकासिएको देखिन्छ। बृहत्तर तथ्याड्क विश्लेषणले मानिसको शरीरमा खानासँगै पस्ने विभिन्न तरहका रासायनिक पदार्थहरू अनि स्वास/प्रस्वासको क्रममा फोक्सोमा पुग्ने हावामा घुलनशील केमिकलहरू नै अधिकांश नयाँ रोगको कारक देख्यो।
हाम्रा पूर्वजले सामना गर्नै नपरेका सयौँ किसिमका नवीन ल्याब निर्मित रासायनिक तत्त्वसँग शारीरिक संयन्त्रले जित्न नसकेर नयाँ रोग लागेको देख्छन् वैज्ञानिकहरू। तरकारी र फलफूलमा प्रयोग हुने रासायनिक पदार्थदेखि चलानी खान्कीलाई खाउँ खाउँ लाग्ने बनाउन प्रयोग हुने रंगहरू अनि जंकफुड प्रशोधनका क्रममा उत्पादन हुने केमिकलहरू खानासँगै शरीरमा पुग्छन्। जसरी ओखतीका रूपमा प्रयोग हुने असल रासायनिक पदार्थले हामीलाई रोगबाट सन्चो पार्छ त्यसैगरी बैइमान चरित्रको केमिकल शरीरमा पुग्दा शारीरिक प्रक्रिया बिच्छेद गर्छ अनि हामी रोगी बन्छौँ। क्यान्सरलगायतका लक्षणले सताउँछ।
उमेर ढल्केपछि लाग्ने भएकाले अर्बुद रोगलाई पाको उमेरको रोग मानिन्थ्यो, भनिन्छ पनि। तर पछिल्लो समय बच्चामै क्यान्सरले सताएकाको संख्या अपत्यारिलो हिसाबले बढ्यो। आखिर किन बढ्दो उमेरका सन्ततिलाई महारोगले सतायो त भनी हेर्दा खान्कीमा जानी नजानी प्रयोग हुने रासायनिक पदार्थले क्यान्सरलाई हौस्याएको देखियो।
अमेरिकाको न्युयोर्क युनिभर्सिटीको आयुर्विज्ञान विभागका प्राध्यापक लियोनार्दो ट्रासान्डी युवादेखि वृद्धसम्मलाई नसोचेको रोग लाग्नुमा खानामा प्रयोग भएको विभिन्न चरित्रका केमिकललाई मुख्य अभियुक्त ठान्छन्। खान्कीमा प्रयोग हुने रासायनिक पदार्थका कारण जटिल रोगको संख्या उकासिएको हो भने त्यस्ता केमिकललाई किन प्रयोगको अनुमति दिइन्छ त भन्ने प्रश्न उठ्छ नै।
रासायनिक पदार्थहरू विविध चरित्रका हुन्छन्। कुनै केमिकलको भस्मासुर चरित्र प्रारम्भमै जानकारी हुन्छ भने केही रासायनिक पदार्थको खराबी पत्ता लाग्न वर्षौँ पर्खनुपर्छ। प्रथम परीक्षणमै खराब देखिएका रासायनिक पदार्थहरू खाद्यान्नमा मिसाउन पाइन्न। तर परीक्षणले प्रष्टरूपले बेइमानी पुष्टि गर्न नसकेका रासायनिक पदार्थको प्रयोगलाई कानुनले वर्जित गर्दैन। बरु त्यस्ता केमिकललाई सामान्य त सुरक्षित (जेनेरल्ली रिकोग्नाइज्ड आयज सेफ) तत्त्वको श्रेणीमा राखी खाद्यान्नमा प्रयोग गरी बिक्री वितरण गर्न कानुनले अनुमति दिन्छ। नियमको यही छिद्रलाई प्रयोग गरी खाद्य उत्पादकहरूले विभिन्न किसिमका रासायनिक पदार्थ प्रयोग गरी उपभोक्तालाई आकर्षित गर्छन्। एउटा तथ्यांकले संसारमा झण्डै १० हजार रासायनिक पदार्थ हाल खाद्य पदार्थमा प्रयोग भइरहेको बतायो।
पेय पदार्थ कोकाकोलामा दशकौँदेखि प्रयोग भएको एक रासायनिक तत्त्वले क्यान्सर लाग्ने कुरा भर्खर पत्ता लाग्यो। ल्याब निर्मित रंग रेड डाई थ्री सन् १९६० को दशकदेखि नै खानालाई रंगिन बनाउन प्रयोग हुन थाल्यो। तर यो कृत्रिम रंग क्यान्सर, मुटुको रोग तथा मधुमेह जस्ता लक्षणको कारक रहेको भर्खर एकिन भयो अनि यसको प्रयोगमा बन्देज लाग्यो।
त्यस्तै खाना पकाउँदा नटाँसियोस् भन्नाका लागि प्रयोग हुने नन स्टिकी भाँडा बर्तनमा प्रयोग हुने तत्त्वले अर्बुद रोग लाग्ने ठम्याउन वर्षौँ कुर्नुपर्यो। धेरै मानिस क्यान्सरबाट मरेपछि कोकाकोला कम्पनीले आफ्नो पेय पदार्थमा प्रयोग भएको केमिकल परिवर्तन गर्यो, कृत्रिम रंगको प्रयोग रोकियो अनि भाँडा बनाउने फ्याक्ट्रीले अर्को विकल्प खोज्यो। यसरी लाखौँलाख जनता नवीन रासायनिक पदार्थको परीक्षणमा होमिन बाध्य छन्। रोग बोक्न पुग्छन्।
आखिरमा धेरै रासायनिक पदार्थको गुण दोष पत्ता लगाउन किन वर्षौँ लाग्छ त ? धेरै केमिकलको दुष्चरित्र पत्ता लाग्न वर्षौ लाग्नुको मुख्य कारण तिनीहरूले कुनै एउटा प्रमुख अंगलाई तात्कालै प्रहार गरी हामीलाई तुरुन्तै रोगी बनाउँदैनन् बरु उनीहरूले अप्रत्यक्ष रूपले इन्डोक्राइन सिस्टममार्पmत आफ्नो प्रभाव फैलाउँछ।
इन्डोक्राइन सिस्टमले विभिन्न किसिमको हर्मोन उत्पादन गर्छन्। शरीरमा हुने सबै प्रकारको रासायनिक प्रतिक्रियालाई हर्मोनले नियन्त्रण गर्ने भएकाले इन्डोक्राइन सिस्टममा कुनै पनि किसिमको तलमाथि भएमा शारीरिक प्रक्रियाको सन्तुलन बिग्रन्छ। इन्डोक्राइन सिस्टम क्रियाशील भए अत्यधिक हर्मोन उत्पादन हुन्छ अनि शारीरिक प्रक्रियाले रफ्तार लिन्छ।
त्यस्तै सिस्टम सुषुप्त भए हर्मोनको उत्पादन घट्ने भएकाले शारीरिक प्रतिक्रिया मन्द हुन पुग्छ। शरीरमा हुने सबै किसिमका रासायनिक प्रक्रिया सन्तुलित हुन हर्मोनको उत्पादन तल–माथि हुनु हुँदैन। तर दुर्भाग्य खानामार्फत शरीरमा पुगेका बाह्य रासायनिक पदार्थले इन्डोक्राइन सिस्टमलाई सम्झौता गर्न बाध्य बनाउँछ। हर्मोनको मात्रा सन्तुलन बिग्रँदा व्यक्ति बिरामी हुन्छ।
उदाहरणका लागि इन्डोक्राइन प्रणालीअन्तर्गतको थाइरोइडमा समस्या आउँदा त्यसले उत्पादन गर्ने थाइरोक्सिन हर्मोनको मात्रामा खलबली आउँछ अनि व्यक्ति मुटु, दिमाग, मांसपेशी अनि हड्डी रोगको संयुक्त मारमा पर्छ। तर बिरामीको अवस्था व्यक्तिको इन्डोक्राइन सिस्टमले कति क्षति बेहोर्यो त्यसले निर्देशित गर्छ।
मानिसलाई निश्चित मात्रामा नून चाहिने भएकाले हामीले दैनिक खाने लवणको मात्रा महत्त्वपूर्ण हुन्छ। तर चाहिने भन्दा अलि बढी अथवा केही कम नून सेवन गर्दैमा व्यक्ति बिमारी परिहाल्दैन बरु लक्षण देखिनका लागि वर्षौँ कुर्नुपर्छ। उल्लिखित नूनको उदाहरणझैं खानामार्फत शरीरमा पुगेका स्लो पोइजनरूपी रासायनिक पदार्थले इन्डोक्राइन सिस्टमलाई शिथिल पारी इन्जाइमको मात्रालाई तलमाथि बनाइ हामीलाई रोगी बनाउन वर्षौँ लाग्न सक्छ।
लामो समयदेखि खानामा प्रयोग हुने रासायनिक पदार्थको प्रभावलाई नजिकबाट चिरफार गरिरहेका लन्डनस्थित इम्पेरियल कलेजका प्राध्यापक जोन बार्नरको विश्लेषणलाई पत्याउने हो भने खाद्यान्नमा प्रयोग भएका सयौँ रासायनिक पदार्थमध्ये अधिकांश रोगका कारक हुन्।
मानिसलाई लामो समयसम्म भर्खरको बनाइराख्ने एन्टिअक्सिडेन्टलाई दुहाई दिँदै प्रचारप्रसारका साथ दुई ल्याब निर्मित रासायनिक बिएचए र बिएचटी सबलीकरणमार्पmत खाद्यान्न बेच्ने गरियो। तर हालै बाहिरिएको तथ्यांकले एन्टिअक्सिडेन्ट दाबी गरिएको रासायनिक पदार्थले सेवनकर्तालाई रोगी बनाउने भन्यो।
त्यस्तै गत वर्ष प्रकाशित एक अनुसन्धानले तयारी खाना बनाउने कम्पनीले भोजन नरम बनाउन प्रयोग गर्ने केमिकल इमल्सिफायर्सले व्यक्तिको पाचन प्रणालीको सूक्ष्माणुलाई तहसनहस पारी व्यक्ति मुटु रोग र क्यान्सरको सिकार हुन देखायो।
खाद्यान्नलाई थप सबलीकरण बनाउने नाममा प्रयोग भएका झण्डै सबै नै रासायनिक पदार्थहरू रोगको कारक देखिएको अवस्थामा तयारी खान्की प्याक गर्न प्रयोग भएका खोलहरू झनै खराब रहेको देख्छन् वैज्ञानिकहरू। चकलेट, चाउचाउ, बिस्कुट, पानी, जुसलगायतका अधिकांश तयारी खान्की तथा पेय पदार्थहरू प्लास्टिक अथवा अलुमिनमको बट्टामा प्याक गरिएका हुन्छन्।
आँखाले हेर्दा नदेखिए पनि खोल बनाउन प्रयोग भएका रासायनिक तत्त्वका अवशेषहरू खानामा सर्छन्। प्लास्टिकका सूक्ष्म स्वरूप माइक्रोप्लास्टिकले क्यान्सर लगायत मानसिक रोग भित्र्याउने देखियो भने प्याकेजिङ मटेरियल बनाउन प्रयोग भएका अन्य रासायनिक तत्त्व शरीरमा पुग्दा शारीरिक बायोलोजीको सन्तुलन बिग्रन गइ विभिन्न रोगको सिकार हुने देखियो।
बट्टामा बन्द भएका सबै खान्कीमा रासायनिक पदार्थ रहन्छ। अनि जंक फुडमा प्रयोग भएका केमिकलहरूले दीर्घकालीन स्वास्थ्य खल्बल्याउँछ। चलानी खान्की बच्चादेखि बूढासम्म सबैका लागि खराब नै हुने भए पनि बढ्दो उमेर समूहका लागि भने त्यसले अझ ठूलो क्षति पुर्याएको देखिन्छ। अमेरिकाको क्यालिफोर्निया राज्यले सन् २०२१ मा प्रकाशित एक अध्ययनले खानालाई आकर्षित बनाउन प्रयोग हुने रंगहरूले बच्चाको स्नायु प्रणालीलाई असर पारी उनीहरूको स्मरण क्षमतालाई असर पार्ने देख्यो।
सबै किसिमका चलानी खान्की तथा पेय पदार्थहरू लामो समयसम्म नबिग्रियोस् भन्नाका लागि रासायनिक पदार्थको प्रयोगमार्फत सबलीकरण गरिन्छ। आकर्षित बनाउन कृत्रिम तत्त्वले बनेको वर्तनमा बन्द गरी बिक्री वितरण गरिन्छ। प्रशोधित खान्कीमा प्रयोग भएका केमिकल र भोजन प्याक गर्न प्रयोग भएका खोल बट्टा दुवैले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँछन्। तसर्थ स्वस्थ जीवन बिताउनका लागि बोतलमा प्याक भएका कोक फेन्टाको बदला स्थानीय दही, मही, दूध र लस्सी प्रयोग गरौँ। अनि तयारी चाउचाउ, बिस्कुट सेवनको सट्टा घरमा बनेको खाजामा भर परौँ। परदेशबाट आएको बेमौसमी फलफूलभन्दा घरबारीमा फलेको फल र स्थानीय तरकारी खाने आदत बनाऔँ। कम खर्चमा स्वस्थ जीवन जिउने उपाय अवलम्बन गरौँ।
– पोखरेल अमेरिकास्थित युरोफिन्स ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।
प्रकाशित: २० चैत्र २०८१ ०६:१२ बुधबार