प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार

एपिसेन्टर एनवाईसी र म्युजियम अफ द मुभिङ इमेजले जुन ७ आइतबार क्वीन्समा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सामुदायिक सम्मेलन आयोजना गर्ने भएका छन्।
“एआई फर द पिपल: अ कम्युनिटी समिट” नाम दिइएको उक्त कार्यक्रम जुन ७ तारिख आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म म्युजियम अफ द मुभिङ इमेजको विलियम फक्स एम्फिथिएटरमा हुनेछ।
आयोजकका अनुसार कार्यक्रममा पत्रकार, प्रविधि विज्ञ, सामुदायिक अगुवा र नागरिक नवप्रवर्तनकर्ताहरू सहभागी हुनेछन्। सम्मेलनको उद्देश्य एआईलाई समुदायका लागि कसरी उपयोगी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्नु हो।
कार्यक्रममा म्याकिन्सेका पार्टनर एन्थोनी शोरिसले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।
“एआई फर गुड” शीर्षकमा हुने विशेष प्रस्तुतिमा लाइटशेड डट आईओ, सिटिजन मिडिया ग्रुप र ग्रीनपोइन्टर्स जस्ता संस्थाहरूले एआई प्रयोग गरेर स्थानीय समाचार, नागरिक सहभागिता र सामुदायिक काममा कसरी योगदान दिइरहेका छन् भन्ने देखाइनेछ।
त्यसैगरी “एआई फर द पिपल” विषयमा प्यानल छलफल पनि हुनेछ, जसमा साइबर कलेक्टिभकी प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक ताजिन खान, डिफेन्डर नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सोनी मेसिया जाइल्स र कम्युनिटी इन्फर्मेसन कोअपरेटिभका प्रमुख कार्यकारी अधिकृत तथा द जर्सी बीका कार्यकारी सम्पादक साइमोन गाल्पेरिन सहभागी हुनेछन्। छलफलको सञ्चालन एपिसेन्टर एनवाईसीकी सह–संस्थापक एस. मित्रा कालिताले गर्नेछिन्।
कार्यक्रममा एआईसँग सम्बन्धित जटिल शब्दहरूको सरल व्याख्या, विशेषज्ञसँग प्रत्यक्ष प्रश्नोत्तर, तथा अनलाइन ठगी, डीपफेक र डाटा सुरक्षाबारे जानकारी दिने सत्रहरू पनि समावेश गरिएका छन्।
यो कार्यक्रम निःशुल्क रहेको छ र सहभागी हुन इच्छुकले अनलाइन दर्ता गर्न सक्नेछन्।
