न्युयोर्क एसेम्बली डिस्ट्रिक्ट ३० मा मार्टिनेज र हकबीच तीव्र प्रतिस्पर्धा, घिमिरेको ६८९ मत



प्रकाशित मिति : १० असार २०८३, बुधबार

न्युयोर्क एसेम्बली डिस्ट्रिक्ट ३० मा मार्टिनेज र हकबीच तीव्र प्रतिस्पर्धा, घिमिरेको ६८९ मत

न्युयोर्क राज्य संसद्का लागि एसेम्बली डिस्ट्रिक्ट ३० मा भएको डेमोक्रेटिक प्राइमरीमा ९२ प्रतिशत मत गणना भइसक्दा पनि विजेता घोषणा हुन सकेको छैन। दुई मुख्य उम्मेदवारहरू प्याट्रिक मार्टिनेज र शामशुल हकबीच कडा प्रतिस्पर्धा देखिएको छ भने कसैले पनि ५० प्रतिशत मत कटाउन सकेका छैनन्।

पहिलो स्थानमा रहेका प्याट्रिक मार्टिनेजले ४४ दशमलव ३ प्रतिशत अर्थात् २,७०३ मत ल्याएका छन् भने शामशुल हकले ४४ प्रतिशत अर्थात् २,६९० मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली मूलका उम्मेदवार सोमनाथ घिमिरेले ११ दशमलव ३ प्रतिशत अर्थात् ६८९ मत ल्याएका छन्।

एसेम्बली डिस्ट्रिक्ट ३० नेपाली अमेरिकीहरूको समेत उल्लेख्य बसोबास रहेको क्षेत्र हो। यस क्षेत्र अन्तर्गत उडसाइड, एल्महर्स्ट र मास्पेथका साथै एस्टोरिया, ज्याक्सन हाइट्स र मिडल भिलेजका केही भागहरू पर्दछन्। वर्तमान राज्य सांसद स्टीभन रागाले राज्य सिनेटमा उम्मेदवारी दिएपछि यस क्षेत्रमा यसपटक सबै नयाँ अनुहारहरू प्रतिस्पर्धामा उत्रिएका हुन्।

जुन २३ मा भएको डेमोक्रेटिक प्राइमरीको विजेताले आगामी नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार ब्राण्डन क्यास्ट्रोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। न्युयोर्क राज्य संसद्का १५० वटा क्षेत्रहरूमध्ये केवल डिस्ट्रिक्ट ३० र अन्य ४० वटा डिस्ट्रिक्टको मात्र अन्तिम नतिजा आउन बाँकी छ। अन्य सबै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।

मार्टिनेजले न्यूयोर्कको प्रतिष्ठित स्टुइभेसेन्ट हाई स्कूलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए। उनले सन् २००९ मा मिडलबरी कलेजबाट स्नातक र सन् २०२० मा बरुक कलेजबाट स्नातकोत्तर हासिल गरेका थिए। राजनीतिमा आउनुअघि उनीसँग मार्केटिङ डाइरेक्टरका रूपमा काम गरेको व्यावसायिक अनुभव रहेको छ।

न्युयोर्क एसेम्बली डिस्ट्रिक्ट ३० मा मार्टिनेज र हकबीच तीव्र प्रतिस्पर्धा, घिमिरेको ६८९ मत

मार्टिनेजसँग कडा प्रतिस्पर्धामा रहेका शामशुल हक न्यूयोर्क पुलिस विभागका पूर्व लेफ्टिनेन्ट कमान्डर हुन्। उनले २१ वर्षसम्म न्यूयोर्क प्रहरीमा सेवा गरेका थिए, जसमध्ये पछिल्लो १० वर्ष उनले आन्तरिक मामिला ब्युरोमा भ्रष्टाचार र दुर्व्यवहारको अनुसन्धान गर्दै बिताएका थिए। उनी ‘बंगलादेशी अमेरिकन पुलिस एशोसिएशन’ का सह-संस्थापक समेत हुन्।

३५ वर्षअघि आप्रवासीका रूपमा अमेरिका आएका हकले सुरुवाती दिनमा स्टोर क्लर्क, बसब्वाई र डिशवासरका रूपमा काम गरेका थिए। पछि उनले लागुआर्डिया कम्युनिटी कलेज र बरुक कलेजबाट उच्च शिक्षा हासिल गरे। यदि उनी विजयी भएमा न्यूयोर्क राज्य संसदमा पुग्ने पहिलो बंगलादेशी अमेरिकन बन्नेछन्।

चुनावी मैदानमा रहेका नेपाली मूलका उम्मेदवार सोमनाथ घिमिरेले डन बस्को स्कूलबाट हाई स्कूल पूरा गरेका थिए। उनले सन् १९९५ मा मगध विश्वविद्यालयबाट स्नातक हासिल गरेका थिए। घिमिरे लामो समयदेखि न्यूयोर्कको नेपाली समुदाय र आप्रवासीहरूका हकहितका लागि काम गर्दै आएका एक परिचित सामाजिक अभियन्ता हुन्।





Source link

Leave a Comment