प्रकाशित मिति : ९ असार २०८३, मंगलबार

तस्वीर : आइस
जस्टिस डिपार्टमेन्टले न्युयोर्क राज्यविरुद्ध सङ्घीय अदालतमा मुद्दा दायर गरेको छ। यसै हप्तादेखि लागू हुन लागेको न्युयोर्कको एउटा नयाँ कानुनले सङ्घीय एजेन्टहरूलाई ड्युटीको समयमा मास्क वा अनुहार छोप्ने कपडा लगाउन प्रतिबन्ध लगाएपछि यो कानुनी लडाइँ सुरु भएको हो।
सङ्घीय अधिकारीहरूका अनुसार यो कानुनले एजेन्टहरूको पहिचान सार्वजनिक हुने र उनीहरू “दुर्व्यवहार, ट्र्याकिङ, धम्की तथा आक्रमण” को जोखिममा पर्नेछन्। बफेलोस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको उक्त मुद्दामा न्युयोर्ककी गभर्नर क्याथी होचुलले राज्यको वार्षिक बजेटभित्र यो “असंवैधानिक कानुन” समावेश गरेको आरोप लगाइएको छ।
एसोसिएट एटर्नी जनरल स्टेनली वुडवर्डले भने, गभर्नर होचुलले सङ्घीय अधिकारीहरूलाई उनीहरूको काम कसरी गर्ने भनेर निर्देशन दिन सक्नुहुन्न। सङ्घीय कानुन कार्यान्वयनका क्रममा अधिकारीहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न पाउने अधिकारबाट राज्यले रोक्न मिल्दैन।
जुन २६ देखि लागू हुने तय भएको यस कानुन अनुसार आइस र ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनका एजेन्टहरूले मास्क लगाएमा उनीहरू आपराधिक सजायको भागीदार बन्नुपर्नेछ। जस्टिस डिपार्टमेन्टयो कानुन अमेरिकी संविधानको ‘सुप्रिमेसी क्लज’ जसले राज्यको कानुनभन्दा सङ्घीय कानुन माथि हुने व्यवस्था गर्छ र अन्तर-सरकारी उन्मुक्तिको सिद्धान्त विपरीत भएको दाबी गरेको छ।
सङ्घीय अधिकारीहरूका अनुसार हालका दिनहरूमा सर्वसाधारणले सङ्घीय कारबाहीको भिडियो खिचेर एजेन्टहरूको व्यक्तिगत पहिचानसहित अनलाइनमा सार्वजनिक गर्ने क्रम बढेको छ। यसले एजेन्टहरूलाई डराउने र धम्क्याउने काम गरिरहेको जस्टिस डिपार्टमेन्टको भनाइ छ। यस्तो संवेदनशील जानकारी ‘ट्रेन डे अरागुआ’ र ‘एमएस-१३’ जस्ता परिष्कृत आपराधिक गिरोहहरूले एजेन्टहरूविरुद्ध प्रयोग गर्न सक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।
जस्टिस डिपार्टमेन्टका एक अधिकारीका अनुसार, “यदि क्यालिफोर्निया वा न्युयोर्कले यस्ता प्रतिबन्धहरू लगाउन पाउने हो भने, आगामी दिनमा उनीहरूले सङ्घीय एजेन्टहरूलाई चिनारी भएका गाडीहरू प्रयोग गर्न समेत प्रतिबन्ध लगाउन सक्नेछन्। यसले एजेन्टहरूको जीवन जोखिममा पार्छ।
अर्कोतर्फ, न्युयोर्ककी गभर्नर क्याथी होचुल र एटर्नी जनरल लेटिटिया जेम्सले जस्टिस डिपार्टमेन्टको मुद्दाविरुद्ध आफ्नै तर्फबाट कानुनी प्रक्रिया सुरु गरेका छन्। उनीहरूले अदालतसँग न्युयोर्कको यो कानुनलाई वैधानिक घोषित गर्न र ट्रम्प प्रशासनलाई हस्तक्षेप गर्नबाट रोक्न माग गरेका छन्।
एटर्नी जनरल जेम्सले भनेका छन्, अनुहार लुकाएर र आफ्नो पहिचान खुलाउन अस्वीकार गरेर सङ्घीय अध्यागमन अधिकारीहरूले न्युयोर्कवासीहरूलाई जोखिममा पारिरहेका छन् र जवाफदेहिताबाट उम्किरहेका छन्। हाम्रा समुदायहरू अपरिचित र मास्क लगाएका एजेन्टहरूबाट गायब हुने डरमा बस्न सक्दैनन्।
गभर्नर होचुलले पनि यो कानुनले न्युयोर्कको मूल्यमान्यता झल्काउने बताउँदै भने, “ब्याज बोक्नुको अर्थ जनताको विश्वास कायम राख्नु हो। न्युयोर्कवासीहरूले आफ्नो क्षेत्रमा कानुन कार्यान्वयन गर्नेहरू को हुन् भन्ने कुरा थाहा पाउनु उनीहरूको अधिकार हो।”
जस्टिस डिपार्टमेन्टले यसअघि क्यालिफोर्निया, भर्जिनिया, न्यु जर्सी र फिलाडेल्फियामा पनि यस्तै कानुनविरुद्ध मुद्दा दायर गरिसकेको छ। यी सबै क्षेत्रहरूमा ‘स्यान्चुरी’ नीति लागू छ, जसले सङ्घीय अध्यागमन एजेन्टहरूसँगको स्थानीय सहयोगलाई सीमित गर्दछ।
यसअघि गत अप्रिलमा, नाइन्थ युएस सर्किट कोर्ट अफ अपिल्सले क्यालिफोर्नियालाई आफ्नो यस्तै प्रकारको कानुन लागू गर्नबाट रोकेको थियो। यदि न्युयोर्कको मुद्दामा फरक अदालतले फरक फैसला गरेमा यो विवाद अन्तिम निरूपणका लागि सर्वोच्च अदालत सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
