न्युजर्सी आप्रवासन हिरासत  केन्द्रबाहिर सुरक्षाकर्मीद्वारा बल प्रयोग, तनाव झन् चर्कियो



प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार

न्युजर्सी आप्रवासन हिरासत  केन्द्रबाहिर सुरक्षाकर्मीद्वारा बल प्रयोग, तनाव झन् चर्कियो

फोटो : एपी/रासस

अमेरिकाको न्युजर्सीस्थित आप्रवासन नियन्त्रण केन्द्रबाहिर भइरहेको प्रदर्शन फेरि हिंसात्मक बनेको छ। प्रदर्शनकारीमाथि संघीय सुरक्षाकर्मीहरूले रासायनिक पदार्थ छर्किनुका साथै लाठी र विद्युतीय झट्का प्रयोग गरेपछि अवस्था तनावपूर्ण बनेको हो।

न्युयोर्कस्थित ‘डेलानी हल’ नामक आप्रवासन हिरासत केन्द्रमा बन्दीहरूले पाँचौँ दिनदेखि भोक हड्ताल र श्रम हड्ताल जारी राखिरहेका छन्। उनीहरूले राम्रो खाना, उचित हावापानी, स्वास्थ्य सेवा तथा आफ्ना आप्रवासनसम्बन्धी मुद्दाको छिटो सुनुवाइको माग गरेका छन्।

उक्त केन्द्र अमेरिकाको ठूलो निजी कारागार सञ्चालक कम्पनी ‘जिओ समूह’ द्वारा सञ्चालन हुँदै आएको छ। अधिकारकर्मीहरूका अनुसार तीन सयदेखि चार सयसम्म बन्दी हड्तालमा सहभागी छन्।

मङ्गलबार साँझ एक प्रदर्शनकारीले आप्रवासन अधिकारीतर्फ कुनै वस्तु फ्याँकेपछि दर्जनौँ सुरक्षाकर्मीले उनलाई पछ्याएका थिए। पछि उनलाई विद्युतीय झट्का दिएर पक्राउ गरिएको थियो। यो आन्दोलन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको कडा र विवादास्पद सामूहिक निर्वासन अभियानका बीच चर्किएको हो। प्रशासनले देशभरका आप्रवासीहरूलाई पक्राउ गरी निष्कासन गर्ने अभियान तीव्र बनाएको छ।

हिरासत केन्द्रभित्र रहेका बन्दीहरूले आफूहरू अपराधी नभएको बताएका छन्। उनीहरूले आफूहरू कर तिर्ने, परिवार पाल्ने तथा कानुनी प्रक्रियामार्फत अमेरिकामा बस्न खोजिरहेका सर्वसाधारण नागरिक भएको दाबी गरेका छन्।

जिओ समूहले भने बन्दीहरूलाई चौबीसै घण्टा स्वास्थ्य सेवा, कानुनी परामर्श, परिवारसँग भेटघाट, पुस्तकालय सुविधा तथा नियमित खाना उपलब्ध गराइरहेको दाबी गरेको छ।

यसअघि न्युजर्सीका सिनेटर एन्डी किम तथा गभर्नर मिकी शेरिलसहित डेमोक्र्याट नेताहरूले हिरासत केन्द्र प्रवेश गर्ने प्रयास गरेका थिए। किमले केन्द्रभित्रको अवस्था “अमानवीय” रहेको बताएका छन्। तर, अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी डीएचएस) ले हड्ताल भइरहेको दाबी अस्वीकार गरेको छ।

डीएचएसका मन्त्री मार्कवेन मुलिनले डेलानी हलमा कुनै भोक हड्ताल नभएको र त्यहाँको अवस्था खराब नरहेको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

डीएचएसका अनुसार बन्दीहरूलाई दिनमा तीन पटक भोजन, सफा पानी, लुगा, ओछ्यान, स्नान सुविधा तथा स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। तर, बन्दीहरूले खाना खान अयोग्य रहेको, त्यसमा किरा भेटिएको, केन्द्रमा हावा चल्ने व्यवस्था (भेन्टिलेसन) नरहेको, रोग फैलिएको र उपचार ढिलो हुने गरेको आरोप लगाएका छन्। उनीहरूले आफ्ना मुद्दाको सुनुवाइमा पनि ढिलाइ भइरहेको बताएका छन्।

न्युजर्सीमा आप्रवासन हिरासत केन्द्र सञ्चालनको विषय लामो समयदेखि विवादित रहँदै आएको छ। राज्य सरकारले निजी कम्पनीद्वारा सञ्चालित आप्रवासन हिरासत केन्द्र प्रतिबन्ध गर्ने कानुन ल्याए पनि अदालतले पछि उक्त कानुन खारेज गरिदिएको थियो। डेलानी हल केन्द्र मे २०२५ देखि पुनः सञ्चालनमा आएको हो। त्यसयता केन्द्रबाहिर निरन्तर प्रदर्शनहरू हुँदै आएका छन्।





Source link

Leave a Comment