प्रकाशित मिति : मंसिर २८, २०८२ आईतबार

थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासले २०२५ को ११ महिना ११ दिनसम्ममा २५७ जनाको उद्धार गरी नेपाल फर्काइसकेको जानकारी दिएको छ। यो उद्धार थाइल्याण्डबाट मात्र नभई म्यानमार, लाओस, कम्बोडिया लगायतका देशबाट भएको हो। दूतावासका अनुसार विभिन्न अनलाइन प्लेटफर्महरू (फेसबुक, टिकटक, टेलिग्राम, लिंक्डइन आदि) मार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली युवा तथा महिलाहरूलाई म्यानमारका अवैध साइबर स्क्यामिङ केन्द्रहरूमा लगेर बन्धक बनाउने क्रम तीव्र रूपमा बढेको छ।
नेपाल सरकारले पटक–पटक जारी गरेको सूचना तथा चेतावनीका बाबजुद यो समस्या नियन्त्रणमा आउन सकेको छैन। पछिल्लो समय थाइल्याण्डस्थित नेपाली राजदूतावासको सक्रियतामा दर्जनौं नेपालीको उद्धार भएको छ, तर अझै सयौं अलपत्र परेका हुन सक्ने अनुमान छ।
स्क्यामरहरूले मुख्यतः सामाजिक सञ्जालमार्फत सम्पर्क गर्छन्। आकर्षक तलब (मासिक ७०० देखि १५०० डलरसम्म) को लोभ देखाएर थाइल्याण्ड वा अन्य देशमा “टुरिस्ट भिजिट” का नाममा लगिन्छ। त्यहाँबाट अवैध रूपमा म्यानमारका सीमावर्ती क्षेत्र (म्यावाडी, केके पार्क आदि) मा पुर्याइन्छ। पासपोर्ट खोसिन्छ र बन्धक बनाइन्छ। नेपाल प्रहरीको एन्टी–ह्युमन ट्राफिकिङ ब्यूरोका अनुसार यो एक “सफिस्टिकेटेड” अन्तर्राष्ट्रिय सिन्डिकेट हो, जसमा नेपाली दलालहरू पनि संलग्न छन्।
महिलाहरूको सन्दर्भमा यो समस्या झनै जोखिमपूर्ण छ। प्रलोभनमा परेर पुगेकी महिलाहरूलाई यौन शोषण, जबरजस्ती विवाह वा थप ट्राफिकिङको जोखिम हुन्छ। यद्यपि पछिल्ला उद्धारहरूमा महिलाको संख्या कम देखिए पनि समग्र मानव बेचबिखनमा नेपाली महिलाहरू बढी पीडित हुने तथ्यांक छ।
वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रिया र कम्पनीबाटै रोजगारदाताको माग हुनुपर्ने तथा धेरै समय लाग्ने अवस्थाले छोटो बाटो अपनाउने प्रवृत्ति बढाएको छ।
सामाजिक सञ्जाल वा साथीभाइको कुरामा विश्वास गरी जागिरको अफर आयो भन्दै लहैलहैमा लाग्ने प्रवृत्ति पनि बढेको छ। कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता देशमा “टुरिस्ट भिजा” मा गएर काम सजिलै पाइन्छ भन्ने धारणा र सस्तो तथा सजिलो भिजाका कारण मानव तस्करीलाई सहज भएको दूतावासको बुझाइ छ। छिटो र धेरै पैसा कमाउने लोभले पनि तस्करहरूलाई सजिलो हुँदै गएको छ।
यसै सन्दर्भमा कुरा गर्दै राजदूत धनबहादुर ओलीले यो समस्या बढ्दै गएको बताए। “अहिलेको समयमा पढेलेखेका मानिसहरू नै यस्तोमा फसेका छन्। नेपालमै आईटी पढेर काम गरेर बुझेका व्यक्तिहरूले नै छोटो बाटो खोजेर छिटो पैसा कमाउन खोजिरहेका छन्। हामीले थाहा पाउने भनेको धेरै खराब अवस्थामा पुगेपछि मात्र हो,” ओलीले भने ।
“अहिले थाइल्याण्ड र कम्बोडियाबीच चलेको युद्धले पनि उद्धारमा समस्या निम्त्याएको छ। म्यानमारमा आफ्नै समस्या छ, जसले गर्दा उद्धारमा कठिनाइ भएको छ। यति मात्र होइन, हाम्रो सीमित स्रोत र साधनले गर्दा पनि सबै कुरामा छिटो एक्शन लिन सकिने अवस्था छैन। तर हामीले सकेसम्म दूतावासबाट परराष्ट्र सम्बन्धमार्फत समाधान गर्दै आएका छौं। यो समस्या वर्षेनी बढिरहेको छ,” राजदूत धनबहादुर ओलीको भनाई छ ।
केही व्यक्ति दोहोरिएका छन्, जसले गर्दा नेपालबाट पनि अनुसन्धान गर्न जरुरी रहेको उनी बताउँछन्। नेपाल फर्काइएकाहरूले हालसम्म कुनै उजुरी गरेको छैनन्, जसले गर्दा नेपालमा कुनै अनुसन्धान भएको छैन। यसले यसको अवस्था कहाँ छ भन्ने पनि थाहा छैन। आवश्यकता परेकाहरूलाई थाहा भएर उद्धार गरिएको र बाँकी कति छन् थाहा नभएको ओलीले जानकारी दिए ।
उद्धार भएकाहरूका अनुसार उनीहरूलाई मानसिक तथा शारीरिक यातना दिइने र विभिन्न स्क्याममा लगाइने गरिन्छ। केही समयअघि नेपालीको मृत्युसहित उद्धार गरेको घटना पनि ताजा रहेको राजदूत धनबहादुर ओलीले जानकारी गराए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्