न्यायको पर्खाइमा सुप्रिम सहकारी पीडित

न्यायको पर्खाइमा सुप्रिम सहकारी पीडित


बुटवलकी राजकुमारी लगौंटिया दुवै आँखा देख्दिनन्। तैपनि उनले बत्ती कातेर केही पैसा जम्मा गरेकी थिइन्। त्यो पैसा सहकारीमा राखे व्याज धेरै दिने भन्दै सुप्रिम सहकारीका कर्मचारीले दिनदिनै फकाउन थालेपछि राजकुमारीले २ लाख ७५ हजार रुपैँया सुप्रिममा बचत गरिन। तर पैसा जम्मा गरेको ५/७ वर्ष  बितिसक्दा पनि उनले न ब्याज पाइन र चाहिएको बेला बचत झिक्न।  ‘म आँखा देख्दिन,उमेरले वृद्ध भइसके, बत्ती कातेर केही पैसा जम्मा गरेकी थिए त्यही पनि सहकारीका मान्छेले खाइदिए’ राजकुमारीले भनिन।

बत्ती काडेर जम्मा गरेको पैसा सहकारीले खाइदिएपछि आँखाको उपचार गर्ने र छोरी ज्वाइँलाई एक जोर नयाँ लुगा किनिदिने योजना अधुरै रहेको उनले सुनाइन्। राजकुमारीले आफूलाई ठग्नेलाइ कडा कारबाही गर्न र फसेको पैसा झिकिदिन आग्रह गरिन्। 

बुटवलकी सिता दर्जी सरसफाइ कर्मचारी हुन्। उनले सार्वजनिक शौचालय सफा गरेर कमाएको पैसाबाट गाँस कटाएर सुप्रिम सहकारीमा करिब ३ लाख रुपैयाँ जम्मा गरेकी थिइन्। तर त्यो रकम अहिले सम्म फिर्ता पाएकी छैनन्।

सुरु सुरुमा सुप्रिमका कर्मचारीहरू सितालाई पछ्याउँदै सार्वजनिक शौचालय सम्मै पुग्थे। विभिन्न स्किम सँगै अन्यत्र भन्दा धेरै व्याज पाइने प्रलोभन देखाउँथे। दिनदिनै कर्मचारी आएर  हैरान पारेपछि सिताले  मासिक बचत सुरु गरिन। सुरु सुरुमा सुप्रिमले राम्रै व्याज दियो। स्कीम अनुसारका सुविधा पनि पाइन। तर बिस्तारै आफनै बचत रकम झिक्न गाह्रो हुन थाल्यो। बचत झिक्न जाँदा कर्मचारीले भोली/भोली भन्दै टार्न थाले।

दुःख पर्दा काम लाग्ला भनेर जम्मा गरेको बचत फिर्ता नपाउँदा अहिले उनलाई  दिनको भोक न रातको निन्द्रा भएको छ। ‘मेरो त साह्रै मन रोएको छ,दुनीयाको दिसापिसाव सोहोरेर कमाएको  पैसा खाइदिए,तिनलाई कहिल्यै राम्रो हुनेछैन’ दर्जीले भनिन।

अन्त भन्दा बढी व्याज पाउने भन्ने आसमा तिलोत्तमाको ड्राइभर टोलकी विमला शर्माले सुप्रिम सहकारीमा दैनिक बचत सुरु गरेकी थिइन। सुप्रिमका कर्मचारीले दिनदिनै घरमा आएर हैरान पारेपछि अन्य सहकारी छोडेर सुप्रिममा बचत गर्न थालेको उनले बताइन्। सुप्रिममा अहिले उनको ४० लाख रुपैयाँ फसेको छ।

दूध डेरी सञ्चालन गर्दै आएकी विमलाले सहकारीले पैसा खाइदिएपछि ऋण काढेर घर व्यवहार चलाउनु परेको बताइन्। विमलाले आफ्ना भाइ र दिदीको समेत २५/२५ लाख रुपैयाँ सुप्रिममा जम्मा गरी दिएकी थिइन्। त्यो पैसा पनि डुबेपछि माइत जाने बाटो समेत हराएको उनले दुखेसो पोखिन। ‘सुप्रिमले हामीलाई बर्बाद बनायो,जिन्दगीभरको कमाइ लुटे, हामीलाई न्याय चाहियो’ विमलाले भनिन।

तिलोत्तमा नगरपालिका २ जानकी नगरकी दुर्गा रिमालको ६० लाख रुपैयाँ सुप्रिम सहकारीमा फसेको छ। करिब दुई बर्ष अघि सहकारी समस्यामा परेको हल्ला चलेपछि उनी कयौँ पटक सहकारी धाइन। अहिले पनि उनी र उनी जस्ता थुप्रै बचतकर्ताहरू न्यायकालागि सडकमै भौतारि रहेका छन्। तर न्याय नपाउँदा निराश छन् । सुप्रिम पीडितहरूले जिबी राई (गितेन्द्रबाबु) र हालका गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखेका छन्।

भैरहवामा व्यवसाय गर्दै आएकी दुर्गा चन्दले सुप्रिमले आफ्नो ३० लाख रुपैयाँ खाइदिएको बताइन। ‘हामीले खाइ नखाई जम्मा गरेको पैसामा सुप्रिमका अध्यक्ष उपाध्यक्ष, सचिव, कर्मचारी सबै मिलेर मोज गरे, अहिले तिनैलाई सरकारले  संरक्षण गरिरहेको छ’ चन्दले आक्रोश व्यक्त गरिन। सहकारीका नाममा सर्व साधारणको करोडौँ रकम ठग्नेलाइ पक्रेर कारबाही गर्न उनले सरकारसँग आग्रह गरिन।

बुटवल ट्राफिक चोकका कृष्ण खरेलले सुप्रिममा बचत गरेको २ करोड ८० लाख रुपैँया फिर्ता पाउन सकेका छैनन्। २०७९ सालमै सुप्रिम सहकारीले आफ्नो बचत रकम फिर्ता नदिएर ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उनले निवेदन दिएका थिए। बैङ्कको भन्दा धेरै व्याज पाउने आसमा उनले पसलको आम्दानीबाट दैनिक बचत गरे। जग्गा बेच्दाको आम्दानी र बैंकमा भएको पैसा समेत झिकेर सहकारीमा राखिदिए। तर जब उनलाई पैसाको आवश्यकता पर्‍यो तब सहकारीका पदाधिकारी कर्मचारीले आलटाल गर्न थाले।

पैसा झिक्नका लागि सहकारीको कार्यालयमा महिनौँ धर्ना बसे तैपनि रकम फिर्ता पाएनन्। पछिल्लो एक वर्षमा उनी सडक देखि सदनसम्म पुगे। प्रहरी, सहकारी कार्यालय देखि सहकारी विभागलाई धेरै पटक हारगुहार गरे। तर न पैसा पाए न न्याय पाउनेमा ढुक्क भए। हजारौँ सर्वसाधारणको झण्डै एक अर्ब रुपैँया गठी गर्ने सुप्रिम सहकारी काण्डमा सरकार संवेदनशील नदेखिएको खरेलले बताए।

सुप्रिमको ठगी प्रकरणमा जोडिएका रवि लामिछानेलाई नै गृहमन्त्री बनाइएको भन्दै सहकारी पीडितहरूले न्याय पाउनेमा आशङ्का व्यक्त गरेका छन्। केन्द्रीय कार्यालय बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम सहकारीमा ठुला व्यवसायी, सरकारी कर्मचारी, शिक्षक मात्रै हैन बैंकका म्यानेजर समेतले ठुलो रकम बचत गरेका छन्। सडकमा मकै पोलेर, फलफूल बेचेर गुजारा गर्ने, निर्माण मजदुर, किसान तथा वृद्धवृद्धाहरुले समेत आफ्नो गाँस काटेर पैसा बचत  गरेका छन्। सुप्रिममा जम्मा गरेको रकम झिक्न नपाउँदा छोराछोरीलाई किताब कापी किन्दिन नसकेको पीडितहरूको गुनासो छ।

सुप्रिम सहकारीमा पैसा बचत गरेका झण्डै ८ हजार बचत कर्ताहरू विगत डेढ वर्षदेखि राम्रोसँग निदाउन सकेका छैनन्। सहकारीले खाइदिएको पैसासँगै आफ्ना सपनाहरू पनि लथालिग भएको गुनासो पीडितहरूको छ। मणिग्राममा जुत्ता पसल सञ्चालन गर्दै आएका विजय नेपालले अन्त भन्दा धेरै व्याज पाइने आसमा सुप्रिममा दैनिक बचत सुरु गरेका थिए। ‘ऋणमा खोलेको पसलको किस्ता तिर्न मुस्किल भइरहेका बेला गाँस काटेर बचत गरेका थियौँ तर सहकारीले डुबाइदियो’ नेपालले भने।

सहकारीले बिल्लीबाठ पारेपछि पीडितहरू कहिले ब्यानर÷प्लेकार्ड बोकेर सडकमा त कहिले ज्ञापन पत्र बुझाउन प्रशासन धाउन बाध्य छन्। सरकारसँग हारगुहार गर्दा पनि नसुनेको भन्दै उनीहरु निराश छन्। सत्ता र शक्तिको आडमा सर्बसाधारणलाइ उठीबास लगाउनेहरूले उन्मुक्ति पाइरहेको गुनासो सुप्रिम पीडितहरूले गरेका छन्। नागरिकलाई न्याय दिनुको साटो अपराधीलाई उन्मुक्ति दिन सरकार नै लागी परेको आरोप उनीहरूको छ।

२०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरी गितेन्द्रबाबु (जीबी)राईले  २०७२ सालको फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए। त्यतीबेला मैत्रेय सहकारीको अध्यक्ष ओमप्रकाश गुरुङ थिए। राईले गुरुङलाई सहमत गराएर सहकारीको नाम परिवर्तन गरी  आफू  अध्यक्ष बने। सुरुमा राई अध्यक्ष र गुरुङ उपाध्यक्ष थिए। २०७६ मा साधारण सभा गरी गुरुङलाई अध्यक्ष बनाइयो, राई संरक्षक बसे। पूर्वराष्टपपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सचिव बने। सुप्रिमको मुख्य कार्यालय बुटवलको व्यवस्थापक सागर केसी थिए।

सुप्रिमको केन्द्रीय कार्यालय बुटवल राजमार्ग चौराहमा थियो। भैरहवा र नवलपरासीमा पनि शाखा थिए। सहकारीमा विशेष गरी महिला कर्मचारी राखेर सर्वसाधारणको घरघरै पठाएर दैनिक बचतकालागि ग्राहक बटुल्ने गरिन्थ्यो। धेरै सदस्य बनाउने कर्मचारीलाइ विशेष सुविधाको प्रलोभन देखाइन्थ्यो। टार्गेट मिट नगर्नेलाई जागिरबाट निकाल्ने धम्की दिइन्थ्यो। टार्गेट मिट गर्नै पर्ने दबाबमा कर्मचारीहरूले ठुला देखि साना पसल संचालक,वृद्धवृद्धा,श्रीमान् विदेश हुने महिलाहरु खोजेर धेरै व्याज र विभिन्न अफरको लोभ देखाएर बचत गर्न बाध्य नै बनाउने गरिएको सुप्रिमकै एक जना बजार प्रतिनिधिले बताइन्।

त्यसरी बनाएका बचतकर्ताबाट उठाएको ठुलो रकम संस्थापक अध्यक्ष राई, अध्यक्ष गुरुङ, सचिव पुन, व्यवस्थापक केसी लगायतको तजविजिमा सहकारी ऐन र नीति विपरीत अपचलन गर्न थालियो। जसका कारण सहकारी सङ्कटग्रस्त बन्दै गयो। बचत रकम अपचलन बढेपछि बचतकर्ताहरूले सहकारीका पदाधिकारी, संचालक र कर्मचारी विरुद्ध २०७९ सालमै प्रहरीमा उजुरी दिन सुरु गरे। 

हालसम्म सुप्रिमका १ हजार ८३१ बचतकर्ताले सहकारीका पूर्व अध्यक्ष राई, वर्तमान अध्यक्ष गुरुङ सहितका पदाधिकारी, संचालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै  प्रहरीमा उजुरी  दिएका छन्। ती उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको हो।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको छ। जीविका विभिन्न पाँच वटा कम्पनीलाई मात्रै ऐन नियम विपरीत  ७८ करोड ५० लाख ७६ हजार रुपैँया ऋण दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो ठगी प्रकरणमा हालका गृहमन्त्री रवि लामिछाने पनि जोडिएका छन्। लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कको नाममा मात्रै सुप्रिमबाट १४ करोड ६ लाख रुपैँया सारिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

गोर्खा मिडिया नेटवर्कले २०७७ को फागुनमा ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो  भने २०७८ मा लामिछाने टिभीको प्रबन्ध निर्देशक भएका थिए। प्रहरी प्रतिवेदनले लामिछाने अहिले पनि सुप्रिमको ऋणी रहेको बत्ताउँछ। लामिछानेले सहकारीबाट गैर कानुनी रुपमा २ करोड रुपैयाँ लिएको उल्लेख छ। सुप्रिमको ठगी प्रकरणमा जोडिए पनि लामिछानेलाई प्रहरीले प्रतिवादी बनाउन भने सकेको छैन।

प्रहरी अनुसन्धान प्रतिवेदन अनुरूप सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत २८ जना विरुद्ध मुद्दा दायर भएको छ। ती मध्ये ७ जनाको  थुनछेक बहस सकिएको छ। जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्वपक्षकालागि थुनामा पठाइएको छ। सचिव पुन सहितका ६ जना धरौटीमा छुटेका छन्। अन्य १९ जना अहिले पनि फरार छन्। अदालतले सहकारीका  पूर्व अध्यक्ष तथा हालका संरक्षक गितेन्द्रबाबु राई (जीबी) सहितका अन्य १९ जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ।

सुप्रिम ठगी प्रकरणमा नाम जोडिएका लामिछाने देशको गृहमन्त्री छन्। उनले सहकारी पीडितहरूको गुनासो छल्न सहकारी सञ्चालकहरूको सम्पत्ति बेचेर भएपनि सर्वसाधारणको पैसा फिर्ता गरिने प्रतिक्रिया दिने गरेका छन्। तर उनको त्यो ओठे जवाफ प्रति सर्वसाधारणले विश्वास गर्न सकेका छैनन्। सुप्रिम पीडित विजय नेपालले गोर्खा मिडियाको नाममा जिबी राई र रवि लामिछानेले सर्वसाधारणको बचत रकम ठगी गरेको भन्दै मुख्य नाइके नै उनीहरु रहेको बताए। सर्वसाधारणबाट पैसा उठाएर मोज गर्नेहरूलाई छानबिनको दायरामा ल्याउनु पर्नेमा जोड दिए। 

प्रकाशित: २३ वैशाख २०८१ १४:३७ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School