२१ मंसिर, काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमाले अनौपचारिक भ्रमण गर्ने बताइए पनि शुक्रबार विमानस्थलमा औपचारिक किसिमको तामझाम र सत्कार देखियो ।
भुटानी राजालाई स्वागत गर्न परराष्ट्रमन्त्री आरजु देउवाको नेतृत्वमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितका सरकारी अधिकारीहरू विमानस्थल पुगे । यद्यपि, पूर्वसूचना अनुसार रोयल भुटान एयरवेजको विमानमार्फत् बिहान ९:४२ बजे काठमाडौं ओर्लिएका वाङचुकका साथमा रानी पेमा भने थिइनन् ।
उच्च सरकारी स्रोतका आनुसार, भुटानले परराष्ट्र मन्त्रालयलाई जानकारी गराउँदा भारत गएका वाङचुक नितान्त निजी भ्रमणका लागि पत्नीसहित केही घन्टालाई काठमाडौं आउने भनिएको थियो ।
भारत भ्रमण सकेर फर्किंदा काठमाडौंलाई ट्रान्जिट बनाउने र त्यही क्रममा बौद्धनाथ र स्वयम्भुको धार्मिक भ्रमण गर्ने भनिएको थियो । तर, शुक्रबार न उनी रानीसहित आए, न यो उनको ट्रान्जिट भ्रमण नै भएको देखियो । किनकि, दिउँसो १:५६ बजे उनी फेरि नयाँ दिल्ली नै फर्किए ।
‘राजा र रानी दुवै आउने भनिए पछि व्यक्तिगत भ्रमण नै होला भन्ने सोचेका थियौं’, एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, शुक्रबार जुन किसिमको तयारी र दलबल देखियो, त्यसले औपचारिक भ्रमणकै झल्को दिन्थ्यो ।’
नेपालले भुटानी राजा आउनु पूर्वसन्ध्यामा विमानस्थल सरसफाइ गर्यो, झण्डा फेर्यो र उनी जाने स्थानलाई झकिझकाउ पार्यो । विमानस्थलको विशिष्ट व्यक्ति (भीआईपी) कक्षमा परराष्ट्रमन्त्री देउवाले उनलाई न्यानो स्वागत गरिन् ।
लगत्तै भुटानी राजा नाम्ग्याल राजकीय भ्रमणकै झल्को आउने गरी औपचारिक कारगेडमा स्वयम्भुतर्फ लागे । उनको स्वागतमा सरकारले विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिमा उल्लेखित अति विशिष्ट स्तरमा ‘क’ श्रेणीको सुरक्षा प्रबन्ध मिलाएको थियो ।
यो तहको सुरक्षामा नेपाली सेनाको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको टोली खटिन्छ । यो तहको प्रबन्धमा चिकित्सक, एम्बुलेन्ससहित अत्यावश्यक सवारीसाधन पनि साथमै रहन्छ । राजा नाम्ग्याल स्वयम्को १८ सदस्यीय भ्रमण टोलीमा पनि भुटानका सुरक्षा अधिकृतहरु सामेल थिए ।
नेपालले भुटानी राजाको नजिक र भित्री घेरामा सेनाको टोली सुरक्षार्थ खटाएको थियो भने बाहिरी घेरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिएको थियो । ‘यो तयारी हेर्दा भुटानी राजाको भ्रमण नितान्त निजी जस्तो कसै गरी लाग्दैनथ्यो’, नेपाल प्रहरीका एक अवकाश प्राप्त अधिकारी टिप्पणी गर्छन् ।
परराष्ट्र मामलाकी जानकार डा. इन्द्र अधिकारी त भुटानबाट भएको राष्ट्र प्रमुख स्तरको भ्रमण अनौपचारिक कसरी हुनसक्छ भन्दै प्रश्न गर्छिन् । ‘नेपाल र भुटानबीचको सम्बन्ध पछिल्लो समय जुन परिस्थितिबाट चलिरहेको छ, यस्तोमा भुटानबाट उच्च स्तरका भ्रमण नै एकदमै न्यून हुन्छन्’, उनले थपिन्, ‘त्यसैले भुटानी राजाको भ्रमण नितान्त अनौपचारिक भन्नु विश्वास नै गर्न नसकिने कुरा हो ।’
भुटानी राजा नाम्ग्याल रानी वाङचुकसहित छिमेक भारत भ्रमणका लागि बिहीबार थिम्पुबाट निस्किएका थिए । दुई दिनका लागि हिँडेपनि भारतमा औपचारिक भेटका अधिकांश कार्यक्रम सोही दिन राखेर शुक्रबार नेपाल आउने तारतम्य भुटानी अधिकारीहरूले मिलाएका थिए ।
भारतीय विदेश मन्त्रालयका अनुसार, ऊर्जा तथा प्राकृतिक सम्पदा मन्त्री जिम छिरिङसहित उच्च सरकारी अधिकारी रहेको भ्रमण कार्यदलले दिल्ली आएकै दिन प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरसहित सरकारका उच्च अधिकारीहरुलाई भेट गरेको थियो ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेटका क्रममा दुईपक्षीय हितका विषयमा छलफल भएको भनिएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग उनको अन्तिम पटक आठ महिनाअघि भेट भएको थियो । बिहीबारको भेटमा त्यसबेला भएको सहमतिका प्रगतिबारे समेत छलफल भएको भनिएको छ ।
‘भुटानी राजा र प्रधानमन्त्री मोदीबीच दुई देशबीच व्यापार र आर्थिक सम्पर्क, पूर्वाधार, उर्जा, शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा, क्षमता विकास, डिजिटल अर्थ व्यवस्था, ई–मोबिलिटी, वातावरण संरक्षण लगायतका विषयमा कुरा भयो’, भुटानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर भनेको छ ।
दुवै देशको विज्ञप्तिमा काठमाडौंबारे उल्लेख छैन ।
भुटानी शरणार्थीको विषय उठ्ने डर
गत असोजमा भुटानका भ्रमणमा गएका नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानले भव्य स्वागत गरेको थियो । भुटानका यिनै राजा नाम्गेलको निमन्त्रणामा भएको भ्रमणमा शाहले राजकीय सम्मान पाएपछि नेपाल पनि तरंगित बन्यो ।
पूर्वराजा शाहको भ्रमण अनौपचारिक भनिएपनि अहिलेजस्तै विशिष्ट स्तरको सम्मान पाएपछि नेपालमा बहसको विषय बन्नु स्वभाविक पनि थियो । छोरीहरू प्रेरणा र शीताष्मासहित थिम्पु पुग्दा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न भुटानकी राजकुमारी पेमा वाङचुक विमानस्थलमै पुगेकी थिइन् ।
यो निकटताका कारण कतिपयले पूर्वराजा शाहसँग पनि नाम्ग्यालले भेट्नसक्ने टिप्पणी गरेका थिए । तर, परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, उनको कोहीसँग औपचारिक भेट भएन ।
यद्यपि, बौद्धनाथको दर्शनका लागि पुगेका बेला भने उनीसँग एक्ला नेपाली डलर अर्बपति विनोद चौधरीले भेट गरे । नाम्ग्यालले भ्रमण गरिरहेका बेला बौद्ध पुगेका चौधरीले उनीसँग अभिवादन आदनप्रदानसँगै केहिबेर कुराकानी गरे । विमानस्थलमा पनि परराष्ट्रमन्त्री राणासँग केहिबेर संवाद भएपनि विषय भने खुलाइएको छैन ।
कतिपय परराष्ट्र मामिलाका जानकारहरूका अनुसार, औपचारिक रुपमा भुटानले भारत भ्रमणका लागि दुई दिन समय छुट्टयाएको भनेपनि राजा नाम्ग्यालले एक दिनका लागि नेपाल आउने तयारी गरेको जस्तो देखिन्छ । उनीहरूको भनाइमा, छोटो अवधि भएपनि यसमा औपचारिक भेट हुनसक्थ्यो ।
लामो समयपछि भएको भुटानी राजाको भ्रमण नेपालका लागि भुटानी शरणार्थी मामलामा कुरा राख्ने अवसर पनि बन्न सक्ने परिस्थिति हुने कुटनीतिज्ञहरू बताउँछन् । तर, यसपटक त्यसका लागि भुटान र नेपाल दुवै पक्षले त्यति धेरै गृहकार्य गरेजस्तो देखिँदैन ।
भुटानका राजा नाम्ग्यालले आफ्नो भ्रमणलाई औपचारिक नबनाउनुको कारण भुटानी शरणार्थीको मामला उठ्ने डर नै हुनसक्ने कतिपयको आशंका छ ।
‘भुटानी शरणार्थी मामलालाई हल गर्ने विषयमा नेपाल र भुटानबीच तादम्य नभएकैले तेस्रो पक्षलाई जोडेर हल गर्नु परेको थियो, राष्ट्रको तहमा अझै आत्मियता स्थापित हुन सकेको छैन’, परराष्ट्र मामिला विज्ञ डा. इन्द्र अधिकारी भन्छिन्, ‘यस्तोमा भुटानी शरणार्थीको मामला फेरि उठ्न सक्ने भएकाले औपचारिक भ्रमण नगरेको हुनसक्छ ।’
सन् १९९० मा भुटानबाट लखेटिएर आएका व्यक्तिहरू भारत हुँदै नेपाल प्रवेश गरेर झापा र मोरङमा बसेका थिए । यसरी आउनेहरू सुरुमा झापाको कन्काई माई नदी तटमा बसेका थिए । निर्वासित भएर आउनेहरूको संख्या करिब १ लाख २० हजार थियो ।
पछि संयुक्त राष्ट्र संघलगायतको पहलपछि भुटानी शरणार्थीलाई अमेरिका, बलायत, अष्ट्रेलियासहित युरोपेली मुलुकहरूमा तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत लैजाने प्रक्रिया सुरु भयो । यो प्रक्रिया सकिए पनि अझै ६ हजार ५७७ जना झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा छन् ।
शरणार्थीलाई सहयोग गर्दै आएको संयुक्त राष्ट्र संघीय उच्चायुक्तको दमकस्थित कार्यालय पनि सन् २०२० बाट बन्द भइसकेको छ । नगद र खाद्यान्न सहयोग गरिरहेको वल्र्ड फुड प्रोग्राम (डब्लूएफपी) ले पनि १७ पुस २०७५ देखि नगद र खाद्यान्न सहयोग बन्द गरेको छ ।
तर, शिविरमा बाँकी रहेका भुटानी शरणार्थीहरू भने अझै नेपाल सरकारले स्वदेश फर्किन पहल गरिदेओस् भन्ने चाहन्छन् । यस्तोमा सरकारले भुटानी राजा नेपाल आएका बेला आफूहरूका समस्या राखिदिन पहल नगर्दा निराश बन्नु परेको भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राई बताउँछन् ।
‘हामीलाई राजनीतिक कारणले शरणार्थी बनाइएको थियो, त्यसैले राजनीतिक रुपमा समाधान गरेर भुटान फर्काइनुपर्छ भन्ने हाम्रो माग हो’, बेलडाँगीस्थित शरणार्थी शिविरबाट उनले भने, ‘त्यसका लागि बहुपक्षीय वार्ता होस् भन्ने माग हो, वातावरण निर्माण गर्न यस्ता भ्रमण र भेटले सहयोग गर्न सक्थ्यो ।’
नेपालमा बाँकी रहेका शरणार्थी के चाहन्छन् भन्नेबारे औपचारिक रुपमा सन्देश पठाउने ठूलो अवसर थियो, तर नेपाल चुक्यो – तिलक राई, कार्यबाहक अध्यक्ष, भुटानी शरणार्थी स्वदेश फिर्ती समिति
यो भ्रमणका क्रममा भुटानी राजासँग औपचारिक संवादका लागि पहल नगर्नुले शरणार्थी मामलाप्रति सरकारको उदासिनता देखिने राई बताउँछन् ।
‘नेपालमा बाँकी रहेका शरणार्थी के चाहन्छन् भन्नेबारे औपचारिक रुपमा सन्देश पठाउने ठूलो अवसर थियो, त्यसमा नेपाल चुक्यो’, उनले अनलाइनखबरसँग भने, ‘यसले हामीसँग भेट्दा समस्या समाधान गर्न जुनसुकै कदम उठाउँछौं भन्ने नेताहरूको द्वेध चरित्र उदांगो पारेको छ ।’
हाल हेगमा रहेका भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्की पनि भुटानी राजाको भ्रमणका क्रममा दुई देशबीच रहेको मुख्य मुद्दामा संवाद नभएको प्रति दुःख व्यक्त गर्छन् ।
‘नेपाल र भुटानबीच लामो समयदेखि रहेको एउटा मुद्दा यही हो, अझ देशका परराष्ट्रमन्त्री नै विमानस्थलमा स्वागत गर्न गएकाले यसलाई औपचारिक सरहकै भ्रमण भन्नुपर्छ’, उनले थपे, ‘यस्तोमा नेपालमा बाँकी रहेका शरणार्थी सम्बन्धी सरोकार राजासमक्ष पुर्याउने एउटा राम्रो मौका गुमेको छ ।’
वर्षौंअघि निर्वासित देशका राजाको भ्रमणलाई लिएर भुटानी शरणार्थीहरू दुःखी सुनिएपनि राजा नाम्ग्याल स्वयम् चाहिँ खुशी देखिएका छन् । स्वयम्भुनाथको दर्शन गर्ने क्रममा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा नाम्ग्यालले जवाफ दिए, ‘नेपाल आउन पाएकोमा एकदमै खुशी छु ।’
नेपालमा जन्मिएका भुटानी राजा
भुटानी राजा नाम्ग्यालको नेपालसँग एउटा पुरानो साइनो पनि छ । उनी २१ फेब्रुअरी १९८० मा थापाथलीमा रहेको प्रसुतिगृहमा जन्मिएका थिए ।
भुटानका तत्कालीन राजा जिग्मे सिङ्ये वाङचुककी तेस्री पत्नी रानी आशी छिरिङ याङदोङका पुत्रका रुपमा उनको काठमाडौंमा जन्म भएको थियो । नेपालका राजा वीरेन्द्र र भुटानी राजपरिवारबीच राम्रो सम्बन्ध थियो । त्यसैले नेपालमा भुटानी राजपरिवार सदस्यको भ्रमण भइरहन्थ्यो ।
नेपाल आएका बेला तत्कालीन रानी याङदोङले हलेसी महादेवको मन्दिरमा दर्शन गरेको जानकारहरू बताउँछन् । रानी याङदोङका नेपालमा नातेदारहरू रहेकाले उनी हलेसीसम्म पुगेकी थिइन् । पछि त्यहीँ गरेको भाकलले उनलाई गर्भवती भएका बेला काठमाडौंसम्म डोहोर्याएको जानकारहरू बताउँछन् ।
भुटानका लागि नेपालका पूर्वगैरआवासीय राजदूत निलाम्बर आचार्यका अनुसार, राजा नाम्गेललाई ओहदाको प्रमाण पत्र बुझाउन जाने क्रममा उनले नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै बाल्यकालबारे सुनाएका थिए ।
‘२०७६ सालको असोज अन्तिमतिर हुनुपर्छ, म ओहदाको प्रमाण पत्र बुझाउन जाँदा भएको संक्षिप्त भेटमा उहाँले आफू नेपालमा जन्मिएको भन्दै भावनात्मक सम्बन्ध रहेको बताउनुभएको थियो’, आचार्यले अनलाइनखबरसँग सुनाए, ‘उहाँले नेपालमै आफूले बाल्यकालको केही समय विताएको समेत बताउनुभएको थियो ।’
आचार्यका अनुसार, राजा नाम्ग्यालले त्यसबेला आफ्नो उपचारमा संलग्न दुई चिकित्सकलाई भेट्ने इच्छा रहेको समेत बताएका थिए । ती चिकित्सकमध्ये एक जना राजा त्रिभुवनकी छोरी डा. दिव्येश्वरी मल्ल थिइन्, जसको मृत्यु भइसकेको छ ।