नेपाली सिनेमा कमजोर हुनुका पाँच कारण

नेपाली सिनेमा कमजोर हुनुका पाँच कारण


कथाको अभाव

नेपाली सिनेमाको स्क्रिप्टमा कथा नै छैन भन्ने कुरा सुन्दा अनौठो लाग्न सक्छ। तर अहिले हामीले जे कुरालाई कथा भनिरहेका छौं, त्यो सबै वेदना र गन्थन मात्रै त होइन? भन्ने प्रश्न छ। हाम्रा अधिकांश सिनेमाको कथाको निष्कर्षमा विश्लेषण गर्ने हो भने कतिपय हदमा त्यो गन्थन मात्रै भएको छ, वेदनाको प्रस्तुतीकरण मात्रै छ। हरेक कुराहरू सिनेमाको कथा बन्न सक्छ भन्ने भ्रम हामीहरूमा छ। हरेक कथाहरू सिनेमा बन्छ तर हरेक कुराहरू कथा हुन् कि होइनन् भन्ने कुरा आफैंमा एउटा ठूलो प्रश्न हो।

कथा मानिसको दैनिक जीवनसँग जोडिएको आधारभूत कुरा हो। फिल्म मार्फत अहिलेसम्म संसारभरिका हजारौं/लाखौं कथा आइसकेका छन्। विश्वका धेरै प्रकारका सिनेमाका कथालाई अध्ययन गर्दा त्यसका मूलभूत आधारभूत तत्त्व छ।

कथाहरूमा केही परिस्थितिको कारण केही असन्तुलन या असहजताका कारण पात्रले कुनै कुरा प्राप्त गर्नुपर्ने या प्राप्त गर्न सङ्घर्ष गर्नुपर्ने परिस्थिति बन्छ। त्यो परिस्थितिमा अवरोध आउँछ। अवरोध पछि सङ्घर्ष आउँछ र त्यसपछि एक किसिमको उपलब्धि या असफलताको निष्कर्ष निकालिन्छ। संसारका अधिकांश कथामा हुने विषयवस्तु यही हो। तर हाम्रो सिनेमामा यी कुराको अभाव हुन्छ। विशेष दुइटा कुराको अभाव हुन्छ। हाम्रो सिनेमामा पात्रले प्राप्त गर्नुपर्ने आवश्यकताको निर्माण नै गर्न सकिरहेका हुँदैनौं। आवश्यकता नभए पछि पात्र निर्माण हुँदैन। अर्को महत्त्वपूर्ण कुरा भनेको अवरोध निर्माण गर्न सक्दैनौं। पात्रको उद्देश्य बन्छ तर त्यसको बिचमा आउने अवरोध निर्माण नै गर्न सक्दैनौं। हाम्रा कथाहरूमा पात्रको उद्देश्य स्पष्ट हुँदैन, उद्देश्य स्पष्ट नहुँदा अवरोध हुँदैन र अवरोध नहुँदा सङ्घर्ष हुँदैन। हामीसँग सङ्घर्षविहीन कथाहरू छन्। मानव जीवनको कथाको सबैभन्दा आधारभूत पक्ष भनेको सङ्घर्ष हो। मानिस सङ्घर्षशील छ त्यस कारणले मानिस यहाँ आएको हो। मानिसले कथा बनाएकै सङ्घर्षको लागि हो। सङ्घर्षहरूलाई आउने पुस्तामा सेयर गर्न बनाएको हो। यही मूल आधारभूत पक्षको कमीमा नेपाली सिनेमा लामो समयदेखि रोगी भइरहेको छ। हाम्रा सिनेमाहरू रोगी कथाहरूमा बनेको छ। कथाको अभाव हुनु नै नेपाली सिनेमा लेखनको मूल जड हो।

प्रश्नको अभाव

दर्शक भनेको प्रश्न हो। दर्शकले सिनेमा हेर्न जानु अघि पनि प्रश्न बोकेको हुन्छ र सिनेमा हेरेर फर्किए पछि पनि ऊसँग प्रश्न हुन्छ। जबसम्म सिनेमाको लेखनले ती उब्जिने प्रश्नहरूलाई पहिल्यै नै समाधान गर्दैन तबसम्म त्यो सिनेमा बलियो हुँदैन। पर्दामा लेखक र निर्देशकले सोचेर पहिल्यै प्रश्नहरूको समाधान गरेको अवस्थामा मात्रै दर्शक सन्तुष्ट हुने हो। पर्दामा प्रश्नको उत्तर नै छैन भने दर्शकले प्रश्न गर्न थाल्छ। जब दर्शकले प्रश्न गर्न थाल्छ तब सिनेमासँग दर्शकको सम्बन्ध भत्किन थाल्छ। त्यस कारण सिनेमामा प्रश्नहरूलाई महत्व दिनु जरूरी छ। हामीले सामान्यतया बुझेको पढेको अनुसार प्रश्नहरू पाँच प्रकारका हुन्छन्।

कहाँ– यो कथा कहाँको हो? यसको भूगोल के हो? यसको संसार के हो? हामी कथा/पात्रको संसार निर्माणमै चुक्छौं। संसार नै निर्माण नहुँदा कथा कहाँ भइरहेको छ भन्ने कुरा नै बुझ्न सकिंदैन।

किन ?- कि यो पत्रले यस्तो गर्छ? किन यो पात्रलाई यस्तो चाहिएको छ? किन यो संसार यस्तो छ? किन मान्छेहरू यस्ता छन्? फिल्ममा किन भन्ने कुरालाई संवेदनशील भएर सोच्नुपर्ने हुन्छ। जबसम्म लेखकसँग किन भन्ने प्रश्नको उत्तर हुँदैन तबसम्म दर्शकमा किन भन्ने प्रश्न उठिरहन्छ। हामीसँग किन भन्ने प्रश्नको ठूलो अभाव छ।

कहिले?– समय प्रकृतिको आधारभूत तत्त्व नै हो। त्यो फिल्ममा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। कथा कुन समयमा भइरा’छ? पात्र कस्तो मनोवैज्ञानिक समयबाट गुज्रिरहेको छ? समयले दर्शकलाई कतासँग जोडिन मदत गर्छ।

को?- हामी कसको बारेमा कथा भनिरहेका छौं? को हो त्यो जसको बारेमा हामी सिनेमा बनाइरहेका छौं! कसलाई हामी हेर्न आएका हौं? हामीले अहिलेसम्म भन्ने गरेका हिरो या भिलेन को हुन्? हामी चरित्र पहिचानमा चुकिरहेका हुन्छौं।

के?- यो जे भइरहेको छ यो केका लागि? यो कथा हामी केका लागि हेर्दै छौं? के भन्ने कुराले आजको संसारको यथार्थ बताउँछ। के कुरा हो जसको खोजीमा मान्छे हिंडिरहेको छ?

कसरी?- कथामा पात्रले कसरी उसको यात्रा तय गर्छ? यी आधारभूत ५ प्रश्नहरूको अभावमा नेपाली सिनेमाले आफूलाई बलियो बनाउन सकिरहेको छैन। जब सिनेमाले प्रश्नहरूको उत्तर दिन्छ तब सिनेमा बलियो हुन्छ। उत्तर दिनलाई पहिल्यै प्रश्नहरू खोजिनुपर्छ।

दर्शक भनेको नै प्रश्न हो। दर्शकको दिमागमा उठ्ने प्रश्नलाई समाधान गर्न सक्दैनौं भने पहिल्यै नै दर्शकलाई चिन्ने सामर्थ्य विकास गर्नुपर्छ। लेखकले सिनेमा लेख्दै गर्दा दर्शकको अस्तित्वलाई पनि स्वीकार गरेर लेख्नुपर्छ। मैले जे बताए पनि हुन्छ नभनी मैले फिल्म मार्फत कोसँग कुरा गरिरहेको छु र उसले कसरी मेरो कुरालाई बुझ्न सक्छ भन्ने कुराको आधारमा सिनेमा लेखिनुपर्छ।

 ड्रामा/नाटकको अभाव

हाम्रो समाजमा ड्रामालाई कलङ्कको रूपमा लिइन्छ। त्यस कारण नाटकको विषयमा हाम्रो समाज अध्ययन नै गर्दैन। ड्रामा त संसारकै सबैभन्दा सुन्दर नियम हो। ड्रामाले फरक अस्तित्वको बिचमा सह-अस्तित्वको भूमिका प्रस्तुत गर्छ। हामीले हाम्रो कथा निर्माणमा फरक अस्तित्वको भूमिका नै राखेका हुँदैनौं। कथा कहिल्यै पनि एक जनाको बारेमा हुँदैन। कथा कसैको फरक परिस्थिति, फरक विचार र फरक अस्तित्वबीचसँगको सह-अस्तित्वमा हुने टकरावको बारेमा हुन्छ। त्यस कारण हाम्रो सिनेमाहरू ड्रामा लेस छन्। हाम्रो जत्तिको नाटक विनाको सिनेमा अरू कसैले बनाउँदैन। किनकि हामीले फरक अस्तित्वहरूलाई त्यो फ्रेम भित्र ल्याउँदै ल्याउँदैनौं। फरक अस्तित्व हुने बित्तिकै त्यहाँ विचारमा भिन्नता हुन्छ। समस्या सिर्जना हुन्छ, टकराव हुन्छ, अवरोध हुन्छ, त्यसले कठिन परिस्थितिहरू निर्माण गर्छ र मान्छेको चरित्र उजागर भएर आउँछ। फरक अस्तित्वमा कथाहरूको निर्माण नहुने हुँदा हाम्रो सिनेमाहरूमा द्वन्द्व हुँदैन। नेपाली सिनेमामा द्वन्दविहीन सिनेमाहरू छन्। द्वन्द्व नहुने बित्तिकै सिनेमाको विकास हुँदैन। विकास नभए पछि परिवर्तन हुँदैन र परिवर्तन नहुँदा रूपान्तरण हुँदैन। यी आधारभूत कुराहरू हुन्। त्यस कारण हाम्रो सिनेमाहरू वैज्ञानिक छैनन्। सिनेमा कला पनि हो, साथसाथै विज्ञान पनि।

द्वन्द्व नहुँदा सिनेमामा रोमाञ्चकता आउँदैन। हाम्रा सिनेमाहरू रोमाञ्चक नै भइरहेका छैनन्। हाम्रा सिनेमाहरू व्याख्यात्मक छन्। मानौं एउटा कथा वाचकले बच्चालाई कथा सम्झाइरहेको जस्तो छ। तर पृष्ठभूमि निर्माण गरिसकेपछि कथा त आफैं निर्माण हुँदै जाने हो। त्यस कारण हामी सिनेमामा ड्रामाको पक्षमा चुकेका छौं। सिनेमामा ड्रामा नभएपछि सिनेमाले समस्यालाई प्रतिनिधित्व गर्दैन। समस्या भनेको चाहेको कुरा प्राप्त गर्न नसक्नुको अवस्था हो। त्यो अवस्था या त्यो परिस्थिति सिर्जना गर्नु भनेको अत्यधिक ठूलो सामाजिक प्रतिनिधित्व गर्नु हो। त्यस कारण हामीले फिल्म मार्फत कुनै पनि समुदायको समस्यालाई देखाउन सकिरहेका छैनौं। यदि सिनेमाको कथाभित्र समस्या छैन भने कथा चाहिं समस्यामा पर्न सक्छ। यसको अर्थ कथाभित्र समस्या नहुनु नै कथा हो। जब हामीसँग कुनै पनि समस्या हुन्छ हामी त्यो समस्यालाई समाधान गर्नतिर लाग्छौं। उक्त समस्या समाधान गर्दा हामीलाई झन् धेरै समस्या आउन सक्छन्। सिनेमामा समाजका समस्याहरूलाई समाधान गर्ने बेलामा समाजका विविध पाटोहरू पनि देखिन्छन्। समस्याले समाजलाई प्रतिनिधित्व गर्छ किनकि समाज समस्याग्रस्त छ। त्यस कारण सिनेमासँग दर्शकले कनेक्ट हुने अर्को पाटो भनेको समस्या पनि हो।

यो त ध्रुवसत्य हो कि मानिससँग दुःख छ। बुद्धले भने जस्तै मानिससँग दुःख पनि छ र दुःखको समाधान पनि छ। बुद्धले दिएको चार आर्य सत्य नै हाम्रो कथाको आधारभूत तत्त्व बन्न सक्थ्यो। हामीले सिनेमामा जीवनको अर्को पाटो दु:खको डाइमेन्सनलाई त वास्ता नै गरेका छैनौं। दुःखको सिनेमा आउँदा मलाई दुःख छ भनेर भन्ने होइन। दुःख भनेको त मानिसका सपना, आकाङ्क्षाहरूलाई अवरोध गर्ने पाटाहरू हुन्।

हामी अझै पनि सिनेमामा हिरो र भिलेन भनेर बसिरहेका छौं। तर ड्रामामा हिरो या भिलेन भन्ने हुँदैन। ड्रामाले पात्रलाई एन्टागोनिस्ट र प्रोटागोनिस्टको रूपमा प्रस्तुत गर्छ। हाम्रो सिनेमामा ड्रामाको कमी छ भन्ने कुरा यसरी हेर्दा पनि थाहा हुन्छ।

वैचारिकताको अभाव

वैचारिकता नै त्यस्तो कुरा हो जसले एउटा लेखक र निर्देशकलाई एकै ठाउँमा आएर सहकार्य गर्ने उत्साह दिन्छ। वैचारिकता नै यस्तो कुरा हो जसको कारणले कुनै पनि सिनेमा बन्छ। कुनै पनि कथा भनिन्छ कुनै पनि कथा भन्नु पछाडिको कुनै एउटा उद्देश्य हुन्छ। उद्देश्य भन्नाले त्यो कथा भनिसकेपछि त्यसले मानव समाजको लागि केही सकारात्मकता प्रदान गर्छ। संसारका राम्रा कथाहरूले मानव समाजलाई मार्गदर्शन गर्छ। हाम्रा सिनेमाहरू विचारशून्य छन्। सिनेमाभित्र विचार भयो भने सिनेमा राम्रो बन्दैन भन्ने हाम्रो समाजमा एउटा न्यारेटिभ छ। यो बुझाइले दिग्भ्रमित पार्छ। सिनेमा बलियो हुने नै बलियो विचारको कारणले हो। बलियो दर्शनको कारणले हो। सिनेमामा देखिने विचार फिल्ममेकरको आफ्नो स्वअस्तित्वको धारणा, वैचारिकता, उसले संसार र जीवनलाई देख्ने दृष्टिकोण या उसले बाँच्न चाहेको संसार हो। तर परिस्थिति के हो भने हामीले बाँच्न चाहेको संसार र हामीले बाँचिरहेको संसारमा भिन्नता छ। सिनेमामा फिल्ममेकरले जहिले पनि आफूले बाँच्न चाहेको संसारको कल्पना गर्छ।

हाम्रा सिनेमामा त्यस्ता राम्रा नियतहरूको अभाव छ। हाम्रा सिनेमाहरूले दर्शकहरूलाई तिमी जहाँ छौ त्यहीं ठिक छौ, जे छौ त्यसैमा रमाऊ र सम्झौता गर भनेर भन्छ। तर हाम्रा सिनेमाहरूले कमजोर परिस्थितिहरू, दुःख सङ्घर्षको कारण यो हो हामी यसलाई जित्न सक्छौं र यसलाई रूपान्तरण गर्न सक्छौं भन्ने कुरा देखाउनुपर्छ।

यो कुरालाई लेखेर या आवाजमा भनेर सिकाउनुपर्दैन सिनेमा त अनुभूति गर्ने कुरा हो। यी चिजहरू सिनेमा हेर्दा अनुभूत हुनुपर्छ। सिनेमा त क्यामेराले लेख्नुपर्ने हो दुर्भाग्यवश हामी अझै सिनेमा कलमले लेखिरहेका छौं। हामीलाई अझै पनि सिनेमा शब्दहरूबाट दिइने जानकारी हो जस्तो लाग्छ। सिनेमा जानकारी होइन न त जानकारीहरूको थाती नै । सिनेमा त दृश्यबाट अनुभूति हुने कुरा हो। हामी अझै पनि सिनेमामा कतिपय सिनहरूमा शब्दबाट जानकारी दिइरहेका हुन्छौं। जबकि ती सिनहरू झिकिए भने पनि सिनेमा अनुभूत हुन्छ। कथा बुझिन्छ। वास्तवमा सिनेमा मेकिङमा हामी रेडियो नाटकबाट माथि उठ्नै सकेका छैनौं। साथै सिनेमामा क्यामराको प्रयोग सिरियलको प्रयोगभन्दा माथि जान सकेको छैन। अझै पनि हिट मानिएका हाम्रा धेरै सिनेमाहरू सिरियल भन्दा माथि छैनन्। हामीले अझै पनि सिनेमाको उत्कृष्टता या सिनेमाको सौन्दर्यता पहिचान गर्नै सकेका छैनौं। सिनेमा माध्यम हो सिनेमा दृश्य हो भन्ने कुरामा हामी पुगेकै छैनौं। अझै पनि हामीलाई लाग्छ सिनेमा शब्द नै हो। हाम्रा सिनेमाहरूमा अझै पनि निर्देशकभन्दा लेखकहरू धेरै हावी छन्। सिनेमा निर्देशकले क्यामेरा मार्फत दिने अभिव्यक्ति हो। त्यो अझै हामीले हाम्रा सिनेमामा देख्न पाएका छैनौं।

यिनै कारणले गर्दा हाम्रा सिनेमाहरू पोलिटिकल्ली अवेर छैनन्। यसको मतलब सिनेमाको कथा मार्फत उसले के कुरा देखाउँछ र के कुराको निचोड निकाल्छ भन्ने कुरामा आफैं स्पष्ट छैन। कुनै कुनै सिनेमाहरूका  निष्कर्षहरूले हामीलाई पछाडि धकेलिरहेका छन्। सिनेमाले त समाजलाई अगाडि बढाउनलाई उत्साहित गर्नुपर्ने हो तर हाम्रा सिनेमाहरूले निरुत्साहित गरिरहेका छन्। हाम्रा सिनेमाहरू पोलिटिकल्ली करेक्ट नहुनु पनि सिनेमा कमजोर हुनुको आधार हो।

प्लट, कथा आदित्यादि त माध्यम मात्रै हुन्। सिनेमा त विचारको लडाइँ हो। हाम्रा सिनेमाहरूमा विचारहरू स्पष्ट छैनन्, छरपस्ट छन्। विचारले नै पात्रलाई निर्देशित गर्छ।

संरचनाको अभाव

कुनै पनि वस्तुको सुरुआत र अन्त्य हुने बित्तिकै यो एक संरचनामा बस्नुपर्छ, हुनुपर्छ। तर हाम्रा सिनेमाहरू संरचनाविहीन छन् संरचनामा भएका सिनेमाहरू पनि त्यो संरचनामाथि उनीहरू अवेर छैनन्। हामीलाई कस्तो घर बनाउँदै छु भन्ने थाहा भयो भने घर बनाउन सजिलो हुन्छ र स्पष्ट हुन्छ। सिनेमा पनि त्यस्तै नै हो। धेरै पाटोबाट हेर्दा एउटा सिनेमा भनेको स्वरूप हो, आकृति हो। सही संरचनाले नै त्यो वस्तुको अर्थ कायम राख्छ। आखिर दर्शकले अनुभूत गर्ने भनेको त्यसको अर्थ र भाव नै हो। भावको लागि एउटा आकृति, एउटा शरीर चाहिन्छ। संरचना चाहिन्छ। हामीले सिनेमाको शरीर हुन्छ भन्ने मान्यतालाई बिर्सिनुहुँदैन। जति संरचना सही र सहज तरिकाले बन्छ त्यति नै सही र सहज तरिकाले भाव पनि व्यक्त गर्न सकिन्छ।

यसरी संरचना विहीनताको अवस्थामा हाम्रा कुरा सिनेमाहरू मार्फत निष्कर्ष निकाल्न हामी चुकिरहेका छौं।

समाजको सिनेमा चेत

समाजको सिनेमा चेत कस्तो छ भन्ने कुराले कस्तो सिनेमा बन्छ भन्ने कुरालाई निर्धारण गर्छ। समाजको सिनेमा चेत जस्तो छ उसले त्यस्तै नै किसिमको सिनेमा पाउँछ। अहिले बनिरहेको सिनेमा यो सामाजिक चेतको उत्पादन हो। यसमा पनि दुई वटा कुरा छ। हाम्रा स्रष्टाहरू पनि यही सामाजिक चेतको उपज हुन्। त्यस कारण उनीहरूले निर्माण गर्ने पनि यही चेतको परिणति हो। अर्को चाहिं सामाजिक चेत यति छ भनिसकेपछि मान्छेहरूले गर्ने म्यानुपुलेसन हो। हाम्रा सिनेमामा यी दुवै कुराहरू भइरहेका छन्। तर म्यानुपुलेसन भने अलिक बढी नै भइरहेको छ।

त्यो सिनेमामा रुवाउने सिन छ अरे! त्यसमा कुनै एउटा केटाले फाइट हान्छ अरे, या त्यहाँ कुनै एउटा गीत हिट छ, यो फिल्मको कथा हाम्रो कुनै एउटा साथीको जीवनसँग मिल्छ या त्यो मान्छे हाम्रो पोलिटिकल पार्टीको मान्छे हो रे! यस्ता केही तत्त्वको आधारमा सिनेमा हेर्ने समाजले पाउने भनेको त फेरि त्यही सिनेमा नै हो। यस्ता दर्शक म्यानुपुलेसनको सिकार हुन्छन् नै। यस्ता चिजहरूबाट मुक्त भएर समाजले साँच्चिकै म एउटा सिनेमा हेर्छु या कथा हेर्छु भनेर सिनेमा हेर्न थाल्यो भने मात्रै रूपान्तरण हुन्छ। तर हाम्रो समाजले कथा हेर्दैन। हाम्रो समाजले भीड हेर्छ र भीडले के कुरालाई जोड दिएको छ भन्ने कुरा हेर्छ। जस्तो- रुने, फाइट हान्ने या नाच्ने। त्यस कारण हाम्रा सिनेमाहरू क्रिटिकल थिङ्किङको उपजमा छैनन्।

त्यस्तो हेराइबाट सिनेमा मेकरले के सोच्छ भने हामीलाई त यति नै कुरा देखाएर पुगेको छ। किन धेरै सोच्नुपर्‍यो भनेर समाजलाई उद्वेलित बनाउने सिनेमाहरू बनिरहेका छन्। जुन समाज कमजोर कथाहरूमा रमाउँछ त्यो समाज सबैभन्दा बढी म्यानुपुलेसनमा पर्छ।

हाम्रो समाजमा अहिलेसम्म सिनेमालाई मनोरञ्जनको वस्तु मात्रै मानिएको छ। तर सिनेमा समाजको चेतन र अवचेतन निर्माणको ठूलो उपज हो। सिनेमा समाजको निर्माणको सबैभन्दा ठूलो हतियार हो।

अहिले हामीले देखे अनुसार समाज त एउटा निश्चित भीडबाट गाइडेड भइरहेको छ। यो भीडहरूले भोलि समाजमा एउटा अर्को किसिमको द्वन्द्व निर्माण गर्न सक्छ। राम्रो सिनेमा बन्नुमा या नबन्नुमा धेरै पक्षहरूको हात हुन्छ। हामी अझै पनि नेपाली सिनेमालाई माया गर भन्ने तहमा छौं। हामी अझै पनि नेपाली सिनेमालाई माया गर्नुपर्छ भन्ने सोसियल न्यारेटिभ बोकेर बसेका छौं। मानौं नेपाली सिनेमालाई माया गर्नु हाम्रो राष्ट्रियता हो।

हामीले माया गर्ने नाउँमा कति कमजोर चिजहरूलाई माया गरिरहेको त छैनौं? खासमा माया गर्ने नाममा हामीले प्रश्रय मात्रै दिइरहेका छौं। यस्तो न्यारेटिभ अहिलेको जस्तो प्रतिस्पर्धात्मक समयमा हाम्रो देशको सिनेमालाई कहाँ उभ्याउँछ? हामीले सोच्ने बेला आइसकेको छ।

नेपाली सिनेमा भनेर माया होइन नेपाली सिनेमाको विषयमा नेपाली दर्शकले एकदमै क्रिटिकल हुनुपर्नेछ। केही वर्ष दर्शकहरूले माया र दयाबाट मुक्त भएर सबैभन्दा बढी सिनेमालाई समालोचना गर्ने सुझाव दिने गर्नुपर्छ। नेपाली दर्शक सिनेमाको लागि शिक्षक जस्तै बन्नुपर्ने अवस्था आएको छ। दर्शकले सिनेमा मेकरहरुलाई तिमीहरू होमवर्क गरेर आऊ भन्नुपर्ने अवस्था आइसकेको छ। नेपाली सिनेमाको अवस्था हेर्दा दर्शकको दायित्व एकदमै बढी देखिन्छ।

दर्शकले यो बुझ्न जरूरी छ कि कस्तो सिनेमा बनिरहेको छ भन्ने कुराले कस्तो राजनीति चलिरहेको छ भन्ने कुरा दर्साउँछ। दर्शकले के सोच्नुपर्छ भने यो सिनेमा आफ्नो जीवनको भविष्यसँग पनि सम्बन्धित छ। सिनेमा केवल दुई घण्टाको मनोरञ्जन मात्रै होइन दुई घण्टापछि उक्त सिनेमाले दर्शकको मनमा पार्ने मनोवैज्ञानिक असरहरूलाई पनि ख्याल गर्नुपर्छ।

सिनेमा मानिसको मनोविज्ञान निर्माणको सबैभन्दा बलियो हतियार हो। समाजको मनोविज्ञान निर्माण गर्ने कुरामा सिनेमाले ठूलो भूमिका खेल्छ भन्ने कुरालाई स्वीकार गरेर हाम्रो मनोविज्ञान बलियो बनाउन हामीलाई बलियो सिनेमा चाहिन्छ भन्ने कुरा समाजले सोच्न आवश्यक छ।

अब समाजले केही समय सिनेमालाई साँच्चिकै समालोचना गर्‍यो भने, प्रश्न गर्‍यो भने बल्ल राम्रा सिनेमा बन्न थाल्छन्। र सिनेमा/साहित्यको प्रभाव राजनीतिमा पनि पर्न थाल्छ।

[सिनेमा क्षेत्रमा दुई दशकदेखि सक्रिय रहेका निर्देशक मनोज पण्डितले महत्त्वपूर्ण फिल्महरू निर्देशन गरिसकेका छन्। उनका निर्देशित चलचित्रहरूमा ‘लक्ष्य’, ‘वधशाला’, ‘दासढुंगा’, ‘खाग’ हुन्। फिल्म लेखन र निर्देशनमा सक्रिय रहेका पण्डितले ‘सिनेमा मन्थन’ नामक पुस्तक पनि प्रकाशित गरिसकेका छन्। पछिल्लो समय स्क्रिप्ट डक्टर भनेर चिनिने उनीसँग नेपाली सिनेमाको स्क्रिप्ट किन कमजोर छ भन्ने विषय वरपर रहेर अन्शु खनालले गरेको कुराकानीमा आधारित।]





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School