‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापामगरविरुद्ध आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या अभियोगमा दायर मुद्दामा उनका जेठा छोरा जेनिस थापासँग लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको बयानले घटनाको नयाँ पाटो सार्वजनिक गरेको छ। अदालतमा पेश गरिएको अभियोगपत्रमा समेटिएको बयानमा उनले परिवारभित्रको तनाव, दाम्पत्य विवाद, धम्की र आफूले भोगेको व्यवहारबारे विस्तृत खुलासा गरेकी छन्।
उनका अनुसार करिब दुई वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत जेनिससँग चिनजान भएको थियो। त्यसपछि उनीहरूबीच प्रेम सम्बन्ध विकास भयो। विदेश जाने प्रक्रिया मिलाउन काठमाडौं आएका बेला ईश्वरी भुजेलको सहमतिमा उनी जेनिससँग लिभ–इनमा बस्न थालेकी थिइन्। घरको माथिल्लो तलामा ईश्वरी, जेनिस, कान्छा छोरा इभान र आफू बस्ने तथा तल्लो फ्ल्याटमा कुमार थापामगर बस्ने गरेको उनले बयानमा उल्लेख गरेकी छन्।
उनका अनुसार कुमार थापामगरले आफू र जेनिसको सम्बन्ध कहिल्यै स्वीकार गरेनन्। गाउँघरमा आफूलाई ‘घरमा काम गर्ने केटी’ भनेर चिनाउने मात्र होइन, नुहाउँदा र लुगा फेर्दा चिहाएर हेर्ने जस्ता अनुचित व्यवहार गर्ने गरेको आरोप पनि उनले लगाएकी छन्। त्यसको विपरीत ईश्वरी भुजेलले भने आफूलाई छोरीसरह माया गर्ने र ‘छोरी’ भनेर सम्बोधन गर्ने गरेको उनको भनाइ छ।
बयानमा उनले ईश्वरी र कुमारबीचको सम्बन्ध समयसँगै झन् बिग्रँदै गएको दाबी गरेकी छन्। उनका अनुसार कुमार थापामगरको अर्को महिलासँग सम्बन्ध रहेको आशंका भएपछि दम्पतीबीच पटक–पटक झगडा, कुटपिट र मेलमिलापको क्रम चलिरह्यो। काठमाडौंको हिल्टन होटलमा जन्मदिन मनाउने क्रममा अर्को महिलासँग रंगेहात भेट्ने प्रयास पनि परिवारले गरेको तर उनीहरू त्यहाँ नभेटिएको उनले उल्लेख गरेकी छन्।
उनले कुमार थापामगर र प्रतीक्षा आचार्यबीच प्रेम सम्बन्ध रहेको चर्चा बाहिरिएपछि घरमा तनाव बढेको, प्रहरीमा उजुरी परेको र प्रहरीबाट पटक–पटक सम्झाइबुझाइसमेत भएको दाबी गरेकी छन्। पछि ईश्वरीले वैवाहिक करणीको मुद्दा दायर गरेपछि कुमार पक्राउ परेर धरौटीमा छुटेको र त्यसपछि सम्बन्धविच्छेदको मुद्दासमेत अदालतमा पुगेको कुरा आफूले थाहा पाएको बयानमा उल्लेख छ।
उनका अनुसार धरौटीमा छुटेपछि कुमार थापामगर मुद्दा हालेको रिसमा घरमै आएर कुटपिट गर्न खोज्ने, ग्यास सिलिन्डर पड्काएर मार्ने प्रयास गर्ने र वरपरका मानिसले सम्झाएर अवस्था साम्य बनाएको घटना पनि भएको थियो। त्यसबेला कुमारकी दिदी अनु थापाले समेत आएर मेलमिलाप गराइदिएकी कारण उक्त घटनामा उजुरी नदिएको उनले बताएकी छन्।
अलग–अलग फ्ल्याटमा बस्न थालेपछि पनि कुमार थापामगरले ‘मारी दिन्छु’, ‘काटिदिन्छु’ भन्दै नियमित धम्की दिने गरेको उनको दाबी छ। कहिले अदालतमा रहेका मुद्दा मिलापत्र गर्ने प्रस्ताव राख्ने, कहिले अर्को महिलासँगको सम्बन्ध नछोड्ने अडान लिएपछि फेरि झगडा र कुटपिट हुने गरेको उनले बयानमा उल्लेख गरेकी छन्।
घटनाको दिन २०८३ जेठ २२ गते साँझ ईश्वरी भुजेलले आफूलाई कार्यालयको पार्टीका कारण ढिलो घर आउने जानकारी दिएको उनलेले बताएकी छन्। राति करिब ८ बजे कुमार थापामगर हरियो रंगको कार लिएर घरमा आएको, कान्छा छोरा इभानलाई पठाइदिन दबाब दिएको र आफूले अस्वीकार गरेपछि ‘तिमीहरू सबैको छाला काट्छु’ भन्दै धम्की दिएको उनको भनाइ छ।
राति अबेरसम्म ईश्वरीको फोन नउठेपछि जेनिसले पटक–पटक सम्पर्क गर्दा अन्ततः अपरिचित व्यक्तिले फोन उठाएर उनी रगताम्य अवस्थामा सडकमा ढलेको जानकारी दिएको र उपचारका लागि लैजाने क्रममा ईश्वरीको मृत्यु भएको उनले अदालतसमक्ष दिएको बयानमा उल्लेख छ।
बयान जस्ताको त्यस्तैः
प्रस्तुत कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दाकी जाहेरवाला अम्बिका भुजेल, मृतक ईश्वरी भुजेल र प्रतिवादी नेपाली ब्रो भन्ने कुमार थापामगरलाई चिन्दछु । प्रतिवादीहरू विक्रम थापामगर, पूजन थापा क्षेत्री र प्रतीक्षा आचार्यलाई सामाजिक सञ्जालमार्फत चिन्दछु । प्रत्यक्ष भेट भएको छैन ।
करिब दुई वर्ष पहिले प्रतिवादी कुमार थापामगरको जेठो छोरा जेनिस थापासँग सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भई कुराकानी हुन थाल्यो ।
२०८१ साल पुस/माघ महिनातिर म घर उदयपुरबाट काठमाडौं आई निज जेनिस थापासँग भेट भएको थियो । त्यसपछि कुराकानी हुँदै गर्दा निज जेनिस थापा र मेरो माया-प्रेम बसेको थियो ।
२०८२ साल वैशाख महिनातिर विदेश जानको लागि आवश्यक प्रक्रिया पुरा गर्न भनी काठमाडौं आई प्रतिवादी कुमार थापामगरको घरमा बस्दै आइरहेकी थिएँ। त्यसपछि जेनिस थापाकी आमा ईश्वरी भुजेलले म र जेनिस थापा बिच माया प्रेम बसेको कुरा थाहा जानकारी पाइसकेपछि म र जेनिस थापा सोही घरमा लिभिङ टुगेदरमा बस्दै आई रहेका थियौँ ।
म र जेनिस थापा लिभिङ टुगेदरमा बसेको कुरा प्रतिवादी कुमार थापामगरलाई पनि थाहा थियो तर निज प्रतिवादीलाई हाम्रो सम्बन्ध मन परेको थिएन । साथै प्रतिवादी कुमार थापामगरले म नुहाउँदा, लुगा फेर्दा चिहाउने जस्ता नकारात्मक क्रियाकलाप गर्ने गरेका थिए । निजले गाउँघरमा मलाई काम गर्ने केटी हो भनी हल्ला फैलाएका थिए । तर प्रतिवादी कुमार थापामगरकी श्रीमती ईश्वरी भुजेलले मलाई एकदमै माया गर्ने भएकाले छोरी भनी बोलाउने गर्थिन् । यसरी म प्रतिवादी कुमार थापामगर, निज प्रतिवादीकी श्रीमती ईश्वरी भुजेल, निजको जेठो छोरा जेनिस भुजेल र कान्छो छोरा ईभान थापासँगै बस्दै आई रहेका थियौँ ।
सुरूमा २०८२ साल जेठ महिनातिर प्रतिवादी कुमार थापामगरको कोही केटीसँग सम्बन्ध रहेको कुरा ईश्वरी भुजेलले शंका गरिरहेकी थिइन । तर निजले शंका गरेको कुरा हामीलाई भनेकी थिइनन् । पछि प्रतिवादी कुमार थापामगरले काठमाडौंस्थित हिल्टन होटलमा बर्थडे मनाई रहेको र बर्थ डेमा प्रतिवादी प्रतीक्षा आचार्यलाई पनि बोलाएको हो-हल्ला सुनेपछि प्रतिवादी कुमार थापामगरकी श्रीमती, म र जेठो छोरा जेनिस थापा र कान्छो छोरा ईभान थापा रंगेहात समाउन भनी गएकोमा निज प्रतिवादीहरू फेला परेनन् । निजले बर्थ डे मनाई अन्तै गइसकेका रहेछन् । निज प्रतिवादीलाई घरमा बर्थ डे सँगै मनाउ भनी ईश्वरी भुजेलले भन्दा निज प्रतिवादी नमानी अन्तै बर्थ डे मनाउन भनी गएका थिए ।
यसरी प्रतिवादी प्रतीक्षा आचार्य र कुमार थापामगर बिच प्रेम सम्बन्ध रहेको कुरा हो-हल्ला भएपछि निजहरूको सम्बन्ध चिसिनुका साथै निजहरुबीच वेला वेलामा झै-झगडा, मनमुटाब हुनुका साथै पटक पटक झै-झगडा गर्ने, ईश्वरी भुजेललाई कुटपिट गर्ने र पुन आपसमा मेलमिलाप गर्ने जस्ता क्रियाकलाप गर्दै आई रहेका थिए ।
यसरी प्रतिवादी कुमार थापामगर प्रतीक्षा आचार्यसँग प्रेम सम्बन्ध रही पटक–पटक प्रतीक्षा आचार्यसँग भेटघाट गर्न थालेपछि प्रहरीमा उजुरी गरी छलफल गर्नुका साथै निज प्रतिवादी कुमार थापामगरलाई प्रहरी कार्यालयबाट समेत सम्झाई बुझाई गर्ने गरेका थिए ।
केही महिनापछि प्रतिवादी कुमार थापामगरको नाममा ईश्वरी भुजेलले वैवाहिक करणी मुद्दा दायर गरी प्रतिवादी कुमार थापामगर पक्राउ परी धरौटीमा छुटी मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको कुरा समेत सुनी थाहा पाएकी हुँ ।
सो मुद्दामा छुटेर आएको दुई तीन हप्ता पछि निज प्रतिवादीले मुद्दा हालेको रिसले हामीलाई कुट्न आएपछि, हामी निजको डरले ढोका बन्द गर्यौ । निजले कोठा बाहिर ग्यासको सिलिण्डर पड्काई मार्न समेत खोजेका थिए ।
वरपरका मानिसहरूले थाहा पाई निजलाई सम्झाई बुझाई गरेका थिए । पछि निज प्रतिवादी कुमार थापामगरकी नेपाली सेनामा कार्यरत दिदी अनु थापा आई ईश्वरी भुजेल र कुमार थापामगरलाई सम्झाई बुझाई गर्नुका साथै ईश्वरी भुजेलसँग, कुमार थापामगरलाई एक पटकलाई माफी गरी देऊ भनी अनुरोध गरेपछि ईश्वरी भुजेल लगायत हामीले उल्लेखित ग्यास पड्काई मार्न खोजेको विषयमा कहीँ कतै उजुरवाजुर गरेनौँ ।
म घरभित्रै बस्ने भएकाले प्राय बाहिर कुरा मलाई थाहा हुँदैन थियो । केही महिना पहिले ईश्वरी भुजेलले प्रतिवादी कुमार थापामगरको नाममा काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दायर गरी सो मुद्दासमेत हाल बिचाराधीन् अवस्था रहेको भन्ने सुनेकी छु । त्यसपछि निज ईश्वरी भुजेल र कुमार थापामगर आफ्नै घरको भुईँ तलाको फल्याटमा छुट्टा छुट्टै बस्न थालेका थिए ।
भुईतलाको फल्याटमा प्रतिवादी कुमार थापामगर र माथिल्लो फल्याटमा ईश्वरी भुजेल, निजको जेठो छोरा, कान्छो छोरा र म बस्ने गरेका थियौँ । छुट्टिएर अलग अलग बस्दा समेत निज प्रतिवादी कुमार थापामगर घरमा आई काटी दिन्छु, मारी दिन्छु भनी सधैँ धाक धम्की दिने गरेका थिए । कहिले हामीसँग मिल्न खोज्ने कहिले झगडा गर्ने गरेका थिए । वारदात मितिभन्दा दुई महिना जति पहिले कुमार थापामगरले ईश्वरी भुजेललाई भेटी अदालतमा रहेका मुद्दा मिलापत्र गरौँ भनी भन्ने गरेका थिए । ईश्वरी भुजेलले सो कुरा मानेकी पनि थिइन । तर निज प्रतिवादीले प्रतीक्षा आचार्यलाई छाड्न नसक्ने भनी भनेपछि पुन वादविवाद तथा कुटपिट गरेका थिए ।
हाल ईश्वरी भुजेल नेपाली सेनाको सुवदार पदमा कार्यरत थिइन् । मिति २०८३।०२।२२ गते बेलुकी तिर ईश्वरी भुजेलले मलाई टेलिफोन गरी आज म अफिसबाट ढिलो आउँछु, आज पार्टी छ भनी भनेकी थिइन् । निज प्राय ३/४ बजे तिर अफिसबाट घर आउने गरेकी थिइन् । सो २२ गते राती ८ बजेतिर प्रतिवादी कुमार थापामगर निजको हरियो रंगको कार लिई घरमा आएका थिए । सो समयमा म निज प्रतिवादीको कान्छो छोरा ईभान थापालाई खाना खुवाउँदै थिएँ ।
ईभान थापाले झ्यालबाट देखि, बाबा आए भनेपछि निज प्रतिवादी प्राय झै-झगडा गर्ने भएकाले डरले मैले डरले ढोका लगाएँ । निज प्रतिवादी कुमार थापामगर ढोकामा आई बारम्बार छोरा ईभान थापालाई पठाई देऊ, पठाई देऊ भनी भन्न थाले । सो समयमा जेनिस थापा घरमा थिएनन् । राती ९ बजेको थियो । जेनिस र ईभान दुईजना दाजुभाइ फोनमा कुराकानी गरिरहेका थिए । जेनिस थापाले प्रतिवादी कुमार थापामगर घरमा आएको कुरा सोही समयमा थाहा पाएका थिए । मैले घरमा कोही छैन, म एक्लै हो । म ईभानलाई पठाउन सक्दिनँ भनी भनेँ । निज प्रतिवादीले तिमीहरू सबैको छाला काट्छु भनी त्यहाँबाट कहाँ गए मलाई थाहा भएन ।
राती १:०० बजेसम्म निज ईश्वरी भुजेललाई पटक पटक फोन गर्दा पनि नउठेपछि जेनिस थापाले ईश्वरी भुजेललाई गरेको फोन अचानक कुनै एक जना मानिसले उठाई यो फोनवाला महिला रगताम्य भई सडकमा ढलेको अवस्थामा छिन् भनेपछि जेनिस थापा घटनास्थलमा गई स्थानीय मानिसहरूसँग मिलि उपचारको लागी लैजाने क्रममा ईश्वरी भुजेलको मृत्यु भएको हो ।
प्रकाशित: १९ असार २०८३ २०:३० शुक्रबार
