नेपाली जातप्रथाका निषेधित प्रेम कथाहरु

नेपाली जातप्रथाका निषेधित प्रेम कथाहरु


नेपालको संविधानले जो कोहीसँग पनि विवाह गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर दलित समुदायका २२ वर्षीय मनोज कुमार रामले उच्च भनिने जातकी किशोरीसँग विवाह गर्दा भने सो कुरा लागू भएन । श्रीमतीका परिवारले उनलाई अपहरणको आरोप लगाए र उनी जेल परे ।

रामसँगको प्रेमको बाबजुद, कुनै भारतीयसँग विवाह गरिदिने बुबाको इच्छा रहेको रामकी श्रीमती बबिता इसर बताउँछिन् । त्यसैले उनीहरु भागेका थिए । त्यतिबेला २१ वर्ष उमेरकी इसरलाई केवल १२ वर्षकी रहेको दाबी गर्दै इसरका बुबाले अपहरणको उजुरी दिए ।

“खानपानको कारणले उनी ठूलो देखिएको” बबिता इसरका बुबा रोहित इसर बताउँछन् । “उसले राम्रो र नराम्रो छुट्याउने उमेर भएको छैन ।”

यो जोडी भाग्दा बबिता इसरको उमेर २१ वर्ष नै रहेको अदालतले पछि ठहर गरेको थियो ।

त्यसबेला बबिता इसर र राम दोश्रोपटक भागेका थिए । पहिलोपटक उनीहरु एक हप्तासम्म भागे । परिवारबाट निरन्तर आइरहेको फोनको कारण उनीहरु फर्किएका थिए । फर्किएपछि परिवारले आफूलाई घरभित्र थुनेर राखेको इसर बताउँछिन् ।

“त्यसपछि एक महिनासम्म मैले सूर्यको प्रकाश देखिनँ,” उनी भन्छिन् ।

बबिता इसरसँग दुईपटक भागेकोले राम दुईपटक अपहरणको आरोपमा जेल परेका छन् ।

हिन्दू धर्ममा दलित जातिल़ाई सबैभन्दा तल्लो वर्ग मानिन्छ । साथै, यो सामाजिक संरचना नेपालभर नै अपनाइन्छ । परम्परागतरुपमा नै दलितहरुलाई अशुद्ध मानिंदै आएको हुनाले उनीहरुसँग अन्तर्जातीय विवाह गर्दा जात अशुद्ध भएको ठानिन्छ । कुनै दलितसँग विवाह गर्दा व्यक्तिको सामाजिक प्रतिष्ठा घटेको मानिन्छ ।

“छोरीले निम्न भनिने जातको व्यक्तिसँग विवाह गरेमा परिवारको इज्जत गुमेको मानिन्छ,” काठमाडौंको त्रिभुवन विश्वविद्यालय समाजशास्त्री दिपेश घिमिरे भन्छन् ।

नेपाली जातप्रथाका निषेधित प्रेम कथाहरु
बिपिन सुनारसँगको विवाहको फोटो देखाउँदै कबिता क्षेत्री । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल

उच्च भनिने जातका समुदायका महिलासँग विवाह गर्दा दलित पुरुषमाथि विभेदका साथै उनीहरुका विरुद्ध कानुनी सजाय व्याप्त रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा बताउँछन् । वर्षमा ४० भन्दा बढी अन्तर्जातीय जोडीले उच्च जात भनिने समुदायबाट हुने हिंसा र प्रतिकूल अवस्थामा संरक्षणको लागि आयोगलाई गुहार्ने गर्दछन् ।

जेलमा परेका व्यक्तिहरुको संख्याको बारेमा कुनै आधिकारिक तथ्याङ्क भने छैन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत् रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौंका सहायक प्राध्यापक तिलक विश्वकर्माले सन् २०२३ मा एक अनुसन्धान गरेका थिए जसमा ७० दलित पुरुषको सर्वक्षण गरिएको थियो । उच्च भनिने जातका समुदायका महिलासँग अन्तर्जातीय विवाह गर्नाले एक तिहाइ पुरुषले श्रीमतीको परिवारबाट कानूनी उल्झन झेल्नुपरेको सो सर्वक्षणले देखाएको थियो ।

नेपालमा जातीय विभेद गर्नेलाई तीन वर्षसम्म कैद र ३०,००० रुपियाँ (लगभग २२३ अमेरिकी डलर) जरिवाना वा दुबै सजाय हुन सक्छ । त्यस्तै, विवाह गर्नेको उमेर २० वर्षभन्दा कम भएमा सो विवाहले मान्यता पाउँदैन । साथै, १८ वर्षभन्दा कम उमेरको व्यक्तिसँग सहमतिको यौन सम्बन्धलाई पनि जर्बजस्ती करणी मानिन्छ । विवाह हुन लागेका नाबालिगहरुका विरुद्ध कुनै उजुर परेमा, दुबै संलग्न पक्षहरुलाई तीन वर्षसम्म कैद र ३०,००० रुपियाँ (लगभग २२४ डलर) जरिवाना हुन सक्छ । भाग्ने नाबालिग जोडीलाई बालसुधार गृहमा राख्न सकिन्छ भने उनीहरुका परिवार जेल जानुपर्ने हुन सक्छ ।

तर नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार, अझै पनि नेपालका ४० प्रतिशत महिला १८ वर्ष पुग्नुअगाडि नै विवाह गर्ने गर्छन् । उक्त जानकारी सन् २०१९ मा संयुक्त राष्ट्र बाल कोष ९युनिसेफ० द्वारा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ । बाल विवाहसँग सम्बन्धित उजुरीको संख्या धेरै कम छन् । संयुक्त राष्ट्र जनसंख्या कोष र युनिसेफले गरेको संयुक्त कार्यक्रमको एक समीक्षाअनुसार सन् २०२० मा बाल विवाहका ६४ मुद्दाहरु प्रहरीकहाँ दर्ता भएको र ४४३ मुद्दाहरु हेल्पलाइनको माध्यमबाट जानकारी दिइएको थियो । उजुरी नपरेका बाल विवाहहरु समाजमा सामान्यतया स्वीकारिएका मानिन्छन् ।

तर दलित पुरुषको हकमा भने, उमेर पुगेका महिला वा किशोरीलाई विवाह गर्दा पनि उनीहरुले कानुनी जटिलताको सामना गर्नुपर्ने हुन्छ । उच्च मानिने जातकी श्रीमतीसँग भारत जान पुरुषहरु प्रायस् नाकातिर भाग्ने गर्छन् । समातिएको खण्डमा, पुरुषलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लगाइने गरेको तिलक विश्वकर्मा बताउँछन् ।

महिला तथा किशोरीहरुले पनि यसको परिणाम भोग्ने गरेका छन् । बबिता इसरझैं, उनीहरुलाई पनि परिवारले प्रायस् थुनेर राख्ने गरेको काठमाडौंस्थित अधिवक्ता सैलेन्द्र अम्बेडकर बताउँछन् ।

दलित समुदायका प्रतिनिधि सभा सदस्य जीवन परियारले अन्य १५ दलित सभासदसँग मिलेर सन् २०२३ को जुलाईमा एउटा विज्ञप्ति निकाले । यसमा उनले उच्च भनिने जातकी महिलासँग विवाह गर्ने दलितलाई झुटा मुद्दा लगाउनु र जेल पठाउनु कानून र सरकारको उपहास भएको उल्लेख गरेका थिए ।

तर सो विज्ञप्तिका बाबजुद, दलित पुरुषप्रति हुने विभेदको अन्त्य हुने कुनै संकेत देखिएको छैन ।

नेपाली जातप्रथाका निषेधित प्रेम कथाहरु
कबिता क्षेत्री र बिपिन सुनारकी ३ वर्षकी छोरी छिन् । मुद्दा लड्दै गर्दा सबै सम्पति सकिएकोले हाल उनीहरुलाई जीवन धान्न मुस्किल छ । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल

कबिता क्षेत्रीका अनुसार, शारीरिक श्रमको काम गर्नुपर्दा मात्र दलित समुदायका मानिसलाई घरभित्र पस्न दिने वातावरणमा उनी हुर्किएकी थिइन् । दलितले छोएको सामानलाई क्षेत्रीकी आमा दूषित मान्थिन् र सुनपानी छर्केर चोखो पार्थिन्, क्षेत्री भन्छिन् । त्यसैले, १७ वर्षको उमेरमा १९ वर्षका दलित किशोर बिपिन सुनारसँग माया बसेपछि अगाडिको बाटो कठिन रहेको उनलाई थाहा थियो । उनीहरु भागेपछि क्षेत्रीकी काकीले सुनारविरुद्ध ललाइफकाइ विवाह गर्छु भनी जर्बजस्ती करणी गरेको मुद्दा दायर गरेको उनी बताउँछिन् । ग्लोबल प्रेस जर्नलले क्षेत्रीकी काकीलाई सम्पर्क गरेको थियो तर फोन सम्पर्क विच्छेद भयो । क्षेत्रीका परिवारका अन्य सदस्यहरुसँग पनि सम्पर्क हुन सकेन ।

सन् २०२१ को नोभेम्बरमा अदालतले सुनारलाई जर्बजस्ती करणी गरेको ठहर गरी १२ वर्षको जेल सजाय सुनायो । त्यसबेला १९ वर्ष उमेरकी क्षेत्री र सुनारकी छोरी ६ महिनाकी थिइन् । क्षेत्रीले अधिवक्ता सुरेन्द्र थापा मगरको सहयोगमा मुद्दा पुनरावेदन गरिन् । बलात्कारको अभियोग खारेज भयो । त्यसपछि सुनारलाई डेढ वर्षको जेल सजाय भयो । सो समय जेलमा बिताइसकेका हुनाले उनी सन् २०२३ को अप्रिल महिनामा रिहा भए ।

“उनी सुनारसँग स्वेच्छाले बसेकी थिइन्,” मगर भन्छन् । “छोरी जन्मिएपछि पनि सँगै बस्थिन् । सुनार बच्चाको रेखदेखमा सक्रिय भएर लागिपरेका थिए ।” त्यसैले सुनारलाई अपराधको आरोप लगाउनु “नैतिकरुपमा सही नहुने” उनी बताउँछन् ।

रामको मुद्दामा भने उनका सम्पूर्ण परिवारविरुद्ध नै आरोप लगाइएको थियो । राम र इसर भागेपछि प्रहरीले रामका बुबालाई पछ्याएर उनीमाथि ७५,००० रुपियाँ (५६५ डलर) धरौटी ठहर गरिदियो । जोडजाड गरेर धरौटी तिरेपछि उनी जेल जानबाट भने जोगिए ।

तर रामका दाइहरु रुपेश र रन्जय सन् २०२३ को मार्च र जून महिनामा क्रमशस् पक्राउ परी जेल पठाइए । रुपेश नेपालमा प्रहरी जवान थिए ।

नेपाली जातप्रथाका निषेधित प्रेम कथाहरु
बबिता इसर र उनका श्रीमान् मनोज कुमार राम नेपालको मधेश प्रदेशको सप्तरी जिल्लास्थित आफ्नो घरमा पोट्रेट फोटो खिचाउँदै । तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल

उता लुम्बिनी प्रदेशको कपिलबस्तु जिल्लामा भने इसर र रामले विवाह गर्ने निर्णय गरे । त्यतिबेला २१ वर्ष उमेर पुगेका उनीहरुले कानूनीरुपमै विवाह गरेपछि प्रहरीले पिछा गर्दैन भन्ने अनुमान गरेका थिए । त्यसैले, विवाह गरेको केही दिनपछि उनीहरु गृह जिल्ला फर्किए । तर त्यहाँ पुग्नेबित्तिकै राम पक्राउ परे ।

“पुलिसले मलाई लैजाँदै गर्दा म रुन थालें,” राम भन्छन् । “उनीहरुले म लामो समयको लागि भित्र जाँदैछु भनेका थिए । अब परिवार र श्रीमतीलाई कहिल्यै भेट्न नपाउने डरले रोएँ ।”

केही हप्तापछि, सन् २०२३ को जून महिनामा अधिवक्ता सैलेन्द्र अम्बेडकरले रिट निवेदन हाले र तीनैजना दाजुभाइ जेलबाट छुटे । इसर र रामले अदालतमा विवाह दर्ता गरिसकेको हुनाले अपहरणबारे लगाएको आरोप मान्य नभएको अदालतले ठहर गर्‍यो ।

रामसँग भागेमा बुबाले मुद्दा हालेरै छाड्ने चेतावनी दिनुभएको इसर बताउँछिन् । तर माया बसेको मान्छेसँग भाग्नु नै समस्या भने थिएन, उनी भन्छिन् । उच्च भनिने जातको मान्छेसँग भागेको भए बुबाले माफ गरिदिने इसर बताउँछिन् ।

(सुनिता न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो।)

यो पनि पढ्नुहोस्

‘नागरिकताका लागि नाङ्गिएर भिख माग्दै हिंड्नुपर्ने यो कस्तो व्यवस्था हो?’

यो पनि पढ्नुहोस्

नेपालमा राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्थामाथि उठेको प्रश्नचिन्ह

यो पनि पढ्नुहोस्

बलात्कारको उजुरी गर्ने सीमा दुई वर्षमात्र रहेकोले समय अझ थप्नुपर्ने महिलाको माग



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School