प्रकाशित मिति : कार्तिक ३, २०८२ सोमबार

नेपाली चलचित्र ‘मोहर’ को अमेरिकाको न्युयोर्कमा विशेष प्रदर्शन हुने भएको छ। नेपालमा गत अगस्तमा रिलिज भएको यो चलचित्र न्युयोर्कमा भने अक्टोबर २५, शनिबार गुल्सन टेरेसमा प्रदर्शन गरिने भएको हो। चाँदनी क्रियशन एनवाईसीले चलचित्रको प्रदर्शन गर्न लागेको जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो।
चलचित्र प्रदर्शनबाट भएको नाफाको रकम नेपालका विपन्न वर्गको हितमा सामाजिक क्षेत्रमा खर्च गरिने उल्लेख गर्दै देउकी प्रथा लगायतका सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र हेर्नका लागि न्युयोर्कमा शोको आयोजना गरेका टेक गुरुङ, यम मोक्तान, चाँदनी लामा र कृष्ण पौडेलले आह्वान गरेका छन्। चाँदनी क्रियशनकी चाँदनी लामाले चलचित्र अमेरिकाका अन्य सहरहरूमा पनि प्रदर्शन गरिने जानकारी दिइन्।
चलचित्र हेर्नका लागि ८ वर्ष मुनिका बालबालिकाहरू र वृद्धवृद्धाहरूले भने निःशुल्क प्रवेश पाउने भएका छन्। अन्यले भने विभिन्न दरका टिकट काटेर चलचित्र हेर्न सक्नेछन्। सुरुमा आफूहरूले थिएटरमा नै चलचित्र देखाउने प्रयत्न गरे पनि सफल हुन नसकेकाले गुल्सन टेरेसमा चलचित्र देखाइन लागेको फन्डरेजिङ प्रिमियरका आयोजकले बताएका छन्।
पुरानो नेपालको ग्रामीण परिवेशमा आधारित सामाजिक ड्रामा ‘मोहर’ ले अलिखित सामाजिक नियमहरू, प्रेम कथा, गरिबी, बालविवाह, लैङ्गिक भेदभाव र सामाजिक अपेक्षाहरूको जटिलतामाथि गहन चित्रण गरेको छ। कथावस्तुमा एक स्कुल जाने बालिकाको पारिवारिक आर्थिक सङ्कटले गर्दा हुने बालविवाहको पीडा र त्यसबाट विकसित प्रेम तथा सङ्घर्षको भावनात्मक यात्रालाई केन्द्रमा राखिएको छ।
फिल्मले शिक्षा, महिला अधिकार र परम्पराको बोझबारे गम्भीर प्रश्न उठाउँछ। चलचित्रमा पल शाह, अर्जुन जङ्ग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ। चलचित्रलाई युवा निर्देशक ओम प्रतीक (ओम प्रतीक गुरुङ) ले लेखन तथा निर्देशन गरेका हुन्।
निर्माण पक्ष फिल्म मेकर्स रहेको यो फिल्मको निर्माण चुम्बन जङ्ग शाहीले गरेका छन्। दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एस.डी. योगीको सङ्गीत रहेको फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको एक्सन छ। चलचित्र दुई घण्टा १८ मिनेट लम्बाइको छ। यो फिल्मले नेपाली सिनेमामा नयाँ धारको प्रतिनिधित्व गरेको समीक्षकहरूको मत छ।

