यसै वर्ष क्रिकेट र भलिबलको लिग भइसकेको छ । माघमा कबड्डी र चैतमा फुटबलको लिग तय भएको छ । एकैवर्ष चार फरक–फरक खेलका फ्रेन्चाइज लिग हुनु नेपाली खेलकुदमै ऐतिहासिक संयोग हुनेछ ।
१४ पुस, काठमाडौं ।
नेपाल सुपर लिग (एनएसएल) ‘अब खेल्छ नेपाल’
नेपाल प्रिमियर लिग (एनपीएल) ‘फेस्टिभल अफ हिमालयज’
नेपाल भलिबल लिग (एनभीएल) ‘उँचाइको नयाँ उडान’
एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) ‘अब पालो महिलाको’
नेपाल कबड्डी लिग (एनकेएल) ‘माटोदेखि मैदानसम्म’ ।
यी हुन् नेपालमा हालै सम्पन्न भएका र हुने क्रममा रहेका केही खेलका फ्रेन्चाइज लिग र तिनका स्लोगान । केही वर्षअघिसम्म नेपाली खेलकुदका नियमित गतिविधिसमेत हुन सकेका थिएनन् ।
पछिल्लो समय भने नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको लहर नै आउन थालेको छ । निजी क्षेत्रको लगानी भित्रन थालेको छ भने खेलाडीहरूले पनि राम्रै आर्थिकलाभ पाउन थालेका छन् ।
विदेशी खेलाडीलाई यहाँ आएर खेल्ने अवसर मात्र सिजर्ना गरेको छैन, फ्रेन्चाइज लिगले नेपाली खेलाडीलाई संसारभर अवसरको ढोका खोलिदिएको छ ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) त्यसैको पछिल्लो उदाहरण हो । एनपीएलले भारतका स्टार क्रिकेटर शिखर धवनदेखि ट्यालेन्ट हन्टबाट उदाएका १६ वर्षका विपिन शर्मासम्मलाई एकै टिमबाट खेल्ने संयोग जुराइदियो ।
संसारभर प्रशारण पहुँच रहेको स्पोर्टस् च्यानल ‘स्टार स्पोट्र्स’बाट प्रत्यक्ष प्रशारण गरिएको एनपीएले नेपाली खेलाडीको क्षमता विश्वलाई देखाएर अवसरका प्रशस्त ढोका पनि खोल्यो ।
एनपिएलले समाजका सबै तह र तप्कामा क्रिकेटको क्रेज मात्र बढाएन, सिंगो देशलाई खेलकुदमय बनाइदियो ।
भर्खरै सकिएको एनपीएलको चर्चा सेलाउन नपाउँदै नेपालका पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) घोषणा भएको छ ।
आगामी मार्च–अप्रिलतिर गर्ने तयारीका साथ केडिया ग्रुपले नेपाल भलिबल लिगको नाम, लोगो र स्लोगान सार्वजनिक गरिसकेको छ । यसमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विदेशी खेलाडीहरूसमेत आउनेछन् ।
यसअघि नै महिला भलिबलको लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल) असोजमा सञ्चालन भएको थियो । इन्फिनिटी ड्रिम्समा आयोजनामा भएको इडब्लूभीएल एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिग भएको आयोजकको दावी छ ।
क्रिकेट र भलिबलबाहेक यस वर्ष अन्य खेलका पनि फ्रेन्चाइज लिग हुँदैछन् । भलिबलमा पुरुष र महिला दुवैको लिग एकै वर्ष हुन लागेको छ । यस्तै, पहिलोपटक कबड्डीको फ्रेन्चाइज लिग हुँदैछ । पुरुष कबड्डीको नेपाल कबड्डी लिग (एनकेएल) आउने माघ पहिलो साता सुरु हुँदैछ ।
यसैगरी, फुटबलको फ्रेन्चाइज लिग यस वर्ष पनि हुने भएको छ । आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आउने चैतमा नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण गर्ने घोषणा गरिसकेको छ ।
अहिलेसम्म नेपालमा क्रिकेट, फुटबल र भलिबलको फ्रेन्चाइज लिग भइसकेको छ भने अब कबड्डी फ्रेन्चाइज लिग गर्ने चौथो खेल बन्नेछ ।
यसै वर्ष क्रिकेट र भलिबलको लिग भइसकेको छ । त्यसमा माघमा कबड्डी र चैतमा फुटबलको लिग हुने मिति तय भएको छ । यसरी हेर्दा एकै वर्ष चार फरक–फरक खेलका फ्रेन्चाइज लिग हुनु नेपाली खेलकुदमै ऐतिहासिक संयोग हुनेछ ।
क्रिकेटमा पाँच फ्रेन्चाइज लिग, एनपीएलले ल्याएको तरंग
एनपीएल नेपाली क्रिकेटमा पहिलो फ्रेन्चाइज लिग होइन । भलै क्यानले आफ्नै व्यस्थापनमा गरेको यो स्तरको पहिलो लिग हो । यसअघि पनि क्यानले सन् २०२२ मा भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग मिलेर नेपाल टी–२० लिग आयोजना गरेको थियो ।
म्याच फिक्सिङका घटनाहरू बाहिरिएसँगै नेपाल टी–२० धरासायी बन्यो । दुई वर्षपछि क्यानले एनपीएलको नाममा नयाँ फ्रेन्चाइज लिग सुरु गरेको हो ।
क्यान आईसीसीको निलम्बनमा रहेको बेला निजी क्षेत्रबाट तीनवटा फ्रेन्चाइज क्रिकेट लिग भएका थिए । एभरेष्ट प्रिमियर लिग (इपीएल), धनगढी प्रिमियर लिग (डीपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) । जसले कुनै न कुनै रूपमा नेपाली क्रिकेटलाई माथि पुर्याउन योगदान दिए । क्रिकेट राष्ट्रिय टिमका कप्तान रोहित पौडेलदेखि धेरै खेलाडी तिनै फ्रेन्चाइज क्रिकेटका माध्यमबाट चर्चामा आएका हुन् ।
पाँचवटा फ्रेन्चाइज क्रिकेट लिग हुँदा अहिले भएको एनपीएले सबैभन्दा ठूलो चर्चा पायो । सायद, क्यान, फ्रेन्चाइज र खेलाडीहरूले सोचेको भन्दा धेरै ।
त्यसैले होला, क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्काले यसलाई ‘अविश्वसनीय संस्करण’ भने । ‘अनविलिभेबल सिजन । तीन साता नेपाली क्रिकेटमा नाटकीय परिस्थिति देखियो । यो मैदानले अहिलेसम्म देखेकामध्ये केही उत्कृष्ट क्रिकेट भयो,’ एनपीएले सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन् ‘अर्को सिजन ठूलो चुनौती छ । ठूलो अवसर छ । भविष्य सुनौलो छ । पहिलो सिजन हामी इतिहास बनाउन चाहन्थ्यौँ । आशा छ, अर्को वर्ष बिगर, बेटर एनपीएल हुनेछ ।’
सचिव खड्काले भनेजस्तै पहिलो सिजनै एनपीएलले ठूलो हाइप पाएकोले आउने सिजनदेखि यसलाई अझ राम्रो बनाउन चुनौती बढेको छ ।
ए डिभिजन नहुँदा फुटबल धान्दै एनएसएल
कोभिड १९ को महामारीअघि नेपाली फुटबल एक हदसम्म लयमा थियो । कम्तीमा प्रतियोगिताहरू भइरहेका थिए । शहीद स्मारक ए डिभिजन लिग एकाध वर्षबाहेक सात दशकदेखि चलिरहेको थियो । बी र सी डिभिजन लिगसमेत हुने गरेका थिए । सी डिभिजन क्वालिफायर जिल्ला लिग र प्रदेश तरमा पनि लिग आयोजना हुन्थे ।
फुटबलको क्यालेन्डर जसोतसो फलो भइरहेको थियो । तर, कोभिड १९ यता ए डिभिजन लिग नियमित हुन सकेको छैन । पछिल्लो पटक २०७९–८० मा भयो । गत सिजन लिग हुन सकेन, यस सिजन पनि नहुने पक्का छ ।
नियतिम खेलको अभावमा नेपाली राष्ट्रिय टिमको प्रदर्शन कमजोर बन्न पुगेको छ । खेलाडीहरू विदेश पलायन हुने पनि क्रम बढेको छ । ओरालो लाग्दै गरेको फुटबललाई पुनः माथि उठाउन भन्दै कोभिडकै समयमा नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज लिग सुरु भएको थियो ।
पहिलो सिजनपछि केही विवाद उत्पन्न हुँदा अर्को वर्ष त्यसले निरन्तरता पाएन । तर, गत वर्ष एनएसएलको दोस्रो संस्करण आयोजना भयो । यस वर्षका लागि तेस्रो संस्करणको तयारी भइरहेको छ ।
आयोजक एनएसइमले आउँदो मार्च २९ अर्थात १६ चैत २०८१ देखि एनएसएल सुरु गर्ने मिति तय गरेको छ । त्यसमा सहभागी टिमदेखि अन्य विषयको जानकारी भने आउन बाँकी छ । एनएसएलमा पहिलो सिजन ७ टिम सहभागी भएका थिए भने दोस्रो सिजनमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए ।
भलिबलमा महिला र पुरुषकै फ्रेन्चाइज लिग
भलिबल नेपालको राष्ट्रिय खेल हो । राष्ट्रिय र स्थानीयस्तरमा धेरै प्रतियोगिता हुने खेल पनि हो । पछिल्लो समय भलिबल खेलको क्रेज पनि ह्वात्तै बढेको छ । जसका कारण फ्रेन्चाइज लिगको यात्रामा भलिबल पनि प्रवेश गरिसकेको छ ।
एनएसएल फुटबलको आयोजक एनएसइएमले नै नेपाल सुपर लिग भलिबल आयोजना गर्न नेपाल भलिबल संघसँग सम्झौता गरेको थियो । तर, लिग सुरु नभएपछि सम्झौता खारेज भयो ।
२०८१ सालमा भने पुरुष र महिला दुवैका प्रतियोगिता अघि बढेका छन् । महिला टिमको प्रतियोगिता सम्पन्न भइसकेको छ भने पुरुषको यही वर्षको अन्त्यसम्म हुने तयारी छ ।
इन्फिनिटी ड्रिम्स प्रालीले गत असोजमा पहिलो पटक नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग (इडब्लुभिएल) आयोजना गरेको थियो । जसमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । यस्तै, केडिया ग्रुपले पुरुष भलिबल लिग नेपाल भलिबल लिग (एनभीएल) गर्ने घोषणा गरेको छ । यही वर्ष चैतसम्ममा एनभीएल गर्ने केडिया ग्रुपको तयारी छ ।
कबड्डी लिग
छिमेकी भारतमा अहिले प्रो कबड्डी लिग चलिरहेको छ । सन् २०१४ मा सुरु भएको प्रो कबड्डीको चर्चा अहिले आइपीएलपछि दोस्रो स्थानमा छ । विश्वमा फुटबल र क्रिकेटजस्तो कबड्डी चर्चित नभए पनि भारतसहित दक्षिण एसियामा भने यो खेलको चर्चा छ ।
भारतमा मात्र नभएर अन्य क्षेत्रमा समेत चर्चित बनेको प्रो कबड्डीलाई नै पछ्याउँदै नेपालमा पनि कबड्डीको फ्रेन्चाइज लिग हुँदैछ । अखिल नेपाल कबड्डी संघले एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्टसँग गत वर्ष नै नेपाल कबड्डी लिग (एनकेएल) का लागि सम्झौता गरेको थियो ।
आउने माघ ४ देखि १९ सम्म एनकेएलको पहिलो संस्करण हुनेछ । जसमा सहभागी हुने ६ फ्रेन्चाइज टिम, मार्की खेलाडी र प्रशिक्षकसहित खेलाडी ड्राफ्टसमेत घोषणा भइसकेको छ ।
मार्कीले एक लाख रुपैयाँ पाउनेछन् भने क्याटेगोरीमा ‘ए’ का खेलाडीले ७५ हजार, क्याटेगोरी ‘बी’ का खेलाडीले ६५ हजार र क्याटेगोरी ‘सी’का खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । विदेशी खेलाडीले पनि मार्कीकै तुलनामा रकम पाउनेछन् । एउटा फ्रेन्चाइजले कम्तीमा एक करोड रुपैयाँ हाराहारी खर्च गर्ने अनुमान छ ।
महिला कबड्डी लिगको पनि तयारी गरिएको कबड्डी संघका महासचिव अरविन्द झाले बताए । कुनै बेला नेपालको राष्ट्रिय खेल भनिने कबड्डीलाई पुनः लोकप्रिय खेल बनाउने लक्ष्यसहित एनकेएल आयोजना गर्न लागिएको उनको भनाइ छ । ‘एक दिन देशको नम्बर एक खेल बनाउने लक्ष्य लिएका छौँ,’ कबड्डी संघका महासचिव अरविन्द झाले भने ।
भारतकै शैली पछ्याउँदै
भारतमा सन् २००८ देखि इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट सुरु भएपछि फुटबल, कबड्डी, ब्याडमिन्टन, भलिबल, कुस्ती, टेनिसलगायत विभिन्न खेलको लिगहरू सुरु हुन थाले ।
नेपालमा पनि त्यही शैलीमा विभिन्न खेलका फ्रेन्चाइज प्रतियोगिता अघि बढेका छन् । झण्डै दशकअघि क्रिकेटको फ्रेन्चाइज सुरु भए पनि फुटबलको फ्रेन्चाइज लिग एनएसएल सन् २०२० मा मात्र सुरु भयो । भारतको इन्डियन सुपर लिग (आईएसएल) कै शैलीमा नेपालमा सुरु भएको एनएसएलको अब तेस्रो संस्करण गर्ने तयारी छ ।
यसै वर्षदेखि नेपालमा भलिबलमा पनि फ्रेन्चाइज लिग सुरु भयो । भलिबलमा महिलाको एभरेष्ट वुमन्स भलिबल लिग असोजमा आयोजना भएको थियो । अब चैतमा पुरुषको लिग नेपाल भलिबल लिग गर्ने तयारी छ । यो पनि भारतको प्राइम भलिबल लिगकै शेलीमा हुँदैछ ।
यसबाहेक भारतमा मात्र नभएर अन्य क्षेत्रमा समेत चर्चित बनेको प्रो कबड्डीलाई नै पछ्याउँदै नेपालमा आगामी माघमा नेपाल कबड्डी लिग हुन लागेको हो ।
फ्रेन्चाइज लिगका फाइदा
भर्खरै सम्पन्न एनपीएलमा झण्डै सय करोडको कारोबार भएको अनुमान छ । यसलाई एक अर्बको लिगसमेत भन्न थालिएको छ ।
क्यानले ‘ड्रिम प्रोजेक्ट’को रूपमा सुरु गरेको एनपीएल पहिलो वर्ष नै एउटा ‘ब्रान्ड’ बन्यो । यस्तै, यसमा सहभागी फ्रेन्चाइजहरूले समेत आफ्नो टिमको ब्रान्ड भ्यालु निर्माण भएको बताएका छन् । एउटा फ्रेन्चाइजले पाँचदेखि १० करोड रुपैयाँ खर्च गरेको बताएका छन् ।
एनपीएल आयोजना हुँदा सबैभन्दा धेरै फाइदा खेलाडीलाई नै भयो । स्टारदेखि नयाँ खेलाडीसम्मले विदेशी स्टार खेलाडीहरूसँग सँगै खेल्ने अवसर पाए । राम्रै आर्थिक आर्जन गरे । शिखर धवन, सोहेल तनविर, मार्टिन गप्टिल, जिम्मी नीशम, बेन कटिङजस्ता विश्व चर्चित खेलाडीसँगै एउटै ड्रेसिङ रुम र मैदान सेयर गर्न पाएको अवसर नेपालका सिनियरदेखि युवा खेलाडीसम्मले पाए ।
सबैखले फ्रेन्चाइजमा खेलाडीहरूले एक हदसम्म राम्रै आर्थिक लाभ गर्छन् । विदेशी खेलाडीहरूसँगै खेल्ने अवसर मात्र होइन, एक्सपोजर पनि पाउँछन् । फ्रेन्चाइजहरू सफल रहिरहे खेलाडीको प्रदर्शनमा निखार आउने त छ नै विदेशी खेलाडी यहाँ आउने र यताका खेलाडी विदेशका विभिन्न फ्रेन्चाइज लिगहरूमा गएर खेल्नका लागि ढोका खुल्ने अवस्था बन्छ । नियमित हुने प्रतियोगिताले खेलाडीहरूलाई आर्थिक रूपमा सवल पनि बनाउँछ ।
निरन्तरताको सम्भावना कति ?
नेपालमा पनि भारतमा जस्तै फ्रेन्चाइजको लहर खेलकुदमा देखिएको छ । यसले स्पष्ट रूपमा खेलकुदमा व्यावसायिकता भित्र्याउने लक्ष्य राखेको छ । जसमा खेलाडीले आर्थिक लाभ पाउने, कर्पोरेट हाउसको लगानी हुने र खेलेरै पनि बाँच्न सकिन्छ भन्ने आधार बनाउनेजस्ता उदेश्य राखिएको हुन्छ । यस्तै, विदेशी खेलाडीहरू नेपालमा आएर खेल्ने, खेलकुदमा ग्ल्यामर देखिने र यसमा खेलकुदबाहेक अन्य क्षेत्रको पनि विकासमा सहयोग मिल्ने हुन्छ ।
तर, सबैभन्दा ठूलो प्रश्न के छ भने यो कत्तिको दिगो होला त ? अझ नेपालजस्तो देशमा खेलकुदमा यति धेरै फ्रेन्चाइज लिग आवश्यक छ त ? यसलाई धान्न सक्ने जनशक्ति र लगानी नेपालमा सम्भव हुन्छ त ? फ्रेन्चाइजमा विदेशी लगानी भित्र्याउन सम्भव हुन्छ त ? भन्ने प्रश्नहरू पनि कायम छन् ।
सबै फ्रेन्चाइज लिगमा संघहरूले दीर्घकालीन सोचसहित सम्झौताहरू गरेका छन् । एनपीएलका लागि क्यानले फ्रेन्चाइजहरूसँग कम्तीमा तीन वर्षका लागि सम्झौता गराएको छ । सुरुकै वर्ष नाफा नहुने भएकोले लगानीको प्रतिफल आउनका लागि पनि केही वर्ष कुर्न फ्रेन्चाइज ओनरहरू सहमत छन् ।
यस्तै, भलिबलमा नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स र केडिया ग्रुपसँग सात–सात वर्षको लागि सम्झौता गरेको छ । क्रिकेट, फुटबल र भलिबलको फ्रेन्चाइज लिग भइसकेको छ । अब कबड्डी फ्रेन्चाइज लिग गराउने नयाँ खेल हुनेछ र अन्य ‘मास गेम’ जस्तो पपुलर पनि छैन ।
तैपनि कबड्डी संघ यसलाई नेपालकै नम्बर एक खेल बनाउने लक्ष्यसहित लागेको छ । ‘हामीले दिगो रूपमै सोचेका छौँ । एक वर्षका लागि मात्र हो भने त कोही पनि लगानी गर्न आउँदैन । किनभने, सुरुमै नाफा हुँदैन । अनुभवी कम्पनी छन् ।
नेपालमा पनि कबड्डीलाई एक नम्बर खेल बनाउन सकिन्छ भनेर लागेका छौँ,’ कबड्डी संघका महासचिव झाले भने, ‘हामीले एनकेएलका लागि एस्ट्रोनिक्ससँग १० वर्षका लागि सम्झौता गरेका छौँ । महिलाको लिग पनि गर्ने भनेका छौँ । प्रो कबड्डीकै शैलीमा हुन्छ भनेर अहिले हामीले बुझाइरहेका छौँ ।’