नेपालीको कम बौद्धिक स्तर (आई.क्यु) : कतै लिडको कारणले त हैन ?



२२ मे, २०२५ मा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (जुन सीडीसी भनेर प्रसिद्ध छ) ले निकाल्ने साप्ताहिक रिपोर्टमा (खण्ड ७४ अंक १८) मा एक नेपाली मूलकी गर्भवती महिलाको परीक्षण गर्दा ‘लिड’ विषाक्त भएको रिपोर्ट प्रकाशित भएको छ।

त्यो रिपोर्ट अनुसार न्यूयोर्क सिटी अन्तर्गतको स्वास्थ्य विभागले जुलाई २०२४ मा ती गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण गर्दा उनमा ‘लिड’ विषाक्त (११.२ µg/dL) भएको पाइयो। यसको कारण र उपचार खोज्न उनको परिवारका सदस्यको समेत परीक्षण गर्दा उनका श्रीमान्‌मा (१८.७ µg/dL) र ७ वर्षको बच्चामा (६ µg/dL) पनि लिड विषाक्तता भेटियो। सीडीसीको मापदण्ड अनुसार रगतमा ३.५ µg/dL भन्दा बढी हुनुलाई विषाक्तता मानिन्छ।

त्यसपछि, न्यूयोर्कको स्वास्थ्य विभागले विषको स्रोत पत्ता लगाउन विस्तृत रूपमा सम्भावित स्रोतहरूको समेत परीक्षण गर्‍यो। त्यसका लागि उनीहरू सम्बन्धी ३३ वटा पेन्टको, ६ वटा धुलोको, ६ वटा मसलाको, ३ वटा पूजा पाउडरको नमूना र ९ वटा धातुका भाँडाहरूको परीक्षण गरियो।

आश्चर्यजनक परिणाम के भेटियो भने, उनीहरूले प्रयोग गर्ने ९ वटा भाँडामध्ये चरेस/काँस वा पित्तलबाट बनेका ४ वटा भाँडाहरूमा उच्च लिड (१८.९-३०९ mg/L) पाइयो, जुन उनीहरूले नियमित रूपमा प्रयोग गर्थे। जुन मापदण्ड गाइडलाइन अनुसार (७ mg/L) भन्दा धेरै माथि हो। यी भाँडाहरूमा सबैभन्दा बढी सानो कराही, थाल, जग र कप थिए।

झस्काउने समाचार त के थियो भने, त्यो नेपाली परिवार केही महिना अगाडि मात्रै २०२४ अप्रिलमा नेपाल भ्रमणपछि अमेरिकामा फर्किएको थियो भने ती विषाक्त भाँडाकुँडाहरू समेत नेपालबाट फर्किंदा किनेर लगेका थिए। न्यूयोर्कको स्वास्थ्य विभागले ती भाँडाकुँडा प्रयोग नगर्न सल्लाह दिएपछि केही समयपछि उनीहरूमा विषको मात्रा घट्दै गएको पाइयो।

यो बुलेटिन पढ्दा पढ्दै, मलाई एक खालको तनाव शुरु भयो। किनकि वर्षौंदेखि हामीले घरमा प्रयोग गर्ने भाँडाहरूमा पनि काँस वा चरेसका यस्तै भाँडाहरू प्रशस्तै थिए। कतिपय नेपाली खाना पस्कने होटल वा आफन्तका घरमा पनि चरेस र काँसका भाँडा हुने गर्छन्। अनि घर पुग्ने बित्तिकै मैले यस्ता भाँडाहरू किचनबाट निकालेर स्टोरमा थन्काइदिएँ।

‘हेभी मेटल’को दुरुपयोगबाट हुने जनस्वास्थ्य र वातावरणमा पार्ने प्रभावको बारेमा पढेको र केही काम समेत गरेको म जस्तोको परिवारमा समेत यो खालको जोखिम छ भने सर्वसाधारणको तहमा यसको कुन जोखिम होला?

लिड के हो ?

लिड अर्थात् सिसा (Pb) एक अत्यन्त विषालु भारी धातु हो, जुन काँच (SiO₂) होइन। यो नरम, नीलो–कालो वा खैरो रंगको धातु हो। विश्व स्वास्थ्य संगठनले लिडलाई जनस्वास्थ्यका लागि सबैभन्दा खतरनाक १० रसायनमध्ये एक मानेको छ।

लिड धेरै नरम तर भारी हुन्छ, छिट्टै पग्लिन्छ र खिया लाग्दैन। तर मानिस र जनावर दुवैका लागि अत्यन्त हानिकारक छ। यो कुनै माध्यमबाट शरीरमा पुगेमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ।

के के मा किन प्रयोग हुन्छ ?

करिब ८ हजार वर्ष अगाडि पत्ता लागेको यो धातु शुरुमा धेरै कुरामा प्रयोग गरियो। औषधिदेखि वाइन, रङदेखि कस्मेटिक र भाँडादेखि पेट्रोलसम्ममा प्रयोग भयो।

यसको विषाक्त प्रभावको बारेमा धेरैपछि मात्र थाहा लागेपछि यसलाई व्यापक रूपमा प्रयोग गर्नमा प्रतिबन्ध लगाइएको छ। तर अझै पनि नेपाल, भारत जस्ता विकासोन्मुख देशरूमा नियमनको अभावका कारण यसको दुरुपयोग व्यापक छ। जसले विश्वभर, विशेषगरी विकासशील क्षेत्रहरूमा गम्भीर स्वास्थ्य जोखिम सिर्जना गरेको छ।

लिडले आईक्यु स्तर घटाउने, सिकाइ र व्यवहार सम्बन्धी समस्या उत्पन्न गर्ने र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने प्रमाणित भएको छ।

कतिसम्म भने, विगतमा लिडलाई पेट्रोलमा समेत मिसाएर बेच्ने गरिन्थ्यो। हाल संसारभरि नै लिड मिसिएको पेट्रोल प्रयोग प्रतिबन्धित छ। त्यसरी नै, रङरोगन (पेन्ट) लाई चम्किलो बनाउन र चाँडो सुकाउन लिडको व्यापक प्रयोग गरिन्थ्यो।

ठूला र स्थापित कम्पनीहरूले यसको प्रयोग घटाए पनि साना, स्थानीय तथा अनियन्त्रित उद्योगमा सस्तो रंगमा लिडको जोखिम अझै उच्च छ। विशेषगरी दक्षिण एशियाली देशहरूमा पाइने कमसल खाले पेन्टहरूमा अझै पनि लिड मिसावट पाइएको छ।

नेपाल सरकारले समेत पेन्टमा लिडको मात्रा ९० पीपीएमभन्दा बढी नहुनुपर्ने मापदण्ड तोकेको छ, तर केही अध्ययनले मधेश प्रदेशका केही रंग कारखाना र बजारमा यो सीमाभन्दा बढी लिड भएको पाइएको छ।

यसको अलावा, बजारमा पाइने सस्ता प्लास्टिकका खेलौनामा लिड पाइएको छ। खेलौनालाई बलियो र आकर्षक देखाउन लिड मिसाउने चलन पनि भेटिन्छ। सस्ता र गुणस्तरहीन सौन्दर्य प्रसाधन (लिपिस्टिक, गाजल) समेतमा उच्च लिड पाइएको छ।

यसबाहेक लिडको प्रयोग प्रायः पुराना पानीका पाइप, सेरामिक भाँडा, पारम्परिक (आयुर्वेदिक, होमियोपेथिक) औषधि र केही व्यवसाय जस्तै ब्याट्री रिसाइक्लिङ, धातु गलाउने काममा पनि जारी छ।

आयुर्वेदिक औषधिमा समेत लिड धातु (metal) मिसाइने अभ्यास प्राचीन ग्रन्थमा आधारित छ। औषधिलाई सुरक्षित र प्रभावकारी बनाउने भनेर यस्ता धातु मिसाउने गरिन्छ। नेपाल समेत यस्ता आयुर्वेदिक औषधिहरू बिक्री–वितरण भइरहेको पाइएको छ। त्यस बाहेक, लिडलाई अन्य धातुसँग मिसाएर चरेस, काँस र पित्तल जस्ता भाँडाहरू बनाउने गरेको पाइएको छ।

लिडले उत्पादन लागत कम गर्छ, चम्किलो रूप दिन्छ र ढाल्न तथा काट्न सजिलो बनाउँछ। यसले धातु काट्ने बेला लुब्रिकेटको जस्तो काम गर्छ। यही कारण परम्परागत रूपमा बनाइने मूर्ति र भान्साका भाँडामा समेत लिड पाइएको छ।

विगतमा अमेरिका र युरोपमा पिउने पानी वा खाना सम्बन्धी धातुमा लिड कडाइका साथ सीमित छ, तर नेपाल/भारत जस्ता देशमा रिसाइकल धातु, साना कारखाना र कमजोर नियमनका कारण उच्च मिसावट पाइएको छ।

मानव स्वास्थ्यमा प्रभाव

लिड मानव स्वास्थ्यका लागि अति हानिकारक विष हो, जसले शरीरका विभिन्न अंग; विशेषगरी मस्तिष्क, स्नायु प्रणाली, मुटु र किड्नीमा दीर्घकालीन क्षति पुर्‍याउँछ।

यसको प्रभाव उमेर अनुसार फरक देखिन्छ, तर सबैभन्दा बढी जोखिममा बालबालिका, विशेषगरी ६ वर्षमुनिका रहेका छन्।

बच्चाको मस्तिष्क र स्नायु प्रणाली लिडप्रति अत्यन्त संवेदनशील हुन्छ। थोरै मात्रामा र लामो समयसम्म सिसाको सम्पर्कमा आउँदा पनि बालबालिकामा आईक्यु (बौद्धिक क्षमता) स्तर घट्ने, सिकाइ र व्यवहारगत समस्या, ध्यान नजोडिने, वृद्धि ढिलो हुने, सुनाइमा समस्या तथा दीर्घकालीन बौद्धिक अक्षमता देखिन सक्छ।

वयस्कहरूमा लिडको विषाक्तताले प्रजनन् समस्या, उच्च रक्तचाप, स्नायु रोग, स्मरणशक्ति र एकाग्रतामा कमी, मांसपेशी तथा जोर्नी दुखाइ, रक्तअल्पता जस्ता समस्या देखा पर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार लिडको सम्पर्कका कारण हरेक वर्ष विश्वभर करिब १० देखि १५ लाख मानिसको मृत्यु हुने गर्दछ।
नेपाल जस्ता विकासशील देशहरूमा लिड विषाक्तता एक गम्भीर तर प्रायः बेवास्ता गरिएको सार्वजनिक स्वास्थ्य समस्या हो।

लिड मिसिएको हावा, धूलो, माटो, पेन्ट, कस्मेटिक, आयुर्वेदिक औषधि, खाद्य तथा जडीबुटीजन्य, सप्लिमेन्ट र लिड मिसाइएका भाँडाकुँडाबाट शरीरमा प्रवेश गर्न सक्छ। विशेषगरी अमिलो, तातो वा नुनिलो खाना लिडयुक्त भाँडामा पकाउँदा वा राख्दा खानामा मिसिने जोखिम अत्यधिक हुन्छ।

अमेरिकी बाल तथा मानसिक रोग विशेषज्ञ डा. हर्बर्ट निडलम्यानले गरेका ऐतिहासिक अध्ययन र अनुसन्धानले पेट्रोल, पानीका पाइप र खाद्य सामग्रीमा लिडको प्रयोग हटाउन विश्वव्यापी नीतिगत परिवर्तन गरायो। उहाँका अनुसार ‘सुरक्षित मात्रा’ भनेर मानिएको लिडको न्यूनस्तरले पनि बालबालिकाको बौद्धिक क्षमता र व्यवहारमा स्थायी नकारात्मक असर पार्ने प्रमाणित गरेका छन्। तर दुर्भाग्य नेपाल र भारत जस्ता देशमा हालसम्म पनि यसको प्रयोग हटाउन सकिएको छैन।

नेपालको अवस्था

नेपालमा लिड विषाक्तता मानव स्वास्थ्यका लागि बढ्दो चिन्ताको विषय बनेको छ। अध्ययनहरूका अनुसार आयुर्वेदिक औषधि, भाँडाकुँडा, रंग र औद्योगिक प्रदूषण जस्ता स्रोतहरूमा व्यापक रूपमा लिड प्रयोग भइरहेको छ।

लिड मिसिएको हावा, धूलो, माटो, पेन्ट, कस्मेटिक, आयुर्वेदिक औषधि, खाद्य तथा जडीबुटीजन्य सप्लिमेन्ट र लिड मिसाइएका भाँडाकुँडाबाट शरीरमा प्रवेश गर्न सक्छ। विशेषगरी अमिलो, तातो वा नुनिलो खाना सिसायुक्त भाँडामा पकाउँदा वा राख्दा सिसा खानामा मिसिने जोखिम अत्यधिक हुन्छ।

सम्यक् डायग्नोस्टिक, जावलाखेलका डा. केयूर गौतम र विवेक पन्त लगायतले गरेको अनुसन्धानले ३८ वर्षका एक पुरुषमा पेटदुखाइको कारण खोज्दा रगतमा अत्यधिक लिड भएको पुष्टि भएको थियो। उनले वीर्य वृद्धिका लागि भनेर खाइरहेका सातवटा आयुर्वेदिक औषधिमध्ये ६ वटामा विश्व स्वास्थ्य संगठनले तोकेको सीमाभन्दा बढी लिड भेटिएको थियो, जसले उनमा लिड विषाक्तता निम्त्याएको थियो।

यस्तै, मेडिसिटी अस्पतालमा डा. निरज जोशी र उनको टीमले गरेको अध्ययनमा, २७ वर्षीया एक महिलामा पेटदुखाइ, वाकवाकी, वान्ता र कब्जियत जस्ता समस्या देखा पर्दा रगत परीक्षणमा लिड विषाक्तताको पुष्टि भयो।

प्रारम्भिक परीक्षणहरूले ठोस कारण नदेखाएपछि विस्तृत इतिहास लिंदा उनी काठमाडौंमा रहेको पारिवारिक कस्मेटिक पसलमा काम गर्ने, कमजोर भेन्टिलेसन भएको वातावरण र सम्भावित लिडजन्य रङ प्रयोग भएको स्थानमा नियमित सम्पर्कमा रहेको पाइयो। अन्ततः रगतमा सिसाको मात्रा अत्यधिक (८५ µg/dL भन्दा बढी) भेटिएपछि लिड विषाक्तताको पुष्टि भयो। र पछि लिडको सम्पर्कबाट जोगिएपछि उनलाई निको भयो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिडर्स नेपालले काठमाडौं उपत्यकाका तीन ठूला अस्पतालहरू– त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सिद्धि मेमोरियल अस्पतालमा गरेको अध्ययनमा ६ देखि ३६ महिनाका ३१२ बालबालिकामध्ये ६४.४ प्रतिशतको रगतमा लिडको मात्रा सुरक्षित सीमा भन्दा बढी पाइयो।

यसले उपत्यकाका साना बालबालिकामा लिड सम्पर्क गम्भीर सार्वजनिक स्वास्थ्य समस्या रहेको देखाउँछ। अध्ययनले घरका भित्ताहरू, ढोका र झ्यालमा प्रयोग भएको रंगसँग सम्बन्ध देखाएको छ। माटो र धुलोसँग खेल्ने बालबालिकामा सिसाको मात्रा करिब ४.५ गुणा बढी पाइएको थियो।

नेपालमा भएको एक अध्ययनले मधेश प्रदेशको औद्योगिक क्षेत्र वरिपरि रहेका ५० जना बालबालिकामा रक्त परीक्षण गर्दा सबैको रगतमा लिड पाइएको देखाएको छ।

नेपालबाट अमेरिका लगिएका काँस/पित्तलका भाँडामा अत्यधिक मात्रामा सिसा निस्किएको सीडीसी रिपोर्टले पुष्टि गरेको छ। भारतमा समेत यसको भयावह स्थिति छ।

कसरी थाहा पाउने

लिड विषाक्तता भएको छ कि छैन भन्ने पत्ता लगाउने ‍सबैभन्दा भरपर्दो र मानक विधि रक्त परीक्षण हो। यस परीक्षण मार्फत रगतमा लिडको मात्रा माइक्रोग्राम प्रति डेसिलिटरमा नापिन्छ, जसले शरीरमा विषाक्तता छ कि छैन भन्ने स्पष्ट संकेत दिन्छ। नेपालमा पनि ठूला ल्यावमा यो सुविधा छ।

त्यस बाहेक केमा लिड छ कि छैन भनेर परीक्षण गर्नका लागि विभिन्न विधि छन्। बजारमा पनि लिड परीक्षण कीट पाइन्छ, विशेषगरी पेन्टमा रहेको लिड नाप्नका लागि, तर खेलौना, भाँडाकुँडा, आयुर्वेदिक औषधि जस्ता वस्तुहरूमा लिडको मात्रा प्रयोगशाला मार्फत जाँच्न सकिन्छ।

सबैभन्दा उत्तम भनेको एक्स रे फ्लोरेन्स एनालाइजरबाट जाँच्ने हो। तपाईं बसेको शहरमा यो उपलब्ध छ भने तपाईंले प्रयोग गर्ने सामानहरूको परीक्षण गराउन सक्नुहुन्छ। नेपाल भने यो एनालाइजर हालसम्म उपलब्ध भएको जानकारी छैन।

लिड विषाक्तबाट बच्ने उपाय

सबैभन्दा महत्त्वपूर्ण कुरा त, लिड फ्री बनाउनका लागि सरकारी मापदण्डमा सुधार र त्यसको प्रभावकारी कार्यान्वयन नै हो।
यसैबीच डिसेम्बरको पहिलो साता ‘लिड म्यान अफ इन्डिया’ को नामले विश्व परिचित वैज्ञानिक डा. थुप्पिल वैक्टेशसँग कोलम्बोमा भेट्ने मौका मिल्यो। मैले उहाँलाई सोधें– लिड विषाक्त सामान र भाँडाबाट बच्ने उपाय के होला ? उहाँको सिधा जवाफ थियो– ‘एभोईड’ अर्थात् प्रयोग नगर्ने।

हो, हामीलाई सुरक्षित छ भन्ने थाहा छैन भने, सबैभन्दा सुरक्षित भनेको त लिड हुन सक्ने सम्भावना भएका सामानको उपयोग नगर्ने नै हो। सस्ता तथा प्रमाणित नभएका आयातित खेलौना, कस्मेटिक, परीक्षण नगरिएका आयुर्वेदिक औषधि र सेरामिक, चरेस, काँस र पित्तलका भाँडाकुँडाबाट विशेष सतर्क रहनुपर्छ। यसका लागि लिड फ्री प्रमाणित भएका खेलौना, कस्मेटिक, प्रमाणित आयुर्वेदिक औषधि र सकेसम्म उच्च गुणस्तरको सेरामिक र स्टीलका भाँडाहरू प्रयोग गर्नु बढी सुरक्षित हुन्छ। शंका लागेका यस्ता सामान किन्नुहुँदैन।

हामीले प्रयोग गर्ने चरेस र काँसका थाल–कचौरा, बच्चाले खेल्ने खेलौना, नियमित खाने आयुर्वेदिक औषधिमा पनि विष हुन सक्छ।

घरायसी स्तरमै सतर्कता अपनाएर पनि लिडको सम्भावित जोखिमबारे अनुमान गर्न सकिन्छ। अत्यधिक चम्किलो र अस्वाभाविक रूपमा सस्तो पित्तल, चरेस वा काँस भाँडा, भित्रतिर पहेंलो–खैरो दाग देखिने वस्तु, रिसाइकल गरी बनाइएका सस्ता बनेका सामग्रीमा लिड मिसावटको सम्भावना बढी हुन्छ। यस विपरीत, ब्रान्डेड वा प्रमाणित उत्पादनहरू, जसको लिडको बारेमा लेखिएको हुन्छ, सामान्यतया सुरक्षित हुन्छन् नै।

त्यस बाहेक भाँडाहरू प्रयोग गर्नै पर्ने भए पित्तल, काँस वा चरेसका भाँडामा अमिलो, नुनिलो, चिल्लो वा अत्यधिक तातो खाना लामो समयसम्म नराख्ने गर्नुपर्छ। अम्ल पदार्थ (अचार, कागती, अमिलो) र तापक्रमले धातुबाट लिड निस्कने प्रक्रिया तीव्र बनाउँछ र खानामा मिसिन्छ। दैनिक खाना पकाउने, राख्ने र बालबालिकालाई खुवाउने कार्यका लागि Stainless steel, glass वा उच्च गुणस्तरको सिरेमिक भाँडा प्रयोग गर्नु उपयुक्त हुन्छ।

प्रयोग गर्नै पर्ने उद्योग भए तिनीहरूलाई बस्तीबाट टाढा राखिनुपर्छ। विशेष गरी अझै पनि गुणस्तरहीन रङरोगनमा पूर्ण रोक लगाइनुपर्छ। खानेपानीका पाइपमा प्रयोग हुने जोईनटका धातुहरू पनि लिड फ्री हुने व्यवस्था गरिनुपर्छ।

बालबालिका, गर्भवती महिला र लिडयुक्त वातावरणमा काम गर्ने व्यक्तिहरूको नियमित रूपमा रक्त परीक्षण (Blood Lead Level) गरिनु अत्यन्त आवश्यक छ। यदि नियमित रूपमा यस्ता धातुका भाँडामा खाना पकाउने वा खाने गरिन्छ भने, रगत लिडको मात्रा जाँच गराउनु बुद्धिमानी हुन्छ।

अन्त्यमा, लिड ठूलो सार्वजनिक स्वास्थ्य सरोकारको विषय हो नै। जसले विशेषगरी बालबालिकामा मस्तिष्क र स्नायु प्रणालीको विकासमा नकारात्मक प्रभाव पार्छ। यसले आईक्युस्तर घटाउने, सिकाइ र व्यवहार सम्बन्धी समस्या उत्पन्न गर्ने र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने प्रमाणित भएको छ।

डा. केयुर गौतम, जसले नियमित रूपमा लिडको परीक्षण गर्नुका साथै बेला बेलामा लेख्नु पनि हुन्छ, नेपालीहरूको औसत आई.क्यु. विश्वको औसत भन्दा निकै तल छ, कतै यस्तो हुनुमा परम्परागतदेखि अहिलेसम्म नै लिडको विषाक्तको कारणले हैन! यो कुरामा अब्दुल कलामसँग १६ वर्ष सँगै काम गरेका डा. वैक्टेशको सहमति र शंका छ।

यही सही हो भने सिंहदरबार जलाउने र त्यसैमा ताली बजाउने हाम्रो बौद्धिकता, न्यून आर्थिक उन्नति र व्यापक गरिबीको एउटा कारण यो पनि हुन सक्छ।

(ढकाल, वातावरण अर्थशास्त्र तथा नीतिको क्षेत्रमा परामर्शदाताको काम गर्छन्।)





Source link

Leave a Comment