नेपाललाई माया दिएर अस्ताएकी ओल्गा दिदी

नेपाललाई माया दिएर अस्ताएकी ओल्गा दिदी


सन् १९५० को दशकमा नेपालमा पथप्रदर्शनको सुरुवात भएसँगै विदेशीको चाप बढ्दै गयो । यससँगै विदेशी प्रेम, सद्भाव र करुणाले प्रवेश पाएको पाइन्छ ।

पिछडिएका पहाडी बस्ती हुँदै जाने पदमार्गले धेरै विदेशीलाई नेपाल र नेपालीको वस्तुगत र व्यावहारिक जानकारी प्रस्तुत गरेको पाइन्छ ।

भोक, रोग र अशिक्षाको भुमरीमा गिजोलिएका नेपाली देख्दा घुम्न हिंडेका सम्पन्न विदेशीलाई अनौठो लाग्नु स्वाभाविक नै भयो । तीमध्ये धेरैमा सेवाभाव पलाउनु स्वाभाविक रह्यो जुन मानवीयताको उत्कृष्ट उदाहरण पनि हो ।

यस्तो सेवाभाव र मानवीयताको सुन्दर मिश्रणले धेरै राम्रा कामहरू भएका छन् । फलस्वरुप नेपालमा संस्थागत रूपमा काम गर्ने धेरै संघ–संस्थाको स्थापना भएको छ । र, व्यक्तिगत रूपमा सद्भाव र सहयोग गर्ने जमात पनि ठूलै भएको छ ।

यसरी धेरै व्यक्तिगत सहयोगहरू पटके सहयोगमा सीमित हुँदा ओल्गा मरीले सुरुवात गर्नुभएको व्यक्तिगत सहयोग संस्थागत हुँदै आज स्थापित संस्थामा रूपान्तरण हुँदाको सुखद् कथा प्रिय र प्रेरणादायी छ । मननयोग्य छ, अझै भनौं गरिबी, अशिक्षा र अभावले जेलिएको नेपाली समाजका लक्षित वर्गको लागि अतुलनीय पनि छ ।

आज, उहाँको भौतिक शरीर हामीबीच नभए पनि उहाँको जन्मस्मृतिको अवसरमा नेपाल र नेपालीप्रति उहाँले पुर्‍याउनुभएको योगदानको चर्चा–परिचर्चा गर्ने जमर्को गर्दछु । यो आलेख उहाँको सुकार्य मार्फत उहाँलाई सम्झने प्रयास हो ।

१ जून १९२५ मा रोमानियाको ट्रान्सल्भेनियामा जन्मनुभएकी ओल्गा मरीले आफ्नो जीवन उत्कृष्ट रूपमा व्यतीत गर्दै ९८ वर्षको उमेरमा २० फेब्रुअरी २०२४ का दिन परमधाम हुनुभयो । जीवन नियाल्दा यस्तो लाग्छ कि गर्छु भनेको काम उहाँले गरेरै जानुभयो, दिन्छु भनेको सबै प्रेम दिएरै जानुभयो ।

बाल्यकालका कठिन दिनहरूमा आफ्नो घरमा चुलो नबल्दा पनि सामाजिक काममा अग्रसर रही समाजसेवामा दत्तचित्त रहने परिवारमा हुर्किएकी ओल्गा मरीमा नेपाली समुदायप्रति प्रेमभाव पैदा हुनु स्वाभाविक थियो । उहाँ प्रेममा हुर्कनुभयो, प्रेमले जिउनुभयो र प्रेमिल भएर महाप्रस्थान गर्नुभयो ।

कोलम्बिया विश्वविद्यालयबाट राजनीतिशास्त्रमा र जर्ज वासिङ्टन विश्वविद्यालयबाट कानुनमा स्नातक गर्नुभएकी ओल्गाले महिलाले जागिर पाउन गाह्रो हुने उक्त समयमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको सहायक वकिलको भूमिकामा काम गर्ने अवसर पाउनुभएको थियो ।

ओल्गा मरी सामाजिक कार्यमा समर्पित एक प्रिय मानवतावादी अभियन्ता र परिवर्तनको संवाहक हुनुहुन्थ्यो । उहाँको नेपाल र नेपालीप्रतिको अथाह प्रेम, समर्पण र त्यागले हामीमा प्रेरणा थपिरहनेछ

३७ वर्षे जागिरे जीवनको उत्तरार्धमा सन् १९८४ ताका एसिया घुम्दा नेपालको हिमाली भेगमा ट्रेकिङ्ग गर्ने क्रममा उहाँले जुन अवस्थाका बालबालिका भेट्नुभयो तिनले उहाँको मन अमिलो बनायो । साथै केही गर्ने हौसला पनि प्रदान गर्‍योे ।

प्रफुल्लित, हँसिला, मिलनसार तर पढाइको अभाव र गरिबीको चपेटामा परेका तिनै बालबालिकाको संरक्षण गर्न, शिक्षा प्रदान गर्न र उनीहरूको सामाजिक सशक्तीकरण गर्ने अभियान नै उहाँको जीवनको दोस्रो अध्याय बन्नपुग्यो । त्यसपश्चात् ओल्गा १९८७ मा दोस्रो भ्रमणमा नेपाल आउनुभयो । ट्रेकिङबाट फर्कंदै गर्दा खुट्टा मर्किएपछि उहाँलाई डोकोमा बोकेर काठमाडौं ल्याइयो ।

यो अवस्था उहाँलाई भने दर्दनाक लाग्यो र शारीरिक रूपमा अशक्तहरू झन् कसरी जीवन निर्वाह गर्दै होलान् भन्ने ठानी उक्त वर्गका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्न थाल्नुभयो । बालगृहबाट हुर्केका बालबालिका, शारीरिक रूपमा अशक्त बालबालिकालाई संस्थागत रूपमा किन सहयोग नगर्ने भन्ने हेतुले सन् १९९० मा नेपाल युथ फाउण्डेशन नामक संस्था सुरुवात गर्नुभयो ।

आज ओल्गाले सुरुवात गर्नुभएको नेपाल युथ फाउण्डेशनले ५० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षा छात्रवृत्ति प्रदान गरिसकेको छ । जस अन्तर्गत आज पनि विभिन्न कारणले पढाइ छोड्ने अवस्थामा पुगेका विद्यार्थीलाई छात्रवृत्ति मार्फत सहयोग हुँदै आएको छ ।

अहिले पनि अभिभावकविहीन, अनाथ तथा बेसहारा बालबालिकाको लागि खाने, बस्ने सुविधा सहित ८० बालबालिका राख्न मिल्ने ओल्गापुरी बालगृह सञ्चालनमा छ । नेपालभरका तत्कालीन अञ्चल अस्पताल तथा अन्य अस्पतालभित्र स्थापना गरिएका १७ वटा पोषण पुनर्स्थापना केन्द्र मार्फत २५ हजारभन्दा बढी कुपोषित बालबालिकाले उपचार पाइरहेका छन् ।

साथै सोही संख्याका अभिभावकहरूले पनि पोषण सम्बन्धी ज्ञान प्राप्त गर्नुभएको छ । जुन सेवा आज पनि निःशुल्क उपलब्ध छ । यो कार्यक्रम कुपोषण निवारणका लागि निकै उपयोगी साबित भइरहेको छ ।

यस्तै नेपालमै पहिलो बालबालिका लक्षित मनोपरामर्श सेवा सुचारु छ । एचआईभी संक्रमित बालबालिकाको लागि पुनस्र्थापना केन्द्र सञ्चालनमा छ । युवा रोजगार तथा स्वरोजगारमा सहयोग गर्ने हेतुले स्थापित ओल्गापुरी व्यावसायिक तालिम केन्द्र मार्फत व्यावसायिक शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

यस तालिम केन्द्र मार्फत आज पनि जो–कोहीले काष्ठकला, इलेक्ट्रिसियन, प्लम्बिङ्ग, वेल्डिङ्ग तथा सिलाई सम्बन्धित ३ र ६ महिने तालिम खान–बस्न सहित निःशुल्क रूपमा प्राप्त गर्न सक्दछन् । यस्तै दलित समुदाय उत्थान र सशक्तीकरणको लागि दलित बालबालिका लक्षित विभिन्न छात्रवृत्तिका कार्यक्रम पनि सञ्चालनमा छन् ।

ओल्गा मरीको नेतृत्वमा विपद्मा पनि जनउद्धार तथा पुनर्निर्माणमा उल्लेखनीय कार्य भएका छन् । कमलरी प्रथाको उन्मूलनमा उहाँको उल्लेख्य भूमिका रह्यो । अर्काको घरमा बँधुवा दासत्व स्वीकारेर बस्न बाध्य थारू समुदायका साना–साना नानीहरूलाई दासत्वबाट मुक्ति पछि पढ्ने व्यवस्था, सीप सिक्ने व्यवस्था र समाजमा पुनस्र्थापित हुने व्यवस्था मिलाउन उहाँले सकेको गर्नुभयो ।

सदियौंदेखि रहेको प्रथामा विना ज्याला ६, ७ वर्षदेखिका बालबालिका अर्काको घरमा काम गर्न बाध्य बनाउने त्यो अत्याचार विरुद्धको अभियान मार्फत १३ हजारभन्दा बढी कमलरी नानीहरूको उद्धार तथा पुनस्र्थापनाको काम भयो ।

ओल्गा सामाजिक रूपमा जति सक्रिय हुनुहुन्थ्यो, उति सक्रिय बनावटी व्यक्तिगत प्रचारमा हुनुहुन्नथ्यो । र पनि, उहाँको कार्यलाई सम्मान गर्न विभिन्न पदकहरूले विभूषित गरिएको पाइन्छ । समाज कल्याण परिषद्द्वारा समाजसेवी पुरस्कार २०६९ बाट विभूषित गरिएको थियो ।

यस्तै सन् २००१ मा दलाई लामाद्वारा ‘अनसुङ हिरोज अफ कमप्यासन अवार्ड’ द्वारा सम्मानित गरिएको थियो । सन् २००२ मा नेपाल सरकारद्वारा गोरखा दक्षिण बाहुद्वारा विभूषित हुनुभएकी ओल्गा सन् २००६ मा ‘स्ट्यान्ड अन बेटर वर्ल्ड अवार्ड’ बाट सम्मानित हुनुभएको थियो ।

ओल्गा मरीले आफ्नो सम्पूर्ण जीवन बालबालिका तथा युवाको शिक्षा, स्वास्थ्य र सशक्तीकरणमा खर्चिनुभयो । बालबालिकाको शिक्षा, संरक्षण र समग्र हितमा कार्यरत सामाजिक संस्था नेपाल युथ फाउण्डेशनको स्थापना गर्दै नेतृत्व हस्तान्तरणको पनि सफल अभ्यास गर्नुभयो ।

उहाँको देहान्तपछि आफ्नो सम्पूर्ण सम्पत्ति नेपाल युथ फाउण्डेशन मार्फत नेपालका बालबालिकाको उच्चतम हित हेतु हस्तान्तरण गर्नुभयो । आज उहाँको भौतिक उपस्थिति विना पनि संस्थाको उद्देश्य र लक्ष्यमा कुनै असर नपर्ने गरी जागरुक, सक्षम र इमान्दार नव-नेतृत्व कार्यरत रहेको देख्न सकिन्छ, जुन कमै मात्र संस्थाहरूमा देखिन्छ ।

ओल्गा मरी सामाजिक कार्यमा समर्पित एक प्रिय मानवतावादी अभियन्ता र परिवर्तनको संवाहक हुनुहुन्थ्यो । उहाँको नेपाल र नेपालीप्रतिको अथाह प्रेम, समर्पण र त्यागले हामीमा प्रेरणा थपिरहनेछ । एक व्यक्तिको दृष्टिकोण र दृढसंकल्पले केसम्म हासिल गर्न सकिन्छ भन्ने भावको ज्वलन्त उदाहरण र प्रमाण नै उहाँको जीवन हो ।

उनै प्रिय धरोहर ओल्गा मरीलाई बिदाई गर्दै गर्दा, उहाँको पुण्यकार्यले सिञ्चित नेपाल युथ फाउण्डेशन र उहाँद्वारा सबल बनाइएका धेरै जीवनलाई प्रेरणा र मार्गदर्शन गरिरहनेछ । उहाँको नेपाल र नेपालीप्रतिको अथाह प्रेम, समर्पण, त्याग र योगदान नेपाली समाजमा युग-युगसम्म बाँचिरहनेछ । उहाँप्रति सप्रेम हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School