आज १६ पुस । ४९ वर्षअघि अर्थात् २०३३ सालमा आठ वर्षे निर्वासित जीवन त्यागेर बीपी कोइराला स्वदेश फर्किएको दिन ।
भारतमा निर्वासित जीवन बिताइरहेका बीपीलाई त्यसवेला स्वदेश फर्किन सहज थिएन । तत्कालीन शासन व्यवस्थाकै कारण उनी भारत निर्वासनमा गएका थिए । उनका निम्ति अवस्थामा कुनै फेरबदल आएको थिएन । तै पनि जोखिम लिएर राष्ट्रिय मेलमिलापको सन्देश बोकेर उनी स्वदेश फर्किएका थिए । राजा र राजनीतिक दल मिलेर मात्र मुलुकको हित हुन सक्छ भन्ने राष्ट्रिय मेलमिलापको सन्देश थियो । त्यही दिनको सम्झनामा नेपाली कांग्रेसले प्रत्येक वर्षको १६ पुसलाई राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।
पहिलो आमनिर्वाचनबाट दुईतिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरेका बीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले १ पुस २०१७ ‘सैनिक कू’ गर्दै प्रधानमन्त्रीबाट अपदस्थ गरेका थिए । त्यसवेला नेपाल तरुण दलको महाधिवेशन उदघाटनमा सरिक भइरहेकोे अवस्थामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका बीपीलाई पक्राउ गरेर सुन्दरीजल जेल लगिएको थियो । संसद् विघटन गरी राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएका महेन्द्रले कांग्रेसका अन्य वरिष्ठ नेताहरूलाई पनि बीपीसँगै देशद्रोहको मुद्दासमेत लगाएर प्रजातन्त्रको हत्या गरेका थिए ।
आठ वर्षपछि १४ कात्तिक २०२५ मा बीपी जेलमुक्त भए । तर, भारतमा निर्वासित जीवन बिताउन बाध्य भए । त्यसको आठ वर्षपछि बीपी, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू आफूमाथि लगाइएको मृत्युदण्ड मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किएका थिए ।
मेलमिलापको पक्षमा कांग्रेस
नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै क्रान्ति र शान्तिको मार्ग पहिल्याएको पाइन्छ । मध्ययुगिन दाशतापूर्ण जहानियाँ राणाशासनकालको अन्धकार युगमा जनतामा चेतना भर्ने र समानताका लागि संघर्ष गर्ने कांग्रेसीहरूको त्यो परिवेशको राजनीतिक चेतलाई क्रान्तिकारीहरूको उत्साहपूर्ण बलिदानको रूपमा लिइन्छ । नेपालीलाई रैतीबाट नागरिक बनाउन हतियारबन्द क्रान्ति गरेको नेपाली कांग्रेसले भागेर नेपालस्थित भारतीय दूतावासको शरण हुँदै दिल्ली पुगेका राजा त्रिभुवनको राजगद्दी पुनर्स्थापना र राणाहरूलाई पनि देश छोड्न नपर्ने बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरे स्वदेशमै बस्न दिने नीति अंगिकार गर्यो ।
यही नीतिका कारण भारतको दिल्लीमा नेपाली कांग्रेस, तत्कालीन राजा श्री ५ त्रिभुवन र राणाहरूका बीचमा त्रिपक्षीय सम्झता भएपछि नेपालमा ७ फागुन २००७ मा प्रजातन्त्रको उदय भएको भयो ।
नेपालमा प्रजातन्त्र आएपछि राजाका समेत प्रतिनिधि रहने गरी तत्कालीन श्री ३ महाराज मोहनशम्शेर राणाको नेतृत्वमा बीपी कोइराला गृहमन्त्री रहेको मन्त्रिमण्डल पनि गठन भयो । राणाहरूको श्री ३ पदवी खोसियो, राजाले मात्र श्री ५ लेख्न पाउने अधिकार राखियो । यो घटना पनि क्रान्तिका बीचमै पनि शान्ति र बढी रक्तपात नहोस् भन्नका खातिर एउटा मेलमिलापको नीति थियो । प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने एउटा बलियो उदाहरण थियो, २००७ सालको त्रिपक्षीय सम्झौता पनि ।
यसरी त्रिपक्षीय सम्झौताकै कारण गुमेको अधिकार फिर्ता पाएको राजसंस्थाले तिनै बीपीलाई २०१७ सालमा जेल हालेको थियो र त्यहाँबाट निस्किएपछि निर्वासित जीवन बिताउन बाध्य बनाएको थियो । भारत निर्वासनमै रहेका वेला १३ वैशाख २०३१ (सन् १९७५ अप्रिल २६) मा भारतले सिक्किमलाई आफ्नो मुलुकमा बिलय गराएपछि नेपालको अस्तित्वमै संकट पर्न सक्ने देखेर नै ज्यानको पर्वाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
सबैसँग मेलमिलाप गरे पनि नेपाली कांग्रेसले भ्रष्टाचारी, दलाल, कमिशनखोरहरूविरुद्ध कठोर संघर्ष गर्नुपर्दछ । यो बाटोमा अबको कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ
आजभन्दा ५० वर्षअघि सिक्किममा सिक्किम नेशनल कांग्रेस र सिक्किम जनता कांग्रेससँग राजा छोग्यालको द्वन्द्व बढेर जाँदा राजतन्त्र मात्र समाप्त भएन, देशको स्वतन्त्र अस्तित्व नै सकियो । विश्वमानचित्रबाट सिक्किम हरायो, बिलय भयो । भारतीय गुप्तचर संस्था रअ र प्रधानमन्त्री इन्दिरा गान्धीको गुप्त योजनाअनुसार नै सिक्किमलाई भारतले निलेपछि बीपीले देश जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिएका थिए । यही नीतिपछि सशस्त्र बिद्रोहको तयारी गर्दै गरेको कांग्रेसले हतियारको राजनीति छोड्दै शान्तिपूर्ण राजनीतिमा आउने सोचाइ बनाएकोे पाइन्छ ।
बीपीको स्वदेश आगमन र त्यसको प्रभावले देशमा प्रजातान्त्रिक आन्दोलनका पक्षमा राजनीतिक तरंग सिर्जना गर्यो । सर्वसाधारण जनतासमेतलाई प्रभावित गर्यो । त्यसैको परिणाम २०३५ को विद्यार्थी आन्दोलन, २०३६ को जनमत संग्रह हँुदै राजनीति केही खुकुलो भयो । त्यही मेलमिलापको नीतिमा टेकेर कां
ग्रेसले राणा, राजा र कम्युनिष्टहरूलाई प्रजातन्त्र र जनतामा निहित सार्वभौम सत्ता (अर्थात जनताको सर्वोच्चता) लाई स्वीकार गराउन नेपाली कांग्रेसले समय–समयमा कठोर संघर्ष गर्नु परेको इतिहास साक्षी छ । कांग्रेसले २०४२ सालमा सत्याग्रह आन्दोलन गर्यो । त्यसले पार्टीलाई थप संगठित गर्न मद्दत पुग्यो र कांग्रेस पार्टीकै नेतृत्वमा २०४६ सालको राष्ट्रिय जनआन्दोलन सम्पन्न भई प्रजातन्त्र पुनःस्थापना भएको थियो ।
कतिपयले बीपीको जीवनकालपछि कांग्रेसले बीपीको मेलमिलापको नीति परित्याग गर्यो भन्ने गरेको सुनिन्छ । मूलतः प्रजातन्त्र र जनताको सार्वभौमिकता नस्वीकार्ने शक्तिहरूसँग सहकार्य नगर्ने बीपीको नीति थियो । जब कम्युनिष्टहरू जनताको सर्वोच्चतालाई स्वीकार गर्ने र बहुदलीय प्रजातन्त्रलाई मान्ने सवालमा आन्दोलन र सहकार्यमा राजी भए, तब मात्र नेपाली कांग्रेसले नेपालका कम्युनिष्ट घटकहरूसँग सहकार्य र मेलमिलापको नीति अंगिकार गरेको पाइन्छ ।
कांग्रेस नेताहरूले २०४६ सालमा वाममोर्चालाई साथ लिएर गरेको जनआन्दोलन, कांग्रेसको नेतृत्वमा तत्कालीन सात राजनीतिक दलले माओवादीसँग गरेको १२बुँदे समझदारी र त्यसमा टेकेर गरिएको ०६२/०६३ को जनआन्दोलन, बिस्तृत शान्तिसम्झौता र २०७२ मा संविधान निर्माण निश्चय नै मेलमिलापको नीतिमा आधारित नै थियो ।
भागेर दिल्ली गएका राजा त्रिभुवनले प्रजातन्त्रको पक्षमा सहयोग गर्ने प्रतिवद्धता जनाएकै कारण कांग्रेसले स्वदेश फिर्ता गराएर राजगद्दीमा राखेकै हो । राजा महेन्द्रले प्रजातन्त्र खोस्दा महेन्द्र चढेको जीपमा जनकपुरमा कांगे्रसका दुर्गानन्द झाहरूले बम हानेकै हुन् र बाबुकै पथमा लागेर प्रजातन्त्र मास्ने निरंकुश राजा ज्ञानेन्द्रलाई राजगद्दीबाट कांग्रेसकै अगुवाइमा हटाइएकै हो । जब नेपालका कम्युनिष्टहरूले प्रजातन्त्र र जनताको अधिकारलाई स्वीकार गरे तब कांग्रेसले उनीहरूलाई राष्ट्रिय राजनीतिको मूलप्रवाहमा साथ लिएर द्वन्द्व मेटाएको पाइन्छ ।
इतिहासमा नेपाली कांग्रेस र नेपाली जनताविरुद्ध जो–जो उभिए ती समाप्त भएर गएका छन् । यसका प्रशस्त उदाहरण छन् । १०४ वर्षे जहानिया राणाशासन, ३० वर्षे पञ्चायतीशासन, २४० वर्षे शाहीशासन सबै नेपाली कांग्रेस र नेपाली जनतालाई दमन गर्न खोज्दा समाप्त भएका हुन् । राष्ट्रियताका सन्दर्भमा बीपीले गरेको मेलमिलापको प्रस्ताव राजा वीरेन्द्रले स्वीकार गरेनन् । मेलमिलापको त्यही नीतिको बेवास्ता गर्दा अन्ततः देशबाट राजसंस्था नै पतन भयो । २०६२/०६३ को परिवर्तनपछि नेपाली कांग्रेसकै नेतृत्वमा देशमा गणतन्त्र स्थापना भएको हो ।
विगतभन्दा फरक परिवेश
बीपीले मेलमिलापको नीतिअघि सार्दा विश्वको राजनीतिक परिवेश र घरेलु परिस्थिति भिन्न थियो । त्यसमा अहिले धेरै परिवर्तन आइसकेको छ । हाम्रो राष्ट्रियता र प्रजातन्त्रमाथि देखिएका चुनौती र खतरा अझै टरेका छैनन् । हाम्रा छिमेकी एवं मित्र राष्ट्रहरू र विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको नेपालप्रतिको चासो झन् बढेको छ । त्यो चासो कतिपय अवस्थामा दबाब र हस्तक्षेपकै तहमा देखिने गरेको छ । यस अवस्थामा राष्ट्रियतामाथिको चुनौती विगतभन्दा बढेको छ ।
यस्तोमा अहिलेको कांग्रेसले राष्ट्रियताको जगेर्ना गर्न र जनताको स्वाभिमानलाई अझ उच्च बनाउन बीपीका नीति, विचार र सिद्धान्तलाई शब्दमा भन्दा व्यवहारमा अवलम्बन गर्नुपर्छ । यसलाई वर्तमान राजनीतिक परिवेशमा थप परिभाषित एवम समृद्ध बनाउँदै राष्ट्रवादी एवं प्रजातन्त्रवादी शक्तिबीच व्यापक एकता र मेलमिलाप स्थापित गर्न जरूरी छ ।
यतिबेला जनतामा भ्रष्टाचार र बेथितिले गर्दा चरम निराशा बढेर गएको छ । यो लोकतन्त्र र राष्ट्रियताका लागि राम्रो संकेत होइन । समयमै यो निराशाको समाधान खोजिएन भने परिणाम अकल्पनीय बन्न सक्छ । त्यसैले अरु सबैसँग मेलमिलाप गरे पनि नेपाली कांग्रेसले भ्रष्टाचारी, दलाल, कमिशनखोरहरूविरुद्ध कठोर संघर्ष गर्नुपर्दछ । यो बाटोमा अबको कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।
कांग्रेसले अन्य सबै राजनीतिक पार्टीलाई पनि सुशासनको पक्षमा लाग्न प्रेरित गर्न सकेन भने मुलुकबाट गरिबी, पछौटेपन, रोग, भोक, शोक, अभावको अन्त्य हुँदैन । त्यस्तो ग्रस्त मुलुकले समाजवादी मार्ग पहिल्याउनै सक्दैन । त्यसैले पनि कांग्रेसले राष्ट्र र जनतालाई केन्द्रमा राखेर अहिलेका मूल राजनीतिक दलहरूबीच एकता र सहकार्यको मार्ग कोर्नैपर्छ । र, सबैले यो भुल्नु हुँदैन कि, त्यस्तो मार्ग बीपीको मेलमिलापको नीति अंगालेर मात्र कोर्न सम्भव छ ।
(नेपाली कांग्रेस झापाका सचिव हुमागाईं नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति हुन् ।)