नेपालको चित्र ‘रातो सुटकेस’भित्र

नेपालको चित्र ‘रातो सुटकेस’भित्र


‘द रेड सुटकेस’ले हाम्रो समाजको तितो कथालाई समेटेको छ। वैदेशिक रोजगारीका क्रममा युवाले देश छाड्दा गाउँ रित्तिएको कहानी हो यो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको सामान बोलेरो गाडीमा राखेर कोटेश्वर हुँदै गाउँतिर गुडिरहेको छ। विदेशबाट फर्केको बाकस बोकेर गन्तव्यतिर गुड्दै गरेको गाडीसँगैको दृश्यमा विदेश उड्दै गरेको विमान पनि अटाएको छ।

वैदेशिक रोजगारीका क्रममा बिदेसिएका युवाको मृत्यु भई बाकसमा लास फर्किरहेको छ। यस्तो विषम परिस्थितिमा पनि बिदेसिनेको ताँती अनवरत छ। नेपाली समाजको यही तितो सत्य ‘रातो सुटकेस’भित्र उजागर भएको छ।

परिवारको सुखद भविष्यको सपना बोकेर विदेश गइरहेका युवा देशका निम्ति संख्या मात्र हुन्। परिवारका निम्ति भने यी अकल्पनीय घटना हुन्। रोजीरोटी कमाउन गएका छोरा वा छोरीको निधन परिवारका निम्ति नमेटिने घाउ हो। रोटी कमाउन बिदेसिएकामध्ये दैनिक करिब तीन जनाको शव नेपाल आउने गरेको छ।

विश्व प्रतिष्ठित फिल्म फेस्टिभल भेनिसमा प्रिमियर भएको ‘द रेड सुटकेस’ ले ग्रामीण अर्थतन्त्रको यथार्थ पस्किएको छ। यो फिल्मको कथा नयाँ होइन। तर, यसलाई जसरी कथानकमा ढालिएको छ, त्यो भने प्रशंसनीय छ।

काँचको पर्दामा कथा प्रस्तुत भएपछि नेपाली समाजको असजिलोलाई अझ बुझाउन सजिलो भएको छ। नेपाली युवाका निम्ति रोजगारीको विकल्प भनेको वैदेशिक रोजगारी मात्र हो।

यो रोजगारीले घरको छाना, छोराछोरीको नाना, वृद्ध मातापिताको खाना र भविष्यका सुन्दर सपनाको जोहो गरेको छ। गएकाजति सबैको मृत्यु भएको छैन। प्राकृतिक मृत्यु देशभित्रै पनि नहुने होइन। तर, जुन उमेर समूहका युवाको विदेशमा मृत्यु हुन्छ, त्यसलाई भने स्वाभाविक मान्न सजिलो छैन।

कथा त्यही सशक्त हुन्छ, जहाँ समाजका यथार्थ पस्किएको हुन्छ। यतिबेला गाउँले परिवेश युवाविहीन हुँदैछ। अझ पुरुष निकै कम भइसकेका छन्। गाउँमा बालबालिका, वृद्ध र महिला बढी छन्। कतिपय गाउँमा लास बोक्ने पुरुष पनि छैनन्।

यसरी नै सिनेमामा वैदेशिक रोजगारीमा गएका पतिको लास आँगनसम्म आइपुग्छ। त्यो बेला घरमा पत्नी र काखे बच्चाबाहेक कोही हुँदैनन्। मरण परेको घरमा केही गाउँले भेला हुन्छन् तर ती सबै वृद्ध, बालक र महिला मात्र हुन्छन्।

बोलेरो चालकले बाकसलाई आँगनसम्म पुर्‍याउन सहयोगका लागि चारैतिर आँखा लगाउँछ। भिडमा जवान युवा कतै देखिँदैन। यसले रित्तिँदै गएको गाउँ देखाउँछ। एक्लिँदै गएका गाउँको घाउ भेटिन्छ।

फिडेल देवकोटा निर्देशित सिनेमाले समाजको पीडा र यथार्थसँगै सत्ताप्रति गुनासो, जनतामा अभिव्यक्त निराशा, स्वास्थ्य क्षेत्रको दुर्गतिमाथि व्यंग्य गरेको छ। रेमिट्यान्ससँग सम्झौता गरिएका रहर, आशा अनि भविष्य देखाएसँगै श्रम र पढाइका लागि बिदेसिएका लाखौं युवा जनशक्तिको चित्रण यसमा छ।

वैदेशिक रोजगारीले नेपाली समाजमा बगेका आँसुका धारा कहिले रोकिने होलान्? परिवारको एउटा सदस्य बिदेसिने परिकल्पना गरेको दिनदेखि नै त्यहाँ आँसुको भेल बग्छ। विमानस्थलमा उड्ने बेलामा पनि उसैगरी परिवारहरू दुःखका आँसुमा भिज्छन्। कतारबाट आइपुगेको बाकस र एउटा रातो सुटकेसलाई पुर्‍याउन बोलेरो चालकको भूमिकामा रहेका सौगात मल्लको अभिनय जीवन्त छ।

यात्रामा चालकले गरेका अनुभव र अनुभूतिलाई सिनेमामा चित्रण गरिएको छ। रातो सुटकेस गाडीमा राखेर हिँडेका चालकको यात्रासँगै अर्काे एक व्यक्तिले पनि आफ्नो यात्रा सँगसँगै थाल्छ।

निलो पहिरनमा रातो सुटकेस गुडाउँदै हिँडिरहेको त्यो व्यक्तिको गन्तव्य कहाँ होला? उनी को होलान्? बोलेरो चालकसँगै त्यस व्यक्तिले आफ्नो यात्रा किन थाल्यो? ‘द रेड सुटकेस’ ले बोलेरो चालक मात्र होइन, रातो सुटकेस गुडाई हिँड्ने त्यो अज्ञात व्यक्तिको कथा भन्दै जान्छ। यही कथा भन्न प्रयोग गरिएका बिम्बले सिनेमालाई गतिलो बनाएको छ।

धन कमाउन बिदेसिएका युवाको नाम नै धने छ भने स्वदेशमा भर्खर जन्मिएकी छोरीको नाम आशा राख्ने भनेर बिदेसिएका धनेले फोनमार्फत आफ्नी पत्नीलाई कुराकानी गर्दागर्दै बिचैमा फोन काटिएको दृश्य छ। पात्रहरूको नाम नै अलि व्यंग्यात्मक छ। यहाँ धने धन कमाउन बिदेसिएका छन्, आशाविहीन राज्यबाट झिनो आशा लिएका धनेले छोरीको नाम आशा राखिरहेका छन्।

उक्त फिल्मले बिदेसिएका पतिको पर्खाइमा बसेकी पत्नीको अथाह प्रेम रहेको दर्साएको छ। तर, वैदेशिक रोजगारीमा गएका मान्छेको प्रेमको पर्खाइमा पूर्णविराम लागेको छ। परिवारको एक सदस्य विदेश हास्दै जान्छ। ऊ कतिबेला कस्तो अवस्थामा स्वदेश फर्कने हो, टुंगो हुँदैन।

बिदेसिएका मान्छे घरको आँगनमा कस्तो अवस्थामा आइपुग्ने हो भन्ने चिन्ता परिवारजनलाई सधैं हुन्छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भई स्वदेश फर्किएको अवस्थामा परिवारका लागि त्यो दिन निराशाजनक हुन्छ। उनीहरू वियोगमा डुबिरहेका हुन्छन्।

आँगनमा राखिएको बाकस उघारेर हेर्न नसक्ने अवस्थामा पुग्छन्। परिवाजन गहिरो शोकमा आँसु खसालिरहेका हुन्छन्। कमाउन विदेश गएको पति सासबिना चुपचाप घर फर्किंदा त्यो छटपटी, पीडा र दुखाइ भावमा दर्साउन सक्दैन।

‘रातो सुटकेस’ हेरेपछि धेरैले भावुकता प्रकट गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उक्त फिल्म हेरेपछि रातो सुटकेस बोकेर विदेश जाने दिनको अन्त्यका लागि यसले क्रान्तिको सुरुवात गरेको बताए।

‘फिल्ममा मूलतः दुई वटा कुरा पाएँ। पहिलो त यसले वैदेशिक रोजगारीमा जाने हाम्रा युवाको नियतिको कथा प्रस्तुत गर्छ। दोस्रोचाहिँ यसले हाम्रो गाउँठाउँमा पारेको प्रभावलाई दुरुस्त उतारेको छ,’ मन्त्री अर्यालले भने, ‘संयोगवश म अहिले यो सबै हेर्ने जिम्मेवार मन्त्रालयको नेतृत्वमा छु। फिल्मले पहाडी बस्तीमा पुरुष नभएको अवस्थालाई जसरी प्रस्तुत गरेको छ। त्यो उत्कृष्ट छ।’

सिनेमाले सकारात्मक समीक्षा पाइरहेको छ। देवकोटाका अनुसार यो फिल्मका घटनाहरू सत्य हुन्। तर, पात्रहरू काल्पनिक हुन्। महामारी कोभिड १९ को समयमा उनी जर्मनीमा हुँदा मनमा विभिन्न किसिमका नराम्रा चित्रहरू आउने गरेको बताए।

 ‘कोरोना महामारीको समयमा विदेशबाट नेपाली युवाको शव दिनमै २०/२५ वटा आइरहेको थियो,’ उनले भने, ‘आफू विदेशमा हुँदा विभिन्न सोच आउँथ्यो। कतै मलाई पनि कोरोनाले लान्छ कि भन्ने डर सधैं हुन्थ्यो। आफू विदेशमा हुँदा केही हुन्छ भन्ने डर र देशको परिस्थितिले गर्दा बिदेसिएका युवाको मृत्युपछि समाजमा परेको प्रभावले यो कथा फुरेको हो।’

फिल्मले दर्शकबाट पाएको समीक्षालाई लिएर आफूहरू सन्तुष्ट रहेको निर्माता रामकृष्ण पोखरेलले बताए। निर्माता पोखरेलका अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय तहमा लैजान यस्ता सिनेमा बन्नुपर्छ। यो नेपालमा बनेकामध्ये एक दुर्लभ सिनेमा रहेको उनले बताए। ‘थाहा छैन, भविष्यमा कसैले यस्तो सिनेमा बनाउँछ कि बनाउँदैन तर यो दुर्लभ नेपाली सिनेमा हो,’ उनले भने।

वैदेशिक रोजगार बोर्डको स्थापनाकालदेखि विदेशमा मृत्यु भई फर्केका युवाको संख्या १३ हजारभन्दा बढी रहेको छ। यो तथ्यांक बोर्डबाट आर्थिक सहायता प्राप्त गरेको संख्या मात्रै हो।

करार अवधि सकिएपछि पनि वैदेशिक रोजगारीमा रहेको अवस्थामा कामदारको मृत्यु भएमा यस्ता मृतकका आफन्तले बोर्डबाट आर्थिक सहायता नपाएसँगै बोर्डको मृत्युगत अभिलेखमा समावेश गरिएको पनि हुँदैन।

यसरी बिदेसिएका नेपालीमध्ये कडा रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको बोर्डको तथ्यांक छ। आर्थिक अवस्थाकै कारण बिदेसिएका थुप्रै युवाले वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग भई स्वदेश फर्कनुपरेको छ। अनि केहीलाई लास बनेर बाकसमा आउनुपर्ने बाध्यता छ।

भविष्यमा नेपालले वैदेशिक रोजगारीमा जानु नपरेको दिनमा पनि यस्तो सिनेमाले भने सामयिक नेपालको चित्र प्रस्तुत गरिरहनेछ। यसकारण पनि यो अहिलेको जीवन्त अभिलेख हो। 

प्रकाशित: ८ वैशाख २०८१ ११:११ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School