नेपाली खेलप्रेमीबीच क्रिकेट, फुटबल, भलिबलका कुनै पनि स्तरका प्रतियोगिताको चर्चा हुने गर्छ । विश्वकपमा सहभागी हुन लागेको खो खो खेल र यसका खेलाडीको चर्चा भने नेपाली खेलप्रेमीबीच नगण्य छ ।
२४ पुस, काठमाडौं । विश्वकपमा सहभागिता कुनै पनि खेलका खेलाडीको सबैभन्दा ठूलो सपना हो । राष्ट्रकै लागि पनि गर्वको विषय हो । तर, सबैको हकमा त्यो सपना साकार हुँदैन । किनभने, त्यो साकार गर्न खेलाडीको हकमा अथाह लगन आवश्यक पर्छ । राष्ट्रको हकमा पनि खेलप्रतिको प्रतिबद्धता र पूर्वाधारमा पर्याप्त लगानी चाहिन्छ ।
नेपाल र नेपाली खेलाडीको हकमा क्रिकेट मात्र त्यस्तो विधा थियो छ, जसका सिनियर वा जुनियर, महिला र पुरुष टोलीले विश्वकपको ढोका उघारेका छन् । र, आम नेपाली खेलप्रेमीलाई खुसी दिएका छन् ।
यसबाहेकका फुटबल, भलिबल, बास्केटबलजस्ता चर्चित खेलले नेपाली खेलप्रेमीलाई त्यो खुसी दिन सकिरहेका छैनन् ।
तर कम सुनिने ‘खो खो’ खेलमा भने नेपालले छलाङ मारेको छ । यो खेलको पहिलो विश्वकपमै नेपालको सहभागिता हुन लागेको हो । अझ खुसीको कुरा प्रतियोगितामा नेपालका महिला र पुरुष दुवै टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
१३ देखि १९ जनवरीसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप २०२५ मा नेपालसहित कूल २४ राष्ट्रको सहभागिता हुनेछ । यस खेलको एकैपटक महिला र पुरुषको विश्वकप हुन लागेको हो ।
खो खो मा विशेष गरी दक्षिण एसिया र एसियाकै टिमहरूको बाहुल्यता रहेको छ । खो खो विश्वकपमा दक्षिण एसियाका माल्दिभ्सबाहेक बाँकी ६ वटै टिमले सहभागिता जनाउँदैछन् भने एसियाबाट इन्डोनेसिया, इरान, मलेसिया, दक्षिण कोरियाले पनि खेल्दैछन् ।
नेपालमा फुटबल क्रिकेट भलिबल जस्ता खेलहरू नियमित भइरहँदा खो खो प्रतियोगिता भने खासै हुन सकेको छैन । गत वर्ष धनगढीमा यू२१ स्तरको राष्ट्रिय खो खो प्रतियोगिता भए पनि त्यसले खासै चर्चा पाउन सकेन ।
नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन खो खो विश्वकप खेल्नु गर्वको विषय भएको बताउँछन् । ‘खो खो विश्वकपमा नेपालका दुवै टोलीले सहभागिता जनाउनू भनेको गौरवको कुरा हो । हामीले विश्वकपका लागि हाम्रो तर्फबाट सक्दो तयारी गरेका छौँ । तर, राज्यबाट गर्नुपर्ने जित काम र प्रोत्साहन भएको छैन,’ महर्जनले अनलाइनखबरलाई बताए ।
नेपालले विश्वकप खेल्दै, तर छैन चर्चा
क्रिकेट, फुटबल वा भलिबलका कुनै पनि स्तरका प्रतियोगिता नेपाली खेलप्रेमीको आँखामा पर्छन् । ती खेलका नेपाली खेलाडीले देशभित्र खेलुन् वा बाहिर, समर्थकहरू कुनै न कुनै माध्यमबाट खेल हेर्न रुचाउँछन् र अनेक उपाय लगाउँछन् । खेलप्रेमीबीच ती खेलका चर्चा पछिसम्म हुनेगर्छ । जस्तो, केही साताअघि सकिएको एनपीएलको चर्चा अहिले पनि छ ।
यसरी हेर्दा खो खो खेल बेवास्तामा परेको देखिन्छ । नेपाली खो खो टिमले विश्वकप खेल्दैछ । विश्वकप सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा पनि नेपाली खो खो टिमबारे चर्चा छैन ।
खो खो संघका अध्यक्ष प्रदीप महर्जन पनि यो कुरा स्वीकार गर्छन् । अन्य खेलको चर्चाले गर्दा पनि खो खो को चर्चा कम भएको महर्जनको भनाइ छ । ‘हामी साउथ एसियामा दोस्रो भएका छौँ । एसियन च्याम्पियनसीपमा पनि दोस्रो भएका छौँ । तर, अन्य खेलको तुलनामा खो खो को चर्चा अली कम छ,’ उनी भन्छन्, ‘उपलब्धि नै हासिल गर्दा पनि खोखो बेवास्तामा परेको छ ।’
महर्जनका अनुसार चौथो एसियाली खो खो च्याम्पियनसीपमा नेपालबाट पुरुष र महिला दुवै टिम दोस्रो भएको थियो ।
नेपालमा फुटबल क्रिकेट भलिबल जस्ता खेलहरू नियमित भइरहँदा खो खो प्रतियोगिता भने खासै हुन सकेको छैन । गत वर्ष धनगढीमा यू२१ स्तरको राष्ट्रिय खो खो प्रतियोगिता भए पनि त्यसले खासै चर्चा पाउन सकेन ।
यसै वर्ष महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने संघका अध्यक्ष महर्जनले सुनाए । उनका अनुसार आउने माघमा दाङमा पुरुषको प्रतियोगिता र महिलाको प्रतियोगिता फागुनमा सुनसरीको इनरुवामा आयोजना गर्ने तयारी छ ।
एक महिनाको क्याम्प
विश्वकपका लागि एक महिनाको क्याम्प राखिएको थियो । त्यसबाट पुरुष र महिलाको अन्तिम १५ जनाको टोली तयार पारिएको छ ।
नेपाल खो खो संघले खो खो विश्वकपका लागि कीर्तिपुरस्थित कभर्ड हलमा एक महिना क्लोज क्याम्प सञ्चालन गरेको थियो । राष्ट्रिय टिम तयारी समितिले बन्द प्रशिक्षणबाट महिला र पुरुषको १५–१५ जनाको राष्ट्रिय टिम छनोट गरेको हो ।
राष्ट्रिय टिम तयारी समितिका संयोजक एवं नेपाल खो खो संघका महासचिव शंकर महर्जनका अनुसार पुरुषतर्फ हेमराज पनेरुको नेतृत्वमा तथा महिलातर्फ सरस्वती कडायतको कप्तानीमा १५ खेलाडीहरू छनोट गरिएको छ ।
खो खो संघका अध्यक्ष प्रदीप महर्जनले विश्वकपको तयारी र क्लोज क्याम्पका लागि २० लाख रुपैयाँ जति खर्च भएको बताए । ‘यो खेल अली चर्चित नभएकोले राम्रो सहयोग पाउन सकेका छैनौँ । क्लोज क्याम्पका लागि पनि मुस्किलले खर्च जुटाएका थियौँ ।’
विश्वकपमा नेपालको सहभागिता आउने जाने खर्च भने आयोजकले नै व्यहोर्नले महर्जनले जानकारी दिए ।
नेपाली खेलप्रेमीबीच क्रिकेट, फुटबल, भलिबलका कुनै पनि स्तरका प्रतियोगिताको चर्चा हुने गर्छ । विश्वकपमा सहभागी हुन लागेको खो खो खेल र यसका खेलाडीको चर्चा भने नेपाली खेलप्रेमीबीच नगण्य छ ।
नेपालबाट को-को जाँदैछन्
खो खो विश्वकपमा नेपालबाट खेलाडी र अफिसियल गरेर ४० भन्दा बढी जाँदैछन् । जसमा महिला र पुरुष टिमका १५–१५ सदस्य छन् । यस्तै, दुवै टिममा २–२ जना प्रशिक्षक र समान १ व्यवस्थापक छन् ।
अध्यक्ष महर्जनका अनुसार विश्वकप जाने टोलीमा एकजना सेफ दी मिसन र चार निर्णायक पनि छन् । यसबाहेक संघका अध्यक्ष, उपाध्यक्ष र महासचिव पनि भारतको नयाँदिल्ली जाँदैछन् ।
यस्तो छ नेपाली टिम
नेपाल पुरुष खो खो टिम : हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा ।
नेपाल महिला खो खो टिम : सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले ।
पुरुष टिम प्रशिक्षक : बिक्कीराज महर्जन
महिला टिम प्रशिक्षक : लक्ष्मीनारायण बैद्य
अन्य प्रशिक्षक : कयामुद्दिन मन्सुर र उषा कवर मगर
सुशीलमान व्यञ्जनकार : सेफ दी मिसन
सहभागी टिमहरू
एसिया : भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, इरान, मलेसिया, दक्षिण कोरिया
अफ्रिका : घाना, केन्या, साउथ अफ्रिका, युगानन्डा
युरोप : इंग्ल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, पोल्यान्ड
दक्षिण अमेरिका : अर्जेन्टिना, ब्राजिल, पेरु
उत्तर अमेरिका : संयुक्त राज्य अमेरिका
ओसियाना : अष्ट्रेलिया, न्युजिल्यान्ड
कसरी खेलिन्छ खो खो ?
खो खो समूहमा मिलेर लखेटेर खेलिने खेल हो । यो खेल महाभारतको चक्रब्यूहलाई आधार मानेर खेल्ने गरिन्छ । अर्थात, लखेट्ने टोलीले भाग्ने टोलीका खेलाडीहरूलाई घेराबन्दी गरेर आउट गर्ने गरिन्छ ।
यो ९ मिनेट, ३ मिनेट, ९ मिनेट, ५ मिनेट इन्टरभल र पूनः ९ मिनेट, ३ मिनेट, ९ मिनेट गरी जम्मा ४७ मिनेटको खेल अवधि हुन्छ ।
यस खेलमा प्रत्येक टिमले दुई र दुई पटक चेजर र रनर भएर खेल्नुपर्ने हुन्छ । यो खेलमा लखेट्नेलाई चेजर र भाग्नेलाई रनर भन्ने गरिन्छ ।
प्रत्येक टिममा १२ देखि १५ जनासम्म खेलाडी हुन्छन् भने मैदानमा एकपटकमा ९–९ जनाले मात्र खेल्ने गर्दछन् । बाँकी ३ देखि ६ जनासम्म अतिरिक्त खेलाडीहरू हुन्छन् ।
चेजरको ९ जनामध्ये ८ जना सेन्टर लेनमा भएको सिटिङ बक्समा विपरीत तिर फर्केर बसेका हुन्छन् भने एकजना चेजरको रूपमा पोलमा उभिएका हुन्छन् ।
रनरहरू भने ३–३ जनाको समूहमा पालैपालो कोर्टभित्र प्रवेश गर्ने हुन्छन् । पहिलो ३ जनाको समूह कोर्ट प्रवेश पछि रेफ्रीले खेल सुरुको संकेत गरेपछि एक्टिभ चेजरले रनरलाई लखेट्न थाल्दछ । यसरी लखेट्ने क्रममा रनरलाई लखेट्दै ९ जनाले घेरा घेराबन्दीमा पारेर आउट गर्ने प्रयास गरिन्छ ।
प्रत्येक रनर आउट गरेबापत १ अंक प्राप्त गर्दछ भने पहिलोपटक प्रवेश गरेका तीनैजना खेलाडी आउट भएपछि दोस्रो समूह मैदानमा तुरुन्तै प्रवेश गर्नुपर्दछ । लखेट्ने, छुने क्रममा दोसो समूहका पनि सबै छोएर आउट गरेमा तेस्रो समूह तुरुन्तै मैदान प्रवेश गर्नुपर्छ ।
यस प्रकारले निश्चित ९ मिनेट खेलिसकेपछि पालो फेरिन्छ । अर्थात पहिले लखेट्ने टिम भाग्ने टिम बन्छ भने भाग्ने चाहीँ लखेट्ने टिम भएर फेरि ९ मिनेटको पारी खेलिन्छ । ५ मिनेटको इन्टरभलपछि पुनः त्यस्तै प्रकारले दुई पारी खेलिन्छ । अन्तमा जुन समूहले बढी अंक प्राप्त गर्दछ सोही टिमलाई विजेता घोषणा गरिन्छ ।
यस खेलमा भाग्ने खेलाडीहरू जता पनि जसरी पनि दौडिन पाउँछन् भने चेजरहरू सीधा पारेर सेन्टर लेनसँग ९० डिग्री बनाएर मात्र अगाडि बढ्न पाउँछन् अन्यथा फल भएको मानिन्छ ।
त्यस्तै, चेजरहरू सेन्टर लेन काटेर दोस्रो कोर्टमा जान पाउँदैन । दोस्रो कोर्टमा जान परेमा उतैतिर फर्केको प्यासिभ चेजरलाई खो दिने वा पोल घुमेर जानुपर्ने हुन्छ ।
खो दिएपछि जसले खो पाएको हो त्यो खेलाडी उठेर रनरलाई लखेट्न जान्छ भने खाली भएको ठाउँमा खो दिने खेलाडी बस्दछ । भाग्ने खेलाडीहरू पनि पहिलो, दोस्रो वा तेस्रो समूहका खेलाडीहरू आउट भएपछि चेजरले दुई खो दिनुपूर्व नै कोर्ट प्रवेश गरिसक्नुपर्दछ, अन्यथा ढिलो प्रवेश गर्ने खेलाडीहरू आउट भएको मानिन्छ र चेजर टिमलाई अंक प्रदान गरिन्छ ।