द्वन्द्वका कुनै कुनै घटनाहरू सजिलै भुल्न निश्चय नै गाह्रो हुँदोरहेछ। कुनै बेला झ्वास्स सम्झिंदा पनि मन खिन्न पार्दोरहेछ। केवल एउटा घटानामा आफू उपस्थित वा साक्षी हुँदा मात्र पनि जीवनभर नमिठो भोगाइको रूपमा स्मृतिमा झुल्किरहँदोरहेछ। अर्कोतर्फ भने दैनिक समाचार वा अन्य माध्यमबाट सुनिने ठूला घटनाहरूले व्यक्तिगत रूपमा मनलाई त्यति छुँदैन। त्यो केवल केही दिन वा हप्तासम्म मात्र स्मृतिमा आउँछ।
अब घटनाक्रमलाई उल्लेख गरौं, एक दिन बिहान नियमित डिउटीको सिलसिलामा पुलिस एड्भाइजरहरूको एउटा टोली दुई वटा टोयोटा ल्याण्ड क्रुजर गाडी लिएर कन्फिडेन्स बिल्डिङ एण्ड सेक्युरिटी एसेसमेन्ट पट्रोलमा (स्थानीयहरूमा आत्मविश्वास दिलाउन अनि सुरक्षा अवस्थाको समीक्षा गर्न गरिने गस्ती) निस्कने तयारीमा रहेको थियो।
बिहानको ८:३० बजे रूवान्डिज डिफेन्स फोर्सका लेफ्टिनेन्टले कन्भोए (गाडीहरूको ताँती) पट्रोल सुरू गर्ने आदेश ‘अलफासर’ शहरमा रहेको मिशन हेडक्वाटरबाट आएको खबर गरेपछि हाम्रो यात्रा सुरू हुन्छ।
हाम्रो गस्ती युनामिड (युनाइटेड नेशन मिशन इन डार्फर) अन्तर्गत द्वन्द्वग्रस्त सुडानको डार्फर भित्रको, नर्थ सेक्टर अन्तर्गत रहेको ‘ताविला’ भन्ने ठाउँमा स्थापना गरिएको टिम साइट (संयुक्त राष्ट्रसंघका मिलिटरी र पुलिस एड्भाइजरहरू बस्न स्थापना गरिएको सानो कार्यालय) बाट २०-२५ किमि जति टाढा विकट र दूर सुनसान आईडीपी (इन्टर्नल्ली डिस्पेल्सड पर्सन, आन्तरिक रूपमा विस्थापित) हरू बसोबास गर्ने गाउँ डालीतिर पर्दथ्यो।
हाम्रो गस्तीको सबैभन्दा अगाडि रूवान्डिज मिलिटरीको आर्मड पर्सनल क्यारियर छोटकरीमा एपीसी (बख्तरबन्द सवारी) रहेको थियो। त्योभन्दा पछाडि मेशिनगन माउण्ट (जडान) गरिएको टोयोटा पिकअप गाडी थियो। त्यसपछि क्रमश: बीचमा हाम्रो ६ जना पुलिस एड्भाइजर र २ जना ल्याङ्ग्वेज असिसटेन्ट (दोभाषे) का लागि दुईवटा ल्याण्डक्रुजर व्यवस्थित थियो भने त्यसपछि अर्को मेशिनगन जडान गरिएको पिकअप र अन्तिममा अर्को एपीसी गाडी रमाना भइरहेको थियो। त्यहाँ रूवान्डिज सैनिक लेफ्टिनेन्ट नेतृत्वको करिब २०/२२ जना सेनाहरूले सम्पूर्ण कन्भोए अनि हामी पुलिस एड्भाइजरको सुरक्षा दिने पूर्ण व्यवस्था थियो।
हामी पुलिस एड्भाइजरहरू सवार दुई गाडीहरूमध्ये एउटा गाडीमा दुई बंगाली इन्स्पेक्टर जाकरिया सलिम, महोमद हुसैन, एमनी पुलिस इन्स्पेक्टर एमिन र स्थानीय दोभाषे सवार थिए। दोस्रो गाडीमा म, साउथ अफ्रिकाका हवल्दार पोगिसो, सियरालियोनकी एसपी फ्रान्सिस अनि एक दोभाषे सवार थियौं।
फ्रान्सिस वर्णमा निख्खर काली, उमेरमा पाकी थिइन्, टिम साइटभित्रको सानो कम्पाउण्डमा फुर्सदका साँझ–बिहान भेट हुँदा, उनी सियरालियोनमा भएको द्वन्द्वका थुप्रै टुक्रा–टुक्रा कथाहरू सुनाउँथिन्।
साउथ अफ्रिकी पोगिसो हामीसँग उति घुलमिल थिएनन्। उनी मिशनमा भर्खर एक महिना जति अगाडि मात्र आएका हुन्। टिम साइटमा, ठूलो हेडफोन लगाएर संगीत सुनिरहेका हुन्छन् उनी, कहिलेकाहीं आफ्नै तालमा टाउको अनि हात हल्लाई नाचे जस्तो पनि गर्छन्। हामी टिम साइटभित्रको सानो कम्पाउण्डमा फुर्सदको समय विभिन्न देशका खानाका परिकारहरू खाएर, भलिबल खेलेर अनि कहिले सानोतिनो मनोरञ्जनका कार्यक्रमहरू गरेर एकआपसमा घुलमिल हुने गर्दथ्यौं। मिसनमा दर्जाको उति प्रभाव हुँदैन। त्यहाँ केवल प्रस्तुति, दक्षता, अनुभव र खुबीको महत्व रहन्छ।
यो फेब्रुअरीको महिना डार्फरको मरूभूमिमा चिसो निकै बढिरहेको छ। एक महिना जति भयो होला बिहान ३ बजेपछि स्लिपिङ ब्यागले जीउ तताउन निकै गाह्रो परिरहेछ। यो चिसो मौसम अझ एक महिना जति रहन्छ होला। म नेपालको चिसोमा हातखुट्टा ठिहिर्याएको सम्झन्छु भने डार्फरको हिउँदको चिसोमा मुटु कमाउने जाडो हुँदोरहेछ। त्यहाँ बिहान ९-१० नबजुन्जेल मुटुमा चिसो महसुस भैरहन्थ्यो।
अगाडिका गाडीहरूको रफ्तार अनुसार म आफ्नो गाडी हुइँक्याउँदै थिएँ। गाडीका पांग्राहरूले बलौटे बाटोको धुलो उधुमसँग उडाउँदै थियो। हामी तीन जना पुलिस एड्भाइजर, दोभाषे आ‑आफ्नै मौनतामा यात्रा गरिरहेका थियौं। लामो द्वन्द्वका राग र छिटाहरू लतपतिएर सिर्सिर हावाको मधुरताका बावजुद वातावरणमा बेग्लै प्रकारको भुताहा सन्नाटा घोलिएको थियो।
हावाका झोक्काहरूले बेला-बेलामा बनाउने स-साना भुमरीहरूले बालुवा, सुकेका पात तथा झिंजाहरू जमिन माथि घुमाइरहेको दृश्य अनि बलौटे खुला बाटोको दायाँ–बायाँ बुच्का बुच्का परी फुलेका मसिना जंगली गुलावी क्याम्पियन फूलहरूले यात्रामा मिठास र सौन्दर्य पनि थपेका थिए।
ती दृश्यहरू यात्रारत सबैलाई याद पनि थिएन होला तर म गाडी हुइँकाउँदै यी सबै एकसुरले अनुभूति गरिरहेको थिएँ। गाडीको एफएममा हार्मोनियम बाजाको धुनमा पुरानो नेपाली बैरागी आधुनिक गीतसँग मिल्दोजुल्दो अरबिक गीत एकनासले बज्दैथियो। हिउँदको प्यारो घाम विस्तारै उकालो चढ्दै थियो।
पौने घण्टाको बलौटै बाटोको यात्रापछि हाम्रा गाडीहरूका ताँती केही रूखहरू अनि साना–साना गोला, खरले छाएको थुप्रै झुप्राहरू भएका एक खुल्ला चौर बीच रोकिन्छ। रूवान्डिज मिलिटरी हाम्रो सुरक्षाको लागि जर्याकजुरूक उठ्दै गाडीबाट झर्छन्।
गस्तीमा रहेका हामी र गाडीहरूलाई बीचमा पारी हतियार सहित अल राउण्ड डिफेन्स (सर्वाङ्गीण रक्षा) पोजिसनमा बस्छन्। द्वन्द्वको केही नमिठा घाउहरू बोकेका रूवान्डिज मिलिटरी साँच्चिकै राम्रो डिउटी गर्छन्। ती छरिता, सोझा, निडर, इमानदार अनि व्यावसायिक छन्।
रूवान्डिज मिलिटरीको सुरक्षा व्यवस्थापन पश्चात् दुई वटा गाडीमा सवार ६ जना पुलिस एड्भाइजरहरूको हाम्रो टोली गाडीबाट ओर्लिन्छौं। डाली गाउँका स्थानीयसँग अन्तरक्रियाका लागि, हामी स-साना झुप्राहरूतर्फ अगाडि बढ्छौं। त्यहाँ मानिसहरू घाम ताप्दै थिए। कोही बारीमा काम गर्दैथिए, कोही ऊँटको रेखदेख गर्दै थिए। र कोही गधामा सवार भएर कतै जाँदै थिए। नीलो आकाश अनि स्वच्छ वातावरणमा बिहानीको सुनौलो घाम, पात झरेका रूखहरूका हाँगाका छिद्रबाट अनुहारमा पर्दा छुट्टै मज्जा आएको थियो।
त्यसैबेला नीलो रंगको साडीको सप्कोलाई मुखमा च्याप्दै भीडबाट मृतक बालककी आमा विस्तारै निस्किन्छिन्। २८ वर्षकी हलिमा यहमद याह् याह्को अवस्था दयनीय छ। उनलाई देख्ने वित्तिकै सबैजना एकछिन चुपचाप रहन्छन्।
हामीहरूलाई देखेर स्थानीयहरू भेला हुन्छन्। यो एक प्रकारले नियमित प्रक्रिया नै हो। गस्ती वा भ्रमणको सिलसिलामा संयुक्त राष्ट्रसंघको प्रतिनिधित्व गर्दै पुलिस एड्भाइजरको टोली तथा अन्य विषय र क्षेत्रका कर्मचारी आउँदा त्यहाँ स्थानीयहरू भेला हुने गर्दछन्। उनीहरू त्यहाँ आफ्ना थुप्रै समस्या दर्शाउँछन्।
आ-आफ्ना विषय जस्तै मानवअधिकार, महिला तथा बालबालिका, सामुदायिक प्रहरी, खानेपानीको आपूर्ति, खाद्यान्न वितरण इत्यादिसँग सम्बन्धित रहेर अन्तरक्रिया तथा विभिन्न गतिविधि सञ्चालन गर्न दुई–चार दिनको अन्तरालमा ती भ्रमणदल यस इलाकामा आउने गर्छन्।
सुडानको डार्फर क्षेत्रभरि आईडीपी बस्ने सयौं गाउँ छन् जहाँ अति नै गरिबी, भोक र द्वन्द्व छ। त्यस गाउँको जीवन, परिवेश र समस्या शब्दद्वारा वर्णन गर्न मुस्किल छ। ती मसिना समस्याहरूको समाधान विरलै गर्न सकिन्छ। समयको अन्तरालसँगै सुरूका समस्याहरूका चाङहरु बीच पछि उत्पन्न समस्या समाधान गर्दागर्दै सुरूका समस्या त्यसै टर्ने गर्दछन्।
पुलिस एड्भाइजरहरू छलफल, अन्तरक्रिया, अनुसन्धान र सोधपुछका माध्यमबाट समीक्षात्मक रिपोर्ट बनाई अलफासेर शहरमा रहेको डार्फरको मिशन हेडक्वार्टरमा पठाउने गर्छन्। तदनुरूप मिशन हेडक्वार्टरले हत्या, बलात्कार, लुटपाट जस्ता सुरक्षाका अलावा मानवअधिकार, महिला तथा बालबालिका, सामाजिक अवस्था जस्ता उल्लेखनीय विषयवस्तुहरू समावेश गरी डार्फरभित्रका विभिन्न सेक्टरहरू भित्रका थुप्रै टिम साइटबाट आएका सम्पूर्ण गतिविधि समावेश गरी दैनिक, साप्ताहिक, पाक्षिक अनि मासिक रिपोर्टहरू संयुक्त राष्ट्रसंघको हेडक्वार्टर, न्युयोर्क पठाउने गर्दछ।
हामीले स्थानीयहरूसँग छलफल अनि अन्तरक्रिया गर्दै गर्दा त्यहाँ अरबी भाषामा “उम्दा” भनिने उक्त गाउँ डालीका नाइके महोमद करिम अबु बाकर आइपुग्छन्, उनलाई स्थानीयहरूले सर्वसम्मत चुनेका हुन, जो केही अनुभवी, पाका र समझदार देखिन्छन्। उम्दा सहित १५/२० जना स्थानीय बासिन्दाले पुलिस एड्भाइजरको हाम्रो टोलीलाई वरिपरिबाट घेर्छन् अनि समसामयिक विषयहरूमा थप अन्तरक्रिया तथा छलफल आरम्भ हुन्छ।
पुलिस एड्भाइजरहरूले पालैपालो आफ्नो परिचय दोभाषेको सहयोगमा दिन्छन्। थप सोधपुछ तथा कुराकानीको क्रममा खुल्न आउँछ कि गत दिन बेलुका पाइप बम विस्फोटनमा परी एक १० वर्षको बालकको दु:खद् निधन भएको रहेछ।
“उम्दा” महोमद खुलाउँछन् सो घटना बस्ती अगाडिको सानो चौरमा भएको थियो। बालकले खेल्दै नजिकको खोल्साबाट सानो पाइप टिपेर ल्याएछ अनि खेलाउँदा खेलाउँदै बजारिएर सो पाइप पड्किन पुग्यो। त्यो बालक ठहरै भएको रहेछ त्यसपछि ऊसँगै खेल्ने अर्को बालकलाई छर्रा लागेर स्थानीय एमएफएस (मेडिसिन स्यान्ट फ्रोर्नटियर्स) क्लिनिकमा उपचार भइरहेको रहेछ र भाग्यवश ऊ खतरामुक्त छ रे!
त्यसैबेला नीलो रंगको साडीको सप्कोलाई मुखमा च्याप्दै भीडबाट मृतक बालककी आमा विस्तारै निस्किन्छिन्। २८ वर्षकी हलिमा यहमद याह् याह्को अवस्था दयनीय छ। उनलाई देख्ने वित्तिकै सबैजना एकछिन चुपचाप रहन्छन्।
त्यसपछि विस्तारै घटना बारे विस्तृत प्रतिक्रिया लिन प्रश्नहरू आरम्भ हुन्छ। कसरी घटना घट्यो ? कति बजे घट्यो ? त्यसबेला उनी कहाँ थिइन् ? तर हलिमा ती सबै प्रश्नहरूको बारेमा कुनै प्रतिक्रिया दिन खोज्दिनन्। हलिमालाई हातले धाप दिंदै फ्रान्सिस सहानुभूति दिने कोसिस गर्छिन् तर हलिमा मौन नै रहन्छिन्।
उनमा विस्मात्, उदेक, दुःख केही देखिंदैन केवल शून्यता मात्र महसुस हुन्छ। मानौं उनी केवल त्यो घटनाको प्रत्यक्षदर्शी मात्र हुन् र यो परिस्थितिका निम्ति उनी पहिले नै तयार छिन्। उनीमा द्वन्द्वको यी घाउ सहने बानी परिसके जस्तो लाग्छ।
हाम्रो छलफलको आधा घण्टा पछि बल्ल मात्र उनले आँसु झारिन्। हलिमाले ओठ लगलग कमाइन्। आँसु गालासम्म पनि झर्न दिइनन्। आँसु आँखाको डिलबाट तल झर्ने बित्तिकै सारीको सप्कोले पुछिहालिन्। उनको निशब्द प्रतिक्रियाले भनिरहेको थियो कि, जाने गैसक्यो, यो उनको दुर्भाग्य हो।
जाकरिया हलिमाको नजिक गई आफ्नो खल्तीबाट १०० सुडानिज पाउण्ड निकालेर सुटुक्क हातमा हालिदिन्छन्। फेरि हलिमा जाकरियालाई प्रतिक्रियाविहीन हेर्छिन् र पैसा लिन्छिन्, जाकरिया हलिमाको आँखामा आँखा मिलाएर हेर्न सक्दैनन्।
यो युद्धसँगै आउने–जाने घटनाक्रमको अनिवार्य चक्र हो। अब यस घटनाले थोपरेको परिणामलाई टार्न, धैर्य सिवाय अन्य कुनै के उपाय छ र ? बरू चुपचाप सहने र अनिश्चित भविष्यको प्रतीक्षा गर्ने।
हलिमाले यस घटनामा दिएको प्रतिक्रियाविहीन प्रतिक्रियाले मलाई झन् मर्माहत बनायो। हलिमा थुप्रै प्रश्नहरूका उत्तरमा दोभाषे मार्फत मसिनो स्वरमा घटना सम्बन्धमा केही थोरै विवरण दिन्थिन्। धेरै बोल्न सकिरहेकी थिइनन्। उनको मातृवात्सल्य घाउ बनेर पोलिरहेको थियो। अब दूर गाउँ डालीका स्थानीयहरूको पीडाको समाधान समय मात्र हो।
हलिमाबाट घटना सम्बन्धमा धेरै कुराहरू नखुलेपछि हाम्रो टोली “उम्दा” अनि हलिमाका श्रीमान् र केही स्थानीयसँगको छलफलमा लाग्यौं। तत्पश्चात् रिपोर्टका लागि सम्पूर्ण विवरणहरू लिई टिम साइटतर्फ फर्कने तयारीमा लाग्यौं। आखिरी चिसो बिहान पश्चात् दिन पनि त विस्तारै तात्न थाल्यो।
अलि भावुक स्वभावका बंगलादेशका पुलिस इन्स्पेक्टर जाकरिया सलिम हलिमाको हालत देखेर खिन्न थिए। छलफलको बीचमै केही उदास हुँदै अलि पर गई एक खिल्ली ‘विल्सन’ चुरोट ताने। त्यस पश्चात् जाकरिया हलिमाको नजिक गई आफ्नो खल्तीबाट १०० सुडानिज पाउण्ड निकालेर सुटुक्क हातमा हालिदिन्छन्।
फेरि हलिमा जाकरियालाई प्रतिक्रियाविहीन हेर्छिन् र पैसा लिन्छिन्, जाकरिया हलिमाको आँखामा आँखा मिलाएर हेर्न सक्दैनन्। उनी नरमाइलो मानेर भुइँतर्फ हेर्दै गाडीतिर लम्कन्छन्।
यता साउथ अफ्रिकी पुलिस एड्भाइजर पोगिसो भने अन्तरक्रियाबाट घटना सम्बन्धमा खुलेका विवरणहरूको रिपोर्ट तयार पार्नमै व्यस्त थिए। उनी कुनै पनि सवाल–जवाफ गरिरहेका थिएनन् मानौं सो घटनाक्रम डार्फरमा घटने सयौं घटना मध्येको एक हो भन्ने कुरामा दृढ छन्। जसको उनीसँग कुनै समाधान छैन तसर्थ उनले सो रिपोर्टलाई नै प्राथमिकतामा राखेका थिए। उनको ठूलो हेडफोन टाउकोमा नै रहेको थियो।
म चाहिं खिन्न महसुस गरिरहेको थिएँ तर व्यक्त गर्ने न त अवस्था थियो न त कुनै खास अर्थ। नेपालबाट कताकता टाढा गाउँको प्रतिनिधि घटनाले त्यो चिसो मौसममा मेरो मुटुलाई थप चिसो बनायो।
युद्धको चपेटामा परेको एउटा अबोध बालकको मृत्युको साक्षी हुनु मेरो लागि एउटा नमिठो अनुभव त बन्ने नै भयो तर सोभन्दा अर्को नमिठो पाटो, सो बालकको मृत्युमा उसकी आमाको प्रतिक्रिया शून्यभावले मलाई थप पीडा दियो र स्तब्ध बनायो।
वास्तवमा नेशनल जियोग्राफिक च्यानलमा चितुवाले मृगको बच्चालाई मार्दा बच्चा मृगको आमाले दिएको जस्तो प्रतिक्रिया दिइन् हलिमाले, जुन उनको अकाट्य बाध्यता थियो। बच्चा गुमाउँदा आमा मृगको विस्मात् केही मिनेट मात्र रहन्छ, न हारगुहार, न रुने कराउने, न कुनै प्रतिक्रिया दिने। तुरून्तै मृगको नियमित जीवनचक्र चल्न शुरू गर्छ र पुन: चितुवाहरूको आक्रमणबाट बच्ने तयारी चल्छ, त्यस्तै अनुभव भयो मलाई।
फ्रान्सिस गाडीमा चढ्छिन् र ह्याण्ड स्यानिटाइजरले हात सफा गर्दै गुनगुनाउन थाल्छिन् आई हेट वार ! दिस पिपुल ! (म युद्धलाई घृणा गर्छु, कस्ता मान्छे हुन् यिनीहरू) “आई क्यान नट ह्याण्डल दिस काइण्ड अफ अक्वार्ड सिचुएसन्स यु नो”! (थाहा छ मलाई यस्तो माहोलहरू सम्हाल्न आउँदैन)। यी तीता अनुभूति बीच फ्रान्सिस बेग्लै रूपमा प्रस्तुत हुन्छिन्, उनलाई यो घटनाले पटक्कै छुँदैन, मानौं उनलाई को मर्यो, अनि हलिमा कुन अवस्थाबाट गुज्रिरहेकी छिन्, यी सब याद पनि भएन। समाचारमा कुनै घटना सुने जसरी उनी यस घटनालाई सामान्य रूपमा लिइरहेकी थिइन्, उनी द्वन्द्वको यस प्रतिनिधि घटनालाई सहजै पचाउँछिन्।
गाडीमा सवार अरू उनको कुरा सुन्छन् केही प्रतिक्रिया दिंदैनन्। फ्रान्सिस थप्छिन् “यु नो आई ह्याभन्ट ह्याड माई ब्रेकफास्ट दिस मर्निङ” (मैले बिहानको नास्ता समेत गरेको छैन)। के तिमी गाडी अलि चाँडो दौडाउन सक्छौं, म भोकले रन्थनिइसकें। र प्लिज एसी अन गर न “ईट ईज गेटिङ हट स्लोली” (विस्तारै गर्मी हुँदैछ)। राम्रो युद्ध र नराम्रो शान्ति हुँदैन ! म यात्राभर नि:शब्द नै रहिरहें।
(लेखक सशस्त्र प्रहरी बलका डीएसपी हुन्।)