‘रुबिना म तिम्रै खातिर जिइरहेको छु। तिमीलाई सम्झेर त मेरो जिउने साहसलाइ उर्जा मिलेको छ। मैले मेरो माटोलाई सम्झेरहेको छु। आमालाई सम्झिरहेको छु अनि तिमीलाई सम्झेर जीवन अगाडि बढाउने प्रयासमा छु।’
रुपेश आफ्नो मनको बह मोबाइलमार्फत रुबिनालाई पठाउँदै थियो। शायद म यही बैशाखको शुरूमा गाउँ आइपुग्छु होला। हामी आगामी दिनको कार्यक्रमहरूसँगै बसी तय गरौंला भन्दै थियो।
आफ्नो शरीरलाई ख्याल राखी काम गर्न। यहाँ आमाको हेरविचारमा मैले राम्रोसँग ध्यान दिइरहेकी छु भन्दै रुबिनाले पनि मोबाइलमार्फत सन्देश पुर्याइन्।
रुपेश सडक इन्जिनियरको रूपमा काठमाडौंको डिभिजन कार्यालय बानेश्वरमा काम गर्दै आएको थियो।रुपेशको घर सिन्धुपाल्चोक राबिचुरी फिरिङमा थियो। हाल ऊ कोटेश्वर तिनकुनेतिरको एउटा घरमा डेरा लिई बस्दै आएको थियो।
आज शनिवार रुपेश डेरामै थियो। उनलाई बाहिर कतै जान मन पनि लागेको थिएनन्।
एकाएक रुपेश पलङमुनि राखेको आफ्नो सम्झनाका डायरी र फोटोको एलबम खोली केही तस्बीर खोज्न थाल्छन्। भेटिन्छ्न् पनि। अनि ऊ हेर्दा हेर्दै एकोहोरिन थाल्छ। विगतका घटनाहरू उसको आँखा अगाडि सचित्रझैं देखिन थाल्दछ।
उसको अर्धाङिगनी सिमा र छोरो भावुकको सम्झनाले उसको आँखाहरू रसिन थाल्छन्।
ट्रेनिङको सिलसिलामा रुपेश जनकपुर आउने जाने गरिरहेका थिए। आजभोलि रुपेश बिदामा थिए।
सिमा भन्दै थिइन्,‘रूपेश अरू बेला तिम्रो पनि त्यति नै फुर्सद हुँदैन। भावुकको मामाले काठमाडौंमा दुईतिन दिन हजुरलाई पनि सँगै लिएर बस्ने गरी आउनु भनेको थियो। भावुकको मन पनि बहकिन्छ। आमालाई दुईचार दिन घर राम्रोसँग हेर्नु भनेर हामी दुईचार दिन उतै बसेर आउँ हुन्न?’ भन्दै उनले स्वीकृतिको आशालाग्दो भावले रुपेशलाई हेरिरहिन्।
ससुरालीमा गएर बिदा मनाउने कि भन्ने सोच त रुपेशको पहिले नै थियो तर आमालाई घरमै गाईवस्तु स्याहारमा बढी दुख होला कि भन्ने विचारले उनको मन दोमन भैरहेको थियो।
‘बाबा जाउँ न मामाघर, मलाई उता मामाको छोरा प्रताप पनि घुम्न आउनु है भनी कराइरहेको थियो बाबा जाउँ न।’
सर्तको टुप्पो समातेर भावुक कराइरहँदा रुपेश झसङ्ग हुन्छ। छोरा भावुकको अनुनय र सिमाको माइत जाने अभिलाषा देखेर रुपेशले भन्यो, ‘ठिकै छ नि सिमा, तिमी काठमाडौं नगएकी पनि त दुई वर्ष जति नै भयो। त्यस्तो तिम्रो इच्छा छ भने जाउँ न त।’
रुपेशले जाने सङ्केत दिइसकेपछि आमा र छोरो दुवै खुसी भए। भोलि बिहानै रामी चुरी बफरिङबाट आमालाई सम्झाइबुझाइ रुपेश, सिमा र भावुक काठमाडौं जाने सुर कसे।
गर्मी याम थियो। बिहान सबेरै उठेर रुपेश काठमाडौं जान सिमा र भावुकसँगै सिन्धुलीबाट काठमाडौं जाने बसको टिकट काट्छ र सहचालकलाई हेर्दै ‘ए भाइ, कति बजे बस गुड्छ’ भन्दै थियो।
सहचालकको जवाफ दियो, ‘सिट फुल भएपछि गइहाल्छ नि दाइ।’
‘आजको ताजा खबर ताजा खबर’ भन्दै बसको झ्यालनिरै आइरहेको पत्रिका बेच्ने केटो देखेर उसँग रुपेशले एउटा पत्रिका किन्छ र पत्रिका पढ्न थाल्छ्न्। सिमा र भावुक दुवै बाहिरको दृश्य हेर्न तल्लीन देखिन्थ्यो। भनेको समयभन्दा ठिक आढा घण्टापछि मात्र बस सिन्धुलीबाट काठमाडौं रवाना हुन्छ। गाडी बिस्तारै गुड्न थाल्छ। ढोकामा बसी अझै सहचालक ‘काठमाडौ! काठमाडौ!!’ भन्दै चिच्याइरहेको थियो। भर्खरै दशै सकिसकिएकाले होला काठमाडौ फर्किनेहरूको अलि भीड बाक्लिरहेका थिए।
‘ए केटो सिट फुल भएपछि पनि कति कोच्नुपर्ने?’ नजिकैको अर्को यात्री कराउन थाल्छ।
‘आजकाल यी बस चलाउनेहरू यस्तो लामो दुरीमा चल्ने गाडीहरूमा पनि कति पेसेन्जरहरू कोच्न सकेको होला।’
ट्राफिक अनुगमन नहुँदा यी ड्राइभर खलासीको मनोमानी बढिरहेका थिए। सिटभरि मात्र भएर नपुग्ने माथि छतमा समेत राख्दै अत्ति गर्दैछ’ अर्को यात्री कराउँदै भन्दै थियो।
केही पर पुगेपछि गाडी फेरि रोकियो। भित्र अलि कोचिएको देखेर माथि छतमा बस्नु भन्दै छाडा स्वरले कराइरहेका थिए। रुपेश पनि मनमनै आजकाल यस्तो लामो दुरीमा चल्ने बसहरू पनि यात्रीहरू राखी मनोमानी हुन थालेकोमा मनभित्र रोष प्रकट गरिरहेको थियो।
अब बस कहीं नरोकीकन आफ्नै रफ्तारमा गुड्छन्। बाटाहरू बढी मात्रामा घुम्ती मोड हुनाले नब्बे डिग्रीको कोण पार्दै घुम्तीमा मोडी गुडिरहेको थियो।
अचानक आकाश गर्जिन थाल्यो। एक्कासि पानी पनि परिहाल्यो। बाटामा पानीको भेल बढिरहेको देखेर चालक हतास देखेर हो कि उनको खुट्टाले अलि जोड एक्सिलिटर डब्दै थियो। पानीले भिज्दा माथि छतको मान्छेहरू एकछिन गाडी रोकेर बसभित्र कोचिन पस्छ्न्।
करिब ५० जना यात्रु बोकिरहेका बस कहिले उकालो कहिले ओरालो नाप्दै गुडिरहन्छ्न्।
रुपेशको आँखा भन्ने पत्रिका पढ्नेमा नै केन्द्रित थियो। उनले पत्रिकाको ३ पृष्ठमा ‘सडककाे बिचल्ली,, शीर्षकको समाचार पढिरहेको थियो। आफ्नो विषय पनि सडक इन्जिनियरको हुँदा अलि चाख लगाउँदै थियो। बस फुर्कोत पुग्नै लागेको थियो तल सलल सुनकोसी बगिरहेको थियो। अचानक ड्राइभरले भएभरको शक्ति लगाएर गाडीको ब्रेक समात्ने प्रयास गरेको जस्तो के लागेको थियो एकाएक गाडीले आफ्नो सन्तुलन छोड्छ्न् र सुनकोसी नदीमा गुल्टन थाल्छन्। रुपेश बसको झ्यालको शिशा चर्केर एक्कासि हुत्तिएर पछारिंदै एउटा रुखको फेदीमा अल्झिन पुग्छन्। बसका मान्छेहरू कोही हुत्तियो कोही यताउता पछारिएर ठोक्किंदै बज्रन थाल्छन्। यो आकस्मिक घटनालाई सोच्नै सकेका थिएनन्।
‘सिमा, बाबु भन्दै रुपेशको आवाज होस हो वा बेहोसमै चित्कार गुञ्जिदै थियो। हेर्दा हेर्दै बस सुनकोसीको बहावमा मिलिसकेको थियाे।
अत्तालिएका दर्दनाक स्वरको परवाहबिना बस पानीमै बिलायो। कोही हात पानीको सतहमाथि सम्पूर्ण शरीर डुब्दै जाँदा जाँदै पनि हल्लाइरहेका देखिन्थ्यो सायद सिमा र भावुकको हत्केला हो जस्तो। रुपेश लाचार भएर हेरिरहन्छन्।
त्यो झाँगाझुली रिठ्ठैबाट सुनकोसी नदीको आहार बनाएको प्रकृतिको त्यो वीभत्स दृश्यबाट रुपेशले आफ्नो परिवार गुमाउन पुग्छन्। यो दुर्घटनाले उनको मनभरि पीडाको सगरमाथा चुलाइदियो।
रुपेशकी श्रीमती छोरासहित ४६ जनाको दुर्घटनाबाट मृत्यु भएको पुष्टि भयो। बिस्तारै समयले काँचुली फेर्दै ल्यायो। रुपेशमा आइपरेको शोकलाई उनले शक्तिमा परिणत गर्ने अठोट गर्यो। जिन्दगी यस्तै रहेछ। उनीहरूले मलाई छाडेर गए पनि मैले धैर्य गरी आमाको निमित्त पनि बाँच्नुपर्छ भन्ने भावना उनको मनमा पलाउँछ। सदैव वियोगमा बाँच्नु पनि ठिक होइन भनी उनले आफ्नो मनलाई दह्राे बनाउँछ।
केही वर्षपछि रुपेशको नजर यतै सिन्धुलीमादीस्थित गौमती निम्न माविमा पढाउने शिक्षिका रुबिनामाथि पर्छ।दुवैको मन मिल्यो र निष्कपट र निश्चल माया बिच समयको कुनै तगारोबिना उनीहरूले दाम्पत्य जीवन प्रारम्भ गर्छन्। रुपेशको आर्थिक अवस्था पहिलेदेखि नै कमजोर थियो। यता जनकपुरको ट्रेनिङ सकेपछि रुपेश काठमाडौं जान्छन्।
त्यहाँ गएर उनले थापाथली क्याम्पसबाट इन्जिनियर पास गर्छन्। त्यसपछि प्राविधिकतर्फ प्रवेश गरेर बानेश्वरस्थित सडक डिभिजन कार्यलयमा केही वर्षअघि मात्र उनी अधिकृतमा बढुवा भएको थियो। त्यसैले रुपेश कोटेश्वर नजिकै एउटा घरमा डेरा लिई रुबिनालाई गाउँमा आमाको हेरचाहका लागि छाडी एक्लै बसिरहेका थिए। रुबिना गाउँमा बसी सासूलाई स्याहारसुसार गरी घर सम्हालिरहेकी थिइन्। यस्तैमा प्रायः फेसबुक मोबाइलमार्फत रुबिना र रुपेशको भलाकुसारी हुन्थ्यो।
कति गहिरो आघातबिच पनि रुपेश जिन्दगीका आयामलाई स्वास भर्दै थियो। एक्कासि रुपेश अतितबाट झस्किन्छ।
एकाबिहानै ‘हेल्लो समीर, काठमाडौंको हालखबर के छ र यता अमेरिकातिर नेपालको भूकम्पको खबरले हलचल ल्याएको खबर आगोझै ट्विटर र फेशबुकमार्फत फैलिरहेको छ। मलाई पनि आफ्नो घर सिन्धुलीस्थितको माथिल्लो डाँडाको घरपरिवारको चिन्ता लागिरहेको छ। शिघ्र जानकारी गराउनु न।’
‘ओ बद्री, म अहिले काठमाडौंमा छु। यहाँ त लमजुङको बारपाक केन्द्रबिन्दु भएर ७/८ रेक्टरको भूकम्पले यहाँको साँस्कृतिक सम्पदा, कैयौ भौतिक संरचना र धेरै धनजनको क्षति भएको छ। उता तिम्रो घरको खबर त तिम्रो दाज्यु र भाउजू अस्ति नै गाउँ छोडेर कामको सिलसिलामा काठमाडौं आइरहेको रहेछ। यहाँ उहाँहरू सकुशल नै हुनुहुन्छ। बरु एउटा नराम्रो खबर छ सुन तिम्रो बच्चाको सहपाठी रुपेशको कुरा।
‘के भयो रुपेशलाई?’ उ त मेरो सिंगाने साथी आतुरी स्वरमा बद्री भन्दै थियो।
‘साह्रै नमज्जा भयो यार!’ समिरले भन्यो।
त्यही अस्ति १२ गतेले ल्याएको विनाशकारी भूकम्पले रुपेश साथै उनको दोस्री श्रीमती रुबिना र बुढी आमा पनि लगेछ। त्यही दिन संजोगले रुपेश पनि बिदा लिएर सिन्धुली आएको थियो। सबैको एउटै चिहान भइयो। हृदयविदारक स्वरले समिरको स्वर गुंजिरहेको थियो।
बद्री बिस्मात गर्छन्, ‘ओ माइ गड। यो कस्तो सुन्नुपरेको मैले। त्यो मेरो लङ्गोटिया यारलाई मात्र किन यस्तो भएको होला!’
बद्री र रुपेश सिन्धुलीस्थित गौमती उच्च माविसम्म पढेका सहपाठी थिए। भूकम्प आउनु केही दिनअघि मात्र पनि मोबाइलमा रुपेशले भनेका सब्द बद्रीलाई झलझली आउँदै थियो।
‘नमरुन्जेल हाम्रो साथ छुट्नु हुन्न। तिमी नेपाल आउँदा साथीहरूसँग भेट्नुपर्छ। मेरो नजिकको साथीको नाताले रुबिना पनि तिमीलाई सम्झिरहन्छिन्। रुबिनाले त मलाई दोस्राे जीवन दिइन्। उनले गर्दा नै मैले सिमा र भावुकको यादलाई बिर्सन सकिरहेको छु। अन्यथा यो घायल जीवन नै समाप्त गर्न पनि पछि पर्ने थिएन। सायद आमाको स्नेह र रुबिनाको मायाले नै म बाँचिरहेको जस्तो लाग्छ।’ बद्रीलाई रुपेश आफ्ना दुख पोखिरहेको थियो।
रुपेशसहित भूकम्पले रुबिना र आमा पुरिएको खबरले बद्रीको मन भावशून्य हुन पुग्छन्।
झण्डै ४ वर्ष अघि पशुपति आर्यघाटमा रुपेशको पत्नि सिमा र छोरो भावुकको शव जलिरहँदा बद्रीले रुपेशलाई नियालेका थिए। त्यस हृदयविदारक घटनाबाट रुपेश टुटिसकेको थियो। उनको आँंखामा रुनको लागि आँसु समेत थिएन।
बद्री यतिखेर त्यही दृश्य सम्झिरहेका थिए। रुपेशसँगका स्मृतिका क्षणहरू सायद जिन्दगीले चाहेर पनि नि: शब्द भएर होला बिलकुलै स्तब्ध र मौन छन।‘ ’