खै किन हो ? एक प्रकारको असन्तुष्टि छचल्किरहेको देखिन्छ कतिपय बिरामी र तिनका आफन्तको अनुहारमा । सिधै भन्नुपर्दा नर्सिङ पेशाकर्मीप्रति त्यति सकारात्मक हुँदैन उनीहरुको अनुभूति ।
सामाजिक सञ्जालमा एउटा भिडियो भेटिन्छ- वीर अस्पतालको अन्तरंग विभागको एक वार्डमा आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले ड्युटी नर्ससँग विवाद गर्दै गरेको दृश्य ।
त्यहाँ उनले ड्युटी नर्ससँथ आक्रोशित हुँदै भन्छिन्- ‘बिरामीको बारेमा सोधखोज गर्दा डाक्टरले हामीलाई उल्टै थर्काएर गयो ।’ अर्थात् डाक्टरसँगको झ्वाँक नर्ससँग पोख्छिन् उनी । अनि अस्पतालको आर्थिक प्रशासन र बिरामीबीचको समस्या समाधान ड्युटी नर्ससँग पैंठेजोरी खेलेर निकाल्न खोज्छिन् ।
‘पैसा तिर्न नसकेको कारणले बिरामीको उपचार हुँदैन भन्न पाइन्छ ? यो कस्तो मानवता हो तपाईंहरुको ? कति पैसा लाग्छ ? म अहिले नै भुक्तानी गरिदिन्छु । खुरुक्क उपचार गर्नुस्’, सँगै टेबुलमा राखेको सलाइन पानीको बोतल देखाउँदै यो किन नचढाएको भनेर उनी स्पष्टीकरण माग्छिन् नर्ससँग ।
‘हामीलाई यो बारेमा केही थाहा हुँदैन । डाक्टरले जे लेखेर दिन्छन्, जसरी निर्देशन गर्छन्, त्यसैअनुसार गर्ने हो हामीले । बिरामीको मिर्गौला खराब हुँदै गएको कारण डाक्टरले नै सलाइन दिन रोकेका हुन्’, ड्युटी नर्सले यसो भनिरहँदा अस्पताल नै थर्किनेगरी अंग्रेजीमा कराउँछिन्- ‘आई यम अल्सो स्टाफ नर्स ।’
अचम्म लाग्छ, जब उनी स्वयं नर्सिङ पेशाकी मान्छे हुन् भने ड्युटी नर्सको काम, कर्तव्य र अधिकारको सीमितताबारे किन थाहा नपाए झैं गरेकी होलिन् ?
हाम्रो प्राक्टिसमा बिरामीलाई एक ट्याबलेट सिटामोल खुवाउन त डाक्टरको सिफारिस चाहिन्छ भने अस्पतालमा आउने बिरामीको शुल्कसम्बन्धी निर्णय गर्ने अधिकार ड्युटी नर्ससँग हुन्छ होला त ? निश्चित रुपमा हाम्रो स्वास्थ्य सेवा प्रणाली हुनुपर्ने जति व्यवस्थित छैन । त्यसैले उपचारको क्रममा बिरामीले थाहा पाएर वा नपाएर अनेक अप्ठ्यारा र सास्ती भोगिरहन्छन् अस्पतालमा । कसै न कसैले ती समस्यालाई उजागर गर्नु स्वागतयोग्य कुरा हो । आशिकाजीले प्रयत्न गर्दै हुनुहुन्छ शुभकामना । तर मुद्दाको उठान गर्दा त्यसको सुनुवाइ हुने निकायको समेत हेक्का हुनुपर्छ । अनि मात्र समाधानको बाटो खुल्छ । होइन भने त एकातिर आँप अर्कैतिर झटारो हाने जस्तो स्थिति बन्छ ।
तर त्यत्ति नै भनेर उम्किन पाउने अवस्था छैन । किनभने शृङ्खला यतिमै रोकिंदैन । बरु अन्य सेवाग्राहीहरुको पनि असन्तुष्टि छरपष्ट पोखिएको देखिन्छ अस्पतालमा । जब उनी बिरामीको पक्षमा बोल्न थाल्छिन् अस्पतालमा उपचारार्थ अन्य बिरामी र उनका भिजिटरले समेत उनीसँगै स्वरमा स्वर मिलाउँदै नर्सहरुको व्यवहारप्रति गुनासो र आक्रोश प्रकट गर्छन् ।
यसबाट आकलन गर्न सकिन्छ । समस्या कतै न कतै गुजुल्टिएकै छ । त्यति मात्र होइन उनको भिडियोमा थुप्रै मान्छेको समर्थन देखिन्छ । कतिपयले त पूरक भिडियो नै बनाएर अस्पताल बसाइका आफ्ना कथा-व्यथा सेयर गरेका छन् । जसको निशानामा पनि उनै नर्सहरु छन् । अस्पतालहरुमा आम नागरिकले भोग्दै आएका पीडालाई उजागर गरेर जनसमक्ष ल्याउने आशिकाजीको प्रयास सराहनीय त छँदैछ, सत्कर्ममा साथ सहयोग दिएर सधैं हौस्याइरहने उहाँका हजारौं फलोअर्सहरु समेत धन्यवादका पात्र हुनुहुन्छ । तर हेक्का राखौं, अस्पताल व्यवस्थापनका अनेकथरी विभागीय समस्या हुन्छन्, कति कमजोरी हुन्छन् । कतिको सीमितता हुन्छ ? कति लापरवाही र गैरजिम्मेवारीका परिणाम पनि हुन्छन् । ती सारा समस्याको जवाफदेहिता नर्ससँग खोज्ने र समाधानका लागि ड्युटी नर्ससँगै भिड्ने काम आफैंमा अपरिपक्व र अनुपयुक्त हुन्छ । राज्यका सेवा प्रदायक निकायहरुप्रति स्वत:स्फूर्त नागरिक खबरदारी हुनु आफैंमा सकारात्मक कुरा हो ।
यसै पनि नेपालको समग्र सर्भिस डेलिभरी सिस्टम पटक्कै नागरिकमैत्री छैन भन्ने आम जनगुनासो छँदैछ । स्वास्थ्य जस्तो संविधानले नै ग्यारेन्टी गरेको अत्यन्तै संवेदनशील सेवा प्रवाह गर्ने निकाय समेत बिरामीमैत्री छैनन् गुनासो छ । अस्पताल नै बिरामीमैत्री छैनन् भन्नुको मतलब त्यहाँको व्यवस्थापन मात्र होइन काम गर्ने चिकित्सक, नर्स तथा कर्मचारी कसैको व्यवहारसँग सन्तुष्ट छैनन् सर्वसाधारण । यद्यपि अस्पतालमा तमाम व्यवस्थापकीय कमजोरी हुन्छन् । कतिपय अवस्थामा लापरवाही समेत हुन्छ । तर अधिकांश अवस्थामा नर्स नै पर्छन्, आक्रोशको निशानामा ।
यसो हुन स्वभाविक पनि हुनसक्ला । कुनै पनि बिरामी अस्पतालमा रहुन्जेल उसको सबैभन्दा बढी समय नर्ससँगै बित्छ । बिरामी र उनका आफन्तको सबभन्दा धेरै भावनात्मक सम्बन्ध पनि नर्ससँगै गाँसिन्छ । सायद प्रकृतिकै नियम हो । जो सामुन्नेमा हुन्छ आशा, भरोसा र गुनासो समेत सब उसैसँग पोखिन्छ- बिरामी अस्पताल बसुन्जेल धारामा पानी नआएकोदेखि बेडसिट मैलो भएकोसम्म, ट्वाइलेट फोहोर भएकोदेखि फार्मेसीमा औषधि नपाएकोसम्म । ल्याबको रिपोर्ट ढिलो आएकोदेखि एक्सरे मेसिन बिग्रिएर काम नभएकोसम्म । अनि डाक्टरले राम्रोसँग समय नदिएकोदेखि अस्पतालको खाना मीठो नभएकोसम्म ।
सारा समस्याले भरिएको पोको फुकाउने थलो हुन्छ नर्सको ड्युटी स्टेसन । बिरामीको नर्सिङ केयर नै ड्युटी नर्सको मूल दायित्व हुन्छ । तर यी सारा कुराको समन्वयकारी भूमिकामा रहँदै जवाफदेही बन्नुपर्दा कुनै पनि ड्युटी नर्सको मनोदशा कसरी गुज्रिन्छ होला । हाम्रो व्यवस्थापकीय ढिलासुस्तीमा जगजाहेर नै छ, सारा जगत । अनि हरेकको हरेक समस्या तुरुन्तै ठ्याक ठ्याक हल भएन भनेर नर्समाथि जाइलाग्नु कति जायज होला ?
नर्सिङ सेवा आफैंमा एउटा सिद्धान्त हो । जसमा विज्ञान र कलाको बेजोड मिश्रण हुन्छ । हरेक नर्सले त्यो विज्ञान पढेकै हुन्छ । त्यो कला सिकेकै हुन्छ ।आफ्नै स्पष्ट दृष्टिकोण सहितको कार्य विवरण (जब डिस्क्रिप्सन) र निश्चित मापदण्ड छ आधुनिक नर्सिङ सेवाको । जब कुनै बिरामी उपचारार्थ अस्पतालमा भर्ना हुन्छ । त्यसको २४ घण्टाभित्र नर्सिङ डाइग्नोसिस भई आवश्यक नर्सिङ केयर प्लान तयार भइसक्नुपर्छ । सोही प्लान बमोजिम बिरामीलाई सम्पूर्ण नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । त्यससँगै बिरामी वा उनका आफन्तलाई रोग र त्यसको उपचार प्रक्रियासँग सम्बन्धित आवश्यक सबै सूचना समयमै सम्प्रेषित गर्ने ।
अस्पतालको विद्यमान नीति नियम र उपलब्ध आधारभूत सुविधाको बारेमा उनीहरुले बुझ्ने भाषामा ब्रिफिङ गर्ने काम ड्युटी नर्सकै दायित्वभित्र पर्छ । कोही पनि व्यक्ति टहल्न वा घुम्न अस्पताल जाँदैन । बरु बिरामी परेर थलिएर त्यहाँ पुगेको हुन्छ । बिरामी पीडाले बेडमा छटपटाइरहेको हुन्छ । घरपरिवार र आफन्तहरुको बाहिर रुवाबासी भइरहेको हुन्छ । एकदम तनाव र छटपटाहटको माहोल हुन्छ । मनोवैज्ञानिक रुपमै हतास हुन्छन् सबै । यस्तो बेलामा हरेक बिरामी वा उनका आफन्तलाई सबैतिरबाट सबै किसिमको ढाडसको खाँचो हुन्छ । अस्पतालप्रति त पूर्ण भरोसा नै हुन्छ ।
स्वभाविक रुपमा अस्पताल कर्मचारीबाट शिष्ट भाषा र सभ्य व्यवहारको अपेक्षा हुन्छ उनीहरुको । सूचनाको हकसहित बिरामी वा उनका आफन्तलाई सहज सूचना प्रवाह हुनुपर्छ । गोपनीयताको सुनिश्चितता र बिरामीको सुरक्षा त्यत्तिकै महत्वपूर्ण हुन्छ । यी सबै व्यवस्थापन गर्नुपर्ने भूमिकाको केन्द्रमा हुन्छन् अस्पतालको अन्तरंग विभागका ड्युटी नर्सहरु । उनीहरुको मीठो बोलीले बिरामीको पीडा कम गर्ने मल्हमको काम गर्न सक्छ । मुस्कानसहितको उपस्थितिले आफन्तलाई राहत मिल्न सक्छ । सहयोगी व्यवहारले बिरामीलाई जहिल्यै हौसला मिल्ने गर्छ ।
तर खै किन हो ? एक प्रकारको असन्तुष्टि छचल्किरहेको देखिन्छ कतिपय बिरामी र तिनका आफन्तको अनुहारमा । सिधै भन्नुपर्दा नर्सिङ पेशाकर्मीप्रति त्यति सकारात्मक हुँदैन उनीहरुको अनुभूति । खासगरी ड्युटी नर्सको बोली व्यवहारलाई लिएर नकारात्मक टिप्पणी सुनिन्छ- ‘नर्सको बोली नै रुखो’ । ‘व्यवहार नै छुचो’ । ‘केही कुरा सोध्यो भने पैसै पर्ला जस्तो गरी बोल्छन्, त्यो पनि झर्केर’ । ‘बिरामीको समस्या सुन्नै चाहँदैनन्’ । ‘नर्सको त बोली नै पोल्ने’ । यस्तै यस्तै टिप्पणी सुनिन्छ बिरामी र भिजिटरहरुको मुखबाट ।
व्यक्ति व्यक्तिका यस्तै अनूभूतिहरुको जोडफलबाट एउटा नकारात्मक भाष्य नै बनेको छ नर्सहरुप्रति नेपाली जनमानसमा । यद्यपि वास्तविक पीडितका बाबजुद अरु पनि थुप्रै कारण छन् यस्तो भाष्य निर्माण हुनुमा । उदाहरणका लागि, समाजका तथाकथित टाठाबाठाहरु जसलाई अस्पतालका सामान्य नियम पालना गर्न हिच्किचाहट हुन्छ । आफ्ना लागि विशेष सुविधा खोज्ने उनीहरु सर्वसाधारणसँग लाइनमा बस्न समेत हीनताबोध गर्छन् । अनि पालो मिच्न नपाए हुलहुज्जतको प्रयास गर्छन् । नियम कानुनको पालना गर्नु भन्दा त्यसलाई तोड्नमा बहादुरी ठान्ने यो प्रवृत्तिको अहंकारमा जब ठेस पुग्छ अनि बहाना बन्छ विवादको । तनावको वातावरण सिर्जना हुँदा मारमा पर्छन् सर्वसाधारण । त्यसैले वास्तविकताको गहिराइमै पुगेर गरिएको एक अध्ययनले नर्सको बारेमा बनाइएको यस्तो नकारात्मक भाष्यलाई ठाडै खण्डन गरेको छ । यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०६८ सालमा अनुसन्धान नै गरेको छ ।
संघीय राजधानी काठमाडौंका साथै विराटनगरदेखि नेपालगञ्जसम्मका ठूला सरकारी र निजी अस्पताल तथा मेडिकल कलेजहरुमा गरिएको उक्त अध्ययनको नतिजा बाहिर सुनिने टिप्पणी भन्दा नितान्त फरक पाइएको छ । ‘तपाईंहरुलाई नर्सको व्यवहार कस्तो लाग्छ ?’ भन्ने प्रश्नको अनुसन्धान सर्वेक्षणमा परेका ८६ प्रतिशत बिरामीले नर्सको व्यवहार सहृदयी र सहयोगी रहेको बताएका छन् । तर १४ प्रतिशतले झर्किने र बिरामीको समस्यालाई बेवास्ता गर्ने गरेको बताएका छन् । सर्वेक्षणमा संलग्न नर्सहरुले भने आफूहरुलाई सकारात्मक सोचको विकास गर्ने तालिम माग गरेका छन् । यसबाट सबै नर्सहरुको व्यवहारमा एकरुपता नभएको प्रष्ट देखिन्छ । साथै ‘के तपाईं नर्सको सेवा र कामबाट सन्तुष्ट हुनुहुन्छ ?’ भनेर सोधिएको अर्को प्रश्नमा सर्वेक्षणमा सहभागी ८९ प्रतिशत बिरामी र तिनका कुरुवा आफन्तले सन्तुष्ट रहेको बताएका छन् । यसबाट के प्रष्ट हुन्छ भने अनेकौं पेशागत समस्या, अपर्याप्त सेवासुविधा तथा बिरामीको अत्यधिक चापको तुलनामा जनशक्तिको सीमितताका बाबजुद नेपाली नर्सहरुले सम्भव भएसम्म सन्तोषजनक सेवा प्रदान गरिरहेका छन् ।
त्यसो भए समाजमा किन नकारात्मक टिप्पणीहरु सुनिन्छ त नर्सको बारेमा ? अध्ययनले नै भन्छ ११ देखि १४ प्रतिशत बिरामीले हालको नर्सिङ सेवाप्रति असन्तुष्टि जनाएर यस क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नकारात्मक भाष्य निर्माण हुन त्यो संख्या नै पर्याप्त हुन्छ । किनभने हरेक भुक्तभोगीको भोगाइ उसको लागि शतप्रतिशत हुन्छ । उसले जे भोगेको हुन्छ, समाजमा त्यही अनुभूति सेयर गर्दै हिंड्छ । तर यति भनिरहँदा के पनि बिर्सनु हुँदैन भने नेपालको नर्सिङ क्षेत्र आफैंमा समस्याग्रस्त र पीडित छ । उनीहरुका पनि आफ्नै सकस छन् ।
नीतिगत रुपमै निरीह बनाइएको छ नर्सहरुलाई । यो क्षेत्रमा आमरुपमा महिला नै बढी संलग्न रहने हुँदा लैङ्गिक विभेद र हिंसाका घटना दोहोरिरहन्छन् नेपाली नर्समाथि । पेशागत विभेदको त पराकाष्ठा नै छ यहाँ । संरचनागत रुपमै इकाईदेखि मन्त्रालयसम्म कार्यकारी अधिकार लिनै नपाउने व्यवस्था गरिएको छ । तल स्वास्थ्य चौकीहरुमा तहगत रुपमै जतिसुकै सिनियर भएपनि प्यारामेडिक्सकै मातहतमा बस्नुपर्ने बाध्यकारी व्यवस्था बनाइएको छ नर्सहरुलाई । अनि मन्त्रालय र विभागहरुमा प्रशासककै रुपमा छनोट भएर जाँदा पनि आफूभन्दा जुनियरकै मातहतमा बस्नुपर्ने बाध्यता छ । कुनै पनि नर्सले विभागीय प्रमुख वा सचिवस्तरको नेतृत्व पाउने बाटो नियतवश नै बन्द गरिएको छ ।
अस्पतालहरुमा वर्किङ स्टाफदेखि नर्सिङ प्रमुखसम्मको हैसियत चिकित्सकले अह्राए सिकाएको काम गर्ने नै हो । सेवाको दौरान यस्ता विभेद विरुद्धको आक्रोश र पेशागत फ्रस्टेसन स्वभाविक रुपमा आउन सक्छ । तर यो हाम्रो नितान्त पेशागत समस्या हो । त्यसको कुनै पनि बाछिटा बिरामीको नर्सिङ केयरमा पर्नु हुँदैन । सेवामा पर्नु हुँदैन । किनभने हामी नाइटिङ्गेलका अनुयायीहरुसँग बिरामीको लागि निश्चित वैधानिक र नैतिक जिम्मेवारी हुन्छ । यो बिरामीको अधिकार पनि हो ।
हामीले आफ्नो पेशागत अधिकार खोज्दै गर्दा बिरामीको अधिकार खोस्न मिल्दैन । जसको हेक्का हामी नर्सहरुसँग पलपलमा हुनुपर्छ । हाम्रो पेशागत मर्यादा जोगाउन मात्र होइन, बिरामीको हामीप्रतिको भरोसा टुट्न नदिन पनि हरहालतमा शिष्ट र सहृदयी बनेर सेवा गर्नुको विकल्प छैन नर्ससँग । ड्युटीमा अहोरात्र खटेर बिरामीको सेवामा खरो उत्रिने नर्सहरुलाई प्रोत्साहन दिन जरुरी छ । जुन व्यवस्थाले उनीहरुलाई बिरामीसँगको भावनात्मक सम्बन्ध हरबखत सुमधुर बनाइरहन प्रेरित गर्न सक्छ ।
संयोग नै भनौं, नेपाली नर्सहरुको पेशागत अधिकारको पैरवी गर्ने साझा संस्था नेपाल नर्सिङ संघ यतिबेला २० औं अधिवेशनको संघारमा छ । करिब १५ हजार ५०० सदस्य संख्या रहेको यो संस्थाले लगभग सवा लाख नेपाली नर्सहरुको प्रतिनिधित्व गर्छ । वर्षौंदेखि नेपाली नर्सहरुले भोग्दै आएका पेशागत विभेदका समस्या हल गर्न पहल गर्ने जिम्मेवारी त छँदैछ, अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा खरो उत्रिन अनुसन्धानमा आधारित प्रविधिमैत्री नर्सिङ शिक्षा र सेवाको व्यवस्था गर्न सरकारलाई खबरदारी गर्ने अर्को महत्वपूर्ण जिम्मेवारी नयाँ आउने नेतृत्वसामु छ ।
(घिमिरे काठमाडौं महाराजगञ्जस्थित कान्ति बाल अस्पताल नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक हुन् ।)