‘नदीको राजमार्ग’ मा ‘समीप’को शिल्प


‘नदीको राजमार्ग’ दीपक समीपद्वारा लिखित लघुकथासङ्ग्रह हो।

समीपसँग मेरो चिनाजाना सञ्जालयीय हो। उनको साहित्यिक क्रियाशीलता, गुणवत्ता, लगनशीलता तथा निरन्तरताबारे मैले घोइरो घोइरो बुझेको हुँ। याने उनको वैशिष्ट्यका बारेमा सञ्जालले बताइदिएको सीमाभित्र मात्र जानकारी राख्छु।

एउटा संयोग थियो कि उनै लघुकथाकार दीपक समीपको २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’ माथि परिचर्चा कार्यक्रम राख्यो स्रष्टा साँझ अमेरिकाले। र, संयोग यो पनि जुर्यो कि उनको यो कृति पढ्नुपर्नेमा म पनि परेँ। यी दुवै संयोगलाई यति बेला सम्झेको छु। र, कृतितिर आँखा लाउँदै छु।

‘नदीको राजमार्ग’ पेज टर्नरले विसं २०८० सालमा प्रकाशन गरेको लघुकथाकृति हो। नीलो रङलाई पृष्टभूमि बनाएर नदीको विम्बमा प्रयुक्त गरिएको आवरण पृष्टमा रातो रङको समायोजनले राजमार्गको सङ्केत गरेको छ। अर्थात् नदी नीलो छ, गहिरो छ, कञ्जन त छ, तर त्यसमाथि जिन्दगीको राजमार्ग कुदाउन भने आपत छ। विपत छ। जटिल छ र कहर छ। आवरणको पश्च भागमा एक अनुच्छेद अक्षरले लघुकथाकारको लेखनी वैशिष्ट्यलाई उकेरा लगाएका छन्। चौरासी पृष्टको पुस्तकमा छैसट्ठी ओटा लघुकथा अटाएका छन्। पुस्तकको अन्तिममा लेखकको आफ्नो भनाइ राखिएको छ।

लघुकथाकार दीपक समीप पोखरेली लघुकथाकार हुन्। पुराना र खारिएका हुन्।सम्वेदनशील र गम्भीर हुन्। गीत, गजल, कविता र मुक्तक लेखनमा गतिशील छन्। मान्छेत्वलाई चिनेर लेख्छन्। यी कुरा उनका बारे मेरा पूर्वमान्यता हुन्। यति सिपालु सर्जकको सिर्जनालाई सूर्यमा सुकाउनु मात्र पनि घनघस्याको उकालो चढ्नु जस्तै हो। यद्यपि सर्जकझैं पाठक पनि आफ्ना मान्यतामा सार्वभौम हुन्छ। स्वतन्त्र हुन्छ। यही कुरा नै कृतिभित्रको पाठक्यौलीको आधार हो।

‘नदीको राजमार्ग’ लघुकथाकृति भएकाले सर्वप्रथम लघुकथाको प्रविधागत अवधारणाका बारेमा केही शब्द खर्चौ।

भनिन्छ कि लघुकथा भनेको गागरमा सागर वा विन्दुमा सिन्धु अटाउने आख्यानको सूक्ष्मतम् रूप हो। यो भनाइबाट केही कुरा अनुमान गर्न सकिन्छ कि लघुकथा भनेको आख्यानको सूक्ष्मतम् रूप हो। समग्र जीवनलाई छोटो र खँदिलो रूपमा अभिव्यक्त गर्नु प्रारम्भिक कुरा हो लघुकथाको। एक अनुच्छेद बराबर शब्दमा एउटा उपन्यासको विषय गाभ्नु लघुकथाको विशेषता हो। यसकारण लघुकथा लेखनले विशिष्ट शिल्प खोज्छ।

लघुकथा आख्यानको स्वतन्त्र प्रविधा भएकाले यसभित्र आख्यानमा हुने तत्त्वहरू द्वन्द्व, कथानक, पात्र, थिम अर्थात् लेखकको केन्द्रीय विचार र विशेष बनौट/बुनौट समावेश हुनु अति आवश्यक कुरा हो। यही तत्त्वभित्र बसेर कुनै पनि विषयवस्तुलाई एक खाले लेख्यो भने उपन्यास, अर्को खाले लेख्यो भने कथा र अर्को खाले लेख्यो भने लघुकथा बन्ने हो। अर्थात् लघुकथालाई कथा र उपन्यासबाट अलग गर्ने तत्त्व भनेको विशिष्ट रूपविधान हो।

लघुकथाको रूपविधान भनेको कथावस्तुमा सूक्ष्मता, आयाममा संक्षिप्तता, प्रस्तुतिमा कौतूहलता, आकारमा लघुत्व, स्वादमा व्यङ्ग्यात्मकता, बहावमा तीव्रता, उत्कर्षमा चुस्तता, उद्देश्यमा एकात्मकता, समापनमा प्रतिध्वन्यात्मकता आदि हुन्।

अर्थात् कुनै लघुआख्यान लघुकथा भयो कि भएन भनेर हेर्ने कसी ढुङ्गा हो यो सिद्धान्त। यो कुरालाई लघुकथाको तत्त्व भनिदिँदा पनि हुन्छ। तर यही तत्त्व कथामा पुग्दा शिल्पशैली मात्र बन्न पुग्छ, अनिवार्यचाहिं हुन्न।

नेपाली लघुकथा जगत्मा लघुकथाको सिद्धान्त सन्दर्भलाई लिएर बहस, चर्चा हुन्छ। हुनु पनि पर्छ। बहस हुनु अग्रगम्यता हो।कतिपय अवस्थामा नकारात्मकता पनि प्रक्षेपित हुन्छ। क्रियाशीलता सिर्जनाको सुन्दर पक्ष हो। तर मेरो पूर्वमान्यता भनेको सिद्धान्त सिर्जनाको बाधा होइन, सहयोगी हो। लघुकथाका बारेको सिद्धान्त रिजिड छैन। शब्दमा, वाक्यमा, विचारमा, प्रस्तुतिमा, शैलीमा लेखक स्वतन्त्र छ। सार्वभौम छ। तथापि केही सीमा त हुने नै भयो। मलाई लाग्छ कि सीमाविहीन के छ र? सिद्धान्त नहुने हो भने एक विधाबाट अर्को विधा कसरी छुट्याउने?

सुन्दर लघुकथा लेखनको शिल्प भनेको के हो भन्ने प्रश्न पाठकका मनमा आइरहने जिज्ञासा हो। माथि पनि भनियो, लघुकथाको विशिष्ट रूपविधान हुन्छ। अर्थात् सुन्दर रूपविधानका आधारमा गरिने सुन्दर सिर्जना लघुकथा लेखनको पहिलो शिल्प हो। तर सुन्दर रूपविधान हुँदैमा लघुकथा अब्बल बनिहाल्छ भन्ने कुराचाहिं होइन। सुन्दर रूपविधानका साथमा आएको प्रभावोत्पादकत्व भएको कथ्यविधान पनि उत्तिकै आवश्यक र अनिवार्य कुरा हो शिल्पका लागि। अर्थात् सुन्दर रूपविधान र प्रभावजन्यता बोकेको कथ्यविधानको उत्कृष्ट मिलनबाट अब्बल लघुकथा सिर्जना हुन्छ।

अब दीपक समीपकृत लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’ भित्र पसौं। तिनका विशेषता केलाऔं। स्वाभाविक छ कि दीपक समीप गम्भीर लेखक हुन्। आलाकाँचा होइनन्। उरन्ठ्यौला होइनन्। समाजमा उनले बनाएको दृष्टिबोधको दायराले यही कुरा पुष्टि गर्छ।

उनी आफ्नै भनाइमा लघुकथाको परिभाषा गर्छन् र भन्छन्, ‘हाम्रो सूक्ष्म जीवनमा हुने भोगाइका सूक्ष्म घटनाहरू र तिनका तीव्र अनुभूतिहरू नै लघुकथा हुन्।’ यद्यपि सूक्ष्म जीवनका भोगाइ तथा तीव्र अनुभूति साहित्यको सामल मात्र हो, परिपाकैचाहिं होइन। परिपाकका लागि अग्गेठमा राँकिनै पर्छ। रूप, रङ तथा स्वादमा रूपान्तरित हुनै पर्छ। नत्र अनुभूति केवल अनुभूतिमै सीमित हुन्छ।

यो लघुकथासङ्ग्रहका देख्दा सामान्य देखिने तर ज्यादै महत्त्वपूर्ण विशेषता भनेको अतिशय शुद्धता हो।कृतिभित्र प्रवेश गर्दा पहिलो झमटमै शुद्धता देखिन्छ र शान्ति दिन्छ। यद्यपि सिर्जनामा शुद्धता मिलाउनु विज्ञको काम हो। सर्जकले गरेको सिर्जनामा विज्ञको सिपले भाषिक शुद्धता निर्माण हुने हो। तथापि सर्जकमा नै दुवै गुण हुने हुँदा त सुनमाथि सुगन्ध हुने कुरा हो।

कृतिमा भाषागत शुद्धता मात्र छैन; शीर्षक रखाइमा पनि सुन्दरता छ। कृतिको शीर्षक ‘नदीको राजमार्ग’ लघुकथाको प्रभावजन्यतालाई पूरापूर बोकेर आएको छ। लक्षणा अर्थमा शीर्षक चयन गरिएको छ।

समग्र जीवनलाई नदीमा बनेको राजमार्गका विम्बमा कृति शीर्षक राखिनु सुन्दर पक्ष हो। लघुकथा लेखन आफैं मा अभिधाभन्दा लक्षणा तथा व्यञ्जना शब्दशक्तिका आधारमा लेखिने भएकाले पनि कृति शीर्षकको चयन प्रभावकारी छ। लघुकथाका लागि शब्दशक्ति निकै महत्त्वपूर्ण कुरा हो। कृति शीर्षक मात्र होइन, त्यसभित्र उनिएका लघुकथाहरूको पनि शीर्षकमा प्रभावजन्यता छ।

समीपको लघुकथा लेखनीको अर्को ज्यादै महत्त्वपूर्ण विशेषता भनेको विषयमा विविधता हुनु हो। आफ्नै वरिपरिका घटना वा परिघटनाबाट आएको सूक्ष्म अनुभूतिलाई लघुकथाको सामल बनाएकाले उनका लघुकथामा राजनीतिक, सामाजिक, पारिवारिक, मनोवैज्ञानिक, वैदेशिक रोजगार, धर्म संस्कृति, प्रचलन आदि आदि अटेका छन्।

तत्तत् विषयवस्तुलाई कलात्मक तथा साहित्यिक प्रस्तुति गर्नु उनको अर्को विशेषता रहेको छ। उनको लेखनीमा पाठकलाई मोहनी लाइरहने तत्त्व भनेको उनको लेखनीको शालीनता, कलात्मकता तथा साहित्यिकता हो। किनभने साहित्य भन्नु कलात्मकता, शालीनता, प्रखरता तथा अनुभूतिजन्य हुनुपर्छ भनिन्छ। यो कुरा समीपका लघुकथामा पाइन्छ।

कथावस्तु बनाउँदा ठेट घटना तथा ठेट विवरणलाई ठेटपनका आधारमा सिंगार्ने शैली देखिन्छ। यो ठेटपन कथ्यको सौन्दर्य हो। यसो गर्दा लेखक बाँचेको स्थानीय र वर्तमान समाजले भोगिरहेको यथार्थको प्रकटीकरण हुन आउँछ।

उनका लघुकथाहरू प्रेमिल छन्। अर्थात् विषयवस्तुमा र प्रस्तुतिमा प्रेमिल तत्त्व देखिन्छ। विषयलाई प्रेम गरेर लेखिएका छन्। समीपको मलाई सबैभन्दा मनपरेको विशेषता भनेको विन्यास शैली हो। विन्यासमा समीपको अलग शैली देखिन्छ। अर्थात्  समापनमा पुग्दा एउटा गजबको परिघटना झल्कने वाक्यको निर्माण गर्ने र लघुकथालाई एकदम स्वादिलो बनाउने तथा त्यही वाक्यले व्यङ्ग्य प्रहार गर्ने शैली सुन्दर मध्येमा पनि सुन्दर छ।

आख्यान विज्ञ प्राडा मोहनराज शर्माले भनेझैं कम्तीमा दुई वा दुईभन्दा बढी घटना अन्तरनिहित गरेर लघुकथाको विनिर्माण गरिनुपर्छ। यो सूत्रलाई समीपले अवलम्बन गरेको देखिन्छ। यो सूत्रका कारणले समीपका अधिकांश लघुकथाहरूमा प्राडा दयाराम श्रेष्ठले भनेअनुसारको अणुसामर्थ्य देखिन्छ।

लघुकथाको चुनौती भनेको बीज वाक्य अर्थात् विचार वाक्यको निर्माण गरेर प्रतिध्वन्यात्मक अवस्थामा समापन गर्नु हो। पाठकका हृदयमा कम्पन गराउनु हो। उनका कतिपय लघुकथामा बीज वाक्यको सुन्दर उपस्थिति देखिन्छ।

सरलता याने कथ्य तथा प्रस्तुतिमा सरलता, साङ्केतिकता याने सादृश्यता, चित्रात्मकता याने घटनालाई चित्रझैं बयान गर्न सक्ने शक्ति यी सबै समीपका लघुकथाका वैशिष्ट्य हुन्। शैलीमा अब्बलता कायम गरेका समीपका लघुकथाले पाठकलाई छुट्टै प्रकारको स्वाद दिन्छन्। कथ्य माझिएको प्रतीत हुन्छ।

यति सुन्दर विशेषता भएको कृतिमा पनि केही नपुग विषय वा प्रवृत्ति हुने कुरालाई नकार्न हुँदैन। शतप्रतिशत सत्य संसारमा छैन। हामीले भन्ने गरेको सत्य आनुपातिक हो। मानक भनिनु पनि आनुपातिक हो।

लघुकथामा पनि सधैं सुधारको गुञ्जाइस रहिरहन्छ। सुधारको गुञ्जाइस भनेको कृतिको दुर्वलता होइन। पूर्णतातर्फको यात्रा हो।पूर्णता खोजिने हो। तर फेरि पाउने अपूर्णता हो। अपूर्णताबाट पूर्णतातिरको यात्रा जीवन हो। यही पूर्णता र अपूर्णताको घुमिरहने चक्रमा नै साहित्य सिर्जना हुने हो।

लघुकथा लेखन भनेको अक्करमा फलेको फर्सी जस्तै हो। खास राजमार्गमा हिंड्छन् लघुकथाहरू। खास नियमले नियमन गर्छन् लघुकथालाई। लघुकथामा लामो आयामलाई राम्रो मानिंदैन। समीपका धेरैजसो लघुकथा आयाममा लामा छन्। एकदम लामो कालखण्डलाई एउटै लघुकथामा हालिएको जस्तो लाग्छ। पाठकले आयामका हिसाबबाट हेरे भने लघुकथामा अपजस लगाउने धेरै ठाउँ छ। छोटो आकारमा लेखिनुपर्ने भएकाले यदि आयाम लामो भयो भने लघुकथाको बुनौट बयानात्मक तथा विवरणात्मक हुन जान्छ। समीपका लघुकथामा यही बयानात्मक तथा विवरणात्मक शैली देखिन्छ। बयानात्मक तथा विवरणात्मक शैली पनि लघुकथाको लागि सुहाउँदो होइन।

विवरणात्मक तथा बयानात्मक तरीकाको लेखनीमा सम्वादलाई महत्त्व नदिनु स्वाभाविक हो। उनका करिबकरिब लघुकथामा सम्वादको अपर्याप्तता छ। आख्यानमा सम्वाद पनि पर्याे  भने झन् सुन्दर हुन्छ भन्ने मान्यता छ। कृतिभित्रका कुनैकुनै लघुकथा आकारका हिसाबले दीर्घ छन्। यद्यपि शब्द सङ्ख्याको किटानी लघुकथाको प्रधान गुण भने होइन। याने शब्द गनेर लेखिने होइन। तर पनि लघुत्व हुनु याने छोटो हुनुपर्ने कुराचाहिं लघुकथाको आवश्यक र अपरिहार्य कुरा हो।

लघुकथाकारले ‘नदीको राजमार्ग’ लघुकथासङ्ग्रहमा आफ्नै वरिपरिका कथ्यलाई आख्यानीकरण गरेका छन्। उनी बाँचेको समाजका विसङ्गति, विपर्यास तथा बिब्ल्याँटो परिवेशलाई उजागर गरिएको छ। यसो भएकाले कृतिभित्र देखाइ र भोगाइ मात्र छ, चिन्तन पक्षमा त्यति हेक्का राखिएको छैन। अर्थात् विषयलाई परम्परागत दृष्टिमा उजागर पारिएको छ। अर्थात् चिन्ताको तह व्यापक छ र सो चिन्ताको वर्णनभन्दा माथि उठेर निदानबारे चिन्तन भने नगरिएको अनुभूत हुन्छ। अर्थात् वर्तमान सामाजिक मनोविज्ञानबाट निर्देशित छन् लघुकथा। सामाजिक मनोविज्ञान भनेको ठाउँ, समय, परिवेश सापेक्ष हुन्छ। अर्थात् सभ्यता, संस्कृति, परम्परा, चलन, मान्यता आदिलाई आधार बनाइन्छ सामाजिक मनोविज्ञानमा। समाज परिवर्तनका लागि ती सामाजिक मान्यताको भञ्जन जरुरी हुन्छ। यो बुँदामा लघुकथाहरूले खासै ध्यान नदिएको जस्तो लाग्छ।

आफैं बाँचेको संसारभन्दा बाहिर पनि धेरै विषयहरू हुन्छन्। तिनले समाजलाई कुनै न कुनै तरीकाले प्रभावित पारेकै हुन्छ। भौतिक, पराभौतिक, प्रविधि, मान्छेको दिमागको करामत आदि विषय पनि लघुकथाका उम्दा कथानक हुन सक्छन्। उत्तरआधुनिक तथा अत्याधुनिक चिन्तन पनि छन् संसारमा। तर कृतिका सामलले गाउँ छोडेका छैनन्। अर्थात् जिन्दगीलाई निश्चित घेराबाट बाहिर निस्केर दृष्टिबोध गर्न सकिएको छैन।

सामान्य विषयवस्तुमा पनि लघुकथाको निर्माण गरिएको छ। जसले कथ्यको प्रभावोत्पादनमा कमी ल्याएको महसुुस हुन्छ। टोपी लगाएर ठिटो भएको अनुभूति गर्ने मनोविज्ञानलाई पनि कथानक बनाइएको छ। आत्महत्याको कुरालाई प्रश्रय दिएको लघुकथा (स्वाभिमान २१) पनि छ। कतिपय लघुकथा सिनेमाको दृश्यसँग मिल्छ। कतिपय लघुकथा लोककथामा आधारित छन्। कतिपय लघुकथा उखानबाट प्रभावित छन्। प्रभावमा परेर लेख्नु झन् चुनौती हो। प्रभावलाई आफ्नो मौलिक बनाउने सिप अझै आवश्यक भएको देखिन्छ।

अब पुछनपाछनमा छु। र, फेरि लघुकथाकार दीपक समीपलाई सम्झँदै छु। सारमा, उनको यो कृति ‘नदीको राजमार्ग’ पढ्दा उनको शैली बेजोडको लागेको कुरा भन्न मलाई कुनै हिचकिचाहट छैन। उनको शैली सन्दर्भ वास्तवमै उम्दा छ। अनुकरणीय छ। कथ्यको बहावमा तीव्रताका साथ गतिमयता छ। नदीजस्तै सललल बग्छन्। सुन्दर गतिमयताका साथ ‘नदीको राजमार्ग’ लेखिएको छ। धेरै सुन्दर लघुकथाहरू छन्। समाजलाई नजिकबाट नियाल्न यो कृति धेरै उपयोगी छ। मलाई धेरै लघुकथा मन परेका छन्। तिनमा द्वन्द्व, कथानक, व्यङ्ग्य, सम्वाद र सन्देश सबै कुराले परिपूर्णता छ।

अब अन्त्यमा, समीपको सामिप्य पाइएला कुनै दिन। अहिलेलाई भने कृतिकार समीपको शिल्पलाई सलाम गर्दै कृतिको आशातीत सफलताको कामना गर्दछु।  

प्रकाशित: ६ जेष्ठ २०८१ ११:४२ आइतबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School