धितोपत्र बोर्डका नयाँ अध्यक्षले गर्न सक्लान् यी काम ?

धितोपत्र बोर्डका नयाँ अध्यक्षले गर्न सक्लान् यी काम ?


नेपालको सेयर बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डले बल्ल अध्यक्ष पाएको छ । यो पद सरकारले नियुक्त गर्ने कार्यकारी अध्यक्षको पद हो । यसको अर्थ उनी बोर्डको तलबी कर्मचारी पनि हुन् । सेयर बजारसँग सरोकार राख्नेले बोर्डको नेतृत्वमा आउनेलाई बजारको विकाससँग जोडेर नजिकबाट हेरिरहेको पाइन्छ ।

प्रविधिको तीव्र विकाससँगै लगानीकर्तामा परिवर्तनप्रतिको तीव्र आकांक्षा छ । यो अवस्थामा एक वर्ष, दुई वर्षपछि वा पाँच वर्षपछि के गर्नेभन्दा पनि भर्खरै, आज, दिनदिनै, एक साता, एक महिना, तीन महिनामा के गर्ने भनी छोटो अवधिका योजना लिएर सेयरको आक्रामक कारोबारी झैं यो संस्थामा आउने नेतृत्वले काम गर्नुपर्ने देखिन्छ । के बोर्डका यी नयाँ अध्यक्ष (सन्तोषनारायण श्रेष्ठ) ले तल सूचीकृत काम गर्न सक्लान्? यी कामले सेयर बजारलाई विकासको नयाँ गोरेटोमा दौडाउने छ ।

प्राथमिक बजार

१. प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने कम्पनीले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई अनिवार्य छुट्याउनुपर्ने सेयर व्यवस्था खारेज गर्ने र खुलामुखी म्युचुअल फन्ड निष्कासन र प्रवर्द्धनमा जोड दिने ।

२. सेयरको १० कित्ता बाँडफाँट नीतिलाई धितोपत्र ऐनमा नै व्यवस्था गरी सहजै परिवर्तन गर्न नसकिने बनाउने तथा सम्भव भए १० कित्ताभन्दा कम कित्ता बाँडफाँट गर्ने व्यवस्था गर्न गृहकार्य गर्ने । यस्तै बुक बिल्डिङ अन्तर्गतको न्यूनतम ५० कित्ता बाँडफाँट गर्ने व्यवस्थालाई न्यूनतम १० कित्ता बनाइ बाँडफाँट नीतिमा एकरूपता कायम गर्ने । अन्तमा बुक बिल्डिङको वर्तमान अपारदर्शी, मिलेमतोमा मूल्य सिर्जना गर्ने कानुनी व्यवस्था तत्काल खारेज गर्ने । आईपीओमा प्रिमियम गणनालाई बढी व्यावहारिक बनाउने ।

३. आईपीओमा भइरहेको अधिक माग सम्बोधन गर्न कम्पनीलाई पूँजी आवश्यकता भए अधिक बाँडफाँट (ओभर एलोटमेन्ट) को व्यवस्था गर्ने । कम्पनीले चाहे जारी गरेभन्दा बढी सेयर बाँडफाँट गर्न सक्ने व्यवस्था गर्ने । जुन व्यवस्था म्युचुअल फन्डमा छ ।

४. यस्तै सेयरको न्यूनतम अंकित मूल्य एक रुपैयाँ नै हुन सक्ने व्यवस्था गर्र्नेे । यसले सेयर संख्या बढाइ बजारमा कम सेयर संख्याका कारण हुने कर्नरिङ जस्ता समस्या समाधान हुन सक्ने छ ।

५. सेयर बजारमा नयाँ कम्पनी ल्याई बजार थप विविधीकरणयुक्त बनाउन धितोपत्र बोर्डले सम्भावित कम्पनीसँग छलफल गर्ने तथा नयाँ कम्पनी बजारमा ल्याउन मार्केटिङ गर्ने ।

६. म्युचुअल फन्डलाई हरेक महिना लाभांश बाँड्न सक्ने लचकता प्रदान गर्ने कानुनी व्यवस्था गर्ने । यस्तै जलविद्युत् लगायत कम्पनीमा पनि मासिक लाभांश बाँड्न सक्ने व्यवस्था लागु गर्न जोड गर्ने ।

७. कम्पनीले वर्षमा एकपटक बाँड्दै आएको लाभांश नेपाल राष्ट्र बैकजस्ता नियामकीय निकायसँग समन्वय गरी त्रैमासिक रूपमा बाँड्न सक्ने कानुनी लचकता व्यवस्था गर्ने ।

८. बिक्री नभएको हकप्रद सेयरका लागि नेप्सेको प्रणाली प्रयोग गरी देश–विदेश जहाँबाट पनि सहभागी हुने व्यवस्था गर्ने ।

९. उद्योग प्रभावित क्षेत्रका स्थानीयबासिन्दाका लागि छुट्याइने सेयर जिल्लाका सीमितभन्दा पनि प्रभावितलाई अनिवार्य छुट्याउने व्यवस्था गर्ने ।

दोस्रो बजार

१. दोस्रो बजारमा कम्पनीका सञ्चालक, संस्थापक तथा आधारभूत सेयरधनीको सेयर कारोबारलाई बढिभन्दा बढी पारदर्शी बनाइ बजारमा पारदर्शिता कायम गर्ने ।

२. सेयर ब्रोकरकहाँ कारोबार खाता खोल्दा जस्तो, कुनै कम्पनीमा संस्थापक रहे, सञ्चालक रहे, आधारभूत सेयरधनी भए त्यस्ता विवरण अनिवार्य खुलाउनुपर्ने र कारोबार गर्दा आफ्नो कारोबार खातामा अध्यावधिक गर्नुपर्ने व्यवस्था गर्ने । यी पदमा हुनेले गरेको कारोबार अनिवार्य नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रणालीमा अध्यावधिक गर्ने व्यवस्था गरी सर्वसाधारण जो कोहीले हेर्न सक्ने बनाउने । यसले कम्पनीभित्रका महत्त्वपूर्ण पदमा भएका वा बढी लगानी भएका सेयरधनीको कारोबार पारदर्शी बनाउँछ ।

सानो पूँजीलाई बजारमा आकर्षित गर्न एक कित्ता कारोबार वा फ्र्याक्सनमा हुने सेयर कारोबारमा लाग्ने नामसारी शुल्क हटाउने तथा ब्रोकर कमिसन घटाउने ।

३. इन्ट्रा डे कारोबार छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने र आज बेचेको सेयरको पैसाले तत्कालै पुनः सोही कम्पनीको वा चाहेको अन्य जुनसुकै कम्पनीको सेयर किन्न सक्ने बनाउने, तर आज बेचेको सेयरको पैसा भने हिसाबकिताब राफसाफ भएपछि मात्र खाताबाट झिक्न पाउने व्यवस्था गर्ने ।

४. लगानीकर्ता आफैं वा ब्रोकर जोसुकै माध्यमबाट कारोबार भए पनि दोस्रो बाजारमा कारोबार भइसकेपछि तत्काल त्यसको जानकारी एसएमएस, इमेल वा दुवैमार्फत लगानीकर्तालाई जानकारी दिने अनिवार्य व्यवस्था गर्न लगाउने । जसले कारोबारमा हुन सक्ने फ्रड नियन्त्रण गर्न सहयोग पुग्ने छ ।

५. सेयर बजारमा सानोभन्दा सानो पूँजीलाई आकर्षित गर्न तथा थोरै पूँजी वा पैसा हुनेले पनि चाहेका कम्पनीको सेयर किनेर पोर्टफोलियो बनाउन एक कित्ताभन्दा पनि कम (फ्र्याक्सनमा) सेयर किन्न पाउने व्यवस्था गर्ने । जसरी फ्र्याक्सनमा बोनस सेयर पाइन्छ ।

६. कम्पनीले बाँडेको नगद लाभांशबाट पुनः सोही कम्पनीको सेयर खरिद गर्न लगानीकर्तालाई प्रोत्साहन गर्न लाभांश पुनः लगानी (डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान) सुरुवात गर्न कानुनी व्यवस्था गर्ने । यसले लगानीकर्तालाई लामो समय सेयर होल्ड गर्न प्रोत्साहन गर्ने छ ।

७. कर्मचारी आफूले पाएको तलबको निश्चित प्रतिशत रकमबाट हरेक महिना सोही कम्पनीको सेयर कम्पनी मार्फत किन्न पाउने गरी कर्मचारी सेयर खरिद योजना (इम्प्लोइ सेयर पर्चेज प्लान) सम्बन्धी नियम बनाउने ।

८. संस्थापक र सर्वसाधारण सेयरको मूल्यमा गरिएको अन्यायपूर्ण व्यवहार अन्त्य गर्ने र मूल्यमा एकरूपता कायम गर्ने । यसले एउटै कम्पनीको सेयरको दुई फरक मूल्यको अवस्था अन्त्य गर्ने छ ।

९. सानो पूँजीलाई बजारमा आकर्षित गर्न एक कित्ता कारोबार वा फ्र्याक्सनमा हुने सेयर कारोबारमा लाग्ने नामसारी शुल्क हटाउने तथा ब्रोकर कमिसन घटाउने ।

१०. दोस्रो बजारमा दिइने कारोबार विवरणमा नेप्सेले संस्थापक र सर्वसाधारण सेयर कारोबारको विवरण उसको वेबसाइट मार्फत अनिवार्य दिनुपर्ने व्यवस्था गराउने । यस्तै नगद कारोबार, मार्जिन कारोबार र कुल कारोबारको अलग–अलग विवरण वेबपेजमा राख्नुपर्ने ।

सेयर ब्रोकर

१. प्राथमिक बजारमा मेचीदेखि महाकालीसम्म तथा विश्वभरि रहेका नेपाली (लगानीकर्ता) ले मेरो सेयरमार्फत आवेदन दिन पाउने भए पनि अझै पनि दोस्रो बजारमा उनीहरूको पहुँच पुग्न सकेको छैन । यी सबैको दोस्रो बजारमा पहुँच विस्तार गर्न बैंकका ब्रोकर कम्पनीलाई सोही बैकको शाखा मार्फत सेयर कारोबारमा सहजीकरण गर्न पाउने व्यवस्था गर्ने । क्षेत्रीय वा प्रादेशिक ब्रोकरको अवधारणा अन्त्य गर्ने ।

२. कम्पनी ऐनमा धितोपत्र व्यवसाय गर्ने सम्पूर्ण कम्पनी पब्लिक कम्पनी हुनुपर्ने अनिवार्य व्यवस्था भए पनि हालका ब्रोकर कम्पनीमध्ये केही मात्र पब्लिक कम्पनी छन् । कम्पनी ऐनको व्यवस्था अनुसार तत्काल सम्पूर्ण ब्रोकर कम्पनीलाई पब्लिक कम्पनी बनाउन निर्देश गर्ने । नबनाए अनुमतिपत्र निलम्बन गर्ने ।

३. सूचना सम्प्रेषणमा सेयर ब्रोकरलाई थप जिम्मेवार बनाउन उनीहरूका वेबपेज बढिभन्दा बढी सूचनामूलक बनाउन निर्देश गर्ने ।

४. सेयर कारोबारमा ब्रोकरले दिने कारोबार लिमिट थप व्यवस्थित गर्दै नगद वा मार्जिन कारोबार छुट्याई ब्रोकरले दिने लिमिटको व्यवस्था खारेज गरी कारोबार खातामा नगद ल्याएपछि र ल्याएजति मात्र सेयर किन्न पाउने व्यवस्था गर्ने । लगानीकर्तासँग पैसा नहुने तर ब्रोकरले अनियमित तरिकाले दिने लिमिटका कारण कम्पनीको सेयरमा नक्कली माग देखाइ मूल्यमा अप्राकृतिक प्रभाव पार्ने काम अन्त्य गर्ने । कोल्याटरल लोडमा ब्रोकरको अनियमितताको छानबिन गर्ने । यो प्रकारको कारोबारको अन्त्य गरी मार्जिन कारोबार कार्यान्वयनमा ल्याउने ।

५. खातामा सेयर भएमात्र बिक्री आदेश राख्न सकिने र खातामा पैसा भएजति मात्र खरिद आदेश राख्न पाउने व्यवस्था गर्ने । यसले सेयर बजारमा पारदर्शी मूल्य निर्माणमा सहयोग पुग्ने छ ।

६. सेयर मार्जिन कारोबार छिटोभन्दा छिटो ब्रोकर मार्फत सुरुवात गराउने, जसका माध्यमबाट सानोभन्दा सानो रकम, मानौं १० हजारसम्म पनि ऋण लिएर सेयर कारोबार गर्न चाहनेको पहुँचमा पुग्न सक्ने बनाउने र लगानीकर्ताले ब्रोकरको खाताबाट नै मार्जिन ऋणका लागि ब्रोकरलाई अनुरोध गर्न सक्ने प्रणाली विकास गर्ने । यसका लागि ब्रोकरकहाँ धाउनुपर्ने अवस्था नरहने गरी व्यवस्था गर्ने । यसको सुरुवात बैकका ब्रोकर कम्पनी मार्फत तत्काल सुरु गराउने ।

सीडीएस

१. सीडीएस कम्पनीले उसको वेबपेजमा एउटामात्र खाता भएको, दुइटा खाता भएको लगानीकर्ताको संख्या र जम्मा खाताको संख्या राख्नुपर्ने अनिवार्य व्यवस्था गर्ने । यस्तै व्यक्तिगत लगानीकर्ता र संस्थागत (कम्पनी) लगानीकर्ताको संख्या अलग–अलग राख्नुपर्ने व्यवस्था गर्ने । यसले बजारमा लगानीकर्ताको संख्यामाथि रहेको भ्रम हटाउन मद्दत गर्ने छ ।

२. सेयर धितो लिई ऋण लिनेलाई थप सहज बनाउन बैंकले नै मेरो सेयरमार्फत ऋण माग गर्नेको सेयर धितो रोक्काको अनुरोध निक्षेप सदस्य (डीपी) लाई पठाउने र डीपीले रोक्का राख्ने र त्यसको जानकारी तत्काल बैंकले पाउने व्यवस्था गर्ने । यसले ऋण लिनेहरू बैंक र निक्षेप सदस्यकहाँ दौडनुपर्ने समस्या अन्त्य गर्ने छ ।

३. एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर सार्न (बीओ टु बीओ) लाई थप सहज बनाउने । लगानीकर्ताले मेरो सेयर लगइन गरेर त्यहीँबाट यो प्रक्रियाका लागि अनुरोध गर्ने र डीपी र सीडीएस कम्पनीले प्राथमिकता अनुसार स्वीकृत गर्ने व्यवस्था मिलाउने । जस्तो, जन्म मिति, नागरिकता नम्बर, नाम, थरजस्ता विवरण मिलेको खण्डमा प्रक्रिया अगाडि बढ्ने व्यवस्था गर्ने । यसले लगानीकर्ता डीपी र सीडीएस कम्पनीमा दौडनुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।

४. प्यान नलिएका लगानीकर्तालाई डिम्याट खाता खोल्दा सोही स्थानबाट प्यान पनि लिन सक्ने वा लिइदिनुपर्ने प्रणालीको विकास गर्ने ।

५. बैंकबाहेक अन्य संस्था जस्तो, ब्रोकरकहाँबाट डिम्याट खाता खोल्दा सोही डीपीले आफ्नो प्रणालीबाट बैंकलाई सीआरएनको अनुरोध गरिदिने र सीआरएन लिइदिने व्यवस्था गर्ने । यसले डिम्याट खाता खोलेर सीआरएन लिन बैंकतर्फ दौडनुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।

डिम्याट खातामा वर्षभरिको सेयर कारोबारको नाफा–नोक्सानको समेत विवरण रहने व्यवस्था गरी कर गणनामा घाटालाई समेत समायोजन गर्न सक्ने व्यवस्थाका लागि सीडीएस, अर्थ मन्त्रालय र कर कार्यालयबीच समन्वय गर्ने ।

६. डिम्याट खातावालाका विवरण परिवर्तन हुने र नहुनेमा विभाजन गरी मेरो सेयरमार्फत बढिभन्दा बढी सूचना जस्तो, ठेगाना, इमेल, फोन आदि खातावाला आफैंले अध्यावधिक गर्न सक्ने बनाउन निर्देश गर्ने ।

७. बिक्री नभएको हकप्रद सेयर सम्पूर्ण लगानीकर्ताको पहुँचसम्म पुर्‍याउन मेरो सेयरमार्फत अनलाइन बिडिङको व्यवस्था गर्ने ।

८. कम्पनीले दिएको नगद लाभांश बैंकमा जम्मा भए पनि मेरो सेयरमा पनि त्यसको रेकर्ड हुने व्यवस्था गर्ने । यो विवरणका आधारमा वर्षभरिमा सेयरबाट कति लाभांश प्राप्त भयो भन्ने गणना गर्न सजिलो होस् र ऋण लिनेलाई वा अन्य कुनै प्रयोजनका लागि उक्त विवरण प्रिन्ट गरी आम्दानीको स्रोतको डकुमेन्टका रूपमा प्रयोग गर्न सकियोस् ।

९. कम्पनी सञ्चालकको चुनावमा लगानीकर्ताले मेरो सेयरमार्फत भोट दिन पाउने व्यवस्था गर्न सीडीएसलाई निर्देश गर्ने र कानुनी सहजताका लागि पहल गर्ने । सञ्चालक शिक्षाको अनिवार्य व्यवस्था गर्ने ।

१०. डिम्याट खातामा वर्षभरिको सेयर कारोबारको नाफा–नोक्सानको समेत विवरण रहने व्यवस्था गरी कर गणनामा घाटालाई समेत समायोजन गर्न सक्ने व्यवस्थाका लागि सीडीएस, अर्थ मन्त्रालय र कर कार्यालयबीच समन्वय गर्ने ।

११. डिम्याट खातामा हुने हरेक गतिविधि जस्तो, आईपीओ, बोनस, हकप्रद, किनेको सेयर जम्मा हुँदा जानकारी तत्काल इमेल वा एसएमएसमार्फत खातावालालाई दिनुपर्ने अनिवार्य व्यवस्था गर्ने । जुन यसअघि सुरु गरेर निरन्तरता नदिई सीडीएस कम्पनीले लगानीकर्तालाई झुक्याएको थियो ।

१२. विदेशमा बसेका नेपालीलाई विदेशबाटै डिम्याट, बैंक खाता, कारोबार खाता खोल्न र कनेक्ट आईपीएसको सेवासम्म प्राप्त गर्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग समन्वय गर्ने । यसरी खोलेको खातामा खातावालाले पैसा जम्मा गर्न र कनेक्ट आईपीएसमार्फत ब्रोकरलाई मात्र भुक्तानी गर्न सक्ने बनाउने र सोही व्यक्ति नेपाल आई सम्बन्धित बैंकमा उपस्थित भएर खाताको बन्देज हटाउन अनुरोध गर्न सक्ने व्यवस्था गर्न पहल गर्ने । यसले विदेशमा बस्ने नेपालीबीच सेयर बजारमा लगानी गर्न पहुँच विस्तार हुने, रेमिट्यान्स आउने र सेयर कारोबार बढ्ने हुन्छ ।

१३. सेयर किनबेच गर्दा लगानीकर्ताले तिर्दै आएको चर्को डीपी शुल्कलाई ५ रुपैयाँसम्म झार्ने गरी कानुनी परिवर्तन गर्ने गराउने ।

सूचना प्रणाली

१. कम्पनीहरूले प्रकाशित गर्ने सेयर बजारसँग सम्बन्धित सूचना एउटै प्रणाली मार्फत प्रेषित तथा प्रसारण गर्न एकीकृत सूचना प्रणाली सुरुवात गर्ने । उदाहरणका लागि बोर्डले आफ्नै प्रणाली (वेबसाइट) को विकास गर्ने छ, जसमा सेयर जारी गरेका तथा गर्न निवेदन दिएका सबै कम्पनीले जारी गर्ने सूचना जस्तो, वित्तीय विवरण, लाभांश घोषणा आदि अपलोड गर्नेछन् र सूचनामा विश्वसनीयता कायम हुन गई लगानीकर्ताले चाहेका बखत चाहेको सूचना प्राप्त गर्न सक्नेछन् । यसबाट लगानीकर्ताले एकै स्थानबाट आधिकारिक सूचना पाउनेछन् ।

२. सेयर बजारमा हुन सक्ने भित्री कारोबार कम गर्न हरेक सूचीकृत कम्पनीले गर्ने महत्त्वपूर्ण निर्णय उदाहरणका लागि लाभांश घोषणा शुक्रबार मात्र गर्ने अनिवार्य व्यवस्था गर्ने । यस्तै राष्ट्र बैंकको मौद्रिक नीति पनि शुक्रबार मात्र जारी गर्ने अनिवार्य व्यवस्था गर्न राष्ट्र बैंकसँग समन्वय र पहल गर्ने ।

३. सेयर बजार प्रभावित गर्ने कुनै निर्णय गर्ने महत्त्वपूर्ण बैठक भए त्यस्तो बैठकको जानकारी कम्पनीले अनिवार्य नेप्सेलाई दिनुपर्ने र बैठक सुरु हुनुअघि र निर्णय सार्वजनिक भएपछिको एक घण्टासम्म सम्बन्धित कम्पनीको कारोबार रोक्ने व्यवस्था गर्ने । यसले सूचना दुरुपयोग कम हुन जान्छ भने सूचना आइसकेपछि कारोबार खुल्नुअघि धरैलाई थाहा हुन जान्छ ।

४. कम्पनीले हकप्रद सेयर जारी गरे मेरो सेयरमा इमेल ठेगाना भएका तथा फोन नम्बर उल्लेख भएका लगानीकर्तालाई उनीहरूसँग सेयर भएको कम्पनीको हकप्रद सेयर खुलेको जानकारी सेयरधनीलाई अनिवार्य पठाउने व्यवस्था गर्ने । यसले हकप्रद सेयरमा भइरहेको कम आवेदनलाई सुधार गर्न मद्दत गर्ने छ ।

५. लगानीकर्ताले डिम्याट खाता खोल्दा, ब्रोकरकहाँ कारोबार खाता खोल्दा तथा लगानी व्यवस्थापककहाँ लगानी सम्बन्धी खाता खोल्दा त्यसको सञ्चालन प्रक्रिया, शुल्क, कमिसन, नवीकरण सुरक्षा, पासवर्ड रिसेट, कारोबारमा लाग्ने कर, हिसाबकिताब राफसाफ आदि विवरण समेटेर बनाएको संक्षिप्त जानकारी विवरण खाता खोल्नासाथ सेवाग्राहीलाई कागजै वा इमेलमा पठाउने बाध्यात्मक व्यवस्था गर्ने । यसले लगानीकर्ता शिक्षामा सहयोग पुग्ने छ ।

६. लगानीकर्ताको व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयता सम्मान गर्दै कानुनी व्यवस्था गर्ने ।

७. कम्पनीले सेयर बजार सम्बन्धी दिने सूचना सम्प्रेषण गर्ने तरिकामा एकरूपता कायम गर्न मापदण्ड तयार गरी तत्काल लागु गर्ने–गराउने ।

८. लगानीकर्तालाई चाहिने केही सूचना जस्तो, सञ्चालक, व्यवस्थापन टिम, संस्थापक सर्वसाधारण सेयर अनुपात, वित्तीय विवरण तथा लाभांश सम्बन्धी संक्षिप्त विवरणको मापदण्ड बनाई उक्त विवरण हरेक कम्पनीले उसको वेबसाइटमा राख्नैपर्ने व्यवस्था गर्ने । यो संक्षिप्त विवरणले लगानीकर्तालाई धेरै हदसम्म सुसूचित हुने अवसर प्रदान गर्छ ।

९. हरेक कम्पनीले सञ्चालक र व्यवस्थापन प्रमुखको योग्यता र अनुभव सहितको प्रोफाइल उसको वेबसाइटमा राख्नैपर्ने व्यवस्था गर्ने ।

शिक्षा

१. धितोपत्र व्यवसाय गर्ने संस्था जस्तो, ब्रोकर, मर्चेन्ट बैंक, लगानी व्यवस्थापक तथा नियामक धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका हरेक कर्मचारीले नेपाल धितोपत्र बोर्डले तोकेको प्रणालीमा गएर स्वयं र सम्बन्धित कम्पनी तथा निकायले तोकेको विवरण भरी अनिवार्य दर्ता गर्ने व्यवस्था गर्ने ।

२. धितोपत्र व्यवसाय गर्ने संस्थाका कर्मचारी तथा नियामक धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सम्पूर्ण तहका कर्मचारीले धितोपत्र बजार, बैंकिङ, अर्थतन्त्र सम्बन्धी न्यूनतम ज्ञान अनिवार्य लिएको हुनुपर्ने व्यवस्था गर्ने । यस्तो ज्ञानको परीक्षा धितोपत्र बोर्डले तोके बमोजिम तोकिएको प्रणालीबाट दिनुपर्ने र त्यसको प्रमाणपत्र बोर्डको प्रणालीमा अध्यावधिक गर्नुपर्ने ।

नेपाल धितोपत्र बोर्डको प्राविधिक परिवर्तनमा लगानी बढाइ बजारको आधुनिकीकरण, अनुसन्धान, पारदर्शिता र लगानीकर्ताको हकको रक्षाका लागि थप व्यवस्था गर्ने ।

३. धितोपत्र व्यवसाय गर्ने संस्थाका कर्मचारी तथा नियामक धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सम्पूर्ण तहका कर्मचारीले धितोपत्र बजार, बैंकिङ, अर्थतन्त्र सम्बन्धी न्यूनतम ज्ञानमा अध्यावधिक हुन हरेक वर्ष बोर्डले तोके बमोजिमको अध्यावधिक परीक्षा अनलाइनमार्फत दिनुपर्ने व्यवस्था गर्ने ।

४. लगानीकर्ता शिक्षालाई बढिभन्दा बढी प्रभावकारी बनाउन धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, ब्रोकर, सीडीएस कम्पनी, लगानी व्यवस्थापक, म्युचुअल फन्डलाई आ–आफ्नो क्षेत्रको शिक्षामा बढिभन्दा बढी जिम्मेवार बनाउने । र, नेपाल राष्ट्र बैंक, बिमा समिति, समेतसँग सहकार्य र समन्वय गरी संयुक्त पहलमा वित्तीय साक्षरता सम्बन्धी अलग्गै वेबसाइट चलाउने पहल गर्ने ।

धितोपत्र बोर्ड

१. नेपाल धितोपत्र बोर्डको प्राविधिक परिवर्तनमा लगानी बढाइ बजारको आधुनिकीकरण, अनुसन्धान, पारदर्शिता र लगानीकर्ताको हकको रक्षाका लागि थप व्यवस्था गर्ने ।

२. लगानीकर्ताका गुनासा, समस्या बुझ्न, सुन्न र समाधानका लागि लगानीकर्तालाई बोर्डसमक्ष गुनासा र समस्या राख्न प्रोत्साहित गर्ने ।

३. धितोपत्र बोर्डको अनुसन्धान विभागलाई बढिभन्दा बढी व्यवस्थित गर्ने, जसले बजारका समस्याबारे अध्ययन गरोस्, लगानीकर्ताका समस्याबारे अध्ययन गरोस्, कानुनी जटिलता र समस्याबारे अध्ययन गरोस्, नयाँ वित्तीय औजार (लगानीका विकल्प) बारे अध्ययन गरोस्, जसका लागि बजारका सहभागी जस्तो, ब्रोकर, लगानीकर्ता, मर्चेन्ट बैंक, स्टक एक्स्चेन्ज, सीडीएस कम्पनी आदिसँग नियमित छलफल र अन्तक्र्रिया गरी समस्या, आवश्यकता थाहा पाउने काम गरोस् र समाधान सिफारिस गरोस् ।

४. राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिस्ट्रार, विद्युत् नियमन आयोगसँग समन्वय गरी सेयर बजारसँग सम्बन्धित असमान नियम कानुन वा बाझिएका कानुनमा एकरूपता कायम गर्ने ।

५. ब्रोकर, मर्चेन्ट बैंक, लगानी व्यवस्थापक टाट पल्टेका कारण हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्ता संरक्षण कोषको व्यवस्था गर्ने ।

६. लगानीकर्ताले सेयर ब्रोकरसँग हुने पैसाको कारोबार जोखिम न्यूनीकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण निगमसँगको सहकार्यमा बैंकमा राखेको पैसाको बीमा गरे झैं लगानीकर्ताले ब्रोकरलाई दिएको तर सेयर प्राप्त गरिनसकेको वा ब्रोकरसँग भएको लगानीकर्ताको पैसाको अनिवार्य बीमा गर्ने निर्देशन जारी गर्ने ।

७. धितोपत्र बोर्ड सञ्चालक समितिमा विभिन्न संस्था जस्तो, उद्योग वाणिज्य संघ, राष्ट्र बैंक आदिबाट हुने प्रतिनिधित्वलाई स्थायी रूपमै हटाउन धितोपत्र ऐन संशोधन गर्न पहल गर्ने ।

८. धितोपत्र बजारसँग सम्बन्धित संस्थाका कर्मचारीको एकीकृत आचारसंहिता जारी गर्ने ।

९. सेयर बजारमा लगानीका नयाँ विकल्प जस्तो, ईटीएफ, इन्डेक्स फन्ड, सर्टसेल, बन्ड इन्डेक्स फन्ड जस्ता विकल्पका लागि आवश्यक नियम कानुन बनाउने । सरोकारवालासँगको छलफल र अन्तक्र्रिया मार्फत आवश्यक नयाँ विकल्प सिर्जना गर्ने र कानुन बनाउने ।

१०. सेयरको ओटीसी बजार्र थप व्यवस्थित गर्न थप कानुन बनाउने र नेप्सेको सूचीकरण प्रक्रिया पूरा गर्न नसक्ने कम्पनीले ओटीसी मार्फत कारोबार गर्न प्रोत्साहित गर्दै ओटीसीको अनलाइन कारोबार सुरुवातका लागि आवश्यक कानुनी व्यवस्था गरी कालोपाटीमा लेखेर कारोबार गर्ने अवस्था अन्त्य गर्ने । यसमा सर्वसाधारणको पहुँच विस्तार गर्ने ।

११. धितोपत्र बजारमा १ लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ काम गर्ने, आवश्यक अनुसन्धान गर्ने र अन्य संस्थासँग समन्वय गर्ने ।

१२. हरेक सेयरधनीको विवरण अध्यावधिक गर्न, सम्पर्कमा नआएका वा लाभांश बुझ्न नआएका, सेयर डिम्याट नगराएका सेयरधनी खोजी गर्न सूचिकृत कम्पनीलाई अलग्गै निर्देशन जारी गर्ने । कम्पनीसँगको सहकार्यमा यस्ता हराएका सेयरधनी खोजी गर्ने धितोपत्र बोर्डमा अलग्गै विभाग स्थापना गरी उनीहरूको सम्पत्ति खोजी गरिदिने तथा स्थानीय निकायको सहकार्यमा त्यस्तो सम्पत्ति हस्तान्तरणको पहल गर्ने । यसबाट सेयर बजारमा थप रोजगारी सिर्जना गर्ने काम गर्न सकिन्छ ।

१३. नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाइ अत्याधुनिक सुविधा सहितको एक्स्चेन्ज स्थापनामा जोड गर्ने ।

(लेखक भट्टराई सेयर बजार विश्लेषक हुन्।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School