धार्मिक प्रवचन : अमृतमा विष मिसाए के हुन्छ ?

धार्मिक प्रवचन : अमृतमा विष मिसाए के हुन्छ ?


तीज नजिकिंदै छ । मलाई याद छ, तीजको समय छोरी–चेली लिन जाँदा भदौरे भेलमा धेरै बुबा, दाजुभाइले जोखिम मोल्थे । नौडाँडा पारि दिएकी छोरी लिन जाँदा थुप्रै खोला तरेर जानुपथ्र्यो, कतिबेला भदौरे भेल आउँथ्यो, पत्तै हुँदैनथ्यो । कतिको माइती लग्थ्यो, कतिको चेली ।

यो प्रसंग किन जोड्न खोजिएको हो भने तत्कालीन समयमा खोलामा पुल थिएनन् । विभिन्न कठिनाइका बाबजुद खोला तर्नुपर्ने बाध्यता थियो । विकल्प थिएन । तर अब समय बदलियो । खोलामा पुल बने । तर हामीले तत्कालीन समयमा खोला तरेर जाने प्रचलन थियो भन्दै पुलबाट नगई त्यही खोला तरेर जाने दुस्साहस गर्‍यौं भने के होला ?

सामाजिक सञ्जालमा यति बेला निकै चर्चा पाएको प्रसंगबाट अघि बढ्न चाहन्छु । विषय देवी प्रतिभाको प्रवचन । पशुपतिको कोटिहोममा उनको प्रवचनले राम्रै चर्चा पायो । त्योभन्दा बढी चर्चा उनको सुन्दरता र सुरक्षामा खटिएका बडीगार्डको भयो ।

योसँगै उनले सम्बन्धविच्छेदका विषयमा दिएको प्रवचनले पनि सामाजिक सञ्जाल निकै तात्यो । मलाई पनि उनका अरू विषयसँग खासै सरोकार रहेन । हजारौं भक्तजनको अघि सम्बन्धका बारेमा दिएका वाणीले भने सोचमग्न बनायो । उनले दिएको प्रवचनमा पुरुष प्रधानता र महिला निरीहताको बढावा थियो ।

धेरैको बुझाइ थियो– धर्मको व्याख्यालाई बढाइँचढाइ गरेर बुझिनुहुँदैन । जे शास्त्रमा छ, त्यही भनिन् । महिलाको शत्रु महिला भन्ने भाष्य स्थापित गर्न खोजियो । धर्म र अध्यात्मले निःसन्देह सकारात्मक कुरा परिकल्पना गर्छ । पारिवारिक विखण्डनको कल्पना गरेको हुँदैन ।

धार्मिक प्रवचन एक शक्तिशाली उपकरण हो । यस्ता कार्यक्रमबाट विचारलाई प्रवाह गर्दै, समर्थन जुटाउन र प्रेरणा फैलाउन महत्वपूर्ण भूमिका खेल्दछ । बोली वा भाषणले व्यक्तिको विचार, धारणा र व्यवहारमा प्रभाव पार्ने क्षमता राख्छ । प्रभावशाली बोलीले मानिसहरूलाई प्रेरित गर्न र जागरूक बनाउन सक्छ । त्यसैले कहीं कतै एक रुपैयाँ दान नगर्नेहरू पनि यस्ता प्रवचन सुनेर करोड दान गर्न लालायित भएको हामी देख्छौं ।

जब परम्परागत र सांस्कृतिक मान्यताहरूमा असमानताको विष मिसाइन्छ, यसले समाजमा असमानता र अन्याय फैलाउँछ । अमृतमा विष मिसाउँदा, अमृतको गुण नष्ट हुन्छ र विषको हानिकारक प्रभाव बढ्छ

उनले बोलेको कुरामा सत्यता होला । परिवार नबिग्रियोस् भन्ने भावना होला, तर त्यसो भनिरहँदा उनले त्यो पुरुषको ठाउँमा महिलालाई किन राखेर व्याख्या गरिनन् ? सम्बन्ध जोगाउने जिम्मा के महिलाको मात्र हो ? एउटा पुरुषसँग महिला एक, दुई चोटि कहीं कतै चिया पसलमा देखे मात्र चरित्रहीनको आरोप लगाएर परिवारबाट तिरस्कृत र बहिष्कृत हुनुपर्ने यो समाजमा पुरुषका हजार अवगुणलाई सहेर सम्बन्ध जोगाउनुपर्ने जिम्मा महिलाको मात्रै हो ?

एकथरीले देवी प्रतिभाको सौन्दर्यसँग उनको मिठो बोलीलाई मात्र प्राथमिकतामा राखेर बहस गरे भने अर्काथरीले उनले दिएको सन्देश र समाजमा त्यसले पार्ने दीर्घकालीन असरबारे पनि धारणा राखे । स्वाभाविक पनि हो । यो समाजमा एकथरीले आफूलाई शक्तिशाली ठान्दै अर्को वर्गलाई सधैं कमजोर र निरीह बनाउन उद्यत छ ।

यो बहस एउटा अवसर पनि हो । समाजमा लैंगिक समानता र सम्बन्धमा पारस्परिक जिम्मेवारीको महत्वका बारेमा छलफल गर्ने । परम्परागत दृष्टिकोणले महिलालाई संयमित, सहनशील र परिवारको केन्द्रबिन्दु मान्छ । यस्तो धारणाले महिलाको आत्मसम्मानमा नकारात्मक प्रभाव पार्न सक्छ । उनीहरूले सधैं सहनशील र सम्झौतामा रहनुपर्ने दबाब महसुस गर्न सक्छन् भने पुरुषहरूले आफूलाई सम्बन्धमा उच्च भूमिकामा भएको ठान्दछन् । जसले शक्ति–सन्तुलन बिग्रिन सक्छ ।

श्रीमान्का हजार अवगुुण भए पनि सहनुपर्छ भन्ने भनाइले एक वर्ग सधैं भय र त्रासको जिन्दगीमा पुरुषलाई समर्पण गरेर निरीह जीवनको कल्पना गर्दछ । कुनै दिन श्रीमान्को हातबाट मृत्युवरण भयो भने स्वर्ग गइन्छ भनेर कुनै धार्मिक प्रवचनमा भनियो भने पनि यहाँ सत्य हो भन्दै ताली पिट्ने जमात यसरी नै अगाडि आउनेछ ।

हरेक दिन पासोमा झुण्डिएका, विष सेवन गरेका र खोलामा हाम फालेका दृश्यले न कसैलाई छोएको छ न कसैले त्यसको कारणको खोजी गरेको छ । केवल महिलाको चरित्र माथि हजारौं प्रश्न उठाएर लास माथि पनि इज्जतको धावा बोलिरहने समाजका पात्रको सोच बदल्न पक्कै सहज छैन ।

सती प्रथा जस्तै परम्परागत र सांस्कृतिक मान्यताहरूमा लैङ्गिक असमानताको विष मिसाउँदा समाजमा असमानता र अन्याय फैलाउँछ । सती प्रथामा, महिलालाई पतिको मृत्युपछि जिउँदै जल्न बाध्य पारियो । जसले उनीहरूको जीवन स्वतन्त्रता र मानवअधिकार हनन् अनि आत्मसम्मानलाई नष्ट गरेको थियो ।

यस्ता उदाहरणले महिलाहरूलाई सधैं अन्यायपूर्ण व्यवहार सहनुपर्ने मानसिकतामा राख्दछ । सीताको अग्निपरीक्षा यस्तै अन्यायपूर्ण परम्पराको एक उदाहरण थियो । यस्ता परम्पराले महिलालाई सधैं साक्षात्कार र परीक्षणको सामना गर्नुपर्ने दबाब दियो तर यी ठाउँमा पुरुषले कहिल्यै प्रश्नको सामना गर्नु परेन ।

अहिले लैंगिक समानताको आन्दोलन अघोषित रूपमा चलिरहेको छ । अझ धार्मिक प्रवचनमा हुने यस्ता विभेदी भनाइले झनै ठूलो अर्थ राख्छ । समानता र न्यायको दृष्टिकोणबाट हेर्दा, सम्बन्ध जोगाउने जिम्मेवारी केवल महिलामाथि मात्रै राख्नु उचित छैन । यो जिम्मेवारी पुरुष र महिलाबीच समान रूपमा बाँडिनुपर्छ । पुरुषलाई पनि सम्बन्धमा जिम्मेवारी लिने, सहयोगी र समर्पित हुन प्रोत्साहित गर्नुपर्छ ।

समकालीन समाजमा, लैंगिक समानताको महत्वलाई बढ्दो रूपमा मान्यता दिइएको छ । सम्बन्धहरू पारस्परिक सहयोग र सम्मानमा आधारित हुनुपर्छ भन्ने धारणा छ । यो दृष्टिकोणले सम्बन्धलाई सुदृढ र स्वस्थ बनाउन मद्दत गर्छ ।

गलत कुराको समयमै खण्डन भएन भने यसले निरन्तरता पाउँछ, आउने पुस्ताले त्यही सिक्दै जान्छ । तसर्थ भविष्यका धार्मिक प्रवचनहरूले लैंगिक समानतालाई समेट्न र पारस्परिक जिम्मेवारीको महत्वलाई प्रोत्साहन गरुन् भन्न पनि यी बहसलाई सकारात्मक रूपमा लिनुपर्छ । धार्मिक वाचकहरूले समसामयिक परिप्रेक्ष्यलाई ध्यानमा राखेर प्रवचन दिने हो भने समाजमा समानता र समृद्धिको मार्ग प्रशस्त हुन जान्छ । समाजलाई सन्तुलित र न्यायपूर्ण बनाउन मद्दत पुर्‍याउँछ ।

विचारकहरूले समानता, न्याय र अधिकारको पक्षमा काम गर्दै आएको पनि हामीले पाएका छौं । केही उदाहरण हेर्ने हो भने महात्मा गान्धीले हिन्दू धर्मका सिद्धान्तहरू विशेषगरी अहिंसा र सत्याग्रहलाई आफ्नो राजनीतिक र सामाजिक आन्दोलनमा समाहित गरे । समाजमा हिंसा विरुद्धको जनचेतना पनि बढाए, गौतम बुद्धले आफ्ना प्रवचनहरू मार्फत अहिंसा, करुणा र समभावको शिक्षा दिए ।

सत्य साई बाबाका प्रवचनहरूले लाखौं अनुयायीलाई प्रेरित गरेका छन् । मार्टिन लुथर किङ जुनियरले बाइबलका शिक्षाहरू र इसाई धर्मको सिद्धान्तहरूलाई आफ्ना प्रवचन र आन्दोलनमा समाहित गरे । उनका प्रवचनहरूले अमेरिकी समाजमा भेदभावको न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

यी ऐतिहासिक र समकालीन उदाहरणहरूले देखाउँछन् कि धार्मिक प्रवचनहरूले समाजमा सामाजिक परिवर्तनमा कति ठूलो भूमिका खेल्छ भनेर । अधिकांश महिला मन्त्रमुग्ध भएर सुनिरहेको प्रवचनमा महिलालाई ‘श्रीमान्का तमाम अवगुणलाई नजरअन्दाज गरेर सम्बन्ध जोगाइराख’ भनेर दिने उपदेशले कानुन र मानवअधिकारको नै धज्जी उडाउने काम गरेको छ । धर्मले समभाव र समन्यायलाई जोड दिन्छ; असमान र विभेदलाई होइन ।

जब परम्परागत र सांस्कृतिक मान्यताहरूमा असमानताको विष मिसाइन्छ, यसले समाजमा असमानता र अन्याय फैलाउँछ । अमृतमा विष मिसाउँदा, अमृतको गुण नष्ट हुन्छ र विषको हानिकारक प्रभाव बढ्छ । समाजमा अधिकांशले रुचिपूर्वक सुन्ने प्रवचनमा विष मिसाउँदा त्यसको असर पनि नकारात्मक पर्छ ।

यसले महिलाहरूलाई कमजोर र असमान स्थितिमा राख्दछ, र समाजमा असन्तुलन ल्याउँछ । तसर्थ, धार्मिक प्रवचनहरूलाई विषमुक्त राख्न र समानता, न्याय र परस्पर सम्मानका सिद्धान्तहरूमा आधारित बनाउन जरूरी छ । नत्र पुल छोडेर खोला तर्न जाँदा आउने परिणाम जस्तै हुनेछ समाज ।

(शर्मा नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष हुन् ।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School