घटना क
“विवाह गरेको १६ महिना भएको थियो । म त्यो बेला २३ वर्ष भर्खरै लागेको थिएँ । २०६० साल माघ महिनाको त्यो रात, ११ बजेको थियो, ४ महिनाकी छोरी च्यापेर ओछ्यानमा पल्टेको मात्रै थिएँ । श्रीमान् अघिल्लो दिनदेखी नै घरमा हुनुहुन्नथ्यो । अज्ञात समूहले अपहरण ग¥यो रे भन्ने हल्ला टोलभरी थियो, मन बेस्सरी आत्तिरहेको थियो । ४ महिनाको बच्चा लिएर कता जानु, आत्तिएर मात्रै बसेको थिएँ । उजुरी गर्न पनि कहाँ जानु प्रहरीमा जाउँ माओवादीको डर, माओवादीमा जाउँ प्रहरीको । एक्कासी ढोकामा लात्ताले हानेको जस्तो आवाज के सुनेको थिएँ, ४–५ जना मेरो ओछ्यानमै आइपुगे । मलाई ओछ्यानबाटै थुतेर कतै लगियो । ४ दिनपछि थाहा भयो त्यो स्थान तत्कालिन गाविस भवन रहेछ । जुन मेरो घरभन्दा अन्दाजी ३ किलोमिटर पर थियो ।
कामै नभइ सकिँदै कार्ययोजनाको म्याद
मलाई त्यहाँको अध्यारो कोठामा थुनेर राखियो । दिन हो की रात मलाई थाहा भएन, एकदमै आत्तिएको थिएँ, छोरी कति रोइन् होला ?, श्रीमान् कहाँ होलान् ?, अब म त पक्कै बाँच्दिनँ होला, भन्ने लाग्यो । आवाज निकाल्न पाइदैनथ्यो, आँखा भने तेतिञ्जेल खुलै थियो । तर मलाई त्यहाँ ल्याउनेहरुले के लगाएका थिए, उनीहरु को थिए अध्याँरोको कारण मैले चिन्न सकिन, उनीहरु पनि आपसमा बोलिरहेका थिएनन् । अन्दाजी २ घण्टापछि अर्को महिलालाई उही शैलीमा उठाएर ल्याए, त्यही अन्धकार कोठामा थुनेर राखे, उनलाई कोठामा प्रवेश गराउनु अघि मेरो आँखामा पट्टी बाँधियो । उनले सानोसानो आवाज निकालेकी थिइन, मैले आवाजमा उ को हो चिन्न सकिन ?, तर केटी मान्छे हो भन्ने प्रस्टै चिने । हामीलाई आपसमा बोल्न दिइएन । उनीहरु पनि खासखुस मात्रै बोलेको सुनियो, कत्ति प्रयास गर्दा पनि बोलि चिन्न सकिएन ।
केहीबेर हामीमाथि शारिरीक हिंसा भएन, सामान्य अपशब्द बोलिरहेका थिए, कुटपिट पनि गरिएको थिएन । मलाई भने ४ महिनाकी छोरीको मायाले छाति चिरीएको थियो, दुध चुसाउन नपाउदाँ यसै धारा लागेर चोली भिजिरहेको थियो । सायद मध्यरात कटेको हुँदो हो, हामीमाथि पालैपालो १५ जनाजतिले यौन शोषण गरे । मन यसै शिथिल थियो, अब शरिर पनि पुरै शिथिल भयो, अब चाँही पक्का बाँच्दिन होला, श्रीमान्लाई पनि पक्कै यिनीहरुले नै मारे होलान्, छोरीको के हालत भो होला भन्ने भयो । जीवनको सबै आशाहरु पलपल मर्दै गए ।
घण्टौँसम्म लगातार यौन शोषण गरेपछि कतिबेला छोडे थाहा भएन, होस आउँदा पनि मेरो आँखामा पट्टी यथावत नै थियो । सायद अर्को महिलाको आखाँमा पनि पट्टी हुँदोहोला । त्यो रात हामी २ महिलामाथि दर्जनौँले बलात्कार गरे, तर ज्यूँदो बाँकी राखे । ज्यान बचेकोमा भने छोरी भेट्न पाउँछु कि भन्ने आशा पलायो । उज्यालोको किरण धर्तिमा छायो होला हामीले देख्न पाएनौ । तर जीवनको उद्वार हुन्छ कि भन्ने आशाको सानो किरण फिर्दै थियो, फेरि अर्को एक महिलालाई हामी दुई जना भएकै कोठामा ल्याइयो । त्यो रात यौन शोषणको पीडा उनले पनि खेपिन् । हामी २ जनाले त अघिल्लो रातबाटै खेपिरहेका थियौँ ।
तेस्रो रात मेरो नाम लिएर उनीहरुले भने “तेरो पोइलाई कोशीको गोहीले खाइसक्यो तँ पनि यही सड्ने हो” यो सुनेर म चिच्याउन खोजेँ तर आवाज निस्केन मुखबाट । श्रीमानको हत्या गरिएको आफूमाथि यौन शोषण भएको पीडा एकातिर छ, ४ महिने छोरी स्वास्थ्यमा समस्या हुने चिन्ताले झन् सताइरह्यो । गाविस भवनमा ३ रात ३ दिनसम्म राखेर कम्तिमा १५ जनाले हामी ३ जनालाई बलात्कार गरे, चुरोट सल्काएर शरिरको विभिन्न भागहरुमा झोसिदिए, त्यो पीडाले त अझैसम्म तर्साउँछ । हामी ३ जना थियौं । अरु २ जना बैनीहरु १८ र २० वर्षका रहेछन् । त्यो कुरा पछि मात्रै थाहा भयो । उनीहरु अविवाहित थिए, म छोरीको आमा ।
३ दिन ३ रात बिताएपछि हामी ३ जनालाई पालैपालो फरक फरक ठाउँमा लगेर रातको समयमा छोडियो । घरमा बसेको भेटिएमा, कतै उजुरी गरेमा फेरी यही घटना दोहो¥याउने धम्कि थियो । ज्यान बच्यो, तर अब कहाँ बस्ने अर्को समस्या प¥यो ।
द्वन्द्व चरमको बेला थियो, कसले अपहरण ग¥यो राज्यपक्ष वा विद्रोही पक्ष म त अन्योलमै थिएँ, कहाँ कसलाई उजुरी गर्नु ? बच्चा देवरलाई छोडेर टाढाको नाता पर्ने दिदीको घरमा शरण लिएर २१ दिन बसेँ । ती बैनीहरु कहाँ बसे थाहा भएन । माओवादीले श्रीमान् मारेको भन्ने खबर आयो, अनि थाहा भयो, म पनि माओवादीको शिकार भएको रहेछु । शान्ति सम्झौतापछि अरु दुई जना बैनीहरु जसले मसँगै यौन शोषण भोगे, उनीहरुलाई पनि चिनेँ ।
अहिले म द्वन्द्वमा श्रीमान् मारिएका परिवारको रुपमा चिनिन्छु तर मेरो पीडा त्यतिमा मात्रै सिमित छैन । जुन कुरा मैले भन्दै हिँड्ने कुरो पनि भएन । आफ्नो यो घटनाको ’boutमा पहिलो पटक तपाईंसँग भन्दैछु । आजसम्म मैले कसैलाइ भनेको थिइँन ।
श्रीमान्को नामको क्षतिपुर्ति त राज्यले दियो । शान्ति सम्झौतापछि बल्ल बाँच्न अलि सजिलो भयो । तर जीवन गुजार्न समस्या भो । जग्गा जमिन नहुनेलाई बाँच्न अझै कति समस्या छ ।
पीडामा केही मल्हम पट्टी लाग्छ कि भनेर २०७० सालमा अर्को बिहे गरेँ, तर नलाग्ने रहेछ मल्हम । आफूमाथि भएको शोषणको घटना भनेको पनि छैन । अहिलेको श्रीमानसँग राम्रै हुँदा पनि माओवादीले मारेको श्रीमान्कै याद आउँछ । झन् कहिले काहीँ ठाकठुक पर्दा पनि पहिलाको सँग त यस्तो परेको थिएन भनेर झन् यादले सताउने रहेछ ।
पढ्ने उमेरमा बाआमाले नै सुम्पेको व्यक्ति थिए उनी (पहिलो श्रीमान्) । मैले अर्को विवाह गरेपछि सहिद परिवार भन्ने परिचय पनि रहेन । सहिद परिवारले पाउने केही सेवासुविधा भए पनि नपाउने भएँ । आफैँले भोगेको कुरा त कहाँ गएर भन्नू र न्याय पाउनू ! हातखुट्टा केही भाँचिएको भए द्वन्द्व पीडित भइनेरहेछ । अध्यारो कोठामा राखेर हामी महिलामाथिको शोषण त कसले देख्ने ? कहाँ गएर भनेर न्याय खोज्नू र ?
मसँगै पीडा भोग्ने ती दुई बहिनीहरुले त झन् केही राहत पनि पाएनन्, न्यायको कुरा त कता गएर खोजे होला र ?
यो थियो, २०६० साल माघमा पर्सा जिल्लामा भएको घटनाको पीडित महिलासँग २०८१ चैतको दोस्रो सातामा गरिएको कुराकानीको सार । (सम्बन्धित व्यक्तिको पहिचान गोप्य राखिएको) ।
झण्डै चार घण्टाको बसाइ र कुराकानीमा उनले पटक पटक राज्यले आफूहरुमाथि परिपूरणको केही काम नगरेको बताइन् । सरकारको सुराकी मानेर माओवादीले दुख दिएको बताउने उनले शान्ति सम्झौतापछि २०७० फागुनमा माओवादी कार्यकर्तासँगै नै विवाह गरिन् । आगोले डामेको घाउँ आगोमै सेकाउने हिम्मत गरेको हुँ, उनी भन्छिन् “राज्यले त के ग¥यो खै ! पार्टीले पनि बुहारी स्वीकार्नु बाहेक मलाई र म जस्ता दिदीबहिनीको लागि केही गरेन ।” बिहेपछि उनी मकवानपुर आएकी हुन् ।
घटना ख
श्रीमान्को खोजीमा मनमाया २० वर्षदेखि
पर्खाइ अर्थात् प्रतिक्षाको पल कति पीडादायी हुन्छ, मकवानपुर जिल्ला मनहरी गाउँपालिका ७ रमनटारकी ७१ वर्षीया मनमाया तामाङलाई थाहा छ । उनी २० वर्षदेखि सेनाले लगेका श्रीमान् पर्खिरहेकी छिन् । एक मनले भन्छ, अब त कहाँ बाँकी हुनुहोला र? तर अर्को मन श्रीमान् छैनन् भन्ने पटक्कै मान्दैन । ७ चैत २०६१ मा घर नजिकैबाट हराएका मनमायाका ६० वर्षीय श्रीमान् कृष्ण तामाङको अझै पत्तो छैन । यसरी उनी बेपत्ता भएको यही चैत ७ गते २० वर्ष पुग्यो । कृष्ण जीवित छन् वा छैनन् थाहा छैन तर उनी श्रीमान् पर्खिरहेकी छिन् । सरकार ! मेरो लोग्नेको लास देखाइदेउ, कि सास, उनी भन्छिन्, “मैले मेरो लोग्ने कहाँ छ भनेको २० वर्ष भइसक्यो, कोही केही बोल्दैनन् !”
कृष्ण तामाङ धादिङ गजुरीबाट ५० को दशकको अन्तिमतिर मकवानपुरको रमनटारमा बसाइँ सरेर आएका थिए । त्यहाँ वन फाँडेर टहरा बनाए । ज्यालादारी र झारफुक गरेर परिवार पाल्दै आएका थिए । देशमा गृहयुद्ध चलिरहेकै समयमा एकदिन कामले गाउँतिर निस्किएका थिए । त्यसपछि फर्किन पाएनन् ।
५ मंसिर २०६३ मा शान्ति सम्झौतापछि युद्धबिराम भयो, देशमा शान्ति आयो भनियो तर यो मनमायाको मनमा कहिल्यै शान्ति आएको छैन । गाउँकै कबुलियती वन छेउको सडकबाट कृष्णलाई सेनाको गाडीमा हालेर लगेको त्यहाँ काम गर्ने सडक विभागका कर्मचारीले आफूलाई भनेको मनमाया सम्झिन्छिन् । “म श्रीमान् खोज्दै मनहरीको सुनाचुरी ब्यारेक पुगेँ, ब्यारेकका सेनाले फोटो मागे’ उनी भन्छिन्, ‘मसँग उहाँको एउटै तस्वीर थियो, जुन सेनालाई दिएँ । तर सेनाले श्रीमान् त होइन मसँग भएको त्यै एउटा फोटो पनि फिर्ता गरेन ।” अब मनमायासँग कृष्णको चिनोको रूपमा नागरिकतामा टाँसिएको एकथान श्यामश्वेत फोटो छ, जुन समयसँगै रङहीन भइरहेको छ ।
पानी चुहिने छाप्रोमा पाँच बालबच्चा सहित बस्थे उनीहरु । त्यही छाप्रोमा बच्चा छोडेर मनमाया श्रीमान्को खोजीमा चितवनदेखि हेटौंडा वर्षौँ धाइन् । श्रीमान् खोज्दै हिंडेको ८ महिनापछि छिमेकीले कृष्ण चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको बताए । मनमाया कसरा पनि पुगिन्, तर त्यहाँबाट पनि न जवाफ पाइन् न त मान्छे नै ।
घटना ग
१ मंसिर २०६० सालमा पर्सा जिल्लास्थित आफ्नै घरबाट पक्राउ परेका जगन्नाथ नेपालको दुई महिनापछि माघ २ गते हत्या भयो । द्वन्द्वको समयमा पटक पटक राज्यपक्षबाट गिरफ्तारीमा परेका जगन्नाथ १ मंसिरपछि घर फर्कन पाएनन् । माओवादी युद्धमा लागेको कारण उनलाई राज्यपक्षले गिरफ्तार गरेर हत्या गरेको पार्टीको दाबी छ । त्यसअघि जस्तै सुरक्षाकर्मीले गिरफ्तार गरे पनि सकुशल फर्कने गरेको उनी यसपटक पनि फर्किन्छन् भन्ने आशामा थिइन् जगन्नाथको श्रीमती विष्णुमाया नेपाल) । तर आशा सत्य भएन यसपटक ।
श्रीमान्को हत्यापछि उहाँको घरसहित १३ वटा घरमा आगजनी गरियो । त्यो घटनापछि पर्सा जिल्लाबाट विस्थापित भएर परिवारै मकवानपुरको हेटौडा आयो ।
अहिले ६२ वर्षकी भइन्, विष्णुमाया । उनी त्यतिबेला ११ वर्ष र १५ वर्षका २ छोराहरु लिएर पर्साको सबै भौतिक सम्पत्ति छोडेर हेटौंडा आइन् । २०५२ सालदेखि माओवादीमा लागेका जगन्नाथ, पाँच पटक जेल परे । पछिल्लो पटक जेल पर्दा कहाँ कुन जेलमा छन् विष्णुमायालाई थाहै दिइएन । दुई महिनापछि पार्टीले राज्यपक्षबाट मारेको पुष्टि ग-यो ।
शान्ति सम्झौतापछि विष्णुमाया स्थानीय शान्ति समितिमा पनि बसिन् । पीडितको परिपुरणका कुराहरु खुब भए तर काम के भए थाहै भएन उनलाई । राज्यले महिला शान्ति सुरक्षा सम्बन्धी राष्ट्रसंघ सुरक्षा परिषदको कुराहरु ल्याउछ तर कार्यान्वयन गरेकै छैन, उनको भनाइ छ । देशमा म जस्ता हजारौं महिलाहरु छन्, सबैको बिजोक मेरो जस्तै होला, जुन पार्टीको भए पनि राज्यपक्ष वा विद्रोही पक्ष जेजे भए पनि समस्या सम्बोधन गर्नुपर्ने हो किन गरिँदैन ?” उनको प्रश्न छ ।
“शान्ति सम्झौतापछि मार्लान् कि भन्नुपरेन तर जीवन गुजार्न अझै समस्या छ, “राज्यले यस’bout गहिरो गरी समाधान खोजोस् ।”
शान्तिकालपछिको अशान्त मन
पढ्ने बेलामा युद्धमा हिँडेका महिलाहरु अहिलेको संरचना र समयमा फीट हुन समस्या छ । “पूर्व लडाकु होस् वा कुनै पनि घटनाका पीडितहरु शैक्षिक रुपमा पछाडि छन्, अहिलेको राज्य व्यवस्थाले विधागत विज्ञ जनशक्ति खोजि गर्छ अनि पीडितहरुको माग सम्बोधन हुन सक्दैन” जनक्रान्तिका घाइते अपाङ योद्धा संघको केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष कृष्ण सुवेदी भन्छन् “जो जो आर्मीमा गए, उनीहरुको एक प्रकारको व्यवस्थापन भयो, तर जो जो अयोग्य भए वा स्वेच्छिक अवकाश रोजे उनीहरुको जीवन निर्वाहमै समस्या छ, नाजुक छ ।” हात खुट्टा नभएकाहरुको बाँच्ने आधार निर्माण गर्न राज्यको ध्यान केन्द्रीत नभएको सुवेदीको गुनासो छ । “पार्टी वा संघसंस्थाले हेर्ने आफ्नो ठाउँमा छ, तर राज्यले ध्यान दिएको छैन” उनले भने । राज्य आफ्नो दायित्वबाट पन्छिएको छ ।
विशेष गरी यौन शोषणको हकमा राज्यले चासो नै दिएको छैन, यौन शोषणलाई अपाङता नै मान्दैन, उसको पीडा झन् धेरै छ, झनै संवेदनशील छ, तर कुनै वर्गमा नै छैन । सुवेदीका अनुसार द्वन्द्वको समयमा घाइते भएका ५० जना हाल संघमा आवद्ध छन् । यौनहिंसा पीडितको हकअधिकारका लागि पनि संघले पनि केही गर्न सकेको छैन । “व्यक्तिगत सवाल भएकोले होला, संघमा यस’bout गुनासा, दाबि तथा उजुरी केही आएका छैनन” सुवेदीले भने “देखिने प्रकारको क्षतिको परिपुरणको लागि जस्तो यौन शोषणको सवाल सम्बोधन गर्न कठिन छ ।” यौन शोषणको सवाल सबैभन्दा पहिले सम्बोधन हुनु पर्ने सवाल हो भन्नेमा आफ्नो पनि मत रहेको उनले सुनाए ।
द्वन्द्वकालको समयलाई पत्रकारितामार्फत् प्रत्यक्ष रुपमा नियाल्दै आउनु भएको वरिष्ठ पत्रकार प्रताप विष्ट पनि द्वन्द्वको समयमा भएको घटनाहरुको पीडितलाई छुट्टै कोष बनाएर सम्बोधनको प्रयास नभएको बताउँछन् । “आफैं युद्धमा होमिएकाहरु केही राजनीतिमा सक्रिय छन्, पदमा पनि पुगेका छन्, तर परिवारको सदस्य गुमाएकाहरुको मनोबल उच्च बनाउने, पीडा भुलाउने काम भने भएको छैन” पत्रकार विष्टले भने । “आफन्त गुमेको पीडालाई भुलाउने मनोपरार्शको पाटोमा काम भएको छैन, जसले गर्दा पीडितहरुलाई विगतले तर्साइरहेको छ ।” अझ त्यो समयमा यौनहिंसामा परेका महिलाहरुले त घटना लुकाउनु परेका कारण त्यो बेलाको दुखाइ बल्झिदा परिवारकै अगाडि ऐयाअत्था समेत भन्न पाउँदैनन् । स्वास्थ्य उपचार, मनोपरामर्श तथा न्यायको कुरा त झन् कता हो कता ?
अधुरा उपलब्धि अझै अधुरै
सरकारले द्वन्द्वकालका महिलामाथि भएका हिंसा, यातना तथा यौनहिंसा जस्ता घटनाका पीडितको न्यायका लागि केही प्रयास गरेको देखिए पनि प्रभावकारी कार्यन्वयन नगरिँदा पीडितहरु पीडामै छन् ।
विश्व राजनीति तथा सशस्त्र संघर्षमा महिलाले द्वन्द्वको समय र त्यस पश्चातको संक्रमणकालीन अवस्थामा विशेष गरी महिला र बालिका विभिन्न प्रकारका हिंसा, विभेद र जोखिममा पर्ने गरेको हुदाँ सो को सम्बोधन गर्न तथा शान्ति निर्माणको प्रक्रियामा उनीहरूको सहभागिताको प्रर्वद्धन गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्बाट ३१ अक्टोवर, सन् २००० मा प्रस्ताव नं १३२५ पारित गरिएको थियो । साथै द्वन्द्व र त्यस पश्चातको संक्रमणकालीन अवस्थामा लैङ्गिक तथा यौनजन्य हिंसाका घटनाहरूबाट प्रभावित महिला र बालिकाहरूको सुरक्षा र पीडितहरूको विशेष आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट १९ जुन, २००८ मा प्रस्ताव नं १८२० पारित भएको थियो ।
यो प्रस्तावले विशेष गरी द्वन्द्वको समयमा महिला र बालबालिका माथि हुने यौनजन्य हिंसालाई रोकथाम गर्न, यौनजन्य हिंसामा शून्य सहनशिलता लागू गर्न र आम नागरिकहरूलाई यौन हिंसामा पर्न नदिन आवश्यक उपायहरू अपनाउने जस्ता विषयहरूमा जोड दिएको छ ।
नेपालको सन्दर्भमा पनि मुलुकको अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन तथा सशस्त्र संघर्षमा महिलाले निर्वाह गरेका भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि द्वन्द्वको समय र तत् पश्चातको संक्रमणकालीन अवस्थामा विशेष गरी महिला र बालबालिका विभिन्न प्रकारका हिंसा, विभेद र जोखिममा परेका छन् जसको अझै परिपूरण हुन सकेको छैन ।
सरकारले संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं १३२५ र १८२० राष्ट्रिय कार्ययोजना (२०६७–६८– २०७१–२०७२) को पहिलो कार्ययोजना ल्यायो र केही काम पनि सुरु भए ।
पहिलो कार्ययोजनाको अधुरा उपलब्धिहरुलाई पुरा गर्न दोस्रो काययोजना कार्यान्वय कार्यविधि बनाइएको हो तर यसको पनि समय सिमा सकिदासम्म कार्यान्वय पाटो साह्रै कमजोर देखिएको सरोकारवालाहरु बताउँछन् । दोस्रो कार्ययोजनामा खास गरी ४ वटा पाटो समावेश छन् । सहभागिता, सुरक्षा र रोकथामा, राहत तथा परिपूरण र क्षमता विकास, स्रोत व्यवस्थापन, अनुगमन तथा मूल्याड्ढन । यि ४ वटौ पाटो साह्रै कमजोर रहेको पत्रकार विष्ट बताउँछन् ।
(आब २०७९–८० देखि आब २०८१–८२) सम्मका लागि दोस्रो राष्ट्रिय कार्ययोजना निर्माण गरी लागू गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालयले “कार्ययोजनामा उल्लिखित विषयलाई सरकारको नीति तथा कार्यक्रममा आन्तरिकीकरण गरी क्रमशः कार्यान्वयन गरिनेछ” भनेको छ । तर २०८१ सकिनै लाग्दासम्म पनि यसको कार्यान्वयन पूर्ण रुपमा छैन ।
दोस्रो राष्ट्रिय कार्ययोजनाले नीति निर्माण, शान्ति स्थापना तथा विकास प्रक्रियामा महिलाको समतामूलक, समानुपातिक, समावेशी र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, महिला तथा बालिकामाथि हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसाबाट सुरक्षाको प्रत्याभूति गर्ने साथै त्यस्तो हिंसा हुन नदिन रोकथामका प्रभावकारी उपाय अवलम्बन गर्ने उद्देश्य राखेको थियो । यसैगरी द्वन्द्वकालमा हिंसाबाट पीडित महिला तथा बालिकाको राहत तथा परिपूरणको व्यवस्था गर्ने, राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायको क्षमता अभिवृद्धि गर्ने र आवश्यक स्रोत र साधन सुनिश्चित गरी अनुगमन तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखेकोमा यौनशोषणको सवालमा सम्बोधन गर्नुपर्ने सवाल–कामहरु अधुरा रहेको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबा बताउँछिन् ।
बाहिर भन्न समेत नसकिने यौनहिंसा पीडित महिलाहरुको न्यायलाई सम्बोधन गर्ने दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन नै नभई समय सकिन लाग्यो । यसरी द्वन्द्वको समयमा यौनहिंसा भएका पीडित महिलाले न्याय र परिपुरणका लागि पर्खेर बस्नुपर्ने न्यायोचित नभएको हिमराइट्स मकवानपुर प्रमुख वाइबाले बताइन् ।
कार्ययोजनाको निर्देशक समेत रहेको बागमती प्रदेशको आन्तरीक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने कार्ययोजना कार्यान्वयको लागि प्रदेश सरकार लागिपरेको बताउँछन् । “हामीले प्रदेश स्तरीय समिति गठन गरेका छौ, चालु आर्थिक वर्षमा धेरै कम बजेट भएकोले देखिने गरी काम गर्न सकिएन” मन्त्री लामिछानेले भने “२०८२ मा यो कार्ययोजना कार्यान्वय अवधि सकिन्छ, तर केही महिना थप गरिन्छ भन्ने मैले बुझेको छु, अबको समयमा चाँही पहिलो र उच्च प्राथमिकतामा यो सवाललाई राख्ने प्रयत्न गर्नेछु ।”
(Visited 1 times, 1 visits today)