देश बन्यो कि परदेश बन्यो ?


देश कति बन्यो भनेर वस्तुगत रुपमा उत्तर भेटाउन सकिँदैन । देश बनेको केही देखिने विषय हो भने केही अनुभूति हुने विषय हो । यो मूर्त र अमूर्त दुवै कोणबाट हेर्न सकिन्छ । देश बन्यो कि बिग्रियो भन्ने कुरा मुलुकको विकासका परिसचूकमा भएको बढोत्तरी र सुधारबाट ठम्याउन सकिन्छ । देशमा गरिबीको अवस्था, रोजगारीको सिर्जना, मानवीय विकास, युवा परिचालन, विकास, व्यापार, इलम र व्यवसायको बहुआयामिक दृष्टिकोणबाट मुलुक निर्माणको चित्र मापन गर्न सकिन्छ ।

विभिन्न कालखण्डमा मुलुक बनेको चित्र फरक हुने गर्छ । देश बनेको सन्दर्भमा हेर्ने हजुरबुवाको पुस्ता, बुवाको पुस्ता, छोराको पुस्ता र नाति पुस्ताको दृष्टिकोणबाट फरकफरक हुन सक्छ । फरक दृष्टि भए तापनि सारमा मुलुक विहङ्गम रुपले बनेको हेर्ने दृष्टि भने एउटै हुन्छ । प्रस्तुत आलेखमा नाति पुस्ताको नजरमा देश बन्यो कि बिग्रियो भन्ने दृष्टिकोणबाट चित्रण गर्न खोजिएको छ ।

नेपाल बनाउने अनेकौँ प्रयास भए र भरहेका छन् । त्यसको पछिल्लो स्वरुप हो, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था । मुलुक खराबै बनाएर छोडौँ भन्ने नियत र मनसाय कसैको नहोला । तर राम्रो कसरी बनाउने भन्ने रनभुल्लको स्थिति पक्कै छ ।

तुल खड्का

सूचना प्रविधि र विश्व विकासको यो चरणमा आइपुग्दा मुलुक जति बन्नु पर्ने हो, त्यति बनेको छैन जस्तो लाग्नु स्वाभाविक हो । यहाँ देश निर्माणको सफ्टपार्ट र हार्डपार्ट दुवै दृष्टिकोणबाट हेर्न सकिन्छ । हार्डपार्ट अन्तर्गत हिजोको तुलनामा आज केकस्ता भौतिक संरचना निर्माण र फेरबदल भए र संरचनागत रुपान्तरबाट केकस्तो आउटपुट र आउटकम्स आयो । सफ्टपार्ट अन्तर्गत केकस्ता मानवीय मूल्य–मान्यता, बौद्धिकता विकास, संस्कृतिक रुपान्तरण र संस्कार विकास भए भनेर हेर्नुपर्छ ।

भौतिक विकासको रुपमा छुट्टै र विछट्टै विकास भएको अनुभूति हुँदैन । आज विश्व एउटा ग्रामको रुपमा डिजिटल डिभाइसका स्क्रिनमा कैद भएको बेला संसारको विकासको अवस्था नियालिरहेको पुस्ताले वर्तमान विकासको प्रक्रिया, गति र आयाम चित्त बुझाउन सक्ने कुरा नै हुँदैन ।

सफ्ट विकासको रुपमा हामीले मानव पुँजीको निर्माण र व्यवस्थापन कसरी गर्न सक्यौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । मानव पुँजी परिचालनको हिसाबले पनि सुखी र खुसी हुनुपर्ने ठाउँ कमै मात्र छ । मुलुक बन्नेभन्दा पनि पहिले मुलुक बनाउने मान्छे तयार गर्नुपर्ने देखिन्छ । मुलुक बनाउने मान्छे तयार नभएसम्म मुलुक बन्दैन ।

दिमाग र मसल भएका जति अमेरिका अष्ट्रेलिया, युरोपतिर, खाडी, दक्षिण कोरियातिर र खाने पेट मात्रै नेपालमा बसेर देश कसरी बन्छ ? गाउँ–सहर विस्तारै वृद्धाश्रम बन्दैछन् !

चीन कसरी बन्यो ? मान्छेले गर्दा बन्यो । दक्षिणका कोरिया कसरी बन्दैछ ? मान्छेको कारण बनिरहेको छ । स्विट्रजरल्यान्ड कसरी बन्यो ? लिक्युवान जस्ता मान्छेको कारण बन्यो । आधुनिक मलेसिया कसरी बन्यो ? मोहमद महाथिर जस्ता व्यक्तिको कारण बन्यो ।

हामी सधैं अविकास, अविशिष्टता, अन्योलता र अन्कन्टार जंघारमा किन फसेका छौं भने, यहाँ कुशल चालकको खोजी भइरहेको छ । देश बन्नु भनेको भौतिक विकासले सजिनु र सिँगारिनु मात्र होइन । सांस्कृतिक रुपमा बलियो र सघन हुनु पनि हो ।

हामीसँग देश बन्ने सम्भावना छ तर सम्पन्नता छैन । नाति पुस्ता सम्भावना होइन, सम्पन्नता खोज्छ । अहिलेको युवा सम्भावनामा रमाउन सक्दैन । उसले छिटो सम्पन्नता खोज्छ । देश नबने पनि बिग्रिँदै छैन भन्ने सन्देश मात्र सञ्चार गर्न पाए पनि देश बन्दै गरेको तस्बिर देखिन्छ । नेपाल बन्नका लागि हामीसँग ठूलो संख्यामा सक्रिय उमेर समूहको जनसंख्याको बाहुल्य, प्राकृति स्रोत–साधन र जलसम्पदा छन् । यसको कुशलतापूर्वक उपयोगविना मुलुक बन्न सक्दैन ।

पछिल्लो जनगणनाअनुसार नेपालमा १५ देखि ५९ वर्षसम्मको सक्रिय उमेर समूहको जनसंख्या झण्डै ६२ प्रतिशत छ । आश्रितभन्दा आर्जन गर्ने संख्याको बाहुल्यता हुनु विकासको ठूलो सम्भावना हो । विकासको लागि चाहिने श्रम आपूर्तिदेखि विकास निर्माणका चाहिने मानव संशाधनको पूर्ति गर्ने काम सक्रिय उमेर समूहले गर्ने गर्छ ।

जनसांख्यिक लाभको अवसर कमै प्राप्त हुने अवसर हो । जो नेपालसँग अहिले छ । पछि नहुन सक्छ । युवाको संख्याले देश हराभरा हुनु भनेको विकासको ज्योति प्रकट हुनु हो । तर युवा हरेक दिन निराश र प्रत्येक दिन दुःखी भइरहेका छन् ।

बेरोजगारीको भारीले च्यापिएका छन् । अन्योल र अनिश्चितताको बीचबाट बाँचिरहेका छन् । कामविहीनताको छट्पटीबाट मुक्तिको मार्ग खोजिरहेका छन् । यस्तो विवशता कसरी मुलुक बनेको वा बन्दै गरेको संकेत हुनसक्छ ?

नेपालका युवाको हर बिहान रोजगारी खोज्नका लागि उदाउँछ र त्यसैगरी अस्ताउँछ । हरेक दिन काम गर्नसक्ने सक्रिय उमेर समूहका युवा परदेशिएका छन् ।

देश बन्यो कि परदेश बन्यो ?

केही युवाले आ–आफ्नो गन्तव्य उडान भर्दै छन् । कोही खाडी । कोही युरोप । कोही अष्ट्रेलिया । कोही कालापहाड । यी तस्बिरले के संकेत गर्छन् ? के बनेको संकेत गर्छन् ? केही युवा लागुऔषधको सिकार भएका छन् । केही अपराधको कारण कारागार छन् । केही भौंतारिइहेका छन् । यही हो मुलुक बन्दै गरेको चित्र ? राजनीतिक परिवर्तनका क्रममा भएको आन्दोलनले शासन व्यवस्थाका सिंहासन त परिवर्तन ग¥यो तर त्यही व्यवस्था भित्रको अवस्था परिवर्तनको संकेत भेटिएन भने युवाले कसरी भन्छ देश बन्दैछ ? अनि भन्दैन त परदेश बन्दैछ ।

चरीले गुँड सारेजस्तै सात समुन्द्रपारि साइत सरेको युवाको कुरा अझ परको हो । तर भित्रै रहेका युवा पनि कहाँ सङ्लो छन् र ? अपराधी कार्यमा युवा, कालोबजारीमा युवा, मानव तस्करीमा युवा, गुण्डागर्दीमा युवा, लागुऔषधमा युवा, कर्तव्य ज्यानमा युवा र राजनीतिक दलका कार्यकर्ता युवा अनि देशभित्र रहेका युवा पनि कहाँ सद्दे युवा छन् ।

ऊर्जाको राप र तापले भरिएका युवा निराशा र बेरोजगारीको गोलीले घाइेत भएर बाँच्नु परेको छ । युवा पंक्षी हुन्, उनीहरु उपाय र विकल्प नपाए गन्तव्यको उडान भर्छन् । आफू बाँच्न र आफ्नो परिवारको चारो खोज्न समुन्द्रपारि पुग्छन् । यहाँ आहाराको लागि सिंगो घरपरिवार पर्खिरहेका हुन्छ ।

नेपालका युवाको हर बिहान रोजगारी खोज्नका लागि उदाउँछ र त्यसैगरी अस्ताउँछ । हरेक दिन काम गर्नसक्ने सक्रिय उमेर समूहका युवा परदेशिएका छन् ।

गाउँ–बस्ती रित्तिसक्यो । गाउँका जमिन जंगलमा रुपान्तरण हुने क्रममा छन् । गाउँमा छन् त केवल बुढाबुढी मात्र । त्यो पनि हजुरबुवा र बुवा पुस्ता । युवा यति विरक्तिएको छ कि बरु पानाको जंगलमा भोकै मर्न तयार छ, नेपालमा बस्न मञ्जुर छैन । युवा बरु खाडीबाट बाकसमा आउन तयार छ तर यहाँ बस्ने तयार छैन । युवालाई परदेशिन पनि कम्ता सास्ती छ । म्यानपावर कम्पनीको दलालीदेखि एयरपोर्टसम्मको सास्तीले एकपटकै अर्काको भूमिमा गएर सास फेर्छ । हरेक दिन दुई हजार बढी युवालाई विदेशमा पठाएर देश बन्दैछ भनेपछि कसले पत्याउँछ ?

युवालाई नेपाल बस भने पनि कसरी बस्छ । शैक्षिक क्षेत्र धरासाशायी छ । न समयमा परीक्षा हुन्छ न समयमा प्रतिफल प्रकाशित हुन्छ । न शिक्षाको स्तर बढ्दो छ । बिचौलिया र दलालको बिगबिगी छ । स्वास्थ्य क्षेत्र थिलोथिलो छ । बजार क्षेत्र महँगीले र कालोबजारीले थला परेको छ । बैंकिङ क्षेत्र महँगो ब्याजदरले छोइनसक्नु छ । महँगी, कालो बजारी र लुटको समुन्द्र कसरी सुखको र सुविधाको ढुंगा सयर गर्न सकिन्छ ? यी विवशताबाट छुटकार पाउन परदेशिनु बाहेक केही विकल्प छ र ? आनन्दले साससमेत फेर्न नपाएर हिँडको युवा किन फर्किन्छ ?

अहिले युवा छन्, काम छैन, बिजनेस छैन । कुनै दिन युवा हुने छैनन्, काम हुनेछ । यो असन्तुलनको अवस्थाले देश बन्दै गएको भनिन्छ कि विरक्तिएको ? मन भारी बनाउँदै भरियाको रुपमा पलायन भएका युवा फर्किन यही अवस्थामा सम्भव कसरी होला ?

बरु देश होइन परदेश बनेको छ । भारतको हिमाञ्चल बन्दैछ । दक्षिणका कोरिया बन्दैछ । खाडी मुलक बन्दैछन् । कतार बन्यो र विश्वकप सञ्चालनका भौतिक संरचना निर्माण ग¥यो । युरोप बन्दैछ । वर्तमान समयमा एयरपोर्टबाट बाहिरिनेको ताँती देख्दा परदेश बन्दैछ जस्तो कसलाई लाग्दैन होला ?

दिमाग र मसल भएका जति अमेरिका अष्ट्रेलिया, युरोपतिर, खाडी, दक्षिण कोरियातिर र खाने पेट मात्रै नेपालमा बसेर देश कसरी बन्छ ? गाउँ–सहर विस्तारै वृद्धाश्रम बन्दैछन् ।

देश बन्नको लागि अहिलेको तस्बिरले दशकौंपछिको आकार र स्वरुप देखिनुपर्छ । तब पो मान्छे अडिन्छ र रोकिन्छ । देश विकास हुनु भनेको सम्पन्नता नभए पनि सम्भावना बाँचिरहनु हो । सम्पन्नता अलि परको कुरा हो सम्भावनाको आशा नै रित्तिएपछि कसरी देश विकास भएको मान्न सकिन्छ ? युवाको परिचालन र कामको सिर्जनाबाट देश बनाउने उत्तम समय केही वर्षअघि थियो अर्को समय वर्तमानको समय हो । मान्छेमा लगानी नगरेको देश बनेको इतिहास नै छैन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School