देखेनन् युवाले स्वदेशमै भविष्य : RajdhaniDaily.com

देखेनन् युवाले स्वदेशमै भविष्य : RajdhaniDaily.com


मुलुकमा राजनीतिक अस्थिरताका कारण छिटोछिटो सरकार परिवर्तन हुनेक्रम रोकिएको छैन । नयाँ सरकार गठन हुनेबित्तिकै सरकार प्रमुखले मुलुकका समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन् । तथापि, यसरी गरिएका प्रतिबद्धता कागजमै सीमित देखिएका छन् । पछिल्लो समय देशको प्रमुख समस्याका रूपमा युवा पलायनलाई लिने गरिएको छ । हरेक सरकारले युवालाई देशमै राख्ने नीति तथा कार्यक्रमहरू तर्जुमा गर्ने बताए पनि अहिलेसम्म त्यसको असर देखिएको छैन ।

अहिले दैनिक करिब २ हजार ५ सयभन्दा बढी युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने गरेका विवरणहरू बाहिर आएका छन् । रोजगारी, शिक्षा तथा अन्य उद्देश्यले युवाहरू बिदेसिएको जनाइएको छ । बिदेसिनेक्रम दिन प्रतिदिन बढ्दै गएकाले मुलुकमा युवाहरूको खडेरी पर्दै गएको छ । गाउँघरहरू युवाविहीन बन्दै गएका छन् भने सहरका युवाहरूसमेत बिदेसिने तरखरमा देखिएका छन् । अधिकांश युवाले आफूहरू बिदेसिनुको मुख्य कारण मुलुकमा भविष्य सुनिश्चित नभएको बताएका छन् ।

स्वदेशमै रोजगारीसँग सम्बन्धित नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालबाट विभिन्न १ सय ११ देशमा संस्थागत रूपमा कामदार जाने गरेका छन् । तथापि, व्यक्तिगत रूपमा भने विश्वका करिब १ सय ७८ मुलुकमा नेपालीहरू जाने गरेको सरकारी तथ्यांक छ । मुलुकबाट युवाहरू बिदेसिन थालेको धेरै समय भए पनि सरकारले भने आर्थिक वर्ष २०६५–०६६ बाट मात्र यसको आधिकारिक तथ्यांक राख्न सुरु गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार डेढ दशकको अवधिमा वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर ५० लाखभन्दा बढी नेपाली कामको खोजीमा विदेश गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकनुसार गत आव २०८०–८१ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ७ लाख ४१ हजारभन्दा बढी रहेको जनाएको छ । अहिले पनि श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको रोजगार विभागले जनाएको छ । यो तथ्यांक हेर्दा सरदर नेपालबाट वार्षिक ६ लाखभन्दा बढी युवा रोजगारीका लागि बिदेसिने गरेका छन् ।

वैदेशिक रोजगारीका लागि मात्र नभई वैदेशिक अध्ययनका लागिसमेत दैनिक हजारौं युवा बिदेसिने गरेका छन् । गत आव २०८०–८१ मा मात्र १ लाख १२ हजार ५ सय ९३ जनाले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकनुसार गत अघिल्लो आव यस्तो अनुमति लिनेको संख्या १ लाख १० हजार २ सय १७ जना थियो । कोभिडका कारण २०७७–०७८ मा २७ हजार ९ सय र २०७६–०७७ मा ३४ हजार ९६ विद्यार्थीले मात्रै एनओसी लिएका थिए ।

त्यसअघि २०७५–७६ मा यो संख्या ६३ हजार २ सय ९५ थियो । अहिले दैनिक करिब ५ सय जना विद्यार्थीले यस्तो अनुमति लिने गरेको शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ । यो तथ्यांक हेर्दा सरदर नेपालबाट वार्षिक लाखभन्दा बढी युवा वैदेशिक अध्ययनका लागि बिदेसिने गरेका छन् ।

वैधानिक रूपले मात्र नभई अवैधानिक रूपले समेत दैनिक सयौं नेपालीहरू बिदेसिएका समाचारहरू प्रकाशित भएका छन् । केही समयपहिले मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणले चर्चा पाएको थियो । भुटानी शरणार्थीको आवरणमा गैरशरणार्थी नेपाली युवाहरू अमेरिका जाने प्रलोभनमा लाखौं रुपैयाँ खर्चिएका घटनाहरू बाहिर आएका थिए । यसैगरी, अवैध बाटो प्रयोग गर्दै महिनौं दिनको जोखिमपूर्ण यात्रा गरेर मेक्सिको हुँदै अमेरिका छिर्न खोजेका युवाहरूको खबर दैनिकजसो आइरहेको छ । हालै रसियाली सेनामा भर्ती हुन गएका नेपाली युवाहरूको मृत्यु भएका खबरहरू आएका छन् ।

यसबाहेक अन्य युद्धग्रस्त मुलुकहरूमा समेत नेपाली युवाहरू अवैध रूपमा जाने गरेका तथ्यहरू फेला परेका छन् । विद्यालय स्तरको परीक्षा सकेका अधिकांश युवा भिसामार्फत अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, जर्मनी, बेलायत, कोरिया आदि देशहरू गएका छन् । उनीहरू यी मुलुकलाई प्रमुख गन्तव्य बनाएको देखिन्छ । यी देशबाहेक आफूलाई पूर्ण जानकारी नै नभएका मुलुक माल्टा, अस्ट्रिया, पोर्तुगल, पोल्यान्ड, युक्रेनजस्ता देशहरूमा समेत उनीहरू जान तयार देखिएका छन् । विशेषगरी, अध्ययनसँगसँगै रोजगारीका अवसरको खोजीमा विद्यार्थीहरू बिदेसिएको देखिन्छ ।

दैनिक करिब ५ सय जना विद्यार्थीले नो अब्जेक्सन लेटरको अनुमति लिने गरेको शिक्षा मन्त्रालय स्वयं साक्षी छ

पलायन भएका सबै युवा रोजगारीका लागि मात्र बाहिरी मुलुक गएका छैनन् । कतिपयले स्वदेशमा राम्रो एवं सम्मानजनक कहलिएका जागिरसमेत छोडेर सुनौलो भविष्यको सपना बुन्दै स्वदेश छाडेका छन् । यसरी स्वदेश छाड्नेमा विशेषगरी दक्ष जनशक्तिहरू पर्ने गरेका छन् । स्वदेश छाड्नेमा चिकित्सक, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट (सीए), नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञानलगायत विषय पढेका जनशक्तिको लर्को छ । मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिंगो तन्नेरी पुस्ता नै विदेश हिँड्न तम्तयार हुँदा मुलुकको उन्नतिको सम्भावना थप खुम्चिँदो क्रममा छभन्दा फरक पर्दैन । यस अवस्थाको सिर्जना हुनुका पछाडि विभिन्न कारणहरू पनि छन् ।

आर्थिक कारण
युवाहरू बिदेसिन हतारिनुको प्रमुख कारण आर्थिक पक्षसँग जोडिएको छ । मुलकमा अझै पनि अधिकांश मानिस कृषि पेसामा आश्रित छन् । कृषि क्षेत्रको आधुनिकीकरण हुन नसक्दा यसबाट कृषकहरूलाई आफ्नो जीविका चलाउनसमेत धौधौ परेको अवस्था छ । कृषिबाहेक औद्योगिक एवं सेवा क्षेत्रको समेत अपेक्षित विकास हुन सकेको अवस्था छैन । यसैकारण उनीहरू वैकल्पिक आम्दानीको खोजीमा देखिन्छन् । मुलुकभित्र पर्याप्त मात्रामा रोजगारीका अवसरहरू सिर्जना हुन नसक्दा यसको विकल्पका रूपमा उनीहरूले वैदेशिक रोजगारीलाई अँगाल्न बाध्य छन् । नेपाली श्रमबजारमा हरेक वर्ष करिब ५ लाख युवा कामको खोजीमा बजारमा प्रवेश गर्छन् ।

मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा आएको शिथिलताले भएका रोजगारीका अवसरहरूसमेत गुम्दै गएको अवस्था छ । अर्कोतर्फ, श्रमिकको सामाजिक तथा आर्थिक सुरक्षाको अभावले गर्दा आन्तरिक श्रम बजारले समेत श्रमिकहरूलाई आकर्षित गर्न सकेको अवस्था छैन । दिन प्रतिदिन बढ्दै गएको महँगीले भविष्यमा आउनसक्ने आर्थिक असुरक्षासँग जुध्न युवाहरू स्वदेश छोड्न हतारमा देखिन्छन् । यस्तो अवस्थामा सरकार भने कति जनाले श्रम स्वीकृति लिए भनेर त्यसको तथ्यांक जुटाउने कामबाहेक अरू उल्लेख्य काममा जुटेको देखिँदैन ।

सामाजिक कारण
नेपाली समाजको सामाजिक एवं पारिवारिक संरचनाहरूमा आएको परिवर्तनले एउटा निश्चित उमेरपछि व्यक्तिमा आत्मनिर्भर बन्नुपर्ने बाध्यता हुँदै गएको छ । जनसंख्याको ठूलो हिस्सा ग्रामीण क्षेत्रबाट सहरतिर बसाइँसराइ हुनु, संयुक्त परिवारबाट एकल परिवारमा परिणत हुनु, बढ्दो मुद्रास्फीति, सूचना प्रविधिको विकास आदिले व्यक्तिका इच्छा, आकांक्षा र आवश्यकतामा पनि वृद्धि हुँदै गएको छ । यी आवश्यकताको परिपूर्तिका लागि परिवारभित्रका आयआर्जन गर्नसक्ने हरेक सदस्य जिम्मेवार हुनुपर्ने जरुरी हुँदै गएको छ । यसका लागि स्वदेशमा उपलब्ध साधनस्रोतले मात्र आवश्यकता पूरा हुन नसक्दा अधिकांश युवा स्वदेश छाड्न हतार देखिन्छन् ।

अर्कोतर्फ, सामाजिक परिवेश कस्तो बनेको छ भने कुनै परिवारको सदस्यले स्वदेश छाड्ने विषयलाई आफ्नो प्रतिष्ठासँग जोड्न थालिएको छ । जुन परिवारका धेरै सदस्य बिदेसिएका छन्, त्यो परिवार सफल परिवारका रूपमा चित्रण हुन थालेको छ । यसले गर्दा पनि अन्य परिवारलाई आफ्ना सदस्यहरू विदेश पठाउन उत्प्रेरित गरिरहेको देखिन्छ ।

राजनीतिक कारण
कुनै पनि मुलुकको भविष्य त्यस देशका राजनीतिक नेतृत्वहरूमा निर्भर हुने गर्छ । राजनीतिक नेतृत्वले नै मुलुकको बागडोर सम्हाल्ने भएकाले उनीहरूमा रहेको दूरदर्शिता, क्षमता, लक्ष्य तथा उद्देश्यले मुलुक कुन दिशातर्फ जाँदै छ भन्ने अनुमान लगाउन सकिन्छ । नेपालको विगत तीन दशकभन्दा बढी समयदेखिको इतिहास हेर्ने हो भने अहिलेसम्म आशालाग्दो राजनीतिक नेतृत्व नदेखिएको भान भएको छ । राजनीतिक अस्थिरता, भ्रष्ट शासक, बारम्बार सरकार परिवर्तन भइरहनु, सत्ताको लुछाचुँडी देखेर वर्तमानका युवाहरूले स्वदेशमा आफ्नो भविष्य सुरक्षित नहुने आँकलन गरेका देखिन्छन् । यसैकारण उनीहरूले स्वदेश छोड्न हतार गरेका छन् ।

शैक्षिक कारण
शिक्षालाई मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक पूर्वाधारको पनि पूर्वाधार मान्ने गरिन्छ । तर, अहिलेसम्म पनि मुलुकको शिक्षा प्रणालीले लय समात्न नसकेको गुनासो छ । सरकारको अदूरदर्शी योजना र शैक्षिक प्रतिष्ठानहरूमा देखिएको बेथितिले विद्यार्थीहरू यहाँको शिक्षा प्रणालीप्रति विश्वस्त हुन नसकेको अवस्था छ । यसको विकल्पका रूपमा उनीहरू विदेशी अध्ययन संस्थानहरूप्रति आकर्षित हुन थालेका छन् । पछिल्ला १० वर्षमा विदेशमा अध्ययनका लागि एनओसी लिने विद्यार्थीको संख्या झन्डै १० गुणाले बढेको छ ।

१० वर्षको अवधिमा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या औसतमा ४३ दशमलव ९ प्रतिशतले बढेको देखिएको छ । मुलुकका विश्वविद्यालयहरूमा मौलाउँदै गएको बेथिति र राजनीतिक हस्तक्षेपले एकातिर समय सुहाउँदो शिक्षा पद्धतिको विकास हुन सकेको छैन भने अर्कोतर्फ दक्ष जनशक्तिसमेत उत्पादन गर्न नसकेको अवस्था छ । यसैकारण नेपालका विश्वविद्यालयहरूले विद्यार्थीलाई आकर्षित गर्न सकेका छैनन् ।

मानव संसाधन गुमाउँदै जाने हो भने राम्रा भनिने नीति तथा योजनाको पनि कुनै अर्थ रहँदैन

कुनै पनि मुलुकका युवाले आफ्नो वर्तमानसँगसँगै भविष्य पनि सुनिश्चित भएको हेर्न चाहनुलाई स्वाभाविक मान्न सकिन्छ । उनीहरू आफू र आफ्ना सन्ततिको भविष्यप्रति चिन्तित हुन्छन् । सुनिश्चित भविष्यको निर्धारण मुलुकको नेतृत्व पंक्तिमा रहेका व्यक्तिहरूको क्षमता तथा दूरदर्शितामा निर्भर गर्छ ।

असल र क्षमतावान् नेतृत्वले मात्र सुनिश्चित भविष्यको आशा जगाउन सक्छ । यदि, देशको नेतृत्व नै असक्षम, भ्रष्ट, स्वार्थी, दुराचारी तथा लालचीहरूको हातमा परेको छ भने उनीहरूबाट कुनै पनि आशाको गुञ्जायस रहँदैन । यस्तै, परिस्थिति अहिले हाम्रो मुलुकमा रहेको छ । मुलुकको नेतृत्व पंक्तिमा देखिएको असक्षमता र अनुशासनहीनताले गर्दा राजनीतिक, आर्थिक, न्यायिक, सामाजिक तथा शैक्षिक क्षेत्रलगायतमा बेथिति मौलाएको छ । यसले मुलुकको आर्थिक समृद्धिको बाटोमा मात्र अवरोध पु¥याएको छैन, यहाँका युवाहरूमा समेत मुलुकप्रति नै वितृष्णा फैलाएको छ ।

मुलुकबाट दिन प्रतिदिन युवाहरू पलायन हुनुका विभिन्न कारण देखिए पनि सबैभन्दा ठूलो कारण मुलुकको राजनीतिक अवस्थालाई लिन सकिन्छ । जबसम्म मुलुकको राजनीतिक नेतृत्वले युवाहरूको भविष्य स्वदेशमै सुरक्षित र सुनिश्चित हुनेछ भन्ने विश्वास दिलाउन सक्दैनन्, तबसम्म युवाहरूलाई विदेश जानबाट रोक्नसक्ने अवस्था देखिँदैन । मुलुकको आर्थिक एवं सामाजिक समृद्धिको बागडोर समाएर बसेका राजनीतिक नेतृत्व इमानदार, सक्षम एवं दूरदर्शी भएको खण्डमा मात्र उनीहरूबाट आशा गर्ने ठाउँ रहन्छ । राजनीतिक नेतृत्व इमानदार भएको खण्डमा यसले मुलुकको आर्थिक, सामाजिक एवं शैक्षिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्नसक्छ । यसले मात्र मुलुकभित्रै भविष्य सुनिश्चित हुन सक्छ भनेर आशा गर्नसक्ने अवस्था ल्याउन सक्छ ।

मुलुकभित्रबाट शारीरिक एवं मानसिक रूपमा अब्बल जनशक्ति दिन प्रतिदिन बिदेसिनेक्रम बढ्दै जाँदा यसले राज्यको आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रमा प्रतिकूल प्रभाव पर्ने आँकलन गरिएको छ । मुलुकमा भित्रिने रेमिट्यान्सले मात्र देशको आर्थिक अवस्थालाई सधैंभरि थेग्ने अवस्था रहँदैन । आन्तरिक उत्पादन र उत्पादकत्वमा वृद्धि नभई देशमा आर्थिक समृद्धि हुन सक्दैन । उत्पादन र उत्पादकत्व वृद्धिका लागि सबैभन्दा महत्वपूर्ण साधन मानव संसाधन हो ।

यदि, हामीले दिन प्रतिदिन मानव संसाधन गुमाउँदै गयौं भने राज्यले निर्माण गर्ने जस्तोसुकै राम्रा नीति तथा योजनाहरूको कुनै अर्थ रहँदैन । मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक विकास र विस्तारका लागि अहिले बढ्दै गएको बिदेसिने प्रवृत्तिलाई रोक्न सक्नुपर्ने देखिन्छ । यसका लागि मुलुकभित्रै रोजगारीका अवसर, सीपमूलक शिक्षा, स्थिर राजनीतिक वातावरण, असल नेतृत्व र सुशासनको आवश्यकता देखिन्छ ।

(Visited 2 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School