देउवालाई उत्तराधिकारी तोकिहाल्न दबाब


नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने कुनै निश्चित छैन। तर कांग्रेसका नेताहरूलाई मात्र होइन, तल्लो तहका कार्यकर्तालाई पनि पार्टीको महाधिवेशन लागेको लामै समय भइसकेको छ। कांग्रेसका नेताहरू आगामी महाधिवेशनबाट पार्टी नेतृत्वदेखि विभिन्न जिम्मेवारीमा पुग्ने दौडमा छन्। त्यसका लागि छुट्टै गुट बनाउनेदेखि पद सुरक्षित गर्न गुट परिवर्तन गर्नसमेत सक्रिय भइरहेका छन्। सोही बेला १४औं महाधिवेशनबाट शेरबहादुर देउवालाई पुनः पार्टी सभापतिमा निर्वाचित गराउन एक ठाउँमा उभिएका नेताहरू १५औं महाधिवेशनको पूर्वसन्ध्यामा फेरि एक ठाउँमा उभिएका छन्।  

विधानको व्यवस्थाअनुसार आगामी मंसिरभित्र १५औं महाधिवेशन गर्नुपर्ने हुन्छ। तर २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस विधानले तोकेको चार वर्षभित्र कहिल्यै महाधिवेशन भएको छैन। विधानमा देखिएको अतिरिक्त सुविधा मात्र होइन, संवैधानिक सुविधालाई समेत कतिपय बेला उपयोग गरेर कांग्रेसले विगतमा महाधिवेशन गर्दै आएको छ। १५औं महाधिवेशन पनि विधानले तोकेको चार वर्षभित्र हुनेछैन।

आगामी महाधिवेशनबाट शेरबहादुर देउवाले पुनः सभापतिको प्रत्यासी बन्न पाउनेछैनन्। देउवाको विश्वास लिएर पार्टी नेतृत्वमा पुग्ने होडमा दोस्रो तहका नेताहरू जुटिरहेका बेला १४औं महाधिवेशनपछि पहिलो पटक उनलाई सहयोग गरेका नेताहरूले एकैसाथ उनलाई भेटेका छन्।

पार्टी पदाधिकारी, पूर्वपदाधिकारीसहितका प्रभावशाली एक दर्जनभन्दा बढी नेताहरूले शुक्रबार पनि देउवालाई उनकै निवासमा भेटे। देउवालाई पार्टीको १०औं महाधिवेशनदेखि नै साथ दिँदै आएका अधिकांश नेता पार्टीको १५औं महाधिवेशनमा उक्त समूहबाट सभापतिको उम्मेदवार को हो भन्ने चासो राखेका थिए।

त्यति मात्र होइन, आफूहरूमध्येबाट उत्तराधिकारी बनाउन सहभागी नेताहरूले देउवालाई आग्रह गरेका थिए। आफू सबैको सभापति भएको भन्दै गुटको भेला बोलाउन नमिलेको र आफूलाई साथ दिएका नेताहरूबाटै १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने देउवाले आश्वासन दिएका छन्।

सहभागी नेताहरूले पार्टी सभापति भएकाले गुटको कुरा गर्न मिलेन भनेर भाग्न र छाड्न देउवाले नमिल्ने भन्दै सभापतिमा चर्चामा रहेका विभिन्न नामप्रति चासो राखेका थिए। जवाफमा देउवाले महाधिवेशन आउन झन्डै दुई वर्ष बाँकी रहेको भन्दै परामर्शमै उम्मेदवार टुंगो लगाउने वचन दिएका छन्। पार्टीको १५औं महाधिवेशन आफू प्रधानमन्त्री बनेपछि मात्र गर्ने भनी नेताहरूलाई देउवाले स्पष्ट पारेका छन्।

एमालेसँगको गठबन्धन तत्काल तोड्ने पक्षमा नरहेका देउवाले सात बुँदे सहमतिको कुरा स्मरण गराएका थिए। त्यसमा ओलीपछि कांग्रेस सभापति प्रधानमन्त्री बन्ने उल्लेख छ। आफूहरूलाई सभापतिले बेवास्ता गरेको गुनासो नेताहरूले गर्दै पोखरामा भएको जिल्ला सभापतिहरूको भेला, सरकारले ल्याएको अध्यादेशसहितका विषयमा उनीहरूले चासो राखेका थिए।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले आफूसहितका कतिपय नेताले १०औं महाधिवेशनदेखि साथ दिएको जनाउँदै अबको महाधिवेशनमा सबैलाई समेट्ने र अट्ने सिनियर नेतालाई नेतृत्वमा अघि सार्नुपर्ने तर्क गरेका थिए।

१४औं महाधिवेशन विमलेन्द्र निधि र प्रकाशमान सिंह दोस्रो चरणमा मात्र जोडिन आएको भन्दै आफूले देउवालाई बिनासर्त नेतृत्वमा सहयोग गरेकाले १५औंमा आफूलाई सहयोग गर्नुपर्ने आशय व्यक्त गरेको निकट स्रोतको दाबी छ। पार्टी विभाजन हुँदा देउवा नेतृत्वमा गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकमा सहभागी नेता सिंह १२औं महाधिवेशनमा सुशील कोइराला समूहबाट महामन्त्री निर्वाचित भएका थिए। १३औं महाधिवेशन रामचन्द्र पौडेलको पक्षमा उभिएका सिंह १४औं महाधिवेशनमा देउवासँगै नेतृत्व प्रतिस्पर्धामा उत्रिएका थिए। तर दोस्रो चरणमा गएको निर्वाचनमा उनले देउवालाई नै समर्थन गरेका थिए।

प्रहरी प्रमुख बनाउने विषयमा सभापति देउवासँग दुरी बढ्दै जाँदा उनलाई निरन्तर सहयोग गर्दै आएका निधि १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बने। तर दोस्रो चरणमा गएको निर्वाचनमा उनले पनि अर्का प्रत्यासी शेखर कोइरालाको विपक्षमा उभिए र देउवाको सहयोगी बने।

तत्कालीन महामन्त्री शशांक कोइराला १४औं महाधिवेशनमा मौन बसे। दाजु शेखर कोइराला सभापतिको प्रत्यासी बने पनि शशांक शेखर वा देउवाको पक्षमा खुलेनन्। त्यसको लाभ देउवालाई नै पुग्यो भने आगामी महाधिवेशनमा उनको साथ पाउनेमा शशांक आशावादी छन्।

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला १४औं महाधिवेशनमा देउवाको पक्षमा खुलेर लागेका थिए। आफूनिकट नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका सिटौलाले १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षमा विद्रोह गरेका थिए। सुशील कोइराला फेरि सभापतिको प्रत्यासी बन्न हुन्न भन्ने पक्षमा सिटौला थिए तर महाधिवेशनपूर्व नै सुशील कोइरालाको निधन भयो।

त्यसपछि तत्कालीन संस्थापनको नेतृत्व गर्दै रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बने। त्यसविरुद्ध सिटौलाले गगनकुमार थापालाई महामन्त्रीको उम्मेदवार बनाए र आफू सभापतिको प्रत्यासी बने। दोस्रो चरणमा गएको सभापतिको निर्वाचनमा सिटौला देउवाको पक्षमा खुले र कांग्रेसको सर्वोच्च पदमा देउवालाई पुग्न उनले ठुलो गुन लगाए। १४औं महाधिवेशनसम्म आइपुग्दा थापाले उनै सिटौलाको साथ छाडे र शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बने।

देउवाले महामन्त्री प्रकाशशरण महत र प्रदीप पौडेललाई अघि सारे भने उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाए। त्यसप्रति बालकृष्ण खाण, एनपी साउदसहितका नेताहरू असन्तुष्ट बने। जसको परिणाम देउवा समूहबाट महामन्त्रीका दुवै उम्मेदवार पराजित भए। गुटभित्रको आन्तरिक प्रतिस्पर्धाले उपसभापति गच्छदार पनि उपसभापतिमा पराजित भए। पूर्णबहादुर खड्कासहित केही सहमहामन्त्री मात्र देउवा समूहबाट निर्वाचित भए।

उपसभापतिसमेत रहेका खड्का पार्टीको १५औं महाधिवेशनमा आफू नै देउवाको असली उत्तराधिकारी भएको र उनको साथ तथा समर्थन लिएर नेतृत्व प्रतिस्पर्धा गर्ने पक्षमा छन्। १३औं महाधिवेशनमा संस्थापनमा विद्रोह गरेर देउवालाई नेतृत्वमा पुग्न गुन आफूले लगाएको भन्दै सिटौला अबको महाधिवेशनमा उनको सहयोग आफूले पाउनुपर्ने पक्षमा छन्। निधि र सिंह आफूहरू पार्टी सभापतिको स्वाभाविक उम्मेदवार भएको जनाउँदै देउवाको सहयोग आफूले पाउनुपर्ने पक्षमा छन्।

उनीहरू सबैको आआफ्नै तर्क र दाबी छन्। देउवाले नेता शेखर कोइराला वा महामन्त्री थापालाई सघाउने त होइन भन्नेमा उनीहरू सशंकित छन्। तर उनीहरू एकअर्कालाई नेता मानेर जाने र सहयोग गर्ने अवस्थामा नरहेको निकट स्रोतको दाबी छ। ‘सबैको चाहना र आकांक्षा देउवाले मलाई नै सभापतिमा सहयोग गर्नुपर्‍यो भन्ने छ,’ एक नेताले भने।

यद्यपि बिपी पुत्र शशांक, गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनारायण पुत्र विमलेन्द्रले आगामी महाधिवेशन केन्द्रित भएर ‘लन्च मिटिङ’ सुरु गरेका छन्। १४औं महाधिवेशनअघि पनि यस्तै मिटिङ गरेका उनीहरू निर्वाचनमा भने एकअर्काविरुद्ध खडा भएका थिए। आगामी महाधिवेशनमा पनि त्यस्तै हुने कांग्रेस वृत्तमा चर्चा छ। तर उनीहरूले परिस्थिति फेरिएको जनाउँदै मिलेर अघि बढ्ने दाबी गरे। ‘देशभरिका साथीहरूको भावनाअनुसार सबैलाई समेटेर हामी हाम्रो समूहबाट उम्मेदवारी दिन्छौं,’ बैठकमा सहभागी एक नेताले भने, ‘बजारमा चर्चा भएजस्तो दुई जना मात्र उम्मेदवार हुन्, अरू पाखा लागे भनाउन खोजिएको छ, त्यो होइन।’

यता १४औं महाधिवेशनमा सभापतिको निकटतम प्रतिद्वन्द्वी बनेका शेखर कोइराला १५औं महाधिवेशनको तयारीमा जुटेका छन्। सोही समूहबाट १४औं महािधवेशनमा महामन्त्री निर्वाचित थापाले अघिल्लो महाधिवेशनमा आफूले सभापति छानेको दाबी गर्दै आएका छन्। र, आफू जहाँ उभियो त्यहीबाट लाइन सुरु हुने जनाउँदै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने संकेत गरेका छन्। सभापति देउवा र उनको समूहबाट आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार को भन्ने अन्योल छ। तर उनीकट आकांक्षीहरू सबै देउवाको समर्थनको आशामा छन्।

देउवासँगको भेटमा रहेका पार्टी प्रवक्तासमेत रहेका प्रकाशशरण महतले पार्टीको विविध पक्षमा छलफल भएको जानकारी दिए। विधानले सभापतिलाई दिएको अधिकारअनुसार एक वर्ष कार्यकाल थप हुने जनाउँदै २०८३ मंसिर वा त्यसपछि १५औं महाधिवेशन हुने जानकारी दिए। तर बैठकमा सभापति देउवाले २०८४ को आम निर्वाचनपछि मात्र महाधिवेशन गर्दा के हुन्छ भन्ने प्रश्न गरेका थिए। त्यसमा सहमहामन्त्री उमाकान्त चौधरीले २०८३ मा महाधिवेशन नगरे पार्टी विघटन हुने महामन्त्रीले बताउँदै आएको सुनाएका थिए। जवाफमा देउवाले अरू पार्टीले पनि महाधिवेशन सारेको दृष्टान्त बताएका थिए। तर उनले महाधिवेशन समयमै गर्ने आश्वासन दिएका थिए। पूर्वउपसभापति निधिले संविधान संशोधन गरेर पहिला संसद्को त्यसपछि प्रदेश अनि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए। संसदीय शासन व्यवस्था भएको देउवामा पहिला संसद्को निर्वाचन गर्नुपर्ने र त्यो सबैका लागि हितकर हुने जनाएपछि देउवाले त्यसका लागि वातावरण बनाउन र अन्य दलसँग पनि छलफल थाल्ने बताएका थिए ।

प्रकाशित: ३ फाल्गुन २०८१ ०६:०३ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School