सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक र लोकप्रिय विद्या हो देउडा। सञ्चारजगत्मा आउनुपूर्व देउडा गीतलाई वनगीत भनिन्थ्यो। सुरुसुरुमा मान्यजन, घरपरिवार वा समाजका व्यक्तिले नसुनून् भन्नका लागि यी गीत वनजंगलमा गाईवस्तु चराउँदा, घाँसदाउरा काट्दा या भैंसी चराउँदा गाइने गरिन्थ्यो। गीतका धेरै भाका हुन्छन्। ती भाका विशेषगरी गायकलाई कण्ठ प्रायः हुने गर्छन्। गाउँघरमा त्यसबेला गीत गाउने मानिसलाई दुःखारी, विरही भन्ने गरिन्थ्यो। कोही कोही त यस्ता मानिसलाई पागलसम्म भन्ने गर्थे।
डेढी कदम चालेर खेलिने खेल भएकाले गीतमा भन्दा खेलमा त्यसबेलाका मानिसको रोजाइ बढी हुन्थ्यो। पहिले बायाँ गोडा उचालेर अनि डेढ स्टेप चलाएर बायाँबाट दायाँतर्फ अघि सर्दै खेलिने खेल नै ड्यौणा हो। गोलाकार रूपमा ठुलो समूहमा यो खेल खेलिन्छ। कुनै पनि गीतलाई डेढपटक उच्चारण गरेर गाइन्छ। सवालजवाफमा आधारित हुन्छ ड्यौणा या देउडा गीत। देउडा गीतका दुईवटा हरफ हुन्छन्।
लोकछन्दमा आधारित गीतको एउटा पाउमा चौध अक्षर र अर्को पाउमा पनि चौध अक्षर गरी अट्ठाइस अक्षरको संयुक्त आकार नै देउडाको वास्तविक रूप हो। हलन्त शब्दको उच्चारण ह्रस्व स्वरमा हुने हुँदा अक्षरको गणना गरिँदैन। देउडा गीतका अहिलेसम्मको पृष्ठभूमि हेर्दा यो नेपाली साहित्यको स्वरूप हो। सयौं संस्कृतिकर्मीहरू गोलाकार भएर सामूहिक रूपमा गीतको भाक्या (लय) अनुसार पाइताला उचालेर, कुममा कुम मिलाई, हात समाई एकै सुर लयमा गाइन्छ भने त्यो देउडा खेल हो, प्राचीन संस्कृति हो।
एकल या दोकल व्यक्तिले आफ्नै सुरमा गीतको गतिमा गाउँछन् भने त्यो गीत हो। जुन गीतले जीवन दर्शन देखाउँछ। यदि साहित्यका भावधारासँगै गीतहरू देउडाको धर्म र मर्मअनुसार लेखिन्छ भने त्यो साहित्य हो। त्यसैले देउडा गीत त्रिकोणात्मक शैलीमा समाजमा जीवित छ, लौकिक र अलौकिक रूपमा छ। सुरुमा गीत त्यसपछि ड्यौणा, देवस्तुतिमा आधारित भएकाले वर्तमानमा देउडा शब्द प्रचलनमा छ।
नेपाल अति सुन्दर मुलुक हो। सानो देश छ तर संस्कृतिमा विविधता छ। संस्कृति सुदूरपश्चिम र कर्णाली प्रदेशमा अथाह छ। भस्सो, चैतलो, भारीखेल, हुड्क्यासंस्कृति, मागल, छलिया, होरी, रनपुतलालगायतका अनगिन्ती संस्कृतिको पहेँलो घाम झुल्केको भूमि हो कर्णाली काली प्रदेश। गौरा र विसुपर्व त अलिकति भए पनि समाजमा देखा परिहाले। अथाह संस्कृति, भाषाको पनि सभ्यता बोकेको मौलिक गीत देउडा वर्तमान अवस्थासम्म आइपुग्न मैले निकै नै संघर्ष गरेको छु।
विगतलाई सम्झँदा २०२८ सालमा तत्कालीन प्रजिअको स्वागतका लागि बझाङ तलकोटमा देउडा गाएको थिएँ। पछि सदरमुकाम चैनपुरमा २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवमा देउडा गीत गाएर सबैलाई खुसी तुल्याएको थिएँ। पछि लाज मानी मानी चैनपुरमा त्यस बेलाका पञ्चहरूलाई पनि देउडा खेलाएको थिएँ। गाउँघरमा देउडा नखेल्ने होइनन् तर रातमा युवायुवतीहरू खेल्ने गर्थे, मायाप्रेमका कुरा गीतमा गर्थे। छोर्याट्टी भगाउने काम पनि देउडा खेलमा हुने गथ्र्यो। त्यसको अपवाद सदरमुकाममा दिउँसो नै देउडा खेल्दा केहीले स्यावासी दिए, केहीले नकाम पनि भनेको याद छ।
मानमल विष्ट, भीमदल धामीजस्ता जिल्लाका नामुद खेलाडीलगायत तत्कालीन प्रधानपञ्च नरिलाल उपाध्याय, रामप्रसाद खत्री, तत्कालीन गुरु गगनजंगबहादुर सिंहलगायतले धन्यवाद दिएको भुलेको छैन। गाउँघर, वनजंगलमा सीमित देउडा संस्कृति खुला समाजमा ल्याएर उजागर गरेको त्यो नै पहिलो पटक थियो।
यस्ता देउडा गीतका कार्यक्रम सुदूरपश्चिम र कर्णाली अञ्चलका जिल्लामा पनि सञ्चालन भएका थिए होलान् तर ती कुराहरू जानकारीमा छैनन्। प्रत्येक जिल्लाका बस्तीबस्तीमा नामुद खेलाडीहरू जन्मेका थिए, वर्तमानमा पनि यो क्रम जारी छ। ती यावत् संस्कृतिका गाथाहरूलाई त्यसबेलाका मानिसले हेलाका दृष्टिले हेर्ने गर्थे। जुन अज्ञानता र तत्कालीन राज्य व्यवस्थाको दुर्गुणबाहेक अर्को होइन।
रेडियो नेपालमा देउडा गीतको प्रवेश
रेडियो नेपाल सम्पूर्ण नेपालीका लागि सरस्वतीको मन्दिर हो, आस्थाको केन्द्र हो। वर्तमानमा जस्तो २०२८÷३० सालतिर सञ्चारको पहँच गाउँघरमा थिएन। अझ बझाङ, बाजुरा, हुम्ला, कालिकोट र पूर्वका ताप्लेजुङ, पाँचथर, संखुवासभा आदि पहाडी जिल्लामा रेडियो नेपालको पहँच प्रायः असम्भव थियो। गाउँमा हुनेखाने व्यक्तिको घरमा रेडियो बजेको खण्डमा गाउँका धेरैजसो मानिस रेडियोनजिक आएर कामलाई थाँती राखेर पनि चाख मानीमानी सुन्ने गर्थे। तलकोट दरा (ठुलो बस्ती) भित्र तत्कालीन दुर्गा भवानी निमाविका प्रअ स्वर्गवासी दाइ देवीचन्द्र जोशीको साथमा सानो रेडियो थियो।
दाइले पढाइ बिग्रन्छ भनेर मलाई रेडियो सुन्न दिनुहुँदैनथ्यो। तैपनि म लुकीलुकी रेडियो सुन्थेँ। त्यसबेला प्रस्ट नसुनिए पनि कुन दिन के कार्यक्रम कसले सञ्चालन गर्दैछ भन्नेबारे प्रायः रेडियोप्रेमीलाई अवगत हुन्थ्यो। विशेषगरी समाचार, लोकगीत, आधुनिक गीत, कृषि कार्यक्रम, प्रहरी कार्यक्रम, विदेशमा बस्ने नेपालीहरूका लागि कार्यक्रम, भाषाभाषीका कार्यक्रम, बालकार्यक्रम, गीतिनाटक आदि चाख मानेर सुनिन्थ्यो। तर यी कार्यक्रम मैले लुकी लुकी मायाले सानो रेडियो काखमा राखी राखी सुन्ने गर्थें। मलगायत गाउँका सबैलाई सानो रेडियोभित्र कसरी मानिस अटाउँदा हुन्, कताकता बसेर बोल्दा हुन्, कहाँ बसेर गीत गाउँदा हुन् भन्ने खुल्दुली हुन्थ्यो। साँझ रेडियोले हाम्रो स्टुडियो घडीमा सात बज्यो भनेर अत्यन्त मिठो धुन बजाउँथ्यो।
कामबाट थाकेर आएका गाउँका दाजुभाइलाई स्टुडियो भनेको कुन चराको नाम हो? थाहा थिएन। हामीलाई सिडिओको घडी भनेजस्तो लाग्थ्यो। अनि सिडिओको घडीअनुसार रेडियोले कार्यक्रम दिँदोरहेछ भन्ने लाग्थ्यो। हुन पनि जिल्लामा सिडिओलाई त्यसबेला राजाजस्तै आदर गर्थे। स्टुडियोको जानकारी त काठमाडौं आएपछि २०३४ सालमा रेडियो नेपालमा प्रवेश गरेपछि अवगत भयो।
रेडियोमा देउडा गीत रेकर्ड गर्ने पहिलो व्यक्ति जुम्लाका महाशंकर देवकोटा हुन्। उनले २०२० सालमा जुम्लाको भाका ‘रैनी पीपल’ बोलको गीत रेकर्ड गराएका रहेछन्। तत्कालीन राजा महेन्द्र जुम्ला गएको बेला स्वागतगान मन पराएर आफू प्रधानपञ्च भएको बेला रेडियोमा गीत गाएँ, राजाको ममाथिको दया हो यो भन्नुहुन्थ्यो भेटका क्रममा स्व. देवकोटाले। उहाँद्वारा संकलित पाँच वटा भाकाका देउडा गीत पंक्तिकारले २०३४ सालमा गाएको थिएँ। ‘चुलिय फुलिय’ नामक सातौं देउडा गीतिक्यासेटमा ती गीत पनि समावेश गरेको छु। त्यसपछि बझाङका परिमल स्नेहीले २०३३ सालमा ‘आयो जोगी सहरमा’ बोलको गीत रेकर्ड गरेको कुरा पंक्तिकारसँग स्व. स्नेहीले बताउनुभएको थियो। यसका अलवा अरू कलाकारले पनि देउडा गीत रेकर्ड गराएको हुन सक्छ तर मेरो जानकारीमा छैन।
रेडियो नेपालप्रतिको मेरो अभिरुचि
सानो छँदा गाउँमा आमा गंगामतीले मागल गाउनुहुन्थ्यो। कुनै पनि मांगलिक कार्यमा गाइने गाथालाई मांगल भनिन्छ। आमाले अत्यन्त मिठो स्वर र शैलीमा मांगल गाएको धेरैपटक सुनेको थिएँ। आमाको गुन्यु र काउलाको गादोको फेर समातेर आमासँगै जानी नजानी गुनगुनाएको थिएँ। त्यसैले पनि गायनकलाको पहिलो गुरु नै आमा गंगामती हुन्।
दाजु देवीचन्द्र जोशी घरमा नभएको बेला रेडियो सुनिरहन्थेँ। रेडियोमा लोकगीतहरू दुई बजेपछि बजिरहन्थे। जनकविकेशरी धर्मराज थापाले गाएको ‘हो हो माले हो हो’, लक्ष्मी जोशीले गाएको ‘रिटिङ रिटिङ’, पाण्डव सुनुवार र वासुदेव मुनालले गाएको ‘सक्यौ नानी सक्यौ नानी नुवाकोटे नानी’, ज्ञानु राणा र हेमलताले गाएको ‘हजुरैको नि हो चौतारीमा’, कविता आलेको ‘बसी खर काटौं उठी खर काटौं’, लालबहादुरको ‘म त काले रेलको धुवाले’, तीर्थकुमारीको ‘म त खाँदिन कुवाको पानी’ लगायतका दर्जनौं मिठा गीत निकै बज्ने गर्थे। काननजिक राखेर सुन्ने गर्थें। हाम्रा ठाउँका गीतहरू किन बज्दैनन् होलान् भन्ने लाग्थ्यो। रेडियोमा रेकर्ड गरेको भए पो बज्थे। अझ भाषाको पनि समस्या थियो त्यसबेला।
दसैंतिहारको रमझम थियो। धान काटेर आमा भाउजूहरू पाक्नै लागेको कोदाका गाना (डल्ला) काट्दै थिए गरामा। रेडियो बोकेर आमानजिकै पुगेँ। त्यही बेला ‘अल्झेछ क्यार पछ्यौरी तिम्रो चियाको बोटैमा, बल्झे छ क्यारे …’ बोलको स्वरसम्राट नारायण गोपालले गाएको गीत बज्यो। काममा व्यस्त भएर पनि उहाँहरूले नबोली उक्त गीत सुन्नुभयो। त्यही बेला आमाले ‘लाटा, अब तँ बैरागी हुन्या भै, रिणु भित्रका यी सबै भाइस बैरागी जसा छन्’ भनेको सम्झिरहन्छु।
उक्त गीत नेपाली समाजको दर्पण थियो। यसो त स्वर सम्राटका हरेक गीतले नेपालीजनलाई प्रभाव पारेको छ। स्वरमा जादु, संगीतमा नेपालीपन र हरेक गीतमा जीवनदर्शन बोकेकाले उहाँका गीत कालजयी बने। एसएलसीको परीक्षा दिएर बसेका थिएँ। उत्तीर्ण भएपछि नेपाल (काठमाडौं) जान्छु, न्यायाधीश बन्ने शिक्षा पढ्छु, जनकविकेशरी थापा र स्वरसम्राट नारायण गोपालले गाएजस्तै गरी हाम्रा गाउँघरका गीत रेडियोमा गाउँछु भन्ने मनमा सङ्कल्प थियो। कक्षा १० उत्तीर्ण गरेपछि काठमाडौंमा अध्ययन गर्दै गरेका दाजु देवीचन्द्र जोशीको मार्ग अवलम्बन गर्दै असार २५ गते अछामका योगेन्द्र शर्मा साथीसँग बझाङबाट डडेलधुरा हुँदै पैदल १२ दिन बिताएर धनगढी पुगेँ। ठुला दाजु शुकदेवले साथमा तीन सय ७५ रूपैयाँ, साहिँला दाजु जयकृष्णले दुई डब्बा भैंसीको घिउ, आमाले भुटेको भट्टको खाजा र निधारभरि दहीमा मुछेका सेता अक्षता लगाइदिएर मध्यझरीमा नेपाल पुगेको जीवनको भुल्नै नसकिने घटना बनेको छ। बाबा जगदीश जोशी (तिमिल्सिना) को अर्ति ‘लाटा, सोल कलास पास भयापछि नेपालकी वामनकी कन्यासँग ब्या अर्नु। पढ्यालेख्याकी भएपछि स्कुलकी मास्टर्नी लागली, पैसा कमाउली’ भनेको पनि मानसपटलमा ताजा छ।
गाउँको केटो देशको राजधानी छिरेपछि के कस्तो अनुभव भयो, जीवनमा कस्तो प्रभाव पार्यो, यसबारे छुट्टै आलेख तयार पारिनेछ। कानुन पढ्नका लागि नेपालगन्ज पठायो नेपाल ल क्याम्पसले। रेडियो नेपालमा गीत गाउन नपाइने भएकाले त्यतातिर लागिनँ। बरु रेडियो नेपाल नजिकै पनि पर्ने भएकाले प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठमा भर्ना भएँ। भर्ना भएकै दिन काँधमा झोला भिरेर सोधपुछ गर्दै रेडियोतिर लागेँ।
पृथ्वीनारायण शाहको सालिकसँगै रहेको सिंहदरबारको ठुलो ढोकाभित्र छिरेर भित्र प्रवेश गर्दा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित सिंहदरबार देख्दा अचम्म लाग्योे। जुन भवनमा २०२९ सालमा आगलागी भएको खबर रेडियोले सुनाएको थियो। सिंहदरबारको दक्षिणमा रहेको ऐतिहासिक रेडियो नेपालको आँगनीमा छिरेँ। त्यो दिन थियो साउन १५ गते। अलि अलि घाम, हल्का पानी परेको बेला थियो। रेडियोका धेरै मानिस भित्रबाहिर गरिरहेका थिए, कुनै चौरमा थिए। पुरानो भवनअगाडि चौतारामा बसी रेडियोको बाह्य वातावरण अवलोकन गरेँ। बरन्डामा पुग्दा प्रस्ट रूपमा रेडियो बजिरहेको सुने।
यसरी प्रस्ट रूपमा रेडियोको आवाज सुनेको त्यो नै पहिलो पटक थियो। भोलिपल्टदेखि कक्षा छोडेर पनि रेडियोमा गइरहन्थेँ। वर्तमान अवस्थाको जस्तै सिंहदरबारको गेट प्रवेश गर्दा कुनै रोकतोक थिएन। ट्याक्सी पनि त्यो गेटबाट रेडियो नेपालको आगनीसम्म पुग्थे। वरिष्ठ संगीतकार स्व. मदन परियार, द्वारिकालाल जोशी र सुन्दर श्रेष्ठलाई ट्याक्सीमा राखेर रेडियो नेपालसम्म पुगेको याद छ। धेरै पटक रेडियोमा पुगेँ। परिचित कोही थिएनन्। विशुद्ध बझाङको भाषा बोल्दा कसैले नबुझ्ने, शब्द सुन्यो कि गललल हास्ने मात्रै। त्यसबेलाका रेडियो नेपालका कर्मचारी हाँसेको पनि मलाई खुब मन पथ्र्यो। एकजनाले रेडियो नेपालका कसकसको नाम सुनेका छौ भनी प्रश्न गर्दा नारायण गोपाल, धर्मराज थापा, लक्ष्मी जोशी, पाण्डव सुनुवार, ज्ञानु राणा, हेमलता, कविता आले, लालबहादुर, तीर्थकुमारीलगायत कलाकारको नाम सुनाएँ। उनैले गीत गाउन लगाए बाहिर चौरमा। मैले ‘ओ वाज झुम्यौली वाज’ बोलको झर्रो देउडा गीत सुनाएँ। उनीहरू मलाई हेरिरहे, कानेखुसी गरिरहे। उनीहरूकै रहरमा बुझिने गीत गाएँ– ‘हो हो माले हो हो’। ती कर्मचारीले मेरो स्वरको भने तारिफ गरेका थिए। साउनदेखि असोजसम्म हप्ताको एकपटक रेडियो नेपालमा पुग्दा पनि मेरो गीत रेकर्ड हुन सकेन। तर हिम्मत हारिनँ। हाकिमदेखि कारिन्दा सबैलाई नम्र हुँदै नमस्कार गर्थें। एकदिन एकजना अग्लो गोरो मान्छेले अर्को मान्छेलाई गीत गाउन लगाइदेऊ न यो बाबुले यहाँ आएको धेरै भयो भन्दा उनी दामोदर अधिकारी हुन् भन्ने स्वरबाट चिनिहालेँ। उनले वरिष्ठ संगीतकार रत्न बेहासीलाई अह्राएका रहेछन्।
त्यतिन्जेलसम्म देउडा गीतमा कुनै बाजा प्रयोग गरिँदैनथे। मादलको तालमा गीत नमिलेपछि रत्न बेहोसीले ताल र सुरमा गाउन अह्राए। उनले भनेबमोजिम निकै प्रयास गरेँ। रत्न बेहोसीको संगीत संयोजनमा २०३४ कार्तिक १४ गते भाषाभाषीको कार्यक्रम ‘फूलबारी’मा देउडा गीत रेकर्ड भयो। गीत रेकर्डपछि यति खुसी भएँ कि बरु पढाइ छोड्छु गीत गाउन कदापि छोड्दिनँ जस्तो लाग्यो। त्यसबेला स्व. विश्ववल्लवले उक्त कार्यक्रम सञ्चालन गर्थे। जब रेडियो नेपालबाट गीत प्रसारण भयो, सुदूरका गाउँबस्तीमा थोरै भए पनि चर्चा पाएछ।
यसरी २०३४ सालदेखि २०३७ सालसम्म ‘वौजु वौजु, वौजुका कम्पनी माला, खर्कका गोठाला, गाईगोठ वल्लको घाँडो’ लगायत ६ वटा देउडा गीत फूलबारीमा रेकर्ड गराएँ। आफैंले गाएको गीत रेडियोमा सुन्न पाउँदा भुइँमा मेरो खुट्टा रहेन। तर गाउँमा जाँदा अपगाल पनि निकै सुनेँ। २०३७ वैशाख २० गते जनमत संग्रह भएको थियो। त्यसअघि रेडियो नेपालमा गाएका गीत सुनाउँदै बहुदलको निलो चिह्नको प्रचारका लागि वर्तमान नेकाका पार्टी सभापति शेरबहादुर देउवा, नेताहरू तारिणी चटौत, स्व. टेकबहादुर चोख्याल, डा. सुरेश मल्ल आदिसँग सुदूरपश्चिमका धेरै जिल्ला र बस्तीमा घुमेँ। बझाङ पुग्दा केही मानिसले मलाई भाण, वादी भने, म सुनिरहेँ। आफ्नै दाजु शुकदेवले पनि न्यायाधीश बन्न नेपाल पठाएको भाइ त गायक पो बनेछ, समाजमा बदनाम मात्र कमायो, नाम कमाउन सकेन भन्दै पिर मान्नुभयो। तर आमा र साहिँलो दाइ जयकृष्ण र गाउँका केही व्यक्तिले ‘गलो निको भयाका माइसले रिणुमा गीत गाउनु निको हो’ भनी त्यसबेला ढाडस दिएको पनि भुलेको छैन। बझाङबाट पुनः राजधानी फर्केपछि २०३८ सालमा ‘बान्नीका चैतली’ बोलको गीत राष्ट्रिय प्रसारणमा गाएँ। यो गीतले निकै चर्चा बटुल्यो।
नक्खु कारागारमा गीतहरू सुन्दा
नेपाली कांग्रेसले २०४२ सालमा सत्याग्रहको आयोजना गर्यो। संस्कृत छात्रावासको तत्कालीन विद्यार्थीहरूको नेतृत्व गर्दै जिल्ला प्रशासन कार्यालय, डिल्लीबजार चारखाल अड्डा घेराउ गर्दा प्रहरीले पक्रेर नक्खु कारागार चलान गर्यो। जसमा नजरबन्दपत्रमा तत्कालीन प्रजिअ हिरण्यलाल रेग्मीको हस्ताक्षर छ। नेताहरू जगन्नाथ आचार्य, योगप्रसाद उपाध्याय, वासु रिसाल, राधेश्याम जोत्छे, रामप्रसाद दवाडी, प्रकाश नेपाली, ध्रुवचन्द्र गौतम, हरिकृष्ण पौडेल, लोकेश ढकाल, पुरञ्जन आचार्य, मदनकृष्ण श्रेष्ठ लगायत ८२ जना नेपाली कांग्रेसका नेता कार्यकर्तासँगै १० महिना बन्दी जीवन बिताएँ।
वातावरणलाई कारागारभित्र राखिएको रेडियोले सुमधुर बनाउँथ्यो। हप्ताको चार दिनसम्म मद्वारा गाइएका गीतहरू प्रसारण गरिरहन्थ्यो। यी गीत सुनेपछि कांग्रेस, कम्युनिस्टलगायत कारागारमा विभिन्न अभियोगमा लामो अवधिसम्म थुनिएका बन्दी साथीहरूका लागि म साझा विद्यार्थी नेता बनेँ। परिणाम प्रत्येक शुक्रबार सबैलाई सांस्कृतिक कार्यक्रममार्फत देउडा गीत र अन्य गीतहरू सुनाउनुपथ्र्यो। उनीहरू माया गर्दै भन्ने गर्थें– नक्खु कारागारभित्र दोस्रो रेडियो नेपाल बजिरहेछ। यसको श्रेय वरिष्ठ संगीतकार स्व. गणेश परियार, युक्त गुरुङ र दामोदर अधिकारीलाई जान्छ।
प्रथम पुरस्कार प्राप्त देउडा गीत
रेडियो नेपालले प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रत्येक वर्ष फागुन ६ र ७ गते प्रतियोगितात्मक लोकगीत सम्मेलन आयोजना गर्दै आएको छ। २०४३ सालमा मैले पनि प्रतियोगितामा भाग लिएँ। सुदूरपश्चिमबाट यसरी प्रतियोगितामा भाग लिने म पहिलो व्यक्ति थिएँ। सहभागी हुनुपूर्व चार दिन सानेपास्थित भाडाको घरमा बस्दै आउनुभएकी स्रष्टा दिदी चन्द्रकला शाहको निवासमा ताल सुर मजबुद गर्नका लागि जाने गर्थें। मधुबाबु थापा दाइले हार्मोनियममा सिकाउनु भएर बिर्सनै नसकिने गुन लगाउनुभयो।
निकै सजगतासाथ लोकप्रिय भाका ‘छमक छमक’ गाएँ। प्रत्यक्ष प्रसारण भइरहेको थियो। कार्यक्रमको सञ्चालन वासुदेव मुनालले गर्नुभएको थियो। जापान सरकारको सहयोगमा निर्मित अत्याधुनिक स्टुडियोमा गीत गाउँदा अनौठो अनुभूति भएर फूर्तिसाथ गाएँ। भित्रबाहिर सयौं दर्शक र स्रोताहरू जम्मा भएका थिए। रेडियो नेपालले प्रमुख समाचारमा मेरो नाम लिएर देउडा गीत प्रथम भएको घोषणा गर्यो। सो प्रतियोगितामा कोमल ओली र माया ओलीले द्वितीय स्थान हात पारेका थिए। यसरी गायनमा स्तरीयता बढ्दै गएपछि रेडियो नेपालका कर्मचारी र गायन क्षेत्रका कलाकार माझ लोकप्रिय बन्दै गएछु। सुदूरपश्चिमका सम्भ्रान्त वर्ग, पुरातनवादी र गायक गायिकालाई हेलाको नजरले हेर्ने पंक्तिबिच पनि रेडियो नेपालको वास्तविक कलाकारको दर्जामा गनिएछु।
सुदूरपश्चिममा सांस्कृतिक क्रान्ति
रेडियो नेपालमा त्यसबेला कलाकारको उपस्थितिले त्यहाँको आँगनी भरिभराउ हुन्थ्यो। सबैलाई गीत रेकर्डिङको समय दिन पनि सम्बन्धित पक्षलाई मुस्किल थियो। रेडियोको नजरमा सुदूरपश्चिममा पंक्तिकारलाई, पूर्वाञ्चलमा शम्भु राईलाई, पश्चिमाञ्चलमा बमबहादुर कार्की, प्रेमराजा महत, हरिदेवी कोइराला, कृष्णसुधा ढुंगानालाई र मध्यपश्चिमाञ्चलमा चन्द्रकला शाह, मधुबाबु थापा, डा. गोविन्द आचार्य र कोमल ओलीलाई हेर्ने दृष्टिकोण विशिष्ट थियो।
देउडा संगीतको मागलाई ध्यानमा राखी म्युजिक नेपालमा निजी लगानीमा देउडा गीति क्यासेट उत्पादन गरी काली कर्णालीका लाखौं स्रोतालाई सांगीतिक प्यास मेटाउने सोच राखेँ। उत्पादन गर्दा धेरै नै खर्च भयो। श्रीमती प्रार्थनाका माइतीले दिएका गहना, मेरा पनि गहना बिक्री गरी देउडा गीत रेकर्ड गरेँ। बजार व्यवस्थापन गर्न धेरै टाढा छ। काठमाडौंबाट धनगढी, महेन्द्रगनर, टीकापुर, डडेलधुरा, डोटी, अछाम। कर्णाली नदीमा पुल नबन्दा नेपालगन्ज नाका रूपैडिया हुँदै धनगढीको नाका गौरीफन्टा, महेन्द्रनगरको नाका वनवासा पुग्न विकल्पको मार्ग भारतको रेल चढेर विविध कठिनाई झेल्दै बोरामा गीतिक्यासेट राखेर पुर्याउनु मात्र थियो। नडराई त्यसै गरेँ।
नेपालगन्ज सुर्खेतमा पनि सुदूरपश्चिमको व्यापारिक रीति बसालेजस्तै गरी व्यवस्थापन गरेँ। सामानको माग र रेकडिङ खर्च बढेपछि श्रीमतीको नाममा रहेको काठमाडौंको घरजग्गा बैंकमा धितो राखी कारोबार गरेँ। आफैंले संकलन गर्ने, आफैंले गीत रेकर्डिङ गर्ने अनि आफैंले बजार व्यवस्थापन गर्ने बडो चुनौतीपूर्ण काममा पनि भगवान्ले भरोसा दिनुभयो, श्रीमती र ससुराली पक्षले साथ दिए। परिणाम २०४५ देखि २०५८ सालसम्म मेरो जिन्दगी सुदूरपश्चिमको सांस्कृतिक जागरण अभियानमा नै बित्यो। सुदूरपश्चिम देउडा गीत र संगीतमय बन्यो। रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट पंक्तिकारका गीत मात्र प्रसारण हुने गर्थे भन्ने जानकारी इन्जिनियर मामा ससुरा पुरुषोत्तमराज पोख्रेल बताउनुहुन्छ।
रेडियो नेपालको हीरक जयन्तीमा पुरस्कृत
जिन्दगी कठिन छ, चुनौतीपूर्ण छ तर आनन्दमय पनि छ। रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै छातासंगठनभित्र गाभिएको पनि गत माघमा मात्र हो। २००७ चैत २० गते रेडियो नेपालको जन्म भएको हो, यो संस्थाका जन्मदाता स्व. तारणीप्रसाद कोइराला हुन्। प्रथम गायिका विराटनगरकी रानुदेवी हुन्। प्रत्येक साल आफ्नो स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रका विशिष्ट श्रष्टालाई विशिष्ट व्यक्तिबाट पुरस्कृत गर्ने चलन बसालेको छ रेडियो नेपालले। यसपटक देउडा गीत र संस्कृतिको ४७ वर्षसम्म अटुट रूपमा सेवा गरेबापत पंक्तिकारलाई र परिवर्तनका गीत गाएर सार्थक काम गरेबापत जनवादी गायक रामकृष्ण दुवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले भव्य समारोहबिच रेडियो नेपालको आँगनीमा दोसल्ला ओढाई ताम्रपत्रले सम्मान गर्नुभयो। कलाक्षेत्रको योभन्दा ठुलो पुरस्कार अर्को छैन। ‘यदि लोकतन्त्र स्थापना नहुने हो भने कलाकार र रेडियो नेपालको गरिमा सम्भव थिएन,’ पुरस्कार वितरण गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो।
सुदूरपश्चिम र कर्णाली प्रदेशका वनपाखामा गाइने गीतहरू गाउँको पटांगिनी, सदरमुकाम र सहर प्रवेशसँगै रेडियो नेपालको यान्त्रिक उपकरण जडित स्टुडियोमा पुगेँ। गीतहरू रेकडिङपछि आमश्रोतामाझ पुगेँ। देशका विविध आन्दोलनमा ‘झ्याम्म झ्याम्म’ गाउँदै सबैसामु मुखरित भएँ। देउडा लोक गायन र संस्कृतिको उचाइ चुलियो र गौरा र विसुपर्वमा टुडिखेलमा नेपाल प्रज्ञाप्रतिष्ठानमा शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दलाई एकैसाथ देउडामा नचाउने मौका पनि मिल्यो। भाण र वादीको पदवी हुँदै देउडा सम्राटको पदवी पनि जनजनबाट प्राप्त भयो।
देउडा गीत र संस्कृतिको उन्नयनका लागि पंक्तिकारलाई सहयोग र साथ दिने धेरै हात छन। चन्द्रकला शाह, मधुबाबु थापा, ज्ञानु राणा, जानकी भट्टराई, भारती उपाध्याय, इन्दिरा गुरुङ, बिमाकुमारी दुरा, लोचन भट्टराईजस्ता नाम चलेका कलाकारले स्वरमा साथ दिए। पुरुषोत्तमराज पोख्रेल, वासुदेव रायमाझी, परशुराम चौधरी आदिले प्रविधिमा सहयोग गरे। वरिष्ट संगीतकार गणेश परियार, मदन परियारको सांगीतिक माधुर्यले हरेक गीत सिँगारिएकाले जनजनमा कर्णप्रिय बने।
दुःखका साथी, सुखका सहयोगी बने। वाद्यवादक साथीहरू मनोहर सुनाम, दीपक सुनाम, खड्ग बुढा, खड्ग गर्बुजा, शिशिर क्षेत्री, जेबी लामा, डा. टीका भण्डारी, सूर्य थुलुङ, सुन्दर श्रेष्ठ, युक्त गुरुङ, डा. गोविन्द आचार्य, शान्ति रायमाझी, झलकमान दाइ, तीर्थ र कृष्ण गन्धर्व, सुशील विश्वकर्मा, नारायण रायमाझी, राजु अग्रवाल आदिलाई चिरकालसम्म देउडा भूमिले सम्झिरहनेछ। देउडा गायनको कठिन राजमार्ग निर्माणपछि वर्तमानमा सयौं स्वरजीवीहरू यो राजमार्गमा यात्रा गरिरहेछन्। जुन खुसीको कुरा हो।
रेडियो नेपाल हामी सबैको सिर्जनाकी आमा हुन्। आमाको कोखबाट स्वर सम्राट नारायणगोपाल, बच्चु कैलाश, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर, दीप श्रेष्ठ, दीपक खरेल, योगेश वैध, ज्ञानु राणा, मिरा राणा, सुन्दर श्रेष्ठ, तारादेवी, अरूणा लामा, राम थापा, अरूण थापा, गणेश रसिक, बुद्धवीर लामा, तारा थापा, कुन्ती मोक्तान, सीताराम ताजपुरिया आदि सर्जक जन्मिए। देउडा गीतले पनि न्यानो कोख पायो। हीरक जयन्तीजस्तो महŒवपूर्ण घडीमा राष्ट्रप्रमुखबाट सम्मान पायो। जुन पुरस्कारले सुदूरपश्चिम र कर्णाली प्रदेश गौरवान्वित भएको छ।
प्रकाशित: २० वैशाख २०८२ १०:०० शनिबार