केही समय पहिले विजय दाइ र म राहत बोकेर आफैं चुनाव लडेको वडाको चेपाङ गाउँ पुगेका थियौं । खाजा खानको लागि बसेको सानो नास्ता पसलकी दिदीले मुस्कुराउँदै भनेकी थिइन् : मैले र हाम्रो घरका जहानले भाइलाई भोट हालेका थियौं नि, तपाइँको भोट कति आयो रे कुन्नि !
साहुनीले कुरा नसक्दै विजय दाइले जवाफ फर्काइहाल्नुभयो : मलाई चाहिं विश्वास लागेन है, तपाइँले भोट दिनुभएको हो भनेर ! साहुनीले लजाउँदै भनिन्– मैले उहाँ भाइलाई नै हालेको हो के !
विजय दाइ नि के कम साहुनीलाई फर्काइहाल्नुभयोः तपाइँको झुट समातियो है, तपाइँहरूले भोट दिए अनुसारको उसको भोट पुगेको छैन । खैर, जेहोस् भाइ भोटको खोजीमा छ । त्यो खोजिएको भोटमा तपाइँ चाहिं पर्नुहुन्न, म ढुक्क छु ।
मैले साहुनीलाई सोधेंः दिदी मेरो चुनाव चिह्न चाहिं के थियो रे ? साहुनी मुस्कुराउँदै भनिन् ‘लौरो !’
लौ जा मेरो चुनाव चिह्न ‘कैंची’ पो थियो त ! साहुनी आफ्नो झुट लुकाउन खोज्दै मुसुक्क हाँसेर भन्न खोज्दै थिइन्– सायद म झुट बोलेकी होइन, मेरो मत बदर भएको हो ।
साहुनी दिदीले मुखले हामीसँग सजिलै झुट बोल्न सक्नुहुन्थ्यो तर उहाँको वरपर भएको सामाजिक यथार्थले हामीसँग झुट बोल्न सक्थेन, त्यस ठाउँको जीर्ण स्कुलको चर्केको भित्ताले झुट बोल्न सक्थेन, औषधिविहीन हेल्थ पोष्टले झुट बोल्न सक्थेन, रोजगार नपाएर कालापहाड हिंडेका तन्नेरीहरूको अनुहारले झुट बोल्न सक्थेन, सदरमुकाम जान चर्को शुल्क तिर्ने यात्रुले झुट बोल्न सक्थेन, समयमै उपचार नपाएर बाटोमै मरेर स्ट्रेचरमा ढलेका मुर्दाहरूले झुट बोल्न सक्थेनन्, चेपाङ्गको मुटुबाट बग्ने क्रसरको दोहनमा परेको भेरी नदीले झुट बोल्न सक्थेन । यी लगायत अन्य धेरै सामाजिक तत्वहरू थिए जसले झुट बोल्न सकिरहेका थिएनन् र भन्न पनि सकिरहेका थिएनन् कि मेरो भोट बदर भएको हो ।
गाडी भाडा नियन्त्रणदेखि बिजुली बत्तीसम्म
लामो समयपछि तिहार मनाउन म घर फर्कंदै थिएँ । सीमित पैसा अनि काठमाडौंमा भोगेका फुटकर मीठा–नमीठा गफ बाहेक मसँग अरू केही थिएन । सुर्खेतको सदरमुकामदेखि पश्चिम म जन्मे–हुर्केको ठाउँ २८ किलोमिटर छ, कर्णाली राजमार्ग अन्तर्गत पर्छ, गाडीमा जान एक घण्टा लाग्छ, बाटो पक्की छ । साना भ्यान गाडीहरू चल्छन् ।
बसको भाडा ८४ रुपैयाँ थियो, साना भ्यान, माइक्रो, फोर्सको भने यातायात कार्यालयले छुट्टै भाडा निर्धारण गरेको थिएन त्यसैले सबैको ८४ नै थियो । तर सानो भ्यानले भने १०० लिन्थ्यो, त्यहाँका जनताले पनि केही नभनेर खुरुखुरु १०० दिंदै आइराखेका थिए ।
म पनि त्यही सानो भ्यानमा चढेर घरसम्म आएको थिएँ । मैले भ्यानदेखि झरेर १०० रुपैयाँ गुरुजीलाई थमाएँ ।
‘५० रुपैयाँ पुगेन हजुर’ गुरुजीले गुट्खा थुक्दै भन्नुभयो, ‘धेरै भयो भाडा बढेको सरकारले नै माथिबाट बढाएको ।’
‘सरकारले लकडाउनमा पो बढाएको त्यो नि घटाइसक्यो तपाइँहरू भने अझै त्यही भाडा लिइरहनुभएको छ ?’ मैले जवाफ फिर्ता नगर्दै टिकट काट्ने समितिको केटा आएर हप्काउँदै भन्यो, ‘पहिला त झन् २५० थियो त्यो घटेर १५० भएको हो । मैले ५० को नोट चालकलाई दिंदै भनें– टिकट दिनुस् !’
चालकले पैसा लिंदै काउन्टर स्टाफतर्फ इशारा गर्यो । काउन्टर स्टाफले झर्कंदै भने, ‘छोटो रूटमा टिकट दिने गरेका छैनौं ।’
‘भनेपछि तिमीहरू यात्रुलाई भाडा बढी लिएर ठगिरहेका छौ ! म ट्राफिकलाई रिपोर्ट गर्छु’, मेरो बोली सक्न नपाउँदै काउन्टर स्टाफ झर्कंदै भन्यो– जहाँ जान्छस् जा, जसलाई गएर केस हाल्छस् हाल् !
म नसुने झैं गरेर गाडी नम्बर टिप्दै घरतिर फर्किएँ । सबैले मलाई हेर्दैथिए, ट्राफिक पनि काउन्टर स्टाफकै छेउमा मलाई हेर्दैथियो, मनमनै बल्ल खाइस् भन्यो होला । मलाई अचम्म लागेको थियो, मैले मात्र महँगो भाडा तिरेको थिइनँ मसँग यात्रा गरेका बाँकी ९ जनाले पनि १५० नै तिरेका थिए । सबै मेरै गाउँले थिए तर तिनीहरूले किन महँगो भाडाको विरोध गरेनन् ?
ल उनीहरूले गरेनन् रे यहाँका कथित पढे–लेखेका भनाउँदा युवाहरूले त गर्न सक्थे तर किन गरेनन् ? शिक्षक कहाँ गए ? विद्यार्थी कहाँ गए ? बुद्धिजीवी कहाँ गए ? पत्रकार भन्दै गाउँपालिकामा वृत्तचित्र बनाउन आउने ती पत्रकार कहाँ गए ? आफूलाई कांग्रेस र कम्युनिस्ट भनेर चिनाउने नेता–कार्यकर्ता कहाँ गए होलान् ? आफूलाई अरूभन्दा राम्रो, इमानदार देखाउने स्वतन्त्र नेता भनाउँदाहरू कहाँ होलान् ? किन सबैका सबै मौन भए ?
तिहार सकियो । तत्कालीन नेता तथा अभियन्ता अनिल ढकालसँग मिलेर जिल्ला अधिकारीलाई निवेदन लेखें । जिल्ला अधिकारीले लागेको भन्दा बढी भाडा लिने सवारी साधनलाई तत्काल कारबाही गर्न र बढी भाडा लिने सवारीलाई तत्काल जि.प्र.का ल्याउन आदेश दिए । सम्बन्धित यातायात प्रा.लि.ले गाडी भाडा घटाएको जानकारी दिए । सम्बन्धित गाडी धनी मेरै गाउँको भएकोले एकचोटिलाई माफी दिएर छाड्न लगाएँ । केही समितिका मुस्तण्ड आए, धम्की दिएर गए ।
यी सबै हुँदै गर्दा साँझ परिसकेको थियो, घर फर्कनुपर्ने थियो, बस पार्क पुग्दा अबेर भइसकेको थियो । बस स्टेसनमा दुइटा गाडी थिए । त्योमध्ये एउटा मेरो आफ्नै अङ्कलको गाडी थियो । मैले गाडीमा भएको गुरुजीलाई सोधें गाडी कतिखेर जान्छ ?
गुरुजीले अर्कोतिर फर्कंदै भने बद्दिचौर जाँदैन । गुरुजीको जवाफ नसकिंदै गाडीमा बसेको यात्रुले भने गाडी जाँदैन रे ! हामी त पर चोकसम्म मात्र जाने हो भन्दै गाडी अगाडि बढ्यो । म अङ्कलको गाडीतिर लागें अङ्कल पनि आज म यतै बस्छु भन्दै पन्छिंदै गाडी अगाडि बढाए ।
ती सबै यात्रु र गाडी बद्दिचौर हिंडेका थिए । सोचेको थिएँ गाडीवाला मेरो साथ नभए पनि गाउँले यात्रीहरू मेरो साथ होलान् तर जसको हितको लागि म बोलें यसको बदलामा मलाई सम्बन्धित यातायात समिति र यात्रुहरू समेतले त्यो यातायातको गाडीमा नचढाउने निर्णय गरेछन् ।
कसैले मलाई राजनीतिमा किन लागेको भनेर सोध्यो भने मैले सधैं जसो भन्ने गर्छु : हामी कर्णालीवासीलाई राजनीति गर्दैन भन्न छुट छैन किनकि कर्णाली भौगोलिक र राजनीतिक दुवै रूपमा पिछडिएको छ । अझ भनौं पछाडि पारिएको छ । त्यो पछाडि परेको राज्यका अर्थात् प्रदेशका युवालाई कुनै हालतमा हात बाँधेर बस्ने छुट छैन र हुँदैन पनि ।
प्रदेशको राजधानी भन्दा मात्र ३० किलोमिटर पश्चिम भेरी नदी किनारमा बसेको अन्धकार चेपाङ्ग गाउँ जहाँका अधिकांश युवा भारततिर पलायन हुन्छन् । गाउँमै भएका युवा पनि कुनै न कुनै रूपमा कुलतमा फसेका छन् । यहाँका स्थानीयको प्रमुख एजेन्डा भनेको नै बिजुली बत्ती हो । उज्यालो हो । गाउँ उज्यालो बनाउने सपना धेरैले देखाए तर पूरा गरेनन् । यो गुनासो मैले तत्कालीन विवेकशील साझाका नेताहरू समक्ष राखें ।
पार्टी संयोजक मिलन पाण्डेले ऊर्जा मन्त्रालयमा ध्यानाकर्षण गर्न सुझाव दिए । मित्र नेता हरिशजीले तत्कालीन ऊर्जा मन्त्री पम्फा भुसाललाई ध्यानाकर्षण पत्र लेख्न सहयोग गर्नुभयो । ऊर्जा मन्त्रीले एक हप्ताभित्र प्राधिकरणलाई दिन र प्राधिकरणले बेवास्ता गरे पुनः मन्त्रालयमा ध्यानाकर्षण गर्न आग्रह गर्नुभयो । केन्द्रीय प्राधिकरणले कर्णाली प्रदेश प्राधिकरणलाई तत्काल चेपाङ्ग बस्तीमा बत्ती पुर्याउने भनी चिट्ठी पठायो । अहिले आधा भन्दा बढी तार बिछ्याइसकेको छ । प्राधिकरणका कर्मचारीको भनाइ अनुसार बत्ती बाल्न अझै केही महिना लाग्ने छ ।
चुनाव
‘सरहदों बहुत तनाव है क्या, कुछ पता करो चुनाव है क्या’ यो पंक्ति भारतका महान् शायर डा. राहत इन्दोरीको हो । भारत–पाकिस्तान बीच तनावको व्यङ्ग्य गर्दै शायरले यो शायरी लेख्नुभएको थियो ।
जब–जब भारतमा चुनाव आउन थाल्छ तब–तब यो पङ्क्तिलाई व्यङ्ग्यको रूपमा प्रयोग गरिन्छ । यसदेखि हाम्रो नेपाल पनि कुनै अछुतो छैन, नेपालका नेताहरू पनि जब–जब चुनाव नजिकिन थाल्छ अनि भोट पाउनको लागि धेरै नाटक गरे जस्तो देखिन्छ । अरू बेला नागरिकलाई नचिन्ने नेताहरू चुनावको बेला तीनपुस्ते सम्बन्ध खोज्न थाल्छन् । यो रोगले मलाई नि छाडेन सायद !
विवेकशील साझा आन्तरिक लडाइँमा व्यस्त थियो, अध्यक्ष रवीन्द्र मिश्रजीले लिएको यु टर्न अनि संयोजक मिलन पाण्डेको वैचारिक अडान । यस पार्टीभित्रको वैचारिक लडाइँले गर्दा मैले धेरै कुरा सिक्न पाएको थिएँ । सिकाइ मध्ये सबैभन्दा मुख्य थियो (वैचारिक स्पष्टता) । अन्त्यमा पार्टीले पाण्डे समूहलाई कारबाही गर्यो । पार्टी प्रमुख रवीन्द्र मिश्रलाई स्पष्टीकरण माग्यौं तर उहाँले बेवास्ता गर्नुभयो ।
निर्वाचन आयोगले सार्वजनिक ठाउँ र घरको भित्तामा कुनै पनि चुनाव चिह्न सहितको पोस्टर टाँस्न निषेध गरेको थियो तर पनि ठूला दलहरूले भने टाँसिरहेका थिए । गाउँका केही घरमा मेरो पर्चा पोस्टरको रूपमा टाँसेको पनि देखें ।
त्यही कारण हामी केही युवा साथीसँगै पार्टीको साधारण सदस्य पनि नरहने गरेर निस्कियौं । लगत्तै स्थानीय निर्वाचन नजिकिंदै थियो, त्यसैलाई मध्यनजर गर्दै स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने निर्णय लिएँ । सल्लाह र सुझाव माग्दा सबैभन्दा उपयुक्त भयो वडा ।
किनकि वडामा मेरो उमेर, खर्च गर्न सक्ने स्थिति, चिनजान र नागरिकलाई मनैदेखि मेरो पनि, मलाई पर्दा हेर्ने सरकार छ भनेर र नागरिकलाई लोकतन्त्रको नजिकबाट बोध गराउन सक्ने कुनै उपयुक्त स्थान छ त त्यो वडा नै हो जस्तो लाग्यो । निर्वाचनको तीन महिना अघि वडाका स्थानीय मतदाताहरूले वडाको उम्मेदवारमा कस्ता उम्मेदवार खोजेका छन्, कस्ता चुनावी एजेन्डा ल्याओस् भनेर अपेक्षा गरेका छन् र विकल्पमा म उम्मेदवार उठें भने तपाइँ भोट हाल्नुहुन्छ ? भनेर विजय सिवाकोटी दाइको सहयोगमा सर्भेको ढाँचा तयार गरें ।
त्यसपश्चात् वडामा गएर लगभग पच्चीस सय घर र पैंतीस सय वडावासीहरूसँग प्रत्यक्ष भेटेर सर्भे गरें । सर्भे गर्दा अन्तिम प्रश्न गरेको थिएँ– के मैले उम्मेदवारी दिंदा तपाईं भोट हाल्नुहुन्छ ? धेरैको जवाफ ‘हुन्छ’ मा आयो । नयाँ वर्षको अवसर पारेर नयाँ जोश सहित वडामा उम्मेदवार बन्ने घोषणा गरें । अधिकांश मतदातासँगको अपेक्षा अनुरुप नै घोषणापत्र बनाएर छिट्टै मतदाता समक्ष पुर्याउने भिडियो सन्देश पठाएँ ।
घोषणापत्र
अक्सर स्थानीय नेता र राजनीतिक दलहरूलाई एउटा आरोप लाग्ने गर्छ– घोषणापत्रका एजेन्डा माटो सुहाउँदो भएन । यही भाष्यदेखि बच्न र आफ्नो मतदाता प्रति इमानदार हुन नेपाल विवेकशील दलले सात वर्ष अगाडि रन्जु दर्शनालाई महानगरपालिकामा मेयरको उम्मेदवार उठाउँदै गर्दा एक सर्वेक्षण गरेको थियो । त्यसैमा आधारित भएर मैले पनि मेरो वडाभित्रका एक–एक नागरिकसँग नागरिकको मुद्दा र चाहनाको बारेमा सम्वाद गरें ।
यस सर्भेले गर्दा मलाई स्थानीय नागरिकसँग झनै धेरै नजिक हुन मद्दत गर्यो । लगभग मतदाताको राय अनुसार नै घोषणापत्र तयार भयो । घोषणापत्रको मुख्य ड्राफ्ट म आफैंले तयार पारें, त्यसको सम्पादन मिलन पाण्डे र विजय सिवाकोटीले गरिदिनुभयो । एजेन्डामा हेरफेर केशव दाहाल, सूर्यराज आचार्य र किशोर थापाले गरिदिनुभयो भने डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रमा वडा अध्यक्षको हैसियतमा गर्न सकिने सुधार सम्बन्धी सल्लाह दिनुभयो ।
घोषणापत्र तयारी पछि आर्थिक सहयोग जुटाउनको लागि सामजिक सञ्जालमा सहयोगको अपील गरें र लगत्तै रेशु अर्याल र विजय सिवाकोटीले सबैभन्दा पहिला सहयोग गर्नुभयो । त्यो खर्च मेरो व्यक्तिगत तवरमा पुग्दो थियो र त्यो सहयोग नै मेरो लागि सबैभन्दा ठूलो आर्थिक शक्ति बन्यो । विस्तारै अरू साथीहरूले पनि आर्थिक सहयोग गर्न थाल्नुभयो ।
समग्रमा ३२ हजार जम्मा भयो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा उप–मेयर पदमा चुनाव लड्न लागेका अनिल ढकालले ३५ सय प्रति पर्चा आफ्नो तर्फबाट छापिदिनुभयो । अब मसँग पूर्णरूपले स्पष्ट एजेन्डा सहित घरदैलो अभियानमा जानको लागि पर्चा पनि तयार भयो ।
घरदैलो अभियान
मेरो घरदैलो अभियान एकदमै सामान्य थियो । आमैले बिहानै मकै भुटिदिनुहुन्थ्यो, अन्टीले दैलेखदेखि ल्याएको भटमास दिनुहुन्थ्यो । त्यही भुटेको भटमास र मकै झोलामा हाल्थें । सेतो टिसर्ट र पाइन्टदेखि काटेको जाङ्गे लगाएर निस्कन्थें घरदैलोमा । नमस्कार ! मेरो नाम पवन थापा । मेरो घर बद्दिचौर बजार, म फलानाको नाति आउँदै गरेको वडा अध्यक्षको स्वतन्त्र उम्मेद्वार, अब नयाँ पुस्तालाई अगाडि आउनमा सहयोग गर्नुपर्यो, यस चोटि भोट हाल्दा आफ्नो सन्तानको भविष्य हेरेर हाल्नुहोला, धेरैचोटि पार्टीलाई जिताउनुभयो, अब आफ्नो गाउँलाई जिताउनुहोस् !
यी वाक्य नै त्यस समयमा धेरैपल्ट दोहोर्याइरहन्थें । खानाको समयमा जहाँ पुगियो त्यहीं नलजाई खाना मागेर खान्थें । दिउँसो धेरै गर्मी भएको कारणले मकै भटमाससँगै पानीमा डुबाएर चिसो बनाएको कोक किनेर खान्थें । यो मेरो दैनिकी बनेको थियो ।
एक दिन सामान्य दिन जस्तै घरदैलो गर्दै चेपाङ्ग गाउँ पुगेको थिएँ । त्यहाँ एक टोलदेखि अर्को टोलमा जाँदा बीचमा खेत छ । त्यस दिन म जाँदा खेतमा मोबाइल मेला जस्तो थियो । धेरै मानिस खेतमा आएर मोबाइल चलाइरहेका थिए, बच्चाहरू एकै फोनमा झुम्मिरहेका थिए, केही ठूला मानिस फोनमा कुरा गर्दै थिए, कोही केही हेर्दै थिए । सामान्य मान्दै म आफ्नो बाटो लागें । भोलिपल्ट पनि बिहानपख केही महिलाहरू त्यहीं बसिरहेका थिए । म आफ्नो सामान्य परिचय दिई भोट मागेर यहाँ आउनुको कारण सोधें ।
ती महिलाले दिएको जवाफ सुनेर म आश्चर्यमा परें : ती महिलाहरू आफ्ना वैदेशिक रोजगारमा गएका श्रीमान्÷छोराछोरी र आफ्नो मान्छेलाई फोन गर्न र इन्टरनेट चलाउन खेतका गराहरूमा आउँदा रहेछन् । गाउँमा राम्रोसँग टेलिकम टावरले काम गर्दो रहेनछ । ती महिलासँग भोट माग्दै चुनाव लगत्तै काठमाडौं गएर नेपाल टेलिकमलाई ध्यानाकर्षण गराउने बाचा गरें ।
मेरो वडामा मात्र २५ सय भन्दा धेरै घरधुरी र जम्मा ३ हजार १३१ भन्दा धेरै मतदाता (यो परिवर्तन भइरहन्छ) छन् । म मेरो वडामा भएका एक घर पनि नछाडी एक्लै हरेक घरको दैलोमा पुगें, आफूलाई चिनाएँ, आश देखाएँ, भोट मागें र हारे पनि वडाका नागरिककै हितमा काम गर्ने र एक भोटको पनि अवमूल्यन हुन नदिने कसम खाएँ ।
मानिसहरू चौरमा बसेर नतिजा सुनेर हर्ष र चिन्ता व्यक्त गरिरहेका थिए भने केही अंक धेरै मत भएको समूहमा उत्साह देखिन्थ्यो । अन्त्यमा नजिक आएको थियो धेरैले र मैले पर्खेको वडा नं. को मतगणना । केही स्थानीय राजनीतिक समीक्षकले समीक्षा गरिरहेका थिए पवन थापाको भोट ५०० भन्दा धेरै आउँछ, त्यो नै उसको जीत हो ।
कतिले मेरो कुरामा विश्वास गरे थाहा छैन तर केहीले सोच्न भ्याए, चुनाव यसरी पनि लड्न सकिन्छ र सम्भव छ । केहीले छुट्याए होलान् पार्टीले गाडीको लावालस्कर सहित गरेको घरदैलो र मेरो नितान्त एक्लो पैदल हिंडेर गरेको घरदैलो । पार्टीहरूको उमेरले पाको उम्मेद्वार र म २३ वर्षे युवा उम्मेद्वार । सुसज्जित कपडामा सजिएर घरदैलोमा हिंडेको पार्टीको उम्मेद्वार र सामान्य टिसर्ट र जाङ्गेमा घरदैलो हिंडेको उम्मेद्वार– यी लगायत धेरै भिन्नताहरू छुट्याए होलान् !
निर्वाचन आयोगले सार्वजनिक ठाउँ र घरको भित्तामा कुनै पनि चुनाव चिह्न सहितको पोस्टर टाँस्न निषेध गरेको थियो तर पनि ठूला दलहरूले भने टाँसिरहेका थिए । गाउँका केही घरमा मेरो पर्चा पोस्टरको रूपमा टाँसेको पनि देखें ।
निर्वाचन आयोगले चुनाव चिह्न दिइसकेको थिएन त्यसैले चुनाव चिह्न विना मतदाता समक्ष पुगिरहेका थिए मेरा पर्चाहरू । त्यस पर्चामा लुकेको थियो मेरो विद्रोही एजेन्डा ।
केही दिनपछि चुनाव चिह्न आयो, विजय दाइले कैंची रोजिदिनुभयो । कैंची र स्वस्तिक छाप सहितको पर्चा अनिल ढकाल दाइले फेरि पैंतीस सय प्रति छापेर पठाइदिनुभयो । अब म पूर्ण भएको महसुस गरेको थिएँ । भ्रष्ट नेतालाई काट्न ‘कैंची’ गज्जबको नारा तयार भयो तर नागरिक समक्ष कहिल्यै भनिनँ ।
उम्मेदवार दर्ता गराउने दिन नजिकिंदै थियो एक प्रस्तावक र एक समर्थक खोजेर ठिक्क बनाएको थिएँ । दर्ता गर्ने दिन पो थाहा पाएँ, मेरो समर्थनमा आउनुपर्ने मान्छे अर्कै दलको वडा अध्यक्षको टिकट पाएर म विरुद्ध लड्ने पक्का भयो । पछि चुनाव पनि जित्नुभयो ।
चुनाव चिह्न सहित सात दिन भित्र फेरि एक चोटि पूरै वडा घुम्ने योजना बनाएर पसें गाउँभित्र । यसपल्ट घरघर चुनावी लहर छाइसकेको थियो । स्वस्फूर्त रूपमा मानिसहरूले मेरो पर्चालाई पनि आफ्नो घरमा अन्य पार्टीको उम्मेदवारको ब्यानरको छेउमा टाँसिदिएका थिए । सायद यो पनि एउटा लोकतन्त्रको सुन्दर रूप होला ।
गाउँमा हरेक उमेरको, जातको, लिङ्गको, भाषा र धर्मको मान्छेहरूलाई भेटेर केही आश देखाएँ, केही सचेत बनाएँ, आफ्नो वडा आफैं बनाउनुपर्ने गफ दिएँ, त्यसरी नै बिते सात दिन ।
पहिलो भोट आफैंलाई
जीवनमा मैले दुई पल्ट मात्र चुनावलाई नजिकबाट हेरेको छु । पहिलो पल्ट २०७४ सालमा विवेकशीललाई भोट माग्दा र यसपल्ट त चुनाव लड्दै थिएँ । चुनावको दिन कान्छी आन्टीलाई र एक मित्रलाई बुथमा मेरोतर्फदेखि एजेन्ट राखें ।
म बिहानै नुहाएर कुर्ता र जिन्सको पाइन्ट लगाएर मतदान केन्द्रतर्फ लागें । केहीलाई बाटैमा फकाउँदै लगें, लाइनमा बसेकालाई लाइनमै फकाएँ । त्यो दिन थियो सायद मैले जीवनमा सबै भन्दा धेरै मानिसलाई दुई हात जोडेर सम्मान र विनम्रपूर्वक नमस्कार गरेको, हाँसेर बोलेको, केवल एक भोटको आशमा ।
सबै जना भोट हालेर प्रफुल्लित अनुहारमा बुथ एरियादेखि निस्किएका थिए । लाग्थ्यो सबैले मलाई नै भोट हालेर निस्किएका छन् । म गमक्क भएर उनीहरूतिर फर्केर मुसुक्क हाँसिदिन्थें र गरिदिन्थें नमस्कार ।
दिनको दोस्रो प्रहरमा मैले जीवनमै पहिलो पल्ट भोट हाले त्यो पनि आफूलाई । बेलुकीको पाँच बज्यो, नेपाल पुलिस, सशस्त्र, आर्मी र कर्मचारी मिलेर सहमतिमा बुथ बन्द गरेर मतगणना स्थानमा केही समयमै ल्याइपुर्याए । रातिदेखि नै गणना गर्ने, वडा नं. १ देखि गन्न सुरु गर्ने वार्ता भयो । निर्वाचन आयोगका कर्मचारीले माइकबाट मत परिणाम सुनाइरहेका थिए ।
मानिसहरू चौरमा बसेर नतिजा सुनेर हर्ष र चिन्ता व्यक्त गरिरहेका थिए भने केही अंक धेरै मत भएको समूहमा उत्साह देखिन्थ्यो । अन्त्यमा नजिक आएको थियो धेरैले र मैले पर्खेको वडा नं. को मतगणना । केही स्थानीय राजनीतिक समीक्षकले समीक्षा गरिरहेका थिए पवन थापाको भोट ५०० भन्दा धेरै आउँछ, त्यो नै उसको जीत हो ।
निर्वाचन आयोगको कर्मचारीले माइकमा वडा नम्बर ५ का प्रतिनिधिहरूलाई बोलायो । म लगायत पाँच अन्य दलका मेरो प्रतिस्पर्धी पनि गणना हुने स्थानमा जम्मा भयौं । कर्मचारीहरूले हामी सबैलाई देखाउँदै मतपत्र भएको बाकस खोलेर गणना हुन थाल्यो ।
म ज्ञानी बच्चा जस्तो भएर कापी र कलम लिएर बसेको थिएँ मेरो भोट गन्न तर अफसोस रूख र सूर्यले बीस काट्दा पनि कैंचीले खाता खुलाउन सकेको थिएन बदर जरुर भएको थियो । पहिलो पल्ट कैंचीमा स्वस्तिक छाप लागेर आउँदा कर्मचारी सबैलाई देखाउँदै मुसुक्क हाँसेर भने कैंची एक, त्यहाँ भएका सबै कराए : खाता खुल्यो ।
कैंची पाँच पुग्दा रूख, सूर्य र हँसिया हतौडाले सय काटिसकेका थिए कैंची पछि केवल हलो थियो । जब आधा गनेर सकियो कैंचीपछि कोही थिएन । कर्मचारी मत गनिरहे रूखको मत बढिरहेको थियो कैंची भने हराइरहेको थियो । एक हजार मत गन्दा कैंचीलाई जम्मा सात भोट प्राप्त थियो ।
आठ भोट प्राप्त हुँदा म निदाएको थिएँ, उठाएर जानकारी दिए मैले एउटा धर्को लगाएँ । ५ नम्बर वडाको मत गनेर सकिंदा कैंची नौमा अडिएको थियो अर्थात् पूरा चुनावमा कैंची अर्थात् मलाई प्राप्त भएको भोट जम्मा नौ । रातको दुई बजेको थियो, आयोगका कर्मचारीले माइकमा वडा अध्यक्ष सूर्य ६९४, रूख ९७८, हँसिया–हतौडा २६९, कलम ३५, हलो ३४ र कैंची ९ ।
दुई भोटको खोजीमा…
चुनाव सकिएपछि घरमा आएर हिसाब गरें किनकि भोट संख्या पनि हिसाब गर्न लायकको थियो । घरमा सबैसँग सोधें । आमै छाडेर किनकि उहाँलाई लगेर मैले भोट कैंचीमै हालेको थिएँ । हामी घरको सबै परिवार गरेर जम्मा सात भोट आएको स्पष्ट भयो बाँकी रह्यो दुई, त्यो कसले हाल्यो ? मलाई उत्सुकता भयो र तनाव पनि सायद अलि बढी भएको भए तनाव र उत्सुकता हुने थिएन होला ।
मैले व्यक्तिगत सहयोग गरेका ती श्रीमान् हराएका एकल आमा सम्झिएँ जुन आमा श्रीमान् विना छोराको जन्मदर्ता गराउन वडासम्म जान हिम्मत गरेकी थिइनन् । ति पात्रहरूको अनुहार सम्झिएँ जुन पात्र गाउँमा बिजुली बत्ती बल्ने आशामा बसेका थिए ।
ती महिला पात्रहरू सम्झिएँ जसलाई मैले काठमाडौं गएर नेटवर्कको टावर बनाउने बाचा गरेको थिएँ । ती अनुहार सम्झिएँ जसले मलाई यातायात शुल्क घटेकोमा धन्यवाद दिएका थिए । ती अनुहारहरू सहितको भोट गन्दा चौध पुग्छ नौ होइन ।
म आज पनि त्यो अमूल्य दुई भोटको खोजीमा छु । जसलाई खोज्न नेपाल टेलिकमले चेपाङ्ग लगायत क्षेत्रमा हुनेगरी फोर जी टावर बनाउँदै छ । जसलाई खोज्न कर्णाली प्रदेशमा प्रदेश सरकारले यातायातको कानुन नै बनाउँदै छ यी लगायत धेरै काम भइरहेको छ दुई भोट खोज्नका निम्ति । के थाहा कुनै दिन बिजुलीदेखि मिल चलाएर मोबाइलमा नमस्तेको फोर जी कनेक्ट गरेर सुलभमा यात्रा गरिरहेको क्रममा पो भेटिन्छ कि ? त्यो दुई भोट !