‘दि लास्ट वास्टर्डस्’ र नेपाली उपन्यासको नयाँ मानक


वास्तवमा यो लेखको शीर्षक यस्तो नलेख्न पनि सकिन्थ्यो । बरु यसलाई हिउँको गीत, नेपाली उपन्यासको नयाँ उचाइ भनेको भए पनि केही बिग्रिन्नथ्यो । लेखकले त हिउँको गीत भनेर यसलाई एउटा प्राकृतिक र आशावादी नाम दिएका छन् । रोमाञ्चित बनाउने नाम । कभरमा भएको हिउँचितुवाको चित्रले उपान्यासको खास भाव उतार्दैन । पढ्दै जाँदा हिउँसँग जोडिएका क्व्होलावासीका दुःख, हण्डर र खुशीका अनेक प्रसंग छन् । वास्तवमा यो हिउँको गीत नभएर मान्छेहरूका खुशी र विरहका अनेक गीतहरूको सँगालो जस्तो छ । त्यसैले गीत भनेर शीर्षक लेख्न पनि मलाई अप्ठेरो लागेको हो ।

गीत भन्ने नै हो भने पनि यो एउटा ब्लुज हो क्व्होलावासी साधारण मानिसहरूको, बाबुको पहिचान नखुलेर केटीहरूले नपत्याएका प्रख्यहरूको, बोक्सी भनेर लाञ्छित उक्र्या र पाते पुइलाहरूको, पुरुषले बैंस लुटेर छाडेका युवतीहरूको, शासकहरूको तारो बनेका साँला पस्को क्रोमी र कारहरूको । कचः लुतुहरू, नानी छ्यामिरी, क्रोंस्योहरूको । मारटः र अलिदेवहरूको ब्लुज । हिमालको चिसो सिरेटो या हिउँको बाक्लो च्यादरले लपेटिएका गाउँलेहरूको सुस्केरा हो ।

यति स्पष्टीकरण पछि आउनोस् एकछिन नेपाली उपन्यासमा भिन्न भिन्न विषय र कथ्यहरूका सन्दर्भमा मानक मानिने मदनमणि दीक्षितको माधवी र धच गोतामेको घामका पाइलाहरू पछि अर्को उचाइको उपन्यास हिउँको गीतबारे चर्चा गरौं । र यति त थपौं कि, लास्ट वास्टर्डस् शब्दहरू यसै उपन्यासभित्र लेखकले स्थापित गरेको न्यारेटिभ र प्रयोग गरेको वाक्यांशबाटै पैंचो लिइएको हो ।

कथा भूगोल

तीर्थ गुरुङ मेरा गाउँ भन्दा अलि परका तर राजनीतिक नाप नक्शाले एउटै पालिकाका बासिन्दा भए पनि मेरो कम संगत भएका नवोदित आख्यानकार हुन् । पोखरा जाँदा रिडर्स कर्नरमा कहिलेकाहीं चुपचाप र शान्त भावमा आँखाले प्रश्न र जिज्ञासा व्यक्त गरिरहेको, सुनाउन चासो नराख्ने र सुन्न उत्सुक हुने तीर्थसँग चिया र कफीको चुस्कीसँग थोरै गफ मैले पनि लडाएको छु, मानौं आख्यानमा ऊ विद्यार्थी हो र म शिक्षक (अब अहिले लाज लाग्ने कुरा बन्यो त के गरौं) । उसको यस अगाडिको उपन्यास पाठशाला किनेर ल्याएको वर्षौं हुँदा पनि पढेको छैन । पढ्दिनँ या राम्रो छैन भनेर हैन । कतिपय पुस्तक यस्तै हुन पुग्छ जस्तो गनेस पौडेलको पाइताला । तीर्थको कथासंग्रह आपा क्हार्प चैं पढेको छु । त्यसैबाट थाहा भएको थियो एउटा गम्भीर लेखक यतै सिक्लेस (च्यिइली) को धप्राङ थरबाट उठेर काठमाडौंका डबलीहरूसम्म विस्तार हुँदैछ भनेर ।

धप्राङ थर टाढाबाट जानेका लागि गाउँकै एउटा हिस्सा हो । परम्परागत ठेलो हान्ने फराकिलो बाटोले यो टोललाई सिक्लेसका अरू बस्तीहरूबाट धेरै कुरामा अलग्याउँछ । त्यसलाई बुझ्न भने स्थानीय गुरुङ समाजको मानवशास्त्रीय या समाजशास्त्रीय अध्ययन गर्नु आवश्यक हुन्छ । उहिले मञ्जुश्री थापाले दि ब्वाई फ्रम सिक्लेस पुस्तकबाट चिनाएको सिक्लेसको ठिटो चन्द्रबहादुरको आँगनको डिलमुनि (गाउँको सिरानबाट दोस्रो) पूर्वदक्षिण कोणमा यिनको घर छ । चन्द्रबहादुरका पुर्खा सिक्लेसका शासक थिए । त्यस अगाडि क्व्होलादेखि नै घलेहरू उनीहरूका राजा थिए । घले राजालाई कुनै बेला स्थानीयले लघारेका थिए । उनको उपन्यासको भावभूमि यही सिक्लेसका पाखा–पँधेरा, लेक, गोरेटा तथा गल्ली र घरहरूमा बुनिएको छ ।

अन्नपूर्ण र लमजुङ हिमालको सिरेटो यो गाउँमा सिधा पर्दैन थोरै छेलिएको छ । छोंचधिंबाट अलिकति देखिन्छ । खुलेको हिमाल हेर्न कि पार्चेको डिलतिर कि गाउँमाथिको खर्कतिर पुग्नुपर्छ । हिउँदमा लेकबाट भेडीगोठहरू गाउँमा झर्छन् र तलतल खिलाङ हुँदै मादी किनारको सोंधा चाँसुसम्म पुग्दा हुन् । गाई भैंसीका गोठ र भेडीगोठको संख्या विस्तारै सीमित हुँदै गएका छन् । मादीका पारिपट्टि पहराका अक्करे भीरहरूमा भीरमौरीका घारहरू प्रशस्त छन् (अहिले हाइड्रो योजनाको शिकार पो भए कि ?) । सोंधासम्म फैलिएको खेतमा काम गर्न गाम बेसी गर्ने लामो उकालो ओरालो हिंड्ने यहाँका पुरानो पुस्ताका बासिन्दाका पाइताला चेप्टा र पिंडुलाहरू बटारिएका बलिया देखिन्छन् । अहिले पर्यटकीय महत्व बोेकेको कफुचे र कोरी जाने बाटो पनि यही भएर जान्छ ।

यो राजनीतिक उपन्यास भनिन्न होला, तर सबै कुरा राजनीतिक शक्ति सम्बन्धहरूमा केन्द्रित छन् । म्रुहरूले शक्ति आफ्नो नियन्त्रणमा राखिरहन गर्ने प्रयासको वरपर नै घटनाहरू अगाडि बढेका छन् । राजनीति यसको मूल प्रवृत्ति हो

उहिले यहाँबाट नुन लिन नामुन भञ्ज्याङ हुँदै मनाङ जाने गर्थे । पाहा र माछा, मह, मृग र थारल तथा चरा च्याखुराहरूको शिकार खाद्य संस्कृतिको अनिवार्य हिस्सा थियो । यो मैले यहाँ उल्लेख गर्नुको अर्थ के भने उपन्यासका पात्रहरूको दिनचर्या यिनै कुराबाट बनेको छ । यस्तो लाग्छ उनले सिक्लेसको भित्तामा पारदर्शी क्यानभास राखेर त्यहीं क्व्होला सिर्जना गरेका छन् । क्व्होला लमजुङ हिमालको दक्षिणमा पर्ने लेकाली भिरालो पाखो हो जहाँ गुरुङहरूको पहिलो व्यवस्थित बस्ती बसेको थियो । उनीहरू तिब्बतबाट मुस्ताङ, मनाङ हुँदै नामुन कटेर यहाँ आएका थिए भनेर भनिन्छ । क्व्होलामा तीन टोल थिए र त्यसैले क्व्होलासोथारका नामले जानिन्छ । यही बस्तीका मानिसहरू सुविधाजनक वासस्थान खोज्दै बसाइँ सर्दै कम्तीमा ३०० वर्ष यता छरिएर मादी मस्र्याङ्दी मात्र हैन कालीगण्डकीदेखि बूढीगण्डकीसम्मका लेकाली बस्ती र तल कछाडतिर विस्तारित भएका थिए । तिनै बासिन्दा, त्यही भूगोल र त्यहाँको ग्रामीण जीवनका शक्ति सम्बन्ध, स्त्री–पुरुष सम्बन्ध र जीवनका लयहरू यो उपन्यासमा उनिएको छ । गुरुङहरू सहित केही तिब्बतियन समुदायमा बाहेक अरू नेपाली समाजमा नभेटिने एउटा सामाजिक समस्यालाई उपन्यासले आफ्नो मुख्य विषय बनाएको छ ।

आख्यान र इतिहासको मिसमास, यथार्थ र मिथहरूको मिसमास र अलौकिक कथाहरूलाई यथार्थ समयसँग जोडेर कथा भन्ने शैली हेर्दा उनको उपन्यासमा मार्खेज, मो यान र मुराकामीका उपन्यासहरूमा प्रयुक्त म्याजिकल रियालिजमको राम्रो छाप देखिन्छ । अझ खनातिहरूको सहारामा काल पर्खिरहेको बाजे म्युउरा भन्ने पात्र त वान हन्ड्रेड इयर्स अफ सोलिच्युडको बूढो वुएण्डियाको सम्झना लेराउँछ ।

थोरै चर्चा कथाको

कथा केही ब्रिटिश लाहुरेहरूको आफ्नो पुख्र्यौली थलो क्व्होलासोथार घुम्ने योजनामा सामेल भएर गएको लेखकले गर्ने अनुभवबाट थालिएको छ । पोखराबाट आफ्ना दौंतरी उमेरका लाहुरेहरूको रमाइलो यात्रामा एउटा हिउँबहादुर (हिमेश) या डिस्को नामकोे ब्रिटिश आर्मीको पूर्व लाहुरे छ जो अरूभन्दा अलि अनौठो व्यवहार गर्छ । विभिन्न लाहुरेहरूका कोसोभो, सियरालियोन, इराक र अफगान युद्धमा सामेल भएका ब्रिटिश गोर्खाका अनुभव त छन् तर यो डिस्को (राम्रो नाच्ने भएकोले पाएको उपनाम) चैं युद्धको नाम सुन्न, बन्दुक देख्न र त्यसबारे कुरा गरेको पनि सुन्न नसक्ने गरी मानसिक रूपमा अशान्त छ । त्यससँगै पत्नीसँगको सम्बन्धले तनावमा छ । उसले अनौठो व्यवहार गर्छ । र क्व्होला पुगेपछि उही डिस्कोले सामान्य बोलीचालीबाट हराएको र पुरोहित (झाँक्री, पच्यु पैंडीहरूले) प्रयोग गर्ने चों भाषामा अनेक कुराहरू गरेको हुन्छ । असामान्य मनोदशामा उसले बोलेका कुराहरू रेकर्ड गरेको लेखकले तिनै कुराहरू मार्फत क्व्होलाका तमुहरूको समाज, संस्कृति र अर्थ–सामाजिक अवस्थाका विषयमा यो कथा बुनेको देखाएका छन् ।

कथामा क्ह्याल्पा अर्थात् म्रु (राजा), म्रुस्यो (रानी) म्रुधिं (दरबार) समुदायको मूल स्तम्भका रूपमा देखिन्छन् । आजको सापेक्षतामा या अन्य सभ्यताहरूको तुलनामा कम जटिलतायुक्त कविला समाजको संगठन देखाइएको छ जुन क्व्होलाका तमुहरूले पुर्खाहरूबाट सार्दै ल्याएको ज्ञानमा आधारित छ । उपन्यासमा नै डा. टेकबहादुर गुरुङले हालै चीनको एउटा विश्वविद्यालयमा गएर गरेको तमुहरूको जिनेटिक अध्ययनका सन्दर्भ छन् । अर्थात् तमुहरूको उद्गमथलो चीनको कुनै भागमा रहेको छ जहाँबाट उनीहरूले आफ्नो ज्ञानको दायरा फराकिलो बनाउँदै ल्याएका छन् । नयाँ परिस्थितिमा सामञ्जस्यता कायम गरेका छन् ।

म्रु, पच्यु (झाँक्री या पण्डित), र दरबार निकट या उसले पत्याएका भद्र–भलाद्मीहरूको समूहले शासन चलाउँछ । कहिले दाउरा काट्ने, कहिले शिकार खेल्ने, कहिले खेतीपाती गर्ने, कहिले गोठ लेकबेसी गर्ने भन्ने जस्ता विषयको निर्णय पच्युहरूले हेरकोर गरेर दिन निकाल्ने र त्यसका आधारमा म्रुले दिन तोकेर म्हिन (कटुवाल) मार्फत सूचना दिने गरेपछि लागू हुन्छ । त्यहाँभित्र राजा कमजोर भएको समयमा यस्ता पच्यु र भद्र पुरुषहरूका बीच शक्तिका लागि संघर्ष हुन्छ ।

कथाको थालनी नै साँला पस्को (पस्को साइँला) ले मनाङ नुन लिन गएर फर्कंदा ल्याएको बन्दुकको शक्तिबाट शुरू हुन्छ । म्रुलाई नसोधी ल्याएको बन्दुकको शक्तिबाट तर्सेको मु्रले शिकार खेल्न गएको साँला पस्कोको हत्या गरेपछिका घटना र त्यसका प्रभावहरूबाट कथा बुनिंदै गएको छ ।

शक्ति अभ्यासको अर्को परम्परा झाँक्री र बोक्सीका बीचको संघर्षका रूपमा देखाइएको छ । परम्परागत समाज धामी झाँक्रीहरूको भरमा रोग र दुःखसँग लड्दै आएको हुन्छ । उपन्यासले त्यसलाई देखाएको मात्र छैन बरु कसरी पच्युहरू गाउँलेहरूले बोक्सी मान्न छाडे भने अथवा बोक्सीले गाउँलेहरूलाई दुःख दिन छाडे भने जीविकामा संकट पर्छ भनेर डराउँछन् भनेर खिल्ली पनि उडाएको छ ।

उपन्यास मानक खस नेपाली भाषामा लेखिएको छ । समाजमा हुने संवादमा (केही सय वर्ष पहिलेको समाजका सन्दर्भमा) लेखकले स्थानीय लवजमा या अनौपचारिक बोलीचालीको भाषामा लेखेको भए यो अझ प्रभावकारी हुनसक्थ्यो

महिलाहरूमाथि कविलाई समाजमा पितृसत्तात्मक दमन कम हुन्छ भन्ने कुरालाई उपन्यासले एकप्रकारले खण्डित गरेको छ । घरभित्र बलिया देखिए पनि समाज र सामाजिक जीवनमा महिलाहरूको भूमिका सहयोगीको छ । रोपाइँ गरेर या हुरीबाट फर्कंदा कुनै मिमै (केटा)को स्याखु बोकिदिने महिला भएनन् भने ऊ अपमानित हुनुपर्छ । अर्थात् महिलाले पुरुषको इज्जत पनि सहयोगीकै रूपमा जोगाइदिनुपर्छ । समय अनुसारको नवीन मूल्यप्रति युवाहरूको चासो र पुरातन मूल्यप्रति शासकहरूको चासोलाई पनि राम्ररी केलाइएको छ ।

उपन्यासमा रोधी परम्परा, त्यसको संगठन र किशोरकिशोरीहरूको सामाजिकीकरणमा त्यसका प्रभावहरूको विस्तारमा चर्चा छ । एक जना पात्रलाई केही वर्ष गाउँबाट हराएर नेपाल (काठमाडौं) पुगेर फर्केपछि उसले ल्याएको कला, संस्कृति र ज्ञानको प्रभावको कुरा छ । विस्तारै राजा मार्फत नै छिमेकी राज्यबाट आयात गरिएको दुर्गा पुजा, दशैं जस्ता चाडहरूको प्रभावले ल्याएको परिवर्तन, प्राकृतिक धर्म मान्ने गुरुङहरूमा तिब्बती लामा धर्मको प्रभाव कसरी प्रवेश गर्‍यो भन्ने सन्दर्भ छ ।

यसैगरी काठमाडौं बसेर नयाँ दुनियाँ र विश्व देखेर आएको राजा अलिदेव र औलतिरका धर्म संस्कृति र अर्थतन्त्र देखेर भोगेर आएको कल्साइ (अलिदेवकै मामा) का नयाँ चेतनाले क्व्होलावासीहरूलाई आफ्नो निरन्तरको दुःख, हिउँबाट कठ्यांग्रिनुपर्ने लामो हिउँद, धानको उत्पादन नहुने ठाउँको बसाइ (औलतिरका मानिसहरूसँग हुने व्यापारमा चामल पनि सामेल हुने गरेकोले कहिलेकाहीं मात्र खान पाउने भातले गाउँलेलाई आफ्नो परम्परागत खाद्य संस्कृतिबाट पर खिच्दै लगेको छ र धानखेतको खोजी गर्न लोभ्याएको छ) समेतका कारण क्व्होलाबाट मादी किनारका इलाकाहरूमा बसाइँ सर्न प्रेरित गरेको छ । बुढाहरू बसाइँ सर्ने कुराका विपक्षमा छन्, युवाहरू सर्न जोड गरिरहेका ।

कसैलाई अलिदेवहरूसँग सँगै च्यिइली (सिक्लेस) झर्न रुचि छ अर्को पक्षलाई तोंनी तिर (कोही क्रपुडाँडा हुँदै एउटा समूह सिङ्दी, पसगाउँ, अर्को समूह घनपोखरा घलेगाउँ, अर्को भुजुङ, फेरि अर्को समूह छुट्टिदै याङ्जाकोट, अर्को समूह लमतरी हुँदै वार्चाेक भाचोक झरेको भन्ने गुरुङहरूको बुझाइ छ) । उपन्यासले तमुहरूको इतिहासको यो पाटोका अर्थ–राजनीतिक र अर्थ–सामाजिक कारणतिर मज्जाले संकेत गरेको छ ।

खोरिया र गोठमा आश्रित क्व्होलावासीहरूको चित्रण गर्दा लेखकले अलिकति गडबड गरेर ६०० वर्ष पहिले नै क्व्होलावासीहरू स्थायी खेतीतिर गइसकेको जस्तो देखाउन खोजेका छन् । जुन तथ्यहरूसँग मेल खाँदैन । सिक्लेस झरेपछि नै खस आर्यहरूको संगत र देखासिकीले तमुहरूले गरा बनाएर स्थायी खेती गर्न थालेका हुन् ।

कथाको चुरो

यो उपन्यासको मूल चुरो चैं तमुहरूभित्र परम्पराका रूपमा रहेको विवाहेत्तर सम्बन्धबाट बच्चा जन्मेपछि त्यस्तो बच्चा र उसकी आमालाई सन्तानको बाबु र परिवारले स्वीकार नगर्दा उत्पन्न सामाजिक समस्या हो । रोधी या मेलापात या वनपाखामा कुनै महिलालाई कुनै पुरुषले (तमु समाजमा विद्यमान श्रेणीगत सामाजिक विभाजनमा तल रहेका या आर्थिक रूपमा तल्लो वर्गका परिवारका छोरीहरूलाई त्यस्तो तहगत विभाजनमा माथिरहेका परिवारका पुरुषहरूले) फकाएर या प्रेम गरेर अथवा धेरैजसो केसमा जबर्जस्ती करणी गरेर बच्चा जन्माउने र त्यस्तो बच्चालाई आफ्नो सन्तानका रूपमा स्वीकार नगर्ने, उसकी आमालाई पनि विवाह गर्न अस्वीकार गर्ने र अलपत्र पार्ने लामो परम्परा रहिआएको छ । यस्तो बच्चालाई प्रख्य भनिन्छ । बच्चा जन्मेपछि समाजमा प्रश्न उठ्ने र अर्को विवाह गर्नका लागि यस्तो बाहिर राखेकी प्रेमिका या आफ्ना सन्तानकी आमाबाट छुट्कारा पाएको हुनुपर्ने दबाबका कारण केही रुपैयाँ पैसा दिएर महिलालाई मुक्त गरिन्छ । उसको सन्तान चैं मावलीतिर हुर्कन्छ या आमासँग झड्केलोको रूपमा आमाको नयाँ पतिकहाँ पुग्छ । पछि कुनै कुनै बाबुहरूले आफ्नो घरमा गोठालो चाहिंदा गोठमा बोलाएर बस्न र काम गर्न दिन्छन् ।

त्यसरी हुर्केका केटाहरूलाई पछि बिहे गर्न निकै अप्ठेरो हुन्छ । यदि छोरो मावलीतिरबाट स्याहार पाएर पढ्न सक्यो, भर्ती भएर कमाउन सक्यो भने चैं बाबुहरूले आफ्नो जात दिन्छन् । नाम दिन्छन् । छोरीहरू पनि घरमा काम सघाउन मान्छे चाहियो भने बोलाएर राख्ने तर हेलाँ गरेर दास बनाउने प्रचलन थियो । अन्यथा यस्ताले जीवनभर आफ्नो जैविक बाबु पत्तो लाउन समेत गाह्रो हुन्छ । पछिल्लो समय नागरिकता लिन बाबुको नाम चाहिने हुँदा आमा या मावलीतिरकाहरूले जैविक बाबु चिनाइदिने गर्छन् । नागरिकता दिन बाबुहरू सकेसम्म मान्दै मान्दैनन्, मानिहाले पनि अंश दिनुनपर्ने गरी मात्र दिन्छन् (यस सम्बन्धमा उहिले गरिमामा मेरो एउटा कथा प्रकाशित छ प्रोगे । म वार्चोकमा २०३७ देखि २०३९ सम्म शिक्षक थिएँ । त्यहाँ प्रत्यक्ष देखे–सुनेका घटनाको आउटसाइडर अब्जर्भेसनको उपज थियो त्यो कथा । सिक्लेसतिर प्रख्य, प्रखे भनिन्छ, हाम्रो गाउँतिर चैं प्रोगे । गोरखातिर पुग्दा प्रके हुन्छ कि ?) ।

क्व्होलाका परित्यक्त महिला, प्रख्य र प्रख्य बनाउने, प्रख्यहरूको दुःखान्त र प्रख्य नै पछि राजा बनेको घटनाको वरपर यो उपन्यास बुनिएको छ । तर यो इतिहासको र उहिलेको कुरा मात्र हैन । लेखकले आफ्नो समयको समाजको यो विभेदयुक्त शक्ति सम्बन्धलाई भित्रैदेखि घृणा जगाउँदै उपन्यासका पात्रहरू चयन गरेका छन् ।

अहिले पनि मेरा केही मित्रहरू छन् जसका प्रख्य सन्तानहरू छन् । तिनले बाबुको माया र परिचय पाउन सकेका छैनन् । कसैकसैले नाम या जात पाएका छन् तर ती पनि बाबुबाट परित्यक्त नै छन् । प्रख्यका अधिकांश आमाहरू दुःख र अपमानपूर्ण जीवन जिउन बाध्य छन् । त्यस्तै मध्ये केही थान प्रख्यका उत्पादक मेरा एक जना मित्रले पछि आत्मग्लानि भएर एउटा पश्चात्तापयुक्त उपन्यास पनि लेखेका छन् । तर अहिले पनि लेकाली बस्तीका तमुहरूको समाजमा महिलालाई भोग गर्ने पुरुषलाई भित्रभित्र बहादुर भनिन्छ अर्थात् वीरभोग्या वसुन्धरा अहिले पनि यो समाजको सांस्कृतिक मूल्य हो । आफूलाई यस्तो घटनाको चोट परेकाहरू यसको विरोध गर्छन् बाँकीले आफ्नो हकका रूपमा बुझ्छन् ।

दि लास्ट वास्टर्डस् अर्थात् बाबुको ठेगान नभएका अन्तिम सन्तानहरू (अब त्यस्तो नहोस्, नहोला भन्ने आशयका साथ) लाई सहयोग गर्ने समूह गठन गरिएको र त्यसले त्यसप्रकारका सन्तानहरूलाई स्कलरसिपको व्यवस्था गर्ने, पढ्न सहयोग गर्ने गरेको सन्दर्भलाई उपन्यासमा मिसाइएको छ जस मार्फत लेखकले यो परम्परामाथि खेद, क्षोभ र घृणा व्यक्त गरेका छन् । यो एकप्रकारको स्थानीय शक्ति सम्बन्धमा उत्पीडनमा परेकाहरूको पक्षमा गरिएको राजनीतिक हस्तक्षेप हो, पक्षधरता हो । सम्भवतः यसले लेखकलाई विद्रोहीको कोटिमा राख्नेछ र सामाजिक सोपानमा माथिल्लो तहमा बस्नेहरूले उनलाई घृणाको नजरले हेर्नेछन् ।

अहिले पनि गुरुङहरू शिकार खेल्न जाँदा पहिले वनका देवीलाई पूजा गर्छन् र गर्भवती, साना हुर्कौला र बच्चाका आमाहरू शिकारमा नपरुन् भनेर प्रार्थना गर्छन् । यो प्रकृति पूजकहरूको परम्परा हो । त्यही भएर आदिवासी मूल्यप्रणालीसँग आधुनिक राज्यको हस्तक्षेपले संघर्ष निम्त्याउने गरेको छ

तर यसको अन्त्य भने अर्को एउटा हुर्कंदै गरेको प्रख्यसँग भेटाएर भएको छ । आमाले प्रेमको भोकले एकोहोरिएको डिस्कोसँग वास्तविक प्रेम गरेर त्यसको चिनोको रूपमा स्वेच्छाले सन्तान जन्माएकी छ र आफैं हुर्काउँदैछ । छोराले बाबुको खोजी गर्ने बेलामा आमा दोधारमा छ बाबु चिनाउने कि नचिनाउने भनेर । त्यही बेला उसको बाबु डिस्को अर्थात् हिउँबहादुरको मृत्युको खबर आउँछ । नयाँ प्रख्य अर्थात् जेम्सले बाबुको बारेमा धेरैपछि थाहा पाउनेछ भन्ने अनुमान मात्र गर्न सकिन्छ ।

यो भने बाबुले जबर्जस्ती करणी गरेर या प्रेमको नाटक गरेर जन्माएको सन्तान नभएर आमाले स्वेच्छाले गर्भाधान (वीर्यदान) लिएर जन्मेको हो । अर्थात् यसले परम्परागत शक्ति सम्बन्धको कुरा खारेज गरेको छ । नयाँ र स्वतन्त्र स्त्रीले एकल आमाका रूपमा आफ्नो कोख भर्न र जन्मेको सन्तानलाई खुशीले पालनपोषण गरेर हुर्काउन सक्छन् भन्ने प्रेरणा दिने सन्दर्भ पनि हो । सन्तानले बाबु त पाउँदैन तर प्रख्यको पुरानो अवस्थाबाट स्वतन्त्र छ । डिस्को आफैं प्रख्य हो । डिस्को र उसकी यो प्रेमिकाका बीच विवाह त हुँदैन तर दुवै एकअर्कालाई प्रेम गरिरहन्छन् । बाबुका रूपमा परिचय नदिए पनि मृत्युपर्यन्त डिस्को छोरालाई फोन गर्छ, माया गरिरहन्छ । शायद अब हामी यस्ता नयाँ प्रख्यहरूको समयमा छौं जसले जैविक बाबुको पहिचान पाउन या उसबाट अपहेलित हुन कुनै बाध्यता हुने छैन । स्वतन्त्र आमाहरूको कल्पना यसले गरेको छ ।

टिप्पणी

प्रख्यलाई केन्द्रमा राखेर बुनिएको यो उपन्यासमा पात्रहरूलाई दिइएका नामहरू विद्यालय शिक्षाको प्रवेशसँगै विस्तारै अबको तमु समाजमा सुन्न छाडिएका नाम हुन् । त्यसले पनि तमु समाजसँग अपरिचित पाठकहरूलाई पात्रहरूसँग परिचित हुन अलि अप्ठेरो लाग्न सक्छ ।

उपन्यास मानक खस नेपाली भाषामा लेखिएको छ । समाजमा हुने संवादमा (केही सय वर्ष पहिलेको समाजका सन्दर्भमा) लेखकले स्थानीय लवजमा या अनौपचारिक बोलीचालीको भाषामा लेखेको भए यो अझ प्रभावकारी हुनसक्थ्यो । जस्तो केटाहरूका बीचमा कुरा हुँदा हरेक दुईचार शब्द पछि आउने आम्पोइ, म्ले या आमाचकारी गालीको प्रयोग बुझिने भाषा उनले संकेतसम्म पनि गरेका छैनन् । भाषाको यो स्तरीकरण अलि अस्वाभाविक लाग्छ ।

यो राजनीतिक उपन्यास भनिन्न होला, तर सबै कुरा राजनीतिक शक्ति सम्बन्धहरूमा केन्द्रित छन् । म्रुहरूले शक्ति आफ्नो नियन्त्रणमा राखिरहन गर्ने प्रयासको वरपर नै घटनाहरू अगाडि बढेका छन् । राजनीति यसको मूल प्रवृत्ति हो । यसले नेपालको एउटा आदिवासी समुदायको पहिचानको खोजीलाई शक्ति दिएको छ, आवाज दिएको छ । पहिले प्राकृत धर्म मान्नेहरू कविला भन्दा बाहिरका शक्तिहरूसँगको संगत सम्बन्धले कसरी हिन्दू देवी देवताको शरणमा र तिब्बतियन लामा धर्म अनुसारको जन्म–मृत्यु संस्कार मान्ने गरी रूपान्तरण भए भन्ने विषयको गुह्य पनि यसले खोलेको छ । पहिले गाईगोरुको भोग दिने, गाईगोरु र चौंरी खाने तमुहरू पछिल्ला राजनीतिक शक्ति सम्बन्धहरूका कारण त्यसबाट वञ्चित भएको कुरा नखोलेरै खोलेको छ । आफू भन्दा उन्नत सभ्यतासँगको संसर्गले कसरी आदिवासी मूल्यहरू विस्थापित हुन्छन् भन्ने कुरातिर संकेत गरेको छ । गुरुङ पहिचान र संस्कृतिको यो नै पहिलो शक्तिशाली साहित्यिक आवाज हो । तमु समाजलाई चिनाउने साहित्यको अभाव यो उपन्यासले राम्रोसँग पूरा गरेको छ ।

उनीहरूको आदिवासी संस्कृति र मूल्य प्रणाली झल्काउने एउटा अनुच्छेद यहाँ टिप्नु उपयुक्त नै हुनेछ । शिकारको क्रममा एउटा दोबाटोमा पस्कोले सधैं झैं आगो फुक्यो र वनलाई सम्बोधन गर्दै भन्यो- ‘म रहरले आएको होइन, मेरा छोराछोरीहरूका लागि तिम्रो शरणमा आएको छु, मलाई राम्रो चाहिन्न, लुलो लँगडो, अधकल्चो जस्तो भए पनि हुन्छ । गाह्रो नमानीकन एउटा शिकार दिलाइदिनू ।’

अहिले पनि गुरुङहरू शिकार खेल्न जाँदा पहिले वनका देवीलाई पूजा गर्छन् र गर्भवती, साना हुर्कौला र बच्चाका आमाहरू शिकारमा नपरुन् भनेर प्रार्थना गर्छन् । यो प्रकृति पूजकहरूको परम्परा हो । त्यही भएर आदिवासी मूल्यप्रणालीसँग आधुनिक राज्यको हस्तक्षेपले संघर्ष निम्त्याउने गरेको छ ।

यो क्व्होलाको कथा हो । निश्चय नै सिक्लेसको सामाजिक छाप यसमा जबर्जस्त छ । तर इतिहास, पुर्खा र आदिम तमु समाजको मूल्यप्रणालीका सम्बन्धमा यो नेपालको सबै तमु समाजको एउटा ऐतिहासिक अभिलेख हो, सबै गुरुङहरूको साझा उत्पत्ति कथा र मिथकहरूको सँगालो हो । फिक्सन हो, इतिहासको पुस्तक हैन । र पनि इतिहास हो, मिथहरूको संकलन पनि हो र केही कल्पनाको मिसमास हो ।

यसमा लेखकको सूक्ष्म जीवनदृष्टि छ । उनले आफ्ना पात्रहरूको मनोदशाका आधारमा आफ्नो जीवनदर्शन प्रेक्षित गरेका छन् ।

अब धेरै लेख्नु पाठकहरूलाई हैरान पार्नु मात्र हो । उनीहरूले त पुस्तक पढेरै मात्र वास्तविक चित्र थाहा पाउनेछन् ।

मेरो विचारमा हिउँको गीत नेपाली उपन्यासले चढेको नयाँ खुट्किलो हो । नयाँ मानक हो । यसले उपन्यासलाई हल्काफुल्का रमाइलोका लागि लेख्ने फास्टफुडे सिर्जना भन्दा उच्चस्तरको जिम्मेवारीबोध हो भन्ने कुरा फेरि स्थापित गरेको छ । आख्यानका दृष्टिले यसले नेपाली साहित्यलाई विश्वस्तरमा चिनाउन सक्ने ल्याकत राख्छ ।

तीर्थ गुरुङलाई यो गम्भीर कृतिका लागि हार्दिक बधाई तथा धन्यवाद ।

पुस्तक :  हिउँको गीत

विधा : उपन्यास

लेखक : तीर्थ गुरुङ

पृष्ठ : ४२२

मूल्य : ७९५ रुपैयाँ





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School