अवैधानिक रूपमा अमेरिका छिर्नु जोखिमपूर्ण भए पनि कैयौं नेपालीले ‘तल्लो बाटो’बाट यात्रा गरिरहेका छन्। विशेषगरी पश्चिम नेपालका दाङ र रुकुम (पूर्व र पश्चिम) मा अमेरिका छिर्ने अभियान नै भित्रभित्रै चलिरहेको छ। यसले सबैभन्दा बढी फाइदा मानव तस्करी गर्नेलाई भइरहेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कानुनविपरीत अमेरिका प्रवेश गर्नेमा रुकुम पहिलो र दाङ दोस्रो स्थानमा रहेको छ। त्यसरी रुकुम र दाङका अधिकांश घरका सदस्यले अवैधानिक तवरले अमेरिकाको बाटो तय गरी त्यहाँ बसोबास र काम गर्ने गरी ‘ग्रिन कार्ड’समेत हासिल गरेका अनेकन् उदाहरण गाउँलेहरूसँग छन्।
पटकपटक अमेरिका छिर्न खोज्दा कैयन् युवा ठगीमा परिरहेका छन्। दलालको लहैलहैमा लागेर अमेरिका जान खोज्दा दाङमा व्यवसाय गर्दै बसेका एक युवा बिचबाटोबाट फर्काइएको वर्ष दिन भइसकेको छ। उनी घर फर्किए पनि दलालले उनीबाट लिएको रकम फिर्ता गरेको छैन।
यसरी ‘तल्लो बाटो’ हुँदै अमेरिका जान खोज्दा उनी दुबईमा तीन महिना अड्किएका थिए। अमेरिकी सपनाले डोेरिएका उनीजस्तै अन्य १०/१२ जना युवा थिए। तीमध्ये केही आफ्नै खर्चमा स्वदेश फर्किएका थिए भने ६ जना पुनः नयाँ दलालको हात समातेर अमेरिका पुगेका थिए।
ती युवालाई अमेरिका पुर्याइदिने भन्दै हस्त गौतमलगायतका लोकेश लामा, जेम्स लामा, कमल तामाङले करिब ५० लाख उठाएका थिए। पीडितहरूका अनुसार विभिन्न मितिमा एक, तीन, पाँच, सात गरेर दश लाखसम्म रूपैयाँ उठाएको उनको आरोप छ।
उनी वैदेशिक रोजगारीमा करिब आठ वर्ष कतार बसेर स्वदेश फर्किएका थिए। कतारमा मासिक करिब चार लाख रूपैयाँसम्म आम्दानी हुने गरेको थियो।
‘परिवारले धेरै विदेश बस्नु राम्रो होइन, आजै नेपाल फर्की, भोलि फर्की भनेर कर गरेपछि आएँ,’ उनले भने, ‘दाङमै रक्सी डिलर खोलेर बसेको थिएँ। साथीमार्फत अमेरिका जाने भन्ने भयो। धेरै पुगिसके, नेपालमा के गरेर बस्ने र? भन्न थाले। आफ्नो डिलरमा पनि सामान धेरै उधारो जाने गरेको थियो। पैसै उठाउन नसकेर घाटामा गइरहेका बेलामा अमेरिकाको भुत चड्यो।’
दलालमार्फत अमेरिका पुगेको साथीले दिएको सम्पर्कसूत्रले उनलाई त्यो दलालसँग भेटाएको थियो। तर, उनका दुःखका दिन भने त्यहींबाट सुरु भए।
उनलाई दलालले कहिले भारतबाट जाने भन्दै भारतमा तीन/चार महिना राख्ने त कहिले काठमाडौंबाट हुन्छ भन्दै तीनचार महिनासम्म झुलाएको अनुभव छ। त्यतिमात्रै नभएर उनलाई दलालले फिलिपिन्सको भिसा, दुबईको भिसा त कहिले मलेसियाको भिसा भन्दैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याउने र त्यहाँबाट फर्काउने क्रम चलिरह्यो।
‘विभिन्न देशको फेक भिसा देखाउँदै चारपटक एयरपोर्टबाट फर्किएको थिएँ,’ उनले भने, ‘साह्रै नरमाइलो लाग्थ्यो। त्यतिबेलासम्म ३० लाखभन्दा बढी बुझाइसकेको थिएँ। पैसा फिर्ता माग्दा अब पक्का हुन्छ, अहिले बाटोमा सेटिङ मिलाउन गाह्रो भइरहेको भन्थे।’
आफ्नै पालामा सेटिङ मिलाउन कमजोरी भएका कारण पुग्न नसकेको गुनासो उनको थियो। अवैधानिक रूपमा अमेरिका पुर्याउने दलालले पेस्की भनेर दश पन्ध्र लाख रूपैयाँ पहिले लिने गरेको अनुभव उनको छ।
उनका अनुसार अमेरिका पुग्ने चक्करमा दुई वर्ष जति खेर गयो। दलाली व्यवस्थाभित्रकै दलालहरूले एकपछि अर्कोले धेरै पैसा असुलेर झुलाउन थालेपछि वाक्क भइसकेका थिए उनी। तर, दलालहरूको पनि नाइके भनिने हस्त गौतमले उनलाई अमेरिका छिर्ने पुनः आशा दिलाएका थिए।
हस्त गौतमलाई उधृत गर्दै उनले भने, ‘अब चिन्ता नगर काम हुँदैछ। साथीभाइ अलिअलि पैसा पाएपछि मात्तिएका हुन्। तिम्रो काम पक्का गर्ने मेरो जिम्मा भयो। अब धेरै धैर्य गर्नुपर्दैन।’
यसरी उनी पुनः अमेरिका छिर्ने धुनमा अर्को समस्यामा परिसकेका थिए। आफू अमेरिका गएर ४/५ वर्षपछि पत्नी र छोराछोरीलाई उत्तै लैजाने सपनाको पहाडले उनलाई थिचेको थियो। तर, सपनाको त्यो पहाड उनले फोर्न सकेनन्। उनी बारम्बार फुटेको सिसाझैं चकनाचुर भइरहे।
बल्लतल्ल दुबईसम्म पुगेर फर्केका उनमा अब अमेरिका जाने सपना टुटिसकेको थियो। उनले आफूसँग भएको लगभग सबै पैसा स्वाहा पारिसकेका थिए। उनीसँग नयाँ दलाल समात्ने हिम्मत थिएन।
‘आफूसँग भएको सबै पैसा सकिसकेको थियो,’ उनले भने, ‘साथीहरू फसेको पैसालाई माया मारेर आफ्नो पैतृक सम्पत्ति बेचेर नयाँ दलालमार्फत अमेरिका पुगेको वर्षदिन हुनलागि सक्यो। आफू भने पुरानो पैसा उठाउने चक्करमा अझै अल्झिरहेको छु। हजारौं पटक अमेरिका जान असफल भए पनि हिम्मत नहारेको मान्छे एक न एक पटक अमेरिका पुग्छ।’
उनका अनुसार पैसै फस्यो भन्दै चुप लागेर बसेका भन्दा ऋणमाथि ऋण थोपरेर अमेरिका पुगेका धेरै छन्। दलाल राम्रो पर्यो भने त एकैपटक अमेरिका पुगिन्छ।
उनले कतारमा दुःख गरेर कमाएको पैसा अमेरिका जाने भन्दै सकेकोमा भने दुःखी छन्। तर, अमेरिका चोरबाटो हुँदै पुर्याउने दलालहरूको प्रमुख हस्त गौतमलाई ब्युरोले भारतबाट समात्ने क्रममा धोका खाएका यिनै युवाको ठुलो हात छ।
देशमा रोजगारी पाइँदैन। प्रत्येक दिन बेरोजगारी संख्या बढ्दै छ। यस्तो अवस्थामा अमेरिका जाने इच्छा कसलाई नहोला र ? अमेरिका पुग्ने सपनामा थुप्रै नेपाली युवा ठगिएका छन्।
कतिपयको बिचबाटोमै मृत्यु समेत भएको छ। धेरै जेल पुगेका छन्। नक्कली भुटानी शरणार्थी बनेर जान खोज्नेहरूको लाखौं डुबेको छ। त्यही पनि नेपाली युवा जान छोडेका छैनन्। नेपालमा ५०, ६० लाख खर्चेर केही व्यापार गरेमा घाटामा जाने डरले व्यापार व्यवसायमा हातै नहाल्ने बरु अमेरिका जान गर्न पाए धेरै राम्रो हुन्छ भन्ने सोच युवामा जागेको छ।
दाङका ती युवकजस्तै बाँकेका एक युवक पनि अमेरिका जाने चक्करमा पीडित भएका छन्। अमेरिका हिँडेका उनी दुबईमा तीन महिनासम्म बन्धक भएर फर्केका छन्। उनकै आग्रहमा नाम गोप्य राख्न लगाएका ती युवक बताउँछन्।
तल्लो बाटो हुँदै अमेरिका जान सुरुमै दलाललाई १५ लाख रूपैयाँ पेस्की बुझाएको जानकारी तिनले दिए। उनका अनुसार अमेरिका लैजाने भन्दै रुकुमका कृष्ण चन्द, निराजन नेपाली र झापाका गोविन्द थापाले सयौं नेपालीलाई ठग्दै आएका छन्। उनी पनि तिनै दलालबाट ठगीमा परेको बताए।
‘उनीहरूले अमेरिका लैजान्छौं भनेर मेरो ३० लाख रूपैयाँ खाइदिए,’ उनले भने, ‘म एक पीडित मात्रै होइन, मजस्ता हजारौं पीडित छन्। कति पैसा उठाउने ध्याउन्नमा लागे, कति नयाँ दलाल समाएर अमेरिका पुगे। तर, कतिपय दलाल चाहिँ नेपालीलाई अमेरिका लैजान्छौं भन्दै प्रलोभनमा पारेर लाखौं लिएर बाटौमै अलपत्र परेका पनि थुपै्र छन्।’
ती पीडितका अनुसार दलालहरूले अमेरिका जमिनको बाटो भएर जाँदा ५५ लाखदेखि करिब एक करोड रूपैयाँ लाग्छ भन्दै नेपाली युवासँग पैसा उठाउने गरेका छन्। तर, त्यसरी पैसा उठाएपछि युवालाई भारत, दुबई, ब्राजिल, काजकिस्तान पुर्याएर अलपत्र पार्ने गरेका छन्।
दलालको पन्जामा परेका ती युवा अहिले न अमेरिका छिर्न सकेका छन्, न नेपालमै केही गर्छु भन्ने जोसजाँगरमा छन्। ‘अमेरिका लैजाने नाममा दलालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाउने गरेका छन्,’ उनले भने, ‘विमानस्थल, अध्यागमन, प्रहरीसँगै सेटिङ हुँदोरहेछ। सेटिङबिना यो सम्भव छैन।’
आफू पनि काठमाडौंस्थित विमानस्थलमै ती दलालको सेटिङमा दुबई पुगेको उनले बताए। दुबई पुगेको एक महिनासम्म ती दलालहरू सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको उनले गुनासो छ।
उनका अनुसार भारत, दुबई, ब्राजिल र काजकिस्तान पुर्याएपछि ती दलालले धाक, धम्की र यातना दिएर पैसा असुल्ने गर्छन्। दलालहरू पेस्की भन्दै लाखौं लिएर सम्पर्कविहीन हुँदा आफू अप्ठेरोमा परेको उनले सुनाए।
६ जनाको परिवारसँगै आर्थिक अवस्था पनि सामान्य भएपछि साथीमार्फत अवैध तवरले अमेरिका जाने उनले सुइँको पाएका थिए। उनलाई अमेरिका पुग्न ५५ लाख रूपैयाँ लाग्ने दलालले बताएका थिए।
‘मैले किस्ताकिस्तामा उनीहरूले मागेअनुसारको पैसा बुझाएको थिएँ,’ उनले भने, ‘एजेन्टले तपाईंको भिसा आयो भनेसँगै एयरपोर्ट जाँदा हामीलाई सिधै फर्काइदिए। सबै एजेन्टलाई सम्पर्क गर्दा सम्पर्कविहीन भए। भोलिपल्ट बेलुका चार बजेतिर मात्रै उनीहरू सम्पर्कमा आएपश्चात् हामीले अर्कै योजना गरेका छौं, अब केही समय लाग्छ भनी गोपी भन्ने गोविन्द थापा क्षेत्री र एक भारतीय नागरिकको जिम्मा लगाए।’
पीडितका अनुसार उनीहरूले मागेअनुसारको पैसा बुझाउँदा दुबई पुर्याएपछि विभिन्न बहाना बनाउँदै गए। अमेरिका लान नसक्ने भए पासपोर्ट फिर्ता दिनु भन्दा प्रक्रिया हुँदैछ, किन हतारिएको, सेटिङ मिलिसकेको छैन, मिल्नेबित्तिकै पठाइहाल्छौं नि, शान्त बस्नुपर्छ भनेको उनी सम्झन्छन्।
‘उनीहरूले भनेअनुसार कुरेको पनि हो,’ उनले भने, ‘अब विदेश जान्नँ। मैले हालसम्म दिएको पैसा र पासपोर्ट फिर्ता माग्दा उल्टै गालीगलौज गरे। तँलाई यतै जिन्दगीभरि सडाइदिन्छौं। धेरै हल्ला नगर भनी मलाई ज्यान मार्नेसमेत धम्की दिन थालेपछि मानसिक यातना सहँदा सहँदा मानसिक रूपमा समेत विक्षिप्त भएँ। त्यसपछि दुबईबाट नेपाल फर्किन चाँजोपाँजो मिलाउनतिर लागेँ।’
घरपरिवारलाई जानकारी गराई नेपालबाट पैसा मगाई दुबईको पुलिसमार्फत् ‘पुलिस रिपोर्ट’ बनाएर ट्राभल डकुमेन्टमा नेपाल फर्कन सफल भएको उनले सुनाए। अमेरिक पठाइदिने प्रलोभनमा दुबईमा बन्धक बनाई शोषण भएपछि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम हदैसम्मको सजाय होस् भन्दै उनले ब्युरोमा उजुरी दिएका छन्।
यी केही पात्र मात्र हुन्। यसरी ठगिने संख्या ठुलो छ। एजेन्टको प्रलोभनमा परी अमेरिका हिँडेका सोझासिधा व्यक्ति कतिपयको आधा बाटामै जीवन चुँडिने गरेको छ। नेपालका विभिन्न स्थानबाट उनीजस्ता हजारौं नागरिक अमेरिकी सपनाले चुर्लुम्म डुबेका छन्। पछिल्लो समय वास्तविक पीडक र रकम बुझाइएको व्यक्ति फरकफरक रहेकाले वास्तविक पीडकलाई न्यायको कठघरामा ल्याउन कठिन हुने प्रहरीको भनाइ छ।
अमेरिका जाने सपनासँगै लाखौं रूपैयाँ डुब्न सुरुवाती चरणमै सुरु भइसकेको हुन्छ, तब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोर्डिङ पास लिएर दुबई लगायत विभिन्न देश उडेका हुन्छन्। नेपालको माटो छोड्नेबित्तिकै युवाहरू अमेरिका जाने सपनामा ठगिइसकेका हुन्छन्।
सरकारले भिजिट भिसामा कडाइ गरेको छ। तर, दलाललाई त्यो नियम लागु हुँदैन। ती पीडितका अनुसार काठमाडौैं विमानस्थलका कर्मचारी दलालकै कब्जामा छन्। दलालको सेटिङमा भिजिट भिसामा दिनदिनै दर्जनौं युवा दुबई उडिरहेका हुन्छन्।
त्यसरी भिजिट भिसामा दुबई उडेका अधिकांशको सपना अमेरिका हुन्छ। पीडितहरूका अनुसार नेपालीलाई अमेरिका उडाउने नेपाली दलालहरू भारतीय दलालसँग मिलेका हुन्छन्। भारतीय र नेपाली दलालले विभिन्न देशमा सञ्जाल फैलाएका हुन्छन्।
नेपालबाट अवैधानिक रूपमा विभिन्न मुलुक हुँदै अमेरिका पुर्याउने गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ। मानव तस्कर र तीनका दलालले नेपालीलाई काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्याउने गरेका छन्।
४५ देखि करोड रूपैयाँसम्म लिएर अमेरिका पुर्याउने सपना बाँड्ने र अलपत्र पार्दै घरबाट रकम लिने उनीहरूको नियत रहेको ब्युरोका प्रहरी एसपी गौतम मिश्र बताउँछन्। यात्रा अवधिभर प्रायः घर परिवारसँग टेलिफोन सम्पर्क नहुने भएकाले आफ्नो परिवारका सदस्य कहाँ पुगिरहेका छन्, मरे कि बाँचे भन्नेसम्म थाहा नहुने अवस्था रहेको उनले बताए।
पासपोर्ट, ट्राभल कागजातलगायत वैधानिक कागजात पीडितहरूको साथमा हुन्न। बाटामा पर्ने सबै देशमा स्थानीय एजेन्टको उपस्थिति हुने गर्छ। यसरी अमेरिका पुर्याउने खेलमा अत्यन्तै ठुलो र संगठित समूहको जालो रहेको ब्युरोका एसपी मिश्रले बताए।
अवैधानिक रूपमा अमेरिका जाने र लाने सहमति हुनु मानव तस्करी हो। गरिबी, बेरोजगार, गन्तव्य देशको आकर्षण र छिमेकी तथा साथीभाइको लहलहै मानव तस्करका कारक तत्त्व हुन्।
त्यति मात्र नभई भारतसँगको खुला सिमाना, मानव तस्करीसम्बन्धी कानुनको अभाव, गन्तव्य देशको नीति, वैदेशिक रोजगारीमा बेथिति, कूटनीतिक पहलको कमी र अनियमित आप्रवासनका कारण मानव तस्करी भइरहेको छ।
अवैधानिक रूपमा अमेरिका पुगी अमेरिकाबाट हालसम्म एक सय ९९ जना नेपाली नागरिकलाई ‘डिपोर्ट’ गरिएको ब्युरोको तथ्यांक छ। अवैधानिक तवरल अमेरिका पुर्याउँछु भन्दै दलालमार्फत ठगिएका ५६ जना पीडितले ब्युरोमा उजुरी दिएका छन्। त्यसरी पीडित बनाइएका पीडक १५ जनालाई ब्युरोले पक्राउ गरेको छ।
प्रकाशित: १ भाद्र २०८१ ०९:५६ शनिबार