लामो रस्साकस्सीपछि त्रिभुवन विश्वविद्यालयले नयाँ तथा पूर्ण नेतृत्व पाएको छ। नेपालको उच्च शिक्षाको गौरवशाली इतिहास बोकेको त्रिविलाई पहिलो पटक राजनीतिक भागबन्डा भन्दा बाहिर राखेर नियुक्ति प्रक्रियाको थालनी हुनु नै सबैभन्दा सकारात्मक पक्ष हो।
यसको लागि वर्तमान कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षामन्त्री सुमना श्रेष्ठ तथा प्रमुख राजनैतिक पार्टीका नेताहरूको पनि स्वीकारोक्ति भएको कुरा तथा मिडिया र आमसमुदायले सार्वजनिक रूपमा गरेको पक्षपोषण एवं साथको प्रशंसा गर्नुपर्ने हुन्छ।
दशकौंदेखि राजनीतिले थलिएको नेपालको सबैभन्दा ठूलो विश्वविद्यालयमा परिवर्तन अपरिहार्य थियो र राम्रो शुरुआतको थालनी भएको छ। अबको चार वर्ष वर्तमान नेतृत्वले विना अवरोध काम गर्न सक्यो भने विगतमा त्रिविप्रति गिरेको साख फेरि पनि फिर्ता गर्न सकिन्छ र यो विश्वविद्यालयलाई दक्षिण एशियाको नेतृत्व गर्न सक्ने शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न सकिन्छ।
नेपालको प्राज्ञिक जगत, मिडिया र आम नागरिकले आशा गरे जस्तै त्रिविका रिक्त पदहरूमा निर्विवाद र अनुभवी एवं दक्ष प्राध्यापकहरू नियुक्ति हुनसकेमा सकारात्मक संचारको सुरु हुनेथियो।
सधैं शंका र नकारात्मक कुराहरूले विक्षिप्त नेपाली समाजमा यस किसिमका नियुक्तिले सरकारप्रति आम जनसमुदायको पनि सकारात्मक अवधारणाको विकास हुँदैछ भन्ने कुराको संकेत दिन्छ। यसपटक नेपाली मिडियाले उच्च शिक्षा तथा विश्वविद्यालयलाई निकै महत्व दिएको देखियो। त्रिभुवन विश्वविद्यालय लगायत नेपालका अन्य विश्वविद्यालयहरूमा क्रमशः नेतृत्व खाली हुँदै गर्दा योसँगै नेपालको शैक्षिक एवं वौद्धिक समूहले विशेष चासो लिन थालेको देखिन्छ। यो आलेख वर्तमान त्रिवि नेतृत्वले गर्नै पर्ने केही महत्वपूर्ण कामहरूको बारेमा सम्बन्धित छ।
१. राजनीतीकरणबाट मुक्त
त्रिभुवन विश्वविद्यालयको सबैभन्दा जटिल पक्ष भनेको यहाँभित्रको राजनीति र त्यसमा गर्नुपर्ने समन्वय महत्वपूर्ण कुरा हो । नेपालका विभिन्न राजनैतिक आन्दोलनहरूमा त्रिभुवन विश्वविद्यालयको योगदान महत्वपूर्ण थियो। पञ्चायतीकालमा पनि विश्वविद्यालयभित्र प्राध्यापक संघ, कर्मचारी संगठन र स्ववियु मार्फत नेपालको राजनैतिक परिवर्तनमा विभिन्न समयमा भएको योगदानलाई नजरअन्दाज गर्न सकिन्न।
चाहे २०३६ सालको आन्दोलन होस्, चाहे २०४६ सालको प्रजातन्त्रको आन्दोलन वा २०६२\६३ को गणतन्त्र उन्मुख आन्दोलन होस्, सबै मोर्चामा त्रिविका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको योगदान नेपालका राजनैतिक पार्टी र नेताहरूभन्दा कम छैन।
अबको चार वर्षमा यो नेतृत्वले व्यक्तिगत, गुटगत चिन्तनभन्दा माथि उठेर सक्षम, इमानदार र प्राज्ञिक व्यक्तिहरूलाई नियुक्ति र अवसर दिने तथा उनीहरूको कामको आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्न सक्यो भने निकै ठूलो परिवर्तनको आभास हुनेछ।
त्यसैले यसभित्रको राजनैतिक पाटोलाई नजरअन्दाज गरियो भने जतिसुकै सक्षम र इमानदार नेतृत्व आए पनि त्रिविमा सुधार हुन सक्तैन। यसको लागि त्रिविलाई राम्रोसित बुझेको समन्वयकारी नेतृत्व चाहिने हुँदा यो पटक पनि सोही अनुसारको राजनैतिक र प्रशासनिक चेत भएका महानुभावहरू नियुक्त हुनुले आमसमुदायमा ठूलो आशा पलाएको छ। विगतको जस्तो एकात्मकवादी र ध्वंसको राजनीतिको प्रभाव त्रिविमा पर्नुहुँदैन र अब त्रिविमा प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनहरूलाई दलगत राजनीतिक गतिविधिभन्दा पनि विकास, अनुसन्धान र प्राज्ञिक कार्यहरूमा ध्यानाकर्षण गराउन सकियो भने छोटो समयमा पनि धेरै काम गर्न सकिन्छ।
अबको चार वर्षमा यो नेतृत्वले व्यक्तिगत, गुटगत चिन्तनभन्दा माथि उठेर सक्षम, इमानदार र प्राज्ञिक व्यक्तिहरूलाई नियुक्ति र अवसर दिने तथा उनीहरूको कामको आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्न सक्यो भने निकै ठूलो परिवर्तनको आभास हुनेछ।
२. त्रिविको पुनर्संरचना
त्रिभुवन विश्वविद्यालयमा खासगरी दुई किसिमले पुनर्संरचना गर्न सकिन्छ। एउटा त्रिविमा हाल विद्यमान विभागीय स्वरूपलाई स्कूल अवधारणा अनुसार मिलाउन सकियो भने मानविकी तथा शिक्षाशास्त्र संकायमा शैक्षिक, प्रशासनिक र प्राज्ञिक क्षेत्रमा राम्रो परिवर्तन गर्न सकिन्छ। संसारभर अन्तर र बहुविधागत अध्ययन र अनुसन्धानले ठूलो फड्को मारेको बेला त्रिविमा अझै पनि सीमित विषय र विधामा दशकौंदेखि खेल भएको देखिन्छ जुन परिवर्तन गर्नु आवश्यक छ।
यसको लागि अघिल्लो नेतृत्वको सिनेटले निर्णय गरेको कुरा पनि सुन्नमा आएको छ जुन सकारात्मक मान्नुपर्छ। दोस्रो कुरा त्रिवि नेपालको सबै भूभाग र जिल्लाहरूमा फैलिएको हुनाले यसको संरचनागत व्यवस्थापनको आवश्यकता देखिन्छ। देश संघीय संरचनामा गइसकेकोले अब त्रिविलाई पनि संघीय स्वरूपमा व्यवस्थित गर्न सकिएन भने केन्द्रमा जतिसुकै ठूला र राम्रा कामहरू भए पनि स्थानीय रूपमा त्यसले प्रभाव पार्न सक्दैन।
अमेरिका, अष्ट्रेलिया, फ्रान्स जस्ता विकसित मुलुकहरूमा प्रयोग र प्रमाणित भइसकेको त्रिविलाई गण्डकी, कोशी, कर्णाली, सुदूर-पश्चिम, लुम्बिनी, जनकपुर जस्ता क्षेत्रीय विश्वविद्यालयहरूमा विभाजन गरी हालको कीर्तिपुर परिसरलाई त्रिवि केन्द्रीय विश्वविद्यालयको रूपमा विकास गर्न सकिन्छ। जसले गर्दा हाल त्रिवि शिक्षक-कर्मचारीहरूमा देखिएको जागिर र पहिचानको मनोवैज्ञानिक त्रास पनि हटेर जान्छ भने अर्कोतिर त्रिवि प्रादेशिक विश्वविद्यालयहरू बीचमा गुणस्तरको प्रतिस्पर्धा बढ्न पुग्छ।
फ्रान्सको पेरिस विश्वविद्यालय, लियोन विश्वविद्यालय, अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले सफलतापूर्वक यस किसिमको प्रयोग गरिसकेका छन्।
३. अनुसन्धान र अन्तर्राष्ट्रियकरण
शुरुमा त्रिवि आम जनमानसको सेवा गर्ने गरी जनताको विश्वविद्यालयको रूपमा स्थापित भयो तर अब यसलाई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक छ। त्रिविले २१औं शताब्दीमा स्थापित र प्रयोग भएका सबैजसो मान्यताहरूको अनुसरण गर्नुपर्ने देखिन्छ। यसको लागि सबैभन्दा पहिला त्रिविभित्रका अनुसन्धान केन्द्रहरूलाई पुनर्संरचना गरी क्रियाशील बनाउनुपर्ने देखिन्छ।
संसारका धेरै प्रसिद्ध र स्थापित विश्वविद्यालयहरू विद्यार्थी संख्या भन्दा पनि अनुसन्धान र ज्ञान निर्माणको बाटोमा लागेका छन्। त्यसैले त्रिविले पनि अब अनुसन्धानलाई सबैभन्दा वढी महत्व दिनु जरुरी छ। अनुसन्धानको राम्रो व्यवस्थापन गर्न सकियो भने यहाँ जनशक्तिको अभाव छैन। यसको लागि आवश्यक पर्ने कुरा भनेको त्रिवि नेतृत्वको तत्परता हो। त्रिविभित्रका सक्षम र अनुभवी प्राध्यापकहरू जसले यो क्षेत्रमा रुचि देखाउँछन् उनीहरूसित सहयोग, सल्लाह र समन्वय गरेर नेपाल सरकारको अनुसन्धान गर्ने मुख्य प्रयोगशालाको रूपमा विकास गर्न सकिन्छ।
संसारका धेरै प्रसिद्ध र स्थापित विश्वविद्यालयहरू विद्यार्थी संख्या भन्दा पनि अनुसन्धान र ज्ञान निर्माणको बाटोमा लागेका छन्। त्यसैले त्रिविले पनि अब अनुसन्धानलाई सबैभन्दा वढी महत्व दिनु जरुरी छ।
जब विश्वविद्यालयमा अनुसन्धानलाई बढी महत्व दिइन्छ स्वत: यसको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्न जान्छ। त्रिविसित अन्तर्राष्ट्रिय रूपमा अनुसन्धाता, विज्ञ र विद्यार्थीहरू जोडिन पुग्छन् जसले गर्दा विविध सहयोगी संस्था र निकायहरू पनि थपिन्छन्। त्रिविमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र र सोसँग सम्बन्धित विभाग मार्फत नेपाली अनुसन्धानलाई सभा, सम्मेलन र गोष्ठीहरूको आयोजना गरी विदेशी विश्वविद्यालय एवं संस्थाहरूसित सम्बन्ध बढाउन सकिन्छ।
यसले एकातिर त्रिविको जनशक्ति अन्तर्राष्ट्रिय रूपमा स्थापित हुन्छ भने अर्कोतिर ज्ञान निर्माणमा ठूलो योगदान पुग्छ। विगतमा वर्तमान शिक्षाध्यक्ष खड्क केसीले आफू कूटनीति तथा अन्तर्राष्ट्रिय विभागको प्रमुख हुँदा दर्जनौं विद्यार्थीलाई चीनको सिचुवान विश्वविद्यालयमा इन्टर्नसिप गर्न पठाएको कुरा तथा वर्तमान अवस्थामा पनि भाषा विज्ञान केन्द्रीय विभाग, व्यवस्थापन केन्द्रीय विभाग र अन्य त्रिविका निकायहरूले इरास्मस र युरोप, अमेरिका लगायत विभिन्न विदेशी विश्वविद्यालयहरूसँग सहकार्य र समन्वय गरेका कुराहरूलाई पनि स्मरण गर्न सकिन्छ।
४. नियमित विज्ञापन र भरोसायुक्त नियुक्ति
त्रिविमा सबैभन्दा विकराल रूपमा देखिएको समस्या भनेको नियमित विज्ञापन नहुनु पनि हो। यसको मुख्य जड भनेको आंशिक, ज्यालादारी, करार नियुक्ति गर्ने र त्यसपछि राजनीतिक संरक्षणको भरमा त्रिविलाई दोहन गर्ने काम २०४७ को राजनीतिक परिवर्तनपछि झन् बढेर आएको छ जसलाई व्यवस्थापन गर्न सकिएन भने त्रिवि सिध्याउने मुख्य अस्त्र यही हुनसक्छ। सक्षम र काविल जनशक्तिलाई पाखा लगाएर त्रिविको विकास र समृद्धि देख्नु मूर्खता हुन्छ। यो कुरामा वर्तमान नेतृत्वले विचार पुर्याउनु आवश्यक छ।
त्रिविमा राजनीति र हाजिर गरेको भरमा प्राध्यापक हुने परम्परालाई निरुत्साहित गर्नु आवश्यक छ। नत्र कक्षा र अनुसन्धानमा टिक्नै नसक्ने प्रा.डा.हरूको कारणले त्रिवि माथि उठन सक्दैन।
सेवा आयोगसित समन्वय गरेर त्रिवि नेतृत्वले विभागीय र विषयगत आवश्यकता अनुसार नियमित विज्ञापन गर्ने परम्पराको थालनी मात्रै गर्न सक्यो भने नेपालमै बसेर पनि केही योगदान गर्न सकिन्छ भन्ने म जस्ता त्रिविका कैयौं निरीह प्राध्यापकहरूलाई ठूलो भरोसा हुनेथियो। यति मात्र होइन विभागीय नियुक्ति, विषयगत नियुक्तिहरूमा पनि सक्षम र समन्वयकारी व्यक्ति ल्याउँदा यसले त्रिविको मात्र होइन नेपालको समग्र शिक्षा क्षेत्रमा ठूलो प्रभाव पर्ने थियो।
५. भौतिक संरचना र व्यवस्थापन
त्रिविको विशाल संरचना र फैलावटभित्र यसको अव्यवस्थित भौतिक संरचना र त्यसको व्यवस्थापन गर्ने कुरा पनि महत्वपूर्ण देखिन्छ। विश्वविद्यालयहरू भनेका ज्ञान र अध्ययनको लागि खुल्ला हुनुपर्छ तर व्यवस्थापन र संरचनामा पनि खुल्ला राख्ने परम्पराले त्रिविलाई धेरै अप्ठ्यारो परेको छ। त्यसैले त्रिविमा नयाँ भौतिक संरचनाको निर्माण मात्र होइन पुराना संरचनाहरूलाई व्यवस्थित र युग सुहाउँदो बनाउनुपर्ने आवश्यक देखिन्छ।
त्रिवि उपकुलपति सँगै भर्खर नियुक्त हुनुभएका रेक्टर र रजिष्ट्रारलाई काम गर्ने वातावरण हामी सबैले दिनुपर्छ र उहाँहरूको दक्षता, योग्यता र इमानदारीलाई अन्धभक्त भएर भन्दा पनि सकारात्मक किसिमले विश्लेषण र मूल्याङ्कन गरिरहनुपर्छ ।
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा हुने न्यूनतम कुराहरू जस्तै बाटोघाटो, सुरक्षित कम्पाउण्ड, शौचालय, क्यान्टिन, सेमिनार हल तथा पाहुना घरको निर्माण हुनु आवश्यक छ। त्रिवि केन्द्रीय क्याम्पस परिसरमा वर्षभरि देखिने अव्यवस्थित बाटो, बेलगाम कुदेका ट्रक र ट्यांकरहरू, युवायुवतीको क्रीडास्थल बनेको खुल्ला चउर र जंगल हेर्दा वर्तमान त्रिविको वास्तविक अवस्थाको बारेमा बुझ्न सकिन्छ।
त्यसैले सबैभन्दा पहिला त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरलाई भौतिक रूपमा व्यवस्थित गर्नुको साथै यसको सुरक्षाको पनि व्यवस्थापन गर्नु आवश्यक छ र नयाँ नेतृत्वले यी कुराहरूमा पनि ध्यान दिनेछ भन्ने आशा गर्न सकिन्छ।
दार्शनिक क्यारोल सिमले भने झैं हामीले सुधारको नाममा हजारौं विश्वविद्यालय र सयौं प्राध्यापकहरू बनाउन सक्दैनौं तर प्रविधि र इन्टरनेटको प्रयोग गरेर धेरै विश्वविद्यालयमा भएका राम्रा र महत्वपूर्ण विषय र पाठ्यक्रमहरू समावेश गरेर व्यवस्थापन गर्न सक्छौं। त्यसैले ठूला भन्दा सानातिना तर महत्वपूर्ण कुराहरूमा ध्यान दिन सकियो भने दुईचार वर्षमै त्रिविको कायापलट गर्न सकिन्छ।
त्रिवि उपकुलपति सँगै भर्खर नियुक्त हुनुभएका रेक्टर र रजिष्ट्रारलाई काम गर्ने वातावरण हामी सबैले दिनुपर्छ र उहाँहरूको दक्षता, योग्यता र इमानदारीलाई अन्धभक्त भएर भन्दा पनि सकारात्मक किसिमले विश्लेषण र मूल्याङ्कन गरिरहनुपर्छ ।