ती मजबुत मोदी, यी मजबुर मोदी

ती मजबुत मोदी, यी मजबुर मोदी


संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा लोकतन्त्रको १८ औं महाउत्सव सम्पन्न भयो । त्यसो त ‘मोदी अपवादवाद’ का लागि भारत ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्र’ मात्र हैन, ‘लोकतन्त्रकै जननी’ हो ।

‘अपवादवाद’ आफैमा त्यस्तै महत्वाकांक्षा हो–जसले कयौं यथार्थसँग मेल नखाने शब्दावलीलाई रहस्य, रोमाञ्चकता र आत्मतुष्टिसँग जोडेर अतिरञ्जना गर्दछ । यथार्थहरू एकातिर हुन्छन्, मनोगत चाहना र आकांक्षाले अर्कै बाटो पक्रेको हुन्छ ।

मोदी महत्वाकांक्षाले ‘अब की बारः ४०० पार’ नारा त दियो, खस्किंदै गएको आफ्नै पाइतालामुनिको जमिन भने अनुमान गर्न सकेन । मोदी महत्वकांक्षा र भाजपा भाष्यको सबैभन्दा ठूलो किल्ला थियो– उत्तरप्रदेश, जहाँ हिन्दूत्वका मोदीभन्दा बढी प्रखर र मुखर ‘आइकन’ योगी आदित्यनाथ दुई कार्यकालदेखि निरन्तर सरकार चलाइरहेका छन् ।

‘हिन्दू’ र ‘हिन्दूत्वको राजनीति’ सधै सँगै हुन्थ्यो त भाजपाले शताब्दी लामो संघर्ष गर्नुपर्ने थिएन । भाजपाको इतिहास केवल सन् १९८० को दशकमा गठन भएको भाजपाको इतिहास हैन । त्यसअघिका भारतीय जनसंघ, राष्ट्रिय स्वयंसेवक संघ र अखिल भारतीय हिन्दू महासभा पनि भाजपाकै इतिहास हो ।

सिकन्दर भारत आउँदा होस् वा तुर्कहरूले बंगाल सुल्तानियत बनाउँदा, मुगल साम्राज्यले शासन गर्दा होस् वा अंग्रेज उपनिवेश चल्दा, चरित्रले भारत सधै ‘हिन्दू–राष्ट्र’ नै थियो । तर, स्व–चरित्र हिन्दू–राष्ट्रमा हिन्दुत्वको राजनीति फस्टाउन किन त्यति धेरै पापड बेल्न पर्‍यो ? यो प्रश्नभित्र धेरै रहस्य, अर्थ, परिभाषा र आयाम लुकेका छन् ।

उत्तर प्रदेश मात्र हैन, बंगाल झन कट्टर हिन्दूहरूको राज्य हो-कालीभक्तहरूको, तर त्यसले कहिले कम्युनिष्टजस्ता वामपन्थी दल रोज्छ कहिले तृणमूल कांग्रेसजस्तो मध्यवामपन्थी दल । यसपाली पनि बंगालले भाजपाभन्दा बढी तृणमूल कांग्रेस नै रोज्यो ।

तमिल नाडुमा सयौं हिन्दू मिथक र तीर्थस्थल छन्– मोदी निर्वाचन प्रचार अभियानपछिको ध्यान गर्न त्यहीं गए– कन्याकुमारी, त्यो पनि स्वामी विवेकानन्दको ध्यानस्थलमा । तर, तमिलनाडुले कहिल्यै भाजपा रोज्दैन ।

आन्द्रका हिन्दू भाजपा रोज्दैनन् । केरलाका हिन्दू भाजपा रोज्दैनन् । कर्नाटकाका हिन्दू बीच फैलिन भाजपाले दशकौं पापड बेल्न पर्‍यो । गुजरातको अपवाद ‘मोदी अपवादवाद’ को एक अनौठो उदाहरण हो भन्ने संसारले स्वीकार गरिसकेको छ ।

महात्मा गान्धी र सरदार बल्लभभाई पटेलको गृहप्रदेशले किन दामोदर विनायक सावरकरको विचारलाई राजनीतिक आदर्श मान्छ ? त्यसको भिन्नै ब्याख्या हुन सक्दछ ।

यी सबै विश्लेषणको सार एउटै हो– आधुनिक लोकतान्त्रिक राष्ट्रिय–राज्यको राजनीतिका लागि ‘धर्म’ मा पर्याप्त मुद्दा हैन ।

जुन अयोध्या नगरीमा करिब ५०० वर्षपछि ‘राम लला’ फर्किए, त्यही भाजपाका ‘लल्लु सिंह’ बेमौत हारे । चुनावमार्फत् मोदीले राजनीतिक सन्देश दिन चाहेका थिए – राम जन्मभूमिमा भव्य राम मन्दिर बनाएँ । हिन्दू धरोहरको रक्षा गरेँ । अध्योयाका लागि धर्मिक पर्यटनको अथाह सम्भावनाको ढोका खोले ।

अयोध्याका सर्वसाधारणको ध्यान भने राम मन्दिर योजनाले अधिग्रहण गरेको जग्गाको मुआब्जा र लल्लु सिंहको दबंग राजनीतिको मारप्रति थियो । योगी आदित्यनाथ गौमाता र गौमाता सन्तान बध रोके, हिन्दू खुशी होलान् भनेर मख्ख थिए । यता सर्वसाधारणलाई योगी शासनपछि बढेका छाडा चौपायाले बाली नोक्सान गरेको पीडा थियो । उत्तर प्रदेशका एक किसान एक भिडियोमा भन्दै थिए– सरकारले ५ किलो रासन दिन्छ, छाडा चौपायाले ५० बोरा अनाज बाली खाइदिन्छ । खुशी हुने कि दुखी ?

यी र यस्तै कारण पर्याप्त हैनन् तर ठूला भाष्य र आम मान्छेका पीडा बीच हुने दूरीका गतिला उदाहरण हुन् ।

यति कुरा त स्वयं मोदीलाई थाहा थियो– हिन्दूत्व भाजपा राजनीतिको जग हो, मतदाताको एक ‘कन्स्टिचूअन्सी’ लाई ‘कभर’ गरी राख्ने एक विचारधारा, एक दृष्टिकोण, एक आधार हो । त्यतिले मात्र राजनीति चल्दैन सधै ।

सन् २०१४ को आम चुनावमा मोदीले ‘कालो धन फिर्ता’ लाई धेरै ठूलो मुद्दा बनाए । कांग्रेस परस्त भारतीय शोषकहरूले विदेशी बैंकमा राखेको धन फिर्ता ल्याउँदा मात्र प्रत्येक भारतीयको खातामा १५ लाख आउने हावादारी तर्क पेश गरे । उनको १० वर्षे शासनकाल त्यस्तो कालो धन कहिल्यै फिर्ता आएन ।

नैतिक राजनीतिको हिसाबले गठबन्धनबाटै आफ्नै पार्टीको अरु कोहीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मोदी पछि हट्न पनि सक्थे । तर, प्रधानमन्त्री तेहेर्‍याउने आकांक्षाले उनलाई त्यसो गर्नबाट पनि रोकेको छ ।

हो– मोदीले कालो धन र भ्रष्टाचारको अन्त्यकै लागि भनेर साहसिक ‘डिमोनीटाइजेसन’ गरेकै हुन् । मोदीको साहसमा शंका गर्नुपर्ने कुनै कारण देखिन्न । उनले धारा–३७० खारेज गरेकै हुन् । विमुद्रीकरण गरेकै हुन् । जिएटी र एकल सिभिल कोड लागू गरेकै हुन् । कृषि क्षेत्रको ‘कर्पोरेटाइजेसन’ का लागि किसान आन्दोलनको लामो दबाब झेलेकै हुन् ।

विश्वको १२ औं स्थानमा रहेको भारतीय अर्थतन्त्र मोदीको शासनकालमा पाँचौ बन्न सकेकै हो । इसरोले चन्द्रयान–३ चन्द्रमामा उतारेकै हो । भारतले जी–२० को अध्यक्षता गर्ने अवसर पनि पाएकै हो । उनकै शासनकालमा डिजिटल इन्डियाको सपना प्रभावकारी कार्यान्वयन भएकै हो । ठूलो भौतिक पूर्वाधार बनेकै हुन् ।

यस्ता अनेक उपलब्धि बीच फेरि पनि जनताले मोदीको ‘४०० पार’ को नारा पत्याएनन् । यो एक प्रकारले ‘चुनावी नारा’ मात्र थिएन । १० वर्षे शासकको एक आह्वान थियो– जसलाई नैतिक राजनीतिको एक मानक, हारजीतको एक आधार मान्न सकिन्थ्यो ।

सत्तामा नभएको कुनै सामान्य राजनीतिक दल वा कार्यकर्ताले यस्तो नारा दिएको भए, त्यो नारा नै हुन्थ्यो । तर, १० वर्ष शासनमा रहेको बहालवाला शासकको आह्वानलाई नारा मात्र भन्न मिल्दैन । त्यो एक प्रकारको अपिल थियो जसलाई मतदाताले अस्वीकार गरे ।

यो मोदीको हार नै हो– राजनीतिक तथा नैतिक हार । अनौठो के छ भने– यो सवाललाई पनि मोदीले सजिलै पन्छाइदिएका छन् । उनले ‘४०० पार’ नभएको, गत निर्वाचनभन्दा ६३ सिट घटेको, उत्तर प्रदेशका करिब आधा सिट घटेको चर्चा गरेका छैनन्– एनडीएको ‘लगातार तेस्रो विजय’ आडमा फेरि प्रधानमन्त्री हुने बाटो रोजेका छन् ।

नैतिक राजनीतिको हिसाबले गठबन्धनबाटै आफ्नै पार्टीको अरु कोहीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मोदी पछि हट्न पनि सक्थे । तर, प्रधानमन्त्री तेहेर्‍याउने आकांक्षाले उनलाई त्यसो गर्नबाट पनि रोकेको छ ।

उनले आफूलाई पण्डित जवाहरलाल नेहरूसँग ‘बराबरी’ गर्न चाहेको छन्– तीन कार्यकाल प्रधानमन्त्री पूरा गरेर । तेस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री हुने त निश्चित भइसक्यो । तर, तेस्रो कार्यकाल सकुशल पूरा गर्लान् नगर्लान्, त्यसमा भने आशंका छ ।

मोदीको तेस्रो सरकार पहिलो र दोस्रो सरकार जतिको बलियो हुने छैन । यो मोदीले बारम्बार भन्ने गरेजस्तो ‘मजबुत’ हैन ‘मजबुर’ सरकार हुने छ ।

जेडियुका नीतिश कुमार हुन वा टिडिपीका चन्द्रबाबु नायडु– मोदीका लागि सहज साझेदार हैनन् । भरखरै चुनावको तातोका उनीहरू गठबन्धनमै रहने भएका छन् । तर, ५ वर्ष विकसित हुने घटनाक्रम, असहजता र सकसको अनुमान अहिले नै गर्नु हतारो हुन्छ ।

नीतीश कुमारको ‘ट्रयाक रेकर्ड’ मा ‘पल्टुराम’ चरित्र अविछिन्न छ । पल्टुराम– खासमा भारतीय प्रेस र सार्वजनिक वृतमा यो शब्दको उत्पति नै नीतिशकुमारका लागि भएको हो । नायडु पनि मोदी र भाजपासँग सहज सम्बन्ध भएका नेता हैनन् ।

तेलुगु भाषी मनोविज्ञान भाजपाको ‘हिन्दू र हिन्दी’ मनोविज्ञानभन्दा फरक रहँदै आएको छ ।

मोदीको १० वर्षप्रति भारतीय मतदाताको उदासीनता बढ्दो क्रममा रहँदा पनि भाजपाभित्र कसैले मोदी नेतृत्वलाई चुनौती दिने साहस गरेन ।

अध्यक्ष जेपी नड्डा हुन् वा पूर्व अध्यक्षहरू राजनाथ सिंह, अमित शाह र नीतिन गड्करी– कहिल्यै पार्टी अध्यक्ष नभएका मोदीको शक्ति सामु सर्वथा नतमस्तक छन् । यो पनि ‘मोदी अपवादवाद’ कै राम्रो उदाहरण हो जो दक्षिण एशियाली राजनीतिमा विरलै देखिन्छ ।

मोदीको ‘तेस्रो ताजपोशी’ लाई स्वयं भाजपा कार्यकर्ताले समेत खासै ठूलो जीत मानेका छैनन् । उनीहरूमा ठूलो दल हुनुको खुशी भन्दा बढी ‘बहुमत गुमेको’ निरासा छ । मोदी शासनको तेस्रो इनिङ यसप्रकारले पनि उत्साहजनक छैन । उनको शासनशैलीका बोध सबैलाई राम्रोसँग भइसकेको छ ।

‘मजबुत मोदी’ भोगिसकेका मानिसलाई ‘मजबुर मोदी’ को शासन भोग्ने उत्साह नहुनु स्वभाविक हो । योसँगै मजबुत मोदीले सुरु गरेका महात्वाकांक्षी योजनाहरू मजबुर मोदीको पालामा निकै कमजोर हुने अनुमान गर्न सकिन्छ ।

१०० सिट न कटाएको विपक्षी दल कांग्रेस खुशीले खपिनसक्नु छ । तर, त्यसको दोब्बरभन्दा धेरै बढी २४० सिट जितेको भाजपामा निरासा, स्तब्धता र उत्साहहीनता छ । सन् २०१४ अघि हुन्थ्यो त भाजपाले यति सिट जित्नु धेरै ठूलो खुशी र उत्साहको बिषय बन्थ्यो ।

चुनावी परिणाम र राजनीतिक उपलब्धिले दिने खुशी सापेक्षिक हुने रहेछ ।

मोदी शासनको तेस्रो कार्यकालले ‘नेहरूसँग बराबरी’ को आत्मतुष्टि त पूरा हुन सक्ला तर आम नागरिकमा नयाँ उत्साह भर्ला भनेर पत्याउन सकिने संभावना एकदमै कम छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School