तीन नेताको मनलाग्दीमा बौद्धिकहरू चुपचाप देख्दा दिक्क लाग्छ

तीन नेताको मनलाग्दीमा बौद्धिकहरू चुपचाप देख्दा दिक्क लाग्छ


गायक हेमन्त शर्मा सांगीतिक जीवनका अनेक घुम्ती र मोडहरू पार गर्दै अहिले यस्तो स्थानमा आइपुगेका छन्, जहाँ उनी आफूलाई संसारका केही खुशी मानिसहरूमध्ये एकका रूपमा हेर्छन् । नयाँ शैलीको गीतको तयारीमा जुटिरहेका शर्माले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :

हिजोआज

१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

म हिजोआज लगभग सबै कुरामा नियमित छु । दर्जनौं वर्षदखि जस्तो अवस्थामा थियो त्यसरी नै दिन बित्छन् । अलिअलि रेकर्डिङ, अलिअलि कार्यक्रम । कहिलेकाहीं भिडियो मेकिङहरू ।

२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?

पछिल्लो समय ‘आहा’ भन्ने गरी कुनै पनि कुराले खुशी बनाएको छैन । गीत चले, रेकर्ड भए भन्ने स–साना खुशीहरू चाहिं आउने–जाने भइनै रहन्छ ।

३. दिक्क बनाएको कुरा ?

देशमा बारम्बार दोहोरिइरहेको राजनीतिक परिदृश्यले । माथि भनेका स–साना खुशीलाई पनि राजनीतिले गौण बनाइदिने काम गरेको छ । फेरि त्यही गञ्जागोल फेरि सरकार परिवर्तन । हरेकपटक यसपालि त नेताहरू सुध्रिए कि भन्यो, जस्ताको तस्तै । पछिल्ला ६ महिनाका समाचार पल्टाएर हेर्ने हो भने यी सबै नेताले एकअर्कालाई यति दोषारोपण गरेका छन्, त्यसका प्रमाण आफूसँग भएको बताएका छन् ।

त्यसका बावजुद सत्ता साझेदारी मिल्नासाथ फेरि निर्दोष देखिहाल्छन् । युवालाई देलान् भन्यो, घुमिफिरी फेरि त्यही तीन जना । मलाई ताज्जुब लागेको चाहिं यस्तोमा दोस्रो–तेस्रो तहका युवा र बौद्धिक नेताहरू मौन बसेको देख्दा । मानवअधिकारवादी, पूर्व न्यायाधीश, कानुनविद्हरू पनि यसमा नबोली चुपचाप बसेको देख्दा दिक्क लागेको छ । उनीहरूलाई के कुराले रोकेको छ ? कोही त फ्रन्ट लाइनमा आओस् दिल खोलेर जस्तो लाग्छ ।

४. अबका योजना के छन् ?

जे गरिरहेको छु, त्यसैको निरन्तरता । महाविद्यालय खोल्ने, संग्रहालय खोल्ने जस्तो कुनै ठूलो योजना मेरो छैन । मैले आफूलाई सधैं खुशी राख्न सकें, असल नागरिकका रूपमा रहन सकें र परिवारलाई पनि खुशी बनाएर उनीहरूका लागि घाँडो बनिनँ भने मेरो जीवन काफी छ । ठूल्ठूला काम गर्छु भन्ने धेरैले अलिकति पनि गरेनन् । मेरोचाहिं कम्तीमा श्रोता–दर्शकलाई मिठो गीत दिन सकुँ भन्ने मात्रै हो । संगीत बाहेक अर्को कुनै क्षेत्रमा गएर के–के गर्छु भनेर झुटो नबोलौं ।

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

मेरो अस्तित्व र उपस्थिति नै हो । इमानदारीपूर्वक काम गरिरहेको छु, दर्शक श्रोताबाट फिडब्याक, प्रेम पाइरहेको छु । मेरो आवश्यकता पूरा गर्नेभन्दा अलि बढी आर्थिक रूपमा पनि प्राप्त गरिरहेको छु । संसारका हजार र नेपालका बीस खुशी मान्छेमा म पर्छु होला । आजको मितिमा मेरो एक रुपैयाँ पनि कर्पोरेट लोन छैन । लोनमा पर्ने अवस्था भएपछि दुई वर्षअघि घर बेचिदिएँ । काठमाडौंमा सात वर्ष डेरामा बसेर १७ वर्ष आफ्नै घरमा बसेको हो । अहिले भौतिक घर नभए पनि मेरो परिवार खुशी छ । आखिर घर भनेको त परिवार न हो । मेरो घरमा भन्दा डेरामा बढी सुविधा छ । पहिला बाटो साँघुरो थियो, गाडी छिर्थेन । अहिले मसित जे छ म त्यसलाई सबभन्दा राम्रो मान्छु । म नेताहरूलाई हेर्छु, कति तनाव झेलेका होलान् ? यति दुःखी जीवन किन र कसरी बिताएको होला जस्तो लाग्छ । मलाई मेरो जीवनप्रति कुनै गुनासो छैन ।

६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

मेरो खास रुचि जागेको पनि केही छैन । कुनै यस्तोखाले गीत गर्न पाए हुन्थ्यो भन्ने पनि छैन । पछिल्लो समयमा खेल्न मन लागेको चाहिं ब्याडमिन्टन हो । जीम जान मलाई मन नलाग्ने । ब्याडमिन्टनले फिजिकल फिटनेसमा रुचि बढेको छ । यसको चाहिं एकखाले लत लागे जस्तो भएको छ ।

७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

सबभन्दा राम्रो नेपाली समाज एकदमै इन्नोसेन्ट छ । जसले जे भने पनि हाम्रो समाजले पहिला पत्याउँछ । तपाईंले शीर्षक नेगेटिभ राखे पनि पोजेटिभ राखे पनि पत्याउँछ । नराम्रो पक्षचाहिं एकदम छिटो प्रतिक्रिया गरिहाल्ने । कुनै विषयमा पनि त्यो कुरालाई एकछिन सोचविचार गरेर, खास के हो त भन्ने गमेर प्रतिक्रिया नगर्ने । एउटाले ब्याग लिएर दौडियो र कसैले ‘ए, त्यसलाई ठटा’ भन्यो भने ठटाइहाल्ने । उसले कसैको ब्याग जोगाएर दौडेको पनि त हुनसक्छ !

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

म हेर्छु । अहिले पत्रकारितामा पत्रकारिताभन्दा बढी व्यावसायिकता बढी भएको छ । व्यावसायिकता विना पत्रकारिता चल्न त गाह्रो हुन्छ । पछिल्लो समयमा प्रिन्ट र काँचको पर्दाबाट मोबाइल स्क्रिनमा समाचार र अनलाइन आउन थाले । स्तरीय मिडिया हाउसहरूले पनि आफूले नियमित गर्न नसुहाउने भन्ने थाहा हुँदाहुँदै पनि अर्काले गरेको देखेर लहलहैमा लागिरहेको म देख्छु । अर्कोचाहिं मिडिया हाउसभित्र पनि जेनेरेसन ग्याप छ । कला, खेलकुद जस्ता विषय बुझ्ने सम्पादकहरूको कमि छ जस्तो लाग्छ । नयाँ पुस्ताको भाषा, स्ल्याङ, शैली र सोचविचार नबुझे जस्तो लाग्छ । नयाँलाई स्वीकार गर्न सकिरहेका छैनन् । त्यो वर्गलाई समेट्न सकिरहेका छैनन् । देशमा पनि १८ वर्षदेखि २५ वर्षकाले भोट हाल्ने र ७० वर्षकाले सरकार चलाउने भए जस्तै मिडियामा पनि म जेनेरेसन ग्याप देख्दैछु ।

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

केही छैन । जेजस्तो भयो, जेजसरी आयो त्यसमा खुशी छु । म थोरै काम गर्ने मान्छे, समयसापेक्ष र त्यही सन्दर्भमा राम्रो गर्न खोजेको हो । तीप्रति मलाई प्रेम छ । तिनलाई अहिले सुधारियो भने मजा आउँदैन ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

आउने पुस्तालाई यो देश, देश जस्तो लगाउनलाई प्रेम जगाउनुपर्छ । नयाँ पुस्ताले भूगोल होइन, भावनालाई देश मान्छ । उसका लागि सारा संसार देश हो । त्यसैले कुनै नारा घोकाएर देशप्रेम जाग्ने होइन । मेरो देशमा बस्न र घुम्न पनि मजा छ है भन्ने वातावरण बनाइदिनुपर्छ । यहाँ काम गर्न र इन्जोय गर्न कुनै रोकटोक छैन भन्ने वातावरण बनाइदिनुपर्छ । यदि ६ दिन काम गर्नेले एक दिन वाइल्ड भएर इन्जोय गर्न चाहन्छ र त्यसको हामी ख्याल गरेनौं भने उनीहरूको मनोविज्ञानलाई बुझेनौं भने देशको भविष्य भूगोलले हुन्छ तर भावनाले नहुन सक्छ ।

किताब

१. किताब पढ्ने बानी कत्तिको छ ? पढ्ने बानी कसरी बस्यो ?

सुरु त पाठ्यपुस्तकमा भएका कथाहरूबाटै हो । कलेजमा आइपुग्दा मेरो एकजना सानीआमाको घरमा पुस्तकालय थियो । त्यहाँ भएका नेपाली र विदेशी साहित्य मैले पढें । प्रेमचन्द, म्याक्सिम गोर्की र टल्सटोयका कथाहरू निकै पढें । गुरुप्रसाद मैनालीको ‘नासो’ चाहिं मलाई पहिलोपटक आहा लागेर, मन परेर पढेको कथा हो । त्यसपछि कताकता साहित्यप्रति हल्का रुझान भयो । मधुपर्क, युवामञ्चहरू पनि पढियो । सामाजिक र प्रेमका बढी बढियो ।

२. पढ्न मनपर्ने विधा ?

मैले बढी पढ्ने सामाजिक, ऐतिहासिक विषय । प्रेमग्रन्थहरूमा पनि रुचि लाग्छ । किताब पढ्दा जुन ठाउँमा मलाई मन पर्छ, म त्यसमा अडिएर गम्छु । मलाई विषयभन्दा पनि प्रस्तुतिले बढी आकर्षित गर्छ । त्यसमा मैले अपनत्व भेट्नुपर्छ । ‘अन्तर्मनको यात्रा’ मन परेपछि मैले ‘यति राम्रो कृति लेख्न सकिन्छ भने मलाई पनि माइलोमा भए हुन्छ’ भनेर जगदीश घिमिरेलाई इमेल लेखें । उहाँले ‘भाइ तपाईंले भनेजस्तो यति सजिलो होइन है’ भनेर इमेलको जवाफ लेख्नुभएको थियो ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तकहरू ?

बाल्यकालमा गुरुप्रसाद मैनालीको ‘नासो’ । ‘नासो’ को प्रभाव कतिसम्म पर्‍यो भने कसैलाई चिठी लेख्दा म अन्तिममा बिदा भनेर तीनपटक लेख्थें । नयनराज पाण्डेको ‘उलार’ र अमर न्यौपानेको ‘सेतो धर्ती’ पनि मन परेका हुन् । सरुभक्तका पुस्तकहरू पनि मैले पहिले निकै आनन्द लिएर पढेको हुँ । प्रदीप रोदनको गजल–साहित्य मनपर्छ ।

४. निराश बनाएको पुस्तक ?

थुप्रै छन् तर मैले यहाँ भन्न चाहन्नँ । जिन्दगीमा राम्रो कुरा मात्रै गरौं ।

५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

समसामयिक जुनै विषयमा लेखे पनि हुन्छ । अबका लेखकले नवयुवाहरूले मन पराउने गरी लेख्न सक्नुपर्छ । १८–२० वर्षका युवालाई किताब पढ्ने बनाउनुपर्छ, उनीहरूसम्म पुर्‍याउनुपर्छ ।

६. तपाईंका प्रिय लेखकहरू ?

मलाई एकजनाले लेखेका सप्पै मनपरेका चाहिं खासै छैनन् । किताबसँगै लेखकको व्यक्तित्व पनि मनपर्‍यो भने बढी प्रभाव पर्दोरहेछ । प्रिय लागेका लेखकहरू जगदीश घिमिरे, अमर न्यौपाने, प्रदीप रोदन । गीतकार एकनारायाण भण्डारीको लेखन पनि मनपर्छ ।

आजभोलि म किताब पढ्ने भन्दा पनि लगभग सुन्छु । ‘कर्नाली ब्लुज’ मैले वाचनमै सुनेको हुँ । तर, वाचनले कहिलेकाहीं बिझ्दो रहेछ । मेरो र वाचकको फ्लो नमिल्दो रहेछ । तैपनि, वाचन सुन्दा किताब पल्टाउनु परेन, उमेर समूहका मान्छेले चश्मा खोज्नु परेन । अर्को काम गर्दागर्दै, खाना पकाउँदै, दाह्री काट्दै पनि सुन्न सकियो ।

८. कलाकार/गायक बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?

समसामयिक र प्रेमका विषयमा लेखिएका पुस्तकहरू । गायक गायिकाले त ‘समरलभ’, ‘गुलाबी उमेर’, प्रदीप रोदनका गजल र ‘पल्पसा क्याफे’ सम्म पढ्दा हुन्छ । किनभने, सरल साहित्य अबको गीतको मानक हो । यस्तो साहित्य अध्ययनले भाषा सौम्य, शुद्ध, प्रेमिल, गेय बन्छन् जस्तो लाग्छ ।

९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

यसमा मेरो धारणा बेग्लै छ । म मनपर्ने मान्छेलाई धेरै भेट्दिनँ । धेरै मन परेको मान्छेको आनीबानी मन परेन भने उसको कृतिलाई हेर्ने नजरमा पनि असर पर्छ जस्तो लाग्छ । त्यसैले म प्रिय लाग्ने मान्छेलाई भेट्न चाहदिनँ ।

सिनेमा

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

त्रिवेणीबाट भारतको भैंसालोटन गएर पहिलोचोटि फिल्म हेरेको थिएँ । आमा, हजुरआमा, काकी, काका, दिदी, दाइ अनि छिमेकी लीला दिदी, लीला दिदीको छोरी सुमित्रा भएर टाँगा चढेर गएको सम्झना छ । त्यो देव आनन्दको ‘हरेराम हरेकृष्ण’ फिल्म थियो ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

सामाजिक र प्रेम विषयमा आधारित ।

३. मन परेका फिल्म ?

नेपालीमा ‘पशुपतिप्रसाद’ । यसको अन्त्यचाहिं चित्त बुझेको होइन । ‘कबड्डी’ पनि मन परेको हो । ‘थ्री इडिएट्स’, ‘पिके’, ‘कुछ कुछ होता है’ धेरै छन् । फिल्ममा असाध्यै धेरै कुरा म खोज्दिनँ । यसले समयचाहिं खेर फाल्नुहुँदैन भन्ने मेरो मान्यता हो ।

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

त्यस्ता त कति छन् कति ! तर, त्यो पनि नभनौं ।

५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

मलाई मन परेका मान्छेले सामाजिक सञ्जालमा भनेका कुराले ठूलो प्रभाव पार्छ । हेर्छु भनेका फिल्म पनि मन परेकाले नराम्रो भने भने मैले नहेरेको छु । समीक्षाबाट प्रभावित हुनु मेरो कमजोरी नै हो ।

६. मन परेका कलाकार वा फिल्ममेकर ?

अमिताभ बच्चन, आमिर खान, शाहरूख खान, विपिन कार्की, दयाहाङ राई ।

७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

ठ्याक्कै यस्तो बन्नुपर्छ भन्ने छैन ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

अर्कै संसारमा पुर्‍याएको ठिक जस्तो लाग्छ । यही प्रश्न १५ वर्षअघि सोध्नुभएको भए म यथार्थ भन्थें होला । अहिले लाग्छ, एक छिन भए पनि अर्कै संसारमा पुगेर तनावमुक्त गराउनु ठूलो कुरा हो । शिक्षा त वृत्तचित्रबाट दिने हो, राज्यले बनाएर दिनुपर्छ । त्यो टिभी र मोबाइलमा, रिंग टोनमा आउँछ । फिल्मले मनोरञ्जन दिनुपर्छ । त्यसैमा सन्देश छ भने सुनमा सुगन्ध ।

घुमफिर र सोख

१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

घुमफिर सोख होइन, परिस्थिति भयो । यो एक किसिमको भाग्य नै भनौं, आफसे आफ म धेरै ठाउँ जान पाएँ । मेरो रुचि छ है भन्नै परेन । देशका अधिकांश भूभाग र विदेशका शहर जान पाएँ । कामकै सिलसिलामा, गीत गाउन नै जान पाएँ ।

२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

सबभन्दा बढी गएको जापान र कतार । जान मन लागेको चाहिं सायद न्युजिल्यान्ड होला । किनभने, मैले ३० वर्षअघि क्रिकेट हेर्दादेखि नै त्यहाँका धेरै शहर चिनेको छु । ती सबै परिचित जस्तो लाग्छ । न्युजिल्यान्ड गएको छैन । त्यहाँ चाहिं पुग्न मन छ ।

३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

मलाई एकदमै मनपर्ने ठाउँ त्रिवेणी हो । आफू जन्मिएको ठाउँ भएर मात्र होइन । त्यहाँका मठ–मन्दिर र नारायणीको फैलावट पनि मलाई सुन्दर लाग्छ । दश मिनेट पूर्वमा एक किलोमिटर फैलिएको नारायणी, दश मिनेट उत्तरमा घना जंगल अनि २० मिनेटमा पहाड पुग्ने यस्तो ठाउँ अन्यत्र भएजस्तो लाग्दैन ।
कार्यक्रमका लागि पुगेका ठाउँमा चाहिं हुम्ला र रुकुम मन परेका हुन् । विदेशमा पहिलोपटक जाँदा कतार र स्वीट्जरल्यान्ड ।

यात्रा चाहिं फ्रान्सको पेरिसबाट फास्ट ट्रेनमा बेल्जियमको ब्रसेल्सको । ब्रसेल्समा मेरो प्रस्तुति तय भइसकेको रहेछ तर मलाई थाहा थिएन । पेरिसको कार्यक्रम सकेर रेस्टुरेन्टमा खाजा खाँदै गर्दा बल्ल थाहा भयो । कार्यक्रम सुरु भइसकेछ । मलाई पर्खिइरहनुभएको छ भन्ने थाहा पाएपछि त्यही रेस्टुरेन्टबाट सीधै स्टेसन पुगेर साँझको ७ बजे ट्रेन चढेर ब्रसेल्स पुगेर राति १ बजे कार्यक्रम गरेको थिएँ ।

४. गीत कत्तिको सुन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

म एकदमै सुन्छु । हरेक जनराका, हरेक वर्गका गीत सुन्छु । पुराना दाइदिदीका देखि नयाँ भाइबहिनीका मैले नगाउने जनराका गीत पनि सुनिरहेको हुन्छु । मलाई नारायणगोपाल र लता मंगेशकर सबभन्दा धेरै मनपर्छ ।

५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?

मैले सुन्ने गीत ८० र ९० को दशकका हुन् । त्यतिबेलाका गीतमा नारायणगोपाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, भक्तराज आचार्य, दीपक खरेलका बढी छन् । लता मंगेशकरदेखि कुमार सानु र उदितनारायणसम्म नै सुनिरहेको हुन्छु ।

६. के कुराको विशेष सोख छ ?

क्रिकेट हेर्न रुचाउँछु । फुर्सदमा साहित्य रुचाउँछु, फर्मचाहिं कुनै पनि हुनसक्छ । मेरो साहित्यको कनेक्ट हुने फर्म चेन्ज भएको छ । पहिले पढ्थें, अहिले सुन्छु । ओशोलाई सुन्छु, त्यसमा साहित्य भेट्छु ।

७. खानाको कत्तिको सौखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

खानाको सौखिन छु । थोरै खानेकुरा मनपर्छ, त्योचाहिं धेरै खान्छु । रहरको बाक्लो दाल, त्यो नहल्लिने गरी बाक्लो हुनुपर्छ र एउटा तरकारी । धेरै परिकार भयो भने त्यसको मजा लिन पाइँदैन । अनि साग । यत्ति भएपछि मलाई पुग्छ ।

राजनीति

१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

कसैको डर नभएको र डरको अभावमा अत्यन्तै बाटो बिराएको ।

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

जुन कुरा सजिलोसँग प्राप्त हुन्छ त्यसको मूल्य कम हुन्छ । ६–६ महिनामा सजिलै प्रधानमन्त्री, मन्त्री हुन पाएपछि, चुनाव नजिते पनि मन्त्री हुन पाएपछि, जनमत नभए पनि सांसद हुन पाएपछि त सजिलो भयो नि ! यसको मूल्य नै भएन । मान्छेले मिहिनेत गरेर पाएको चिउराको सबै सिता चपाएर खान्छ तर सित्तैंमा पाएको बर्गर पनि फाल्न सक्छ । गल्ती गरें भने अर्काले जेल हाल्छ भन्ने डर भएको भए यस्तो विसंगत हुने थिएन ।

३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

उहाँहरूले जिन्दगीमा पाउनुपर्ने सबै कुरा पाइसक्नुभयो— नाम, पद, दाम । अब कम्तीमा पनि एकजना मात्रै भए पनि सत्तामोहबाट माथि उठेर अपवाद बनेर गलत गर्ने आफ्नै कार्यकर्ता र आसपासका मान्छेलाई कारबाही गरेर अमर बनिदिउन् भन्ने चाहन्छु । त्यसैले मौका पाएँ भने कुनै एकजना नेतालाई त्यस्तो बनाइदिने थिएँ ।

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

पहिलेकोमा राजा महेन्द्र । विकासको दृष्टि, देशप्रेम, साहित्य, चित्रकला, संगीत र चलचित्रप्रति उनको प्रेमको हिसाबले ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

छिमेक, खासगरी भारतसँग कूटनीतिक सम्बन्ध अझै बढाउँथें । नेपालको स्पष्ट परराष्ट्र नीति बनाउने थिएँ । उताबाट आउने सामान्य मान्छेलाई पनि हाम्रा नेता, मन्त्रीले होटल द्वारिकाजमा गएर भेटेको देख्छु । तर, गतिलोसँग कुरा गरे जस्तो लाग्दैन । हामीलाई चाहिएको सहयोग गर्छौं भने मित्रभाव बढाउँछु नत्र अर्कोपट्टि जान्छु पनि भन्न सक्नुपर्छ ।

दोस्रोचाहिं आफ्ना निकट, परिचित भए पनि भ्रष्ट छन् भने कारबाही गर्थें । र, सुशासन कायम गर्थें । मान्छेलाई धेरै चाहिएको छैन, मालपोत जस्ता ठाउँमा सजिलोसँग काम होस् भन्ने हो ।

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

त्यस्तो नेता छैन । धेरै मजा आउने, कुरा मिल्ने कोही होला जस्तो लाग्दैन । राम्रा नेताहरू छन् तर मैले छान्न सकिनँ । हिरोइन भन्नुभएको भए छान्नुहुन्थ्यो !

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

सबै जोड्दा ६ घण्टा जति बित्छ । बढी चलाउने फेसबुक नै हो । त्यसपछि युट्युब ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

छ । कहिलेकाहीं राति निद्रा खुल्यो भने पनि हेर्ने बानी छ ।

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रो पक्ष भने सहज उपलब्धता । मनोरञ्जन, सूचना, जानकारी सबै सहज भयो । आवश्यक पर्‍यो भने सूचनाहरू क्रस भेरिफाइ पनि गर्न सकिन्छ । नराम्रो पक्ष भनेको प्रेम भाव र इष्टमित्रता घट्यो जस्तो लाग्छ । दूरीमा भेट्दा मजा आउने कुरा हराएर गयो । नभेटे पनि हरेकका बारे थाहा पाइरहेको हुन्छ । रोचकता र उत्सुकता बाँकी रहेन, मिठास भएन । समाजमा कुराकानी नै लोप हुँदैगयो । सञ्जालमा हेरेरै सबै थाहा हुनेभयो ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?

अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालकै काम बढी गरेको छ । यसको अल्गोरिदमले तपाईंको रुचि अनुसार कुराहरू देखाउने भएकाले फेक न्युज कति आउँछ भन्ने तपाईंमा नै भर पर्छ । तपाईं जता ढल्कियो, त्यतै लगिदिन्छ । मेरो विचारमा सञ्जालमा ८० प्रतिशत राम्रा कुरा छन् ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

लाग्छ । मान्छेले जहिले पनि सजिलो खोज्छ । मनकामना जान रुचाउने मान्छे पनि उकालो र जुका झेल्दै जान चाहँदैन । आँबुखैरेनीबाट उक्लिन चाहँदैन, केबलकारबाटै जान चाहन्छ । जतिसुकै माया लागे पनि पुस्तक पनि अर्को फर्ममा आउन आवश्यक छ, आउँछ । साहित्य रुचाए पनि पाना पल्टाएर, बाक्लो चश्मा लगाएर पुस्तक पढ्न नसक्ने हुनसक्छ । सुन्दै वा अर्को काम गर्दै सुन्न पायो भने त्यसमा झन् बढी रमाउन सक्छ । मैले सीडी र क्यासेटलाई माया गरे पनि फिर्ता आउँदैन । त्यता जान्छु भन्यो भने म डाइनोसर बन्छु । किताबमा पनि त्यस्तो हुनसक्छ ।

पेशा/व्यवसाय

१. गायक हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

गायक हुनुको राम्रो कुरा धेरै छन् । पहिलो कुरा परिचय बन्छ । आफूलाई धेरै मान्छेले माया गरेको थाहा पाउनु जिन्दगीमा राम्रै कुरा हो । आफूलाई ढाडस दिने ठूलो कुरा पाइन्छ । मन परेको काम गर्दै संसार डुल्न पाइन्छ । आफूलाई मन पर्ने काम गरेरै घर चलाउन पाइएको छ । अलिकति नराम्रोचाहिं कहिलेकाहीं व्यक्तिगतपन कम हुन्छ । आफूलाई बाहिर निस्किन अरुचि हुन्छ, परिवारमा केही घटना हुन्छ, मजा नलागिरहेका बेला पनि हाँसेर बाहिर निस्किनुपर्छ । दुःख सार्वजनिक रूपमा देखाउन पाइँदैन । दुःख हुँदाहुँदै पनि स्टेजमा उफ्रिएर नाच्नुपर्छ । बह लुकाउनुपर्छ । तर, म यसलाई चन्द्रमामा भएको दाग जत्तिकै हो भनेर मान्छु ।

२. कुन समयमा तपाईंलाई गायक नै बन्नुपर्छ भन्ने लाग्यो ?

कलेज पढ्दा । गायनतर्फ रुचि र झुकाव त पहिलेदेखि नै थियो । भैरहवा बहुमुखी क्याम्पसमा पहिलोपटक स्टेजमा साढे तीन मिनेट गाउँदा जुन वाह्वाही पाएँ, त्यही क्षण अब यही काम गर्ने हो भन्ने निर्णय गरेको थिएँ ।

३. गायक नबनेको भए के बन्नुहुन्थ्यो होला ?

पहिले अलिकति अभिनयतिर रुचि त थियो, त्यता लाग्थें कि ? वा आम कर्मचारी हुन्थें होला । कुनै फ्याक्ट्रीको कर्मचारी वा लोकसेवा पास गरेर नायब सुब्बा हुन्थें होला !

४. तपाईंको कोही रोलमोडल छ ?

ठ्याक्कै छैन । मलाई धेरै मान्छे मन पर्छन् । तर, यही मानिसका सबै स्टाइल, गतिविधि फलो गर्ने भन्ने कोही छैनन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School