आजको महिला पैतृक सम्पत्तिमा समान हक राख्ने, कार्यक्षेत्रमा समान बौद्धिक क्षमता राख्ने, सम्पत्ति कमाउने महिला हो । पुरुषसरह काममा, लुगामा, खानामा, भेटघाट र साथीसंगीसँगको रमाइलोमा स्वतन्त्र व्यक्ति हो । अनि ऊबाट हामीले अपेक्षा भने ‘रुँदैरुँदै बेंसी मेलामा हिंडेकी’ माइत जान नपाएकी, एक छाक मिठो मसिनो खान नपाएका महिलाको गीतको गरिरहेका छौं !
यस वर्ष पनि यूट्युबमा तीजका गीतहरू आउन थालेसँगै तीजको चर्चा फेरि चुलिन थालेको छ । तर, तीजबारे व्याख्या गर्दा एउटा पक्षलाई मात्रै हेरेर पुग्दैन । यससँग जोडिएर आउने सामाजिक सम्बन्ध, धार्मिक परम्परागत वा विश्वास वा बाध्यताका पाटो एकातिर छन् । अर्कातिर यसको आर्थिक पक्ष, पूँजीवादको प्रभाव, महिलाको आर्थिक सशक्तीकरण वा आर्थिक आत्मनिर्भरता र त्यसले बढाएको क्रयशक्ति, बढ्दो बजारसम्मको पहुँचका पक्ष छन् ।
तीजको सांस्कृतिक पक्ष विदेशमा बस्नेलाई नेपाली चाड, नेपाल भित्रै जनजातिहरूको बढ्दो सहभागिता वा संस्कृताईजेसन, तीजको भौगोलिक पक्ष गाउँको तीज र शहरको तीज, तीजका गीतमा छल्किएको यौनिकतालाई पनि तीजका केही महत्वपूर्ण पक्षहरूका रूपमा लिन सकिन्छ । यी विविध पक्षलाई केलाएर हेर्दा तीजका कतिपय पक्ष सकारात्मक लाग्छन् भने कतिपय पक्ष नकारात्मक । कतिपय पक्षले नेपाली समाजको पहिचान निर्माण गर्न विश्वसामु महत्वपूर्ण भूमिका खेलेका छन् भने कतिपय पक्षले परम्परागत पितृसत्तात्मक सोचलाई नै मजबुत बनाइरहेका पनि छन् । यो लेखमा तीजका विविध पक्षलाई केलाउने कोशिश गरिनेछ ।
सामाजिक सम्बन्ध : माइती-चेलीबाट सम्बन्ध विस्तारको अवसरतर्फ
विदेशका विभिन्न शहरमा काम गरिरहेका महिलाहरूका लागि अब तीज आफ्नो देशका मानिस चिन्ने, सम्बन्ध विस्तार गर्ने, राम्रो रोजगारी खोज्ने र आफ्नो पहिचान सुरक्षित गर्ने चाडको रूपमा विकास भएको छ ।
विगतमा परम्परागत ग्रामीण समाजमा तीज माइती र चेलीको चाडको रूपमा परिचित थियो । वर्ष दिनमा एकपटक भए पनि माइती जाने र बाल्यकालका साथीहरूसँग भेटघाट गर्ने, आमा वा माइतीले पकाएको मिठो–मसिनो खाने चाडको रूपमा तीज थियो । विविध कारणले अब तीज तीन दशक अगाडि जस्ता लर्को लगाएर छोरी चेलीहरू तीज मान्न माइत आउँदैनन् । आएका चेली पनि पहिलाको जस्तो गाउँका चौतारीमा दिनभरि गीत गाउँदैनन् । शहरमा तीज माइती–चेलीबाट अगाडि बढेर सामाजिक सम्बन्ध विस्तार र मजबुत बनाउने अवसरको रूपमा प्रकट हुन थालेको छ । एकै पेशा वा कार्यालयमा कार्यरत महिलाहरूबीच आत्मीयता बढाउने अवसर बनेको छ ।
बीस वर्ष अगाडिदेखि चिनेकी मेरी एक जना युवा नेता साथी हुनुहुन्छ, गीत वा नृत्यमा खासै मन नबस्ने । तर, उहाँको लागि भदौ महिना तीजको महिना हो । हरेक दिनजसो उहाँ तीजको कार्यक्रममा जानुहुन्छ, सरकारी क्याम्पसका विद्यार्थी संगठनले गर्ने कार्यक्रम, महिला अधिकारमा काम गर्ने एनजिओका कार्यक्रम, पेशागत संगठनका कार्यक्रम, पार्टीभित्रका विभिन्न संगठनका कार्यक्रम र सामूहिक रूपमा हुने साथीहरू, कमरेड, गुटका तीज भेटभाट सबै भ्याएपछि उहाँले पारिवारिक रूपमा पनि तीज मान्नुहुन्छ ।
सुरु–सुरुका वर्षमा मलाई लाग्थ्यो ‘के गरेको होला, कत्ति सकेको होला !’ पछि मैले बुझें यो त सम्बन्ध विस्तार गर्ने र नवीकरण गर्ने प्रक्रिया रहेछ । मुख देखाइरहनुपर्ने, भेटिरहनुपर्ने, अपडेट भइरहनुपर्ने, दुई–चार दिन नदेखिए कसैले खोजीनिती नगर्ने, मुख देखिरहे बल्ल गणना हुने, चुपचाप गम्भीर काम गरिरहेका मानिसको खैखबर नलिइने समाजमा यस्तो गर्नु जरूरी पनि छ । धेरैले मेरी साथीले जसरी महिनैभरि तीज मान्दैनन् तैपनि ‘महिना अघिदेखि तीज लाग्यो’ भनेर हामी जसले भनिरहेका छौं, मेरै साथी जस्ता केही मानिसलाई देखेको आधारमा भनिरहेका छौं ।
धार्मिक विश्वास र बाध्यता
तीजलाई हिन्दु नारीहरूको महान् चाड भन्ने गरिन्छ । समाजमा धर्म किन छ, महानताका भाष्य कसले निर्धारण गर्छ भन्ने बारेमा व्याख्या गर्न यो लेखमा सम्भव भएन । सीमान्तीकरणमा परेका मानिसका लागि धर्म एउटा बाँचिरहने सहारा हो, त्यसलाई नशा हो भन्न पनि सकिन्छ, विश्वास भन्न पनि सकिन्छ । त्यो विश्वास वा नशा महिलालाई नै किन चाहिन्छ भन्ने सवाल आफ्नै ठाउँमा छ । कैयौं महिलाका लागि आज पनि तीज धार्मिक विश्वासको चाड हो, महिलाहरू पाप र पुण्यमा विश्वास गर्न किन अभिशप्त छन् ?
बौद्धिक जगत धर्मको विषयमा बोलेर आफूलाई घर, परिवार र समाजमा अर्घेलो बन्न चाहन्न । समाजमा बढ्दो धार्मिक कट्टरताका विषयमा हाम्रो चासो कम छ, तर हामी समाजको निम्छरो वर्गका महिलाहरू माथि प्रश्न थोपरिरहेका छौं, ‘किन तीजमा व्रत बसिरहेका छन् ?’ म धर्मलाई माक्र्सकै भाषामा ‘निम्न वर्गको लागि अफिम’ बुझ्छु । किन महिलाहरू आफ्ना अधिकारका लडाईंमा भन्दा धर्म–कर्ममा लागिरहेका छन् भन्ने विषय अहिलेको लागि नीतिनिर्माण गर्नेले सोच्न, अध्ययन–अनुसन्धान गर्न र बहस गर्नुपर्ने सवाल हो ।
भर्खरै एक प्राध्यापकले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल छ, ‘दश वटा रिलमा सात वटा रिल अश्लील’ भन्ने । एउटा बौद्धिक व्यक्तिले थाहा पाउनुपर्ने कुरा के हो भने सामाजिक सञ्जालमा अल्गोरिदम भन्ने चिज पनि हुन्छ । हामी जे–जस्ता सामग्री हेर्छौं हाम्रा टाइमलाइनमा त्यस्तै सामग्री बढी आउँछन्
अर्कोतर्फ धर्ममा अर्थात् पाप–पुण्यमा विश्वास नगर्ने महिलाको ठूलो हिस्साले पनि तीजको व्रत बस्ने गर्छन् । तीजको व्रत नबस्दा समाजले सोध्ने प्रश्नहरूको जवाफ दिइरहनुभन्दा एक दिन व्रत बसिदिन जाति भन्ने कैयौं महिलाहरूलाई म नजिकबाट चिन्दछु । ‘श्रीमान्को दीर्घायुको लागि एक दिन भोकै बस्न नसक्ने’ महिला पितृसत्ताले गाँजिएको समाजका लागि खास गतिली बुझिन्न, भलै उसले श्रीमान्का हर पक्षमा साथ दिएकी होस्, सहयोग गरिरहेकी होस् !
मनमा राम्रो नराम्रो जेसुकै होस्, घरपरिवार र श्रीमान्सँगको सम्बन्ध जस्तोसुकै होस्, नेपालको हिन्दु समाज सपक्क साडी लगाएकी, एक लुम पोते र सिउँदोमा धेरैथोरै सिन्दुर लगाएकी महिलालाई गतिली भनेर बुझ्छ । त्यसैले एक लुम पोते, एक धर्काे सिन्दुर वा एक दिनको व्रतका कारण सम्बन्ध बिगार्न भन्दा ‘चुपचाप व्रत बसिदिने’ महिलाहरू छन् । समाजले बनाएको असल महिलाको कसीमा अब हिन्दु ब्राह्मण, विपरित लिंगी महिला मात्रै छैनन्, बौद्ध धर्म वा प्रकृतिपूजक, जनजाति महिला, समलिंगी महिला पुरुष पनि छन् । असल नारित्व वा खराब नारित्वको भाष्य कसले निर्माण गरिरहेको छ ? किन नारित्वको परीक्षा दिनु परिरहेको छ त्यो अर्को खोज र बहसको विषय हो ।
सांस्कृतिक पक्ष : कतै संस्कृताईजेसन कतै नेपाली पहिचान
सांस्कृतिक पक्ष सधैं सन्दर्भपरक हुन्छ । सन्दर्भ अनुसार यसका अर्थ फरक हुन्छन् । तीजको सांस्कृतिक पक्षलाई हेर्ने हो भने, यसरी हेर्दा नेपाल भित्र तीज खासगरी हिन्दु धर्मका शिवमार्गी केही जाति बाहुन, क्षत्री र केही मगरहरूको महत्वपूर्ण चाड हो । तर, विदेशमा बस्ने धेरै जुनै जातिका नेपालीको लागि यो एउटा नेपालीपन, नेपाली खाना, पहिचान बोकेको चाड पनि हो ।
हिन्दु महिलाको महान् चाडबाट नेपाली चाडको रूपमा विदेशमा बस्ने धेरै नेपालीका लागि अब तीज आफ्नो पहिचानको चाडको रूपमा विकास हुँदै गएको छ । ग्रामीण समाजमा तीज अहिले पनि माइती चेलीको चाड हो । तर, त्यही गाउँबाट विकसित देशका शहरहरूमा काम गरिरहेका महिलाहरूका लागि अब तीज आफ्नो देशका मानिस चिन्ने, सम्बन्ध विस्तार गर्ने, राम्रो रोजगारी खोज्ने र आफ्नो पहिचान सुरक्षित गर्ने चाडको रूपमा विकास भएको छ । त्यसरी सामाजिक सम्बन्ध विस्तार गर्ने र तीज मनाउनेमा हिन्दु धर्म मान्ने मानिस मात्रै छैनन्, बाहुन क्षेत्री वा पहाडे महिला मात्रै छैनन् ।
तीजको कलाको पक्ष अर्थात् तीज गीत
तीज भन्ने वित्तिकै धेरैको मनमा आउने कुरा तीज गीत हुन् । सामन्ती पितृसत्ताले गाँजेको, महिलालाई शिक्षा र अधिकारविहीन लाचार र बिचरा बनाइएको चार-पाँच दशक अगाडिको समयका गीतमा विरहका स्वर बाक्लै सुनिन्थ्यो । तीन दशक अगाडि अलिअलि शिक्षाको उज्यालो पाउन थालेपछि तीज गीतमा अधिकारका आवाजले बढी स्थान पाउन थाले । त्यसबखत गीत मार्फत खोजिएका कैयौं अधिकार आज संविधानतः महिलालाई प्राप्त छन् । हिजो अधिकारका लागि गीत गाउने पुस्ताका महिला नीतिनिर्माण र बजेट विनियोजन गर्ने ठाउँमा पुगेका छन्, भलै महिलालाई कानुनमा भएका ती अधिकार लिन उत्तिकै सकस छ ।
नेपालको संविधान र कानुनहरूले महिलालाई धेरै हदसम्म पुरुष सरह नागरिक मानेको छ । त्यो पुरुष सरहको नागरिक काममा, लुगामा, खानामा, भेटघाट र साथीसंगीसँगको रमाइलोमा स्वतन्त्र व्यक्ति हो । त्यो पैतृक सम्पत्तिमा समान हक राख्ने, कार्यक्षेत्रमा समान बौद्धिक क्षमता राख्ने, सम्पत्ति कमाउने महिला हो । अनि ऊबाट हामीले अपेक्षा भने ‘रुँदैरुँदै बेंसी मेलामा हिंडेकी’ माइत जान नपाएकी, एक छाक मिठो मसिनो खान नपाएका महिलाको गीतको गरिरहेका छौं !
समाजको अर्को चिन्ता ‘तीजका गीत उत्ताउला भए’ भन्ने छ । किन तीजमा कथित उत्ताउला (उत्ताउलो र शालीनको मानक के हो भन्ने प्रश्न त छँदैछ) गीत निस्कन्छन् ? यसको छोटो उत्तर ‘मान्छेको चाहना त्यस्तै गीत सुन्ने छ’ भन्ने आउँछ । भर्खरै एक प्राध्यापकले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल छ, ‘दश वटा रिलमा सात वटा रिल अश्लील’ भन्ने । एउटा बौद्धिक व्यक्तिले थाहा पाउनुपर्ने कुरा के हो भने सामाजिक सञ्जालमा अल्गोरिदम भन्ने चिज पनि हुन्छ । हामी जे–जस्ता सामग्री हेर्छौं हाम्रा टाइमलाइनमा त्यस्तै सामग्री बढी आउँछन् । कतै हामी त्यही हेर्दै, त्यसैलाई गाली गर्दै गरिरहेका त छैनौं ? किनभने, सामाजिक सञ्जालमा, पार्टी प्यालेसमा त अरू गीत पनि बजिरहेका छन् ।
तीजका अहिले उत्ताउला भनिएका अधिकांश गीतहरू तीस वर्ष अगाडि आमाहरूले रत्यौतीमा गाउने नाच्ने गीतहरू छन् । ती रत्यौलीका गीत किन तीजका गीतमा बदलिए भन्ने कुरा साइकोलोजीका मानिसले व्याख्या राम्ररी गर्न सक्दछन् । तर, के भन्न सकिन्छ भने महिलालाई पनि रसरंग चाहिन्छ र अब महिलाका बीचमा मात्रै गाउने रत्यौलीको स्पेस धेरै हदसम्म बाँकी पनि छैन । महिला मात्रै भेट हुने ठाउँ, उनीहरूले खुलेर रसरंग गर्ने ठाउँ तीजका दर कार्यक्रम बन्दैछन् ।
उत्ताउला भनिएका गीतमा लगाइएका छोटा कपडा पनि टिप्पणीको घेरामा छन् । तर, अचम्मलाग्दो कुरा के भने आफ्ना घरका महिला सदस्य वा आफैं विदेश वा स्वदेशमा छोटा लुगा लगाएका फोटा सामाजिक संजालमा हालेका व्यक्तिलाई तीजको गीतमा नाचेका युवतीको लुगा अर्धनग्न लागिदिन्छ । गएको नीति तथा कार्यक्रममा हरेक स्थानीय तहमा हर्मोनल चक्की (जसमा स्तनको आकार बढाउने वा घटाउने पनि पर्छ) उपलब्ध गर्ने कुरा उल्लेख गरिएको छ । सँगै हामी यूट्युबमा बज्ने गीतमा नाच्ने महिलाहरूले साडीमाथि मजेत्रोको सप्को हालुन् भन्ने चाहना पनि पालेर बस्छौं ।
गाउँको र शहरको तीज
हरितालिका र ऋषिपञ्चमीका दिन दिने बिदाले बरु महिलाहरू श्रीमान्का लागि व्रत बस्ने र महिनावारीलाई पाप कटाउनुपर्ने महत्वलाई स्थापित गर्छ । यस्तो अमिल्दो बिदाको व्यवस्थाले उल्टै महिलाको आत्मसम्मानमा चोट पुर्याउने काम गर्छ भन्ने कुरा के बिदा दिने निकायका मानिसहरूलाई कहिल्यै महसुस भएको छैन ?
आज हामी काठमाडौं बसेका, अलिकति पढेलेखेका मध्यम वर्गका मानिसहरूले महँगा फोन सेटमा यूट्युबमा घन्किएका गीत र आफ्नो वरपरका पार्टी प्यालेसमा महिलाहरूले दर खाएको देखेर तीजमा जस्ता पनि गीत गाउन थालिएको र महिलाले महिनौं तीज मनाउने गरेको व्याख्या गरिरहेका छौं । यो व्याख्या कुनै गम्भीर खोजको निष्कर्ष नभई हाम्रै वरपरका मानिस र हामीले हेरिरहने अनलाई प्लेटफार्ममा आधारित छ भन्न कुनै धक मान्नुपर्दैन ।
तर, काठमाडौंमा पनि सबै महिला भदौ महिनाभरि तीज मान्दै हिंड्छन् भन्ने होइन । धेरैजसो कामकाजी महिलाहरूले तीजका दुई तीन वटा कार्यक्रम भ्याउँछन्, परिवार र कार्यस्थलसँग सम्बन्धित नजिकका आफन्त र साथीभाइसँग । त्यो दरमा महिलाले खीर खान्छन् कि पुलाउ खान्छन् वा मोमो खान्छन् ? दही, लस्सी वा मोही पिउँछन् कि वाइन पिउँछन् त्यो नितान्त व्यक्तिगत र आफ्नो समूहमा भर पर्ने कुरा हो । कति महिलाहरू यिनै तीजका कार्यक्रममा पनि जाँदैनन्, जाने अवसर वा फुर्सद पनि पाउँदैन । कैयौंले जाने ठाउँ पनि पाउँदैनन् ।
गाउँतर्फ फर्केर हेर्ने हो भने, गाउँको तीज धेरैका लागि आज पनि उस्तै छ । आज पनि कैयौं महिला आर्थिक रूपमा श्रीमान्मा निर्भर छन् । थोरै भए पनि माइतीको भरथेगको आशमा छन् । दैनन्दिनको कामको बोझबाट थोरै भए पनि मुक्ति, बाल्यकालका साथीसंगीसँगको भेटघाट, नयाँ लुगा र चिटिक्क परेर गरिने नाचगानको रमाइलोले दिने नयाँपन तीजसँग जोडिएर आउँछ ।
व्यापारिक पूँजीवादको प्रभावदेखि महिलाको सशक्तीकरणसम्म
‘तीज भड्किलो भयो’ भनेर मानिसहरूले भन्ने गरेको सुनिन्छ । यो व्याख्याका आधारहरू प्रायः महिलाका नयाँ साडी, पार्टी प्यालेसका सामूहिक नृत्य र कहींकतै छुस्स आउने वाइन वा बियरका फोटोहरू हुन् । यसरी व्याख्या गर्नेलाई थाहा हुनुपर्ने कुरा अहिले काठमाडौंले (पूरै नेपालले होइन) बाँचिरहेको युग व्यापारिक पूँजीवादको हो । यहाँ के बिक्छ बजारले त्यही बिक्री गर्छ । पशुपतिनाथको मन्दिरमा बलि चढ्दैन तर बलिको प्रतिरुप मानिने नरिवल प्रसादको रूपमा किनबेच चल्छ । आजभोलि तीजमा सामूहिक रुपमा किन्दा बाह्र सयको साडी आठ सयमा आउँछ । अनि हामी साडी किन्छौं, खासै नलगाउनेले पनि एक सेट चुरा पोते किन्छौं । किन किन्ने ? भन्दा राम्रो लागेर । त्यो राम्रो लाग्नु भनेको चार जनाको परिवार भएको घरमा दर्जन कप सेट किन्नु जस्तै हो । वा बजारमा आएको नयाँ मोडलको मोबाइल किन्नु जस्तै हो । अलि धनीका लागि चार–पाँच शहरमा घरघडेरी जोड्नु वा हरेक दशैंमा गाडी फेर्नु जस्तै हो ।
जुन कुरा नभए पनि चल्छ त्यो हामी किन किनिरहेका छौं ? राम्रो लागेर । राम्रो किन लागेको भन्दा बजारमा फेसन आएर । माक्र्सको भाषामा भन्दा फेटिसिजम भन्न सकिन्छ, वस्तुमा आधारित विलासिता । यो विलासिताको दलदलबाट उम्किने हो कि होइन ? आफू विलासिताको दलदलमा भासिएर अर्को माथि औंला ठड्याउनु नैतिकता हो कि होइन ? विलासिताको दलदलमा नभासिएका मानिसलाई हेर्ने तपार्इंको नजरिया के हो ? हर प्रबुद्ध व्यक्ति आफैंले आफूलाई सोध्नुपर्ने यो आजको प्रश्न हो ।
आर्थिक पक्षमा जोडिने अर्को सवाल हो ‘तीजको दर पार्टी प्यालेसमा भयो’ भन्ने । साथमा भुल्न नहुने कुरा के छ भने शहरका साँघुरा घरमा दश जना मानिसलाई भेला पार्नु अप्ठेरो हुने अवस्था छ । शहरका घर वा कोठा सबैलाई चिनाउनु दिनभरि चाबी लगाएर हिंड्नुपर्ने परिवारको सुरक्षा र गोपनीयताको सवाल पनि जोडिन्छ । पहिले बिहेका कार्यक्रम पनि घरमै हुन्थे । पार्टी प्यालेसमा हुने तीज विशेष गरी पेशासँग जोडिएका संघसंस्थाहरूले आयोजना गरेका हुन्छन् वा साथीहरूबीच रकम उठाएर मानिरहेका छन् । संघ–संस्थाका कार्यक्रममा माने पनि आफैंले साथीबहिनी बोलाएर माने पनि वा साथीहरूको बीचमा उठाएर तीज माने पनि महिला अब अलिअलि आर्थिक रूपमा सबल बन्दै गएका छन् भन्ने हो । अर्थसँग महिलाको सम्बन्ध जोडिंदै गएको छ भन्ने हो ।
तीजको बिदा र पितृसत्ताको निरन्तरता
तीजमा खड्किरहने एउटा पक्ष हो, दरखाने दिनमा नभएको सरकारी बिदा । तीजलाई हिन्दु महिलाको महान् चाड पनि भन्ने गरिन्छ र यो चाडको मूल मर्म केही दिन माइत जानु, माइती र बाल्यकालका साथीहरूसँग रमाइलो गर्नुसँग जोडिन्छ । दर खाने दिनमा आमा वा भाउजूको हातबाट बनेको मीठोमसिनु खानुसँग जोडिन्छ । तर, सरकारले महिलाहरूका लागि तीजको दर खाने दिनमा बिदाको व्यवस्था गरेको छैन । बरु, भोलिपल्टको व्रत र ऋषिपञ्चमीको दिनमा बिदा दिन्छ । तीजमा गरिएको यस्तो बिदाको व्यवस्थाले घर बाहिर काम गर्ने महिलाहरूले माइतीसँग बसेर दर खाएर तीज मनाउन पाउँदैनन् । बरु, दर खाने दिन पनि कार्यालयको काम खुरुखुरु गर्नु परिरहेको हुन्छ ।
हरितालिका र ऋषिपञ्चमीका दिन दिने बिदाले बरु महिलाहरू श्रीमान्का लागि व्रत बस्ने र महिनावारीलाई पाप कटाउनुपर्ने महत्वलाई स्थापित गर्छ । यस्तो अमिल्दो बिदाको व्यवस्थाले उल्टै महिलाको आत्मसम्मानमा चोट पुर्याउने काम गर्छ भन्ने कुरा के बिदा दिने निकायका मानिसहरूलाई कहिल्यै महसुस भएको छैन ?
माथि उल्लेख गरिएका तीजका केही मुख्य पक्षहरू हुन् । यी विविध पक्षहरूमा केलाई हेर्ने, कहाँ बसेर हेर्ने, आफ्नो विश्लेषणको दायरा कत्रो बनाउने भन्ने फेरि पनि व्यक्तिमा भर पर्ने कुरा हो । हामी आफ्ना आफ्ना बुझाइ र दायराका आधारमा विश्लेषण गरिरहेका छौं ।