गत १५ नोभेम्बरदेखि पुरै नौ दिन भारतको निजी भ्रमणमा रहियो । विभिन्न तीर्थस्थल घुम्ने मूल उद्देश्य रहेको सो भ्रमणका क्रममा दिल्ली, उत्तर प्रदेश र राजस्थान राज्यका महत्वपूर्ण धार्मिकस्थल एवं ऐतिहासिक थलोहरूको समेत अवलोकन भ्रमण गरियो । वाराणसीस्थित प्रसिद्ध कालभैरव मन्दिर एवं सुप्रसिद्ध विश्वनाथ र राजस्थानको पुष्कर तीर्थमा अवस्थित विश्वकै एकमात्र ब्रम्हाको मन्दिर दर्शन गरेर त्यहाँको कुण्डमा पिता पूर्खालाई तर्पण दिने कामसमेत भयो । श्रीकृष्णको जन्मभूमि एवं क्रीडास्थल मथुरा वृन्दावनका प्रायः सबै मन्दिर तथा राधाको गाउँ बरसानास्थित राधारानी मन्दिरको पनि दर्शन भयो । अयोध्या पुगेर हनुमानगढीको दर्शनपश्चात् नवनिर्मित विशाल राममन्दिर पनि पुगियो । यसैबीच ऐतिहासिक महत्वको फतेहपुर सिक्री, ताजमहल, अजमेर शरिफ र अकवरकी हिन्दू रानी जोधाबाईको माइती आमेरको किल्ला पनि भ्रमण गरियो । यी सब स्थलहरू व्यक्तिगत आस्था र रुचिसँग जोडिएका ठाउँ थिए । आमपाठकका लागि यो त्यति चासोको विषय पटक्कै नहोला ।
काठमाडौंबाट वनारस र वनारसबाट दिल्ली हवाई यात्रा गरिएको थियो भने बाँकी स्थलमार्गबाट निजी कारमा यात्रा गरिएको हो । बिहान वनारस पुगेर दिनभर घुमघामपश्चात् दिल्ली पुगेपछि दिल्लीबाट जयपुर, पुष्कर, आगरा, बरसाना, मथुरा वृन्दावन, लखनउ हुँदै अयोध्या पुगेर त्यहाँबाट नेपालको भैरहवा पुगिएको हो । यो वृत्तान्त पनि फगत कसरी थरीथरीका मानिससँग अन्तक्र्रिया गर्दै यात्रा गरिएको थियो भन्ने बुझाउन मात्र बताइएको हो । सयौं खास एवं आमव्यक्तिसँग प्रत्यक्ष कुराकानी भयो भने हजारौंसँग अप्रत्यक्ष सम्पर्क भयो । एक जिज्ञासु र त्यसमा पनि राजनीतिसँग चासो राख्ने व्यक्तिका नाताले स्वाभाविक रूपमा केही बुझ्ने प्रयास भयो । मेरा तिनै बुझाइ सारमा पस्किने प्रयास गर्दै छु ।
भारतमा आमनिर्वाचन भएको ६ महिना पनि पूरा भएको छैन । त्यस निर्वाचनको परिणाम त जगजाहेर नै छ । नरेन्द्र मोदी पुनः प्रधानमन्त्री त बने, तर उनको चुनावी प्रदर्शन तुलनात्मक रूपमा कमजोर रहेको थियो । ५ सय ४३ सदस्यीय लोकसभामा उनको दलले २ सय ४० स्थान मात्र जितेको थियो । यो संख्या बहुमतका लागि आवश्यक संख्या २ सय ७२ भन्दा ३२ ले कम हो । भारतीय जनता पार्टीले यसभन्दा अघिका दुई निर्वाचनमा एक्लैले आवश्यक बहुमतभन्दा धेरै संख्या जितेको थियो । यसपटक सरकार बनाउन भाजपालाई सहयोगी दलहरूको समर्थन आवश्यक भयो । उत्तरप्रदेश र महाराष्ट्रजस्ता ठूला राज्यमा भारतीय जनता पार्टीको परिणाम निराशाजनक थियो । उत्तर प्रदेशको ८० सिटमध्ये भाजपाले जम्मा ३३ सिट जित्न सफल भएको थियो भने महाराष्ट्रमा भाजपा गठबन्धनले ४८ मध्ये १७ सिट मात्र जितेको थियो ।
निर्वाचन परिणामले विपक्षी कांग्रेस एवं समाजवादी पार्टीहरू अत्यन्तै उत्साहित भएका थिए । मोदीको जादुको अब कुनै असर नरहेको विश्लेषण गरिँदै थियो । हुन पनि त्यस निर्वाचनमा मोदी गठबन्धनका उम्मेदवारलाई टक्कर दिने उम्मेदवारका पक्षमा मुसलमान मतदाता एकजुट भएको स्पष्टै देखिन्थ्यो भने परम्परागत रूपमा भाजपालाई मत दिने कतिपय हिन्दू मतदाता पनि कांग्रेस र समाजवादीलगायत विपक्षको जातिगत समीकरण साध्ने रणनीतिले गर्दा भाजपाबाट उछिट्टिएको देखिन्थ्यो । मोदीको सबैभन्दा ठूलो उपलब्धि मानिएको राममन्दिर अवस्थित अयोध्यामा भाजपाका उम्मेदवार हारेका थिए । वनारस ओर्लिनेबित्तिकै जुन गाडीमा दिनभर घुमियो, त्यसका चालकसँग गफगाफ सुरु भयो ।
छिमेकी बंगलादेशको अवस्था त कसैबाट लुकेको छैन । शेख हसिनाको सरकार गिरेपश्चात् लगभग ८ प्रतिशतको संख्यामा रहेका हिन्दूमाथि दर्दनाक आक्रमण हुँदै गरेको छ । बंगलादेशका इस्कोन अध्यक्ष चिन्मय दास प्रभुको हास्यास्पद आरोपमा गिरफ्तारीले स्थिति झनै जटिल हुँदै गएको छ । परिस्थिति बल्झिँदै जाने हो भने हिन्दू अल्पसंख्यकको रक्षाका नाममा विदेशी हस्तक्षेपको सम्भावनालाई नकार्न सकिन्न
कुराकानीका क्रममा उनी मसँग भन्दै थिए, ‘मोदी आफैंले वनारसबाट हारेका हुन्, डिस्ट्रिक्ट मजिस्ट्रेटले गणनाका बेला २ घण्टा बत्ती निभाएर जिताइदिएका हुन् ।’ उनको यस भनाइमा सत्यता पटक्कै थिएन होला तर उनी अत्यन्तै उत्साहित थिए । पछि बुझ्दै जाँदा थाहा भयो, उनी मुसलमान रहेछन् र कांग्रेसलाई भोट हालेका रहेछन् । यात्राका क्रममा उनी र उनीजस्ता कैयन् भाजपालाई भोट नहाल्ने विशेषतः गैरहिन्दू मतदातामा एकप्रकारको आत्मविश्वास बढेको स्पष्टै अनुभव गर्न सकिन्थ्यो ।
परम्परागत कांग्रेसी मतदातामा चाहिँ जातीय जनगणनाको राहुल गान्धीको नाराले मुसलमान मात्र नभई पिछडिएको तल्लो जातिका हिन्दूहरू अब आफूतर्फ आकर्षित हुने विश्वास देखिन्थ्यो । यसैबीच, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘बटेंगे तो कटेंगे’ भन्ने नारा उचाले र प्रधानमन्त्री मोदीले यसैलाई ‘एक है तो सेफ है’ भनेर रूपान्तरण गरे । महाराष्ट्र र झारखण्ड राज्यका विधानसभा र उत्तरप्रदेशलगायत धेरै ठाउँमा उपनिर्वाचन हुँदै थियो । योगी र मोदीको यस नाराले भाजपा विरोधीहरूमा आक्रोश देखिन्थ्यो । उनीहरूलाई कतै यस नाराले हिन्दूहरूलाई भाजपाका पक्षमा जातजाति भन्दा उठेर एकत्रित गर्ने त होइन भन्ने आशंका देखिन्थ्यो ।
भाजपा पक्षधरहरूमा चाहिँ यस नाराले आशाको किरण देखिएको थियो । सम्पूर्ण हिन्दूहरू आफ्नो पक्षमा फर्किने आशा जागेको स्पष्टै देखिन्थ्यो । धेरै आमहिन्दू मतदातामा गत आमनिर्वाचनमा मोदीलाई भोट नहालेर गल्ती गरेको पछुतोको झल्को देखिन्थ्यो । परम्परागत रूपमा समाजवादी रहेका एक जना विश्वविद्यालयका प्राध्यापक भन्दै थिए, ‘गएको दुई महिनामा सनातनी हिन्दूहरूमा अभूतपूर्व एकता देखिएको छ, तिनीहरू जातजातिको सीमाभन्दा माथि उठेर सनातनको वकालत गर्दै छन्, आज अयोध्यामा निर्वाचन हुने हो भने भाजपाका उम्मेदवारले ७० प्रतिशत मत पाउँछन्, महाराष्ट्र राज्य विधानसभा र उत्तरप्रदेशलगायत अन्य उपनिर्वाचनमा आश्चर्यजनक परिणाम आउनसक्छ, हरियाणाको निर्वाचनले झल्को दिइसकेको छ ।’ उनी झारखण्डमा चाहिँ विद्यमान मुख्यमन्त्रीप्रति सहानुभूतिले काम गर्ने बताउँदै थिए ।
उल्लिखित निर्वाचनहरूको मतपरिणाम म नेपाल फर्किने दिनमा आयो । ६ महिनाअघि निराशाजनक परिणाम ल्याएको भाजपा गठबन्धनले महाराष्ट्रमा लगभग ८० प्रतिशत सिट जित्यो भने उत्तरप्रदेशमा आश्चर्यजनक ढंगले ९ मध्ये ७ सिट जित्यो । अन्य राज्यको उपनिर्वाचनमा पनि भाजपाको प्रदर्शन राम्रो रह्यो । झारखण्डमा चाहिँ वर्तमान मुख्यमन्त्रीको झारखण्ड मुक्तिमोर्चा गठबन्धनले बहुमत प्राप्त ग¥यो । त्यहाँ पनि भाजपाको कायम सिट घटेको भन्न मिल्दैन । संक्षेपमा भन्ने हो भने ‘बटेंगे तो कटेंगे’ नाराले चामत्कारिक काम गरेको छ । सनातनीहरू अभूतपूर्व रूपमा भाजपाको पक्षमा एकत्रित भएको देखिन्छ । अहिले कतै विवादमा नभएको अजमेर सरिफमा समेत महादेवको मन्दिर रहेको विवाद उठ्न थालेको छ । भारतीय समाज ८०ः२० अनुपात अर्थात् सनातनी र गैर सनातनीबीच विपरीत दिशामा ध्रुवीकृत भएको अनुभव हुँदै छ ।
छिमेकी बंगलादेशको अवस्था त कसैबाट लुकेको छैन । शेख हसिनाको सरकार गिरेपश्चात् लगभग ८ प्रतिशतको संख्यामा रहेका हिन्दूमाथि दर्दनाक आक्रमण हुँदै गरेको छ । बंगलादेशका इस्कोन अध्यक्ष चिन्मय दास प्रभुको हास्यास्पद आरोपमा गिरफ्तारीले स्थिति झनै जटिल हुँदै गएको छ । परिस्थिति बल्झिँदै जाने हो भने हिन्दू अल्पसंख्यकको रक्षाका नाममा विदेशी हस्तक्षेपको सम्भावनालाई नकार्न सकिन्न । बंगलादेशभित्रैबाट अर्को हिन्दू राज्य जन्मिनसक्ने समेत बिश्लेषण गरिँदै छ ।
पाकिस्तानमा प्रत्यक्ष रूपमा धर्मका आधारमा ध्रुवीकरण देखिँदैन । तर, सेना समर्थक र सेना विरोधीका रूपमा अनि बलोच आन्दोलनजस्ता पृथक्तावादी आन्दोलन समूहका रूपमा अत्यन्तै उग्र बहुपक्षीय ध्रुवीकरण देखिँदै छ । पाकिस्तानको सिंगो मुलुकका रूपमा अस्तित्व समाप्त हुने समेत आँकलन गरिँदै छ । श्रीलंका, माल्दिभ्स र अफगानिस्तानको अवस्थालाई पनि राम्रो भन्न सकिने अवस्था छैन ।
दक्षिण एसियाका तमाम मुलुकहरूमा देखिएको तीक्ष्ण ध्रुवीकरणले निम्त्याउने त द्वन्द्व नै हो । मुलुकभित्रको आन्तरिक द्वन्द्व चर्किंदै जाँदा निम्तिने भनेको अस्थिरता, विभाजन र विग्रह नै हो । यस्ता विग्रहले सीमा जोडिएका र नजिकका छिमेकीलाई पनि निश्चितै प्रभावित तुल्याउँछ । तीक्ष्ण ध्रुवीकरण र द्वन्द्वको अवस्थाबाट गुज्रिरहेको दक्षिण एसियाका अन्य मुलुकको प्रभाव नेपालमा पनि पर्ला त ? यस प्रश्नको जवाफ सटीक ढंगले दिन कसैले पनि सक्दैन । तर, नेपाल राष्ट्रका ’boutमा भन्दा आफ्नै व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठ्न नसक्ने मानसिकता बोकेका समूहहरूको घुइँचो भएको मुलुकमा छिमेकबाट आएको सानो झिल्कोले पनि डढेलो लाग्नसक्छ । त्यो डढेलो धार्मिक भूमिमा उभिनसक्छ वा कुनै एउटा विदेशीको भक्ति र विरोधमा उठ्नसक्छ । सामरिक भूराजनीतिका हिसाबले दिन परदिन महत्वपूर्ण हुँदै गएको यस मुलुकले ध्रुवीकरणको नकारात्मकताबाट कसरी जोगिने हो सोच्न ढिलो हुन लागिसक्यो ।
(Visited 9 times, 1 visits today)