तिलिचो सौन्दर्यको रहस्य


मर्स्याङ्दी नदीको पुछारदेखि शिरसम्मको एउटा रोमाञ्चक यात्रा जीवनमा कहिलेकाहीं मात्र पाइने सुखद अनुभूति हो। चितवनको मुग्लिनमा रहेको त्रिशूली नदीको पुलमाथि रोकिएर उत्तरतिर हेर्दा पश्चिमोत्तरबाट बग्दै आएको कमेरे पानी बोकील्याउने मर्स्याङ्दी नदी कहाँदेखि बगेर आउँछ होला भन्ने जिज्ञासाको अन्धकार तिलिचो पुगेपछि झलमल्ल हुने रहेछ।

 तिलिचो हिमालको अथाह हिमराशी पग्लेर बनेको तालको पानीको निकास कतै देखिँदैन तर पनि यो सदियौंदेखि भरिएको छैन। यहाँको पानी बगेर जान्छ कहाँ त ? ४९१९ मिटर उचाइको चिसो हावामा उभिएर जति सोचे पनि दिमागमा उपायको कुनै तातोपन पैदा हुँदैन। बरु जाँदाजाँदै बाटोमा नै ख्याल गर्दा देखिन्छ, जमिनमुनिदेखि पानी रसाएर नदी बगेको। तिलिचोको पानी रसाएर मस्र्याङ्दी नदी उम्रिने रहेछ।

अन्नपूर्ण सर्किटको लामो टे«किङ रुटभित्र पर्ने हिमालकी रानी सौन्दर्यकी खानी मनाङ उपत्यका र तिलिचो तालको यात्रामा अनुपम अनुभूति प्राप्त हुन्छ। लमजुङको बेँसीसहरदेखि जिप चढेर हिँडेपछि यो मन मनाङको रहस्यमय सौन्दर्यपानका लागि आतुर हुन थाल्छ। बुङ झरना र अक्टोपस झरनाका शीतल सौन्दर्यपानमा लट्ठ पर्दै जति उकालिँदै गयो, उति उद्वेलित हुँदै जान्छ।

पहाडको छाती चिरेर बगेको मस्र्यादी नदीको काखैकाख भिर र पहरामा कुँदिएका बक्ररेखाजस्ता बाटाहरूमा हुकिएको जिपभित्र डरको झोलुङ्गो पनि झुत्ती खेलिरहन्छ। लमजुङ र मनाङको सीमामा रहेको म्यार्दी खोला कटेपछि मस्र्याङ्दीको किनारमा अवस्थित विदेशी पर्यटकहरूको विश्राम थलो तालगाउँको सुन्दरताले मन लोभिएर रसाउँछ। मर्स्याङ्दी नदीको साँघुरो सडक नाचे, धारापानी, ओडारगाउँ, बगरछाप, दानाक्यु, तानचोक, कोटोका सुन्दर बस्ती एवं मनास्लु हिमशृङ्खला दृश्यावलोकन गर्दै बाटो जति उकालिन्छ मन त्यति नै उद्वेलित हुँदै जान्छ।

हामी चढेको जिपमा एक जना पर्यटक पथप्रदर्शक पनि थिए तर उनी हाम्रा लागि नभएर एकजना बेलायती पर्यटकसँगै बेँसीसहरबाट चढेका थिए। उनले नेपालीहरूको बढ्दो पर्यटनप्रति टिप्पणी गर्दै भने, ‘नेपालीहरू घुम्न त खोज्छन् तर तरिका मिलाउँदैनन्। हतार गर्छन्। एकैचोटि माथि जान्छन् अनि लेक लागेर बिरामी पर्छन्।’

हामी पनि करिब ३७०० मिटरको उचाइमा अवस्थित खाङ्सारसम्म जान लागेका थियौं, त्यहाँसम्म गाडी जाने भएकाले। ‘गाडी पुग्ने ठाउँसम्मचाहिँ किन हिँड्नु नि ?’ अम्बिकाजीले नजानेजस्तो गरी सोध्नुभयो। उनले तत्कालै जवाफ दिए, ‘तलबाट बिस्तारै हिँड्दै जाँदा पो बडी एडजस्ट हुँदै जान्छ र पो लेक लाग्दैन। हिँड्ने बानी पनि पर्छ। माथिको तालमा भन्दा मनाङ भ्यालीमा विदेशीहरू रमाउँछन्। कति राम्रो छ यता। नेपालीहरू त यसो गाडीको झ्यालबाट चियाएर चित्त बुझाउँछन्।’

जिपका चालक भाइले पनि थपे, ‘वास्तवमा माथिल्लो मनाङ साँच्चिकै राम्रो छ। तालदेखि चामेसम्मलाई तल्लो मनाङ अनि चामेदेखि माथि उपल्लो मनाङ भनिन्छ। उत्तापट्टि लुकेको भागमा नारफु छ, त्यता जानचाहिँ कोतोबाट दायाँतिर मस्र्याङ्दी तरेर नारखोलाको छेवैछेउ जानुपर्छ।’

समझदार जिपचालकले दक्षिण एसियाकै ठुलो मानिने भ्राताङस्थित एग्रो मनाङ प्रालिको विशाल स्याउ फार्म र प्रशोधन कारखान बाटोबाटै देखाइदिए। त्यसपछि अजङको पहाडमा खोपेर बनाइएको चट्टानी बाटो पार गरेपछि स्वर्गद्वारी पहाड देखियो। अघि बढ्दै जाँदा ढुकुर पोखरी, ग्रिन लेक, छेन्चु लेक, सल्लाका सुन्दर वन, पहाडका भित्ताभरिका राता, पहेँला, हरिया झाडी अनि बायाँतिर माथि हिउँको सेतो केश फुलाएका हिमाली दृश्यको रोमाञ्चकता कुनै शब्दमा वर्णन हुन असमर्थ छन्। त्यसपछि क्रमशः पिसाङ गाउँ, पिसाङ ताल, पिसाङ पिक, चुली इस्टको लोभ्याउँदो दृश्य पोस्टकार्डजस्तो बनेर उभिन्छन्।

‘कम्तीमा पनि यो पिसाङदेखि ट्रकिङ सुरु गर्नु राम्रो हुन्छ।’ चालकले सुझाउँदै भने। तर आजभोलि त्यसमाथि खाङ्सारसम्म गाडी जाने भएकाले अधिकांश नेपाली त्यहाँसम्म गाडीमा नै जाने गर्छन् तर यसरी गरेको यात्राले मनाङ उपत्यकाको सौन्दर्य पान गर्ने सुअवसर पाउन सक्दैन। ‘यहाँबाट तल्लो पिसाङ, माथिल्लो पिसाङ, घ्यारु, ङावल हुँदै मनाङको तल्लो गाउँ भ्राका निस्कन सकिन्छ। उता नारदेखि काङलापास गरेर पनि यहीँ ङावलमा आइपुगिन्छ।’

 जिप रोकेर झर्न लागेको अघिको गाइडले यति जानकारी दिए। हामीचाहिँ खाङसारसम्मकै टिकट काटिसकेकाले चुपचाप जिपमै बसिरह्यौ। त्यता जानअघि मैले मनाङबारे सामान्य जानकारी लिएको थिएँ, यहाँ खासगरी भोटे, गुरुङ, घले, लामा, दलित आदि जातिको बसोबास छ। पश्चिममा दामोदर हिमशृङ्खला, पूर्वमा मनास्लु हिमशृङ्खला, दक्षिणमा अन्नपूर्ण हिमशृङ्खला, उत्तरमा तिब्बत, पेरी र चिन हिमालले घेरिएको मनाङको लगभग बिच भागबाट मस्र्याङ्दी बगेको छ। यसै नदीको किनार र माथिका उपत्यकाहरूमा मनाङका मुख्य बस्ती रहेका छन्। यो हिमाली संस्कृति र प्रकृतिको अनुपम सङ्गम हो भन्दा अत्युक्ति हुँदैन।

तिलिचो सौन्दर्यको रहस्य

खाङसारबाट भोलिपल्ट खाजा खाएर नौ बजेतिर तिलिचो बेसक्याम्पका लागि प्रस्थान गरियो। करिब चार हजार मिटरको उचाइमा हिँड्नुपर्ने भएकाले डर, त्राससँगै उच्च हिमाल भूगोलसँगको रोमाञ्चकारी साक्षात्कारका लागि अर्को मन आतुर पनि थियो। एक घण्टा उकालिएपछि गुम्बा पुगियो। भारत सरकारको आर्थिक सहयोगमा दुई हजार वर्ष पुरानो गुम्बा भत्काएर नयाँ बनाइएको रहेछ। हामीसँग गएका एक जना स्थानीय गुनासो गर्दै थिए, ‘हामीले पुरानो गुम्बा नभत्काउन धेरै जोड गर्यौं तर केही लागेन, यत्रो खर्च गरेर नयाँ बनाए। विदेशीहरू त्यही पुरानो गुम्बा खोज्छन्, नयाँतिर उनीहरूको रुचि नै छैन।’

वास्तवमा आधुनिकताका नाममा हाम्रा पुराना सम्पदा नष्ट गर्दै जाने हो भने हाम्रो अस्तित्व मेटिन सक्छ। तिनको संरक्षण र जगेर्ना नै अहिलेको आवश्यकता रहेको कुरा त्यहाँबाट पनि पुष्टि भयो।

पाँच घण्टाजतिमा सजिलै बेसक्याम्प पुग्न सकिने भएकाले हामीलाई कुनै हतार थिएन। श्रीखर्कका केही होटलहरू हेर्दै केहीबेर टहलियौं। मनाङबाट हिँडेर आउने र तिलिचोबाट फर्किएर थोराङलापास जाने पर्यटकहरू यहाँ बस्ने रहेछन्। खाङसारचाहिँ जिप चढेर आउने नेपालीहरूको विश्रामस्थल रहेछ। अघि बढेर झोलुङ्गे पुल तरेको एक घण्टापछि ढुङ्गागिट्टी खसिरहने डर लाग्दो तर रोमाञ्चकारी भिरको यात्रा सुरु भयो। ‘मलाई त क्रसर मेसिनमा पिसेर बनाइएको गिट्टीबालुवाको विशाल पहाडजस्तो लाग्यो।’

मैले अम्बिकाजीलाई भनेँ। टुप्पादेखि नै गिट्टीबालुवा निरन्तर बगिरहने अजङको पहाडको पेटैपेट बनाइएको गोरेटो बाटोको यात्रा साँच्चिकै रोमाञ्चक हुने रहेछ। कुनै पनि समयमा माथिबाट ढुङ्गा खस्ने भय अनि तल झरियो भने सिधै मस्र्याङ्दी नदीमा खसिने त्रासबिच थप डेढ घण्टा हिँडेपछि रङ्गीन जस्ताहरूले बनाइएका होटलहरूले भरिएको बेसक्याम्प देखियो।  

खाङसार र तिलिचो हिमालको काखमा अवस्थित बेसक्याम्पको चिसोमा बिहान तीनबजेदेखि नै उकालिने यात्रीहरू तात्न थाल्ने रहेछन्। ‘यहाँबाट करिब पाँच घण्टामा ताल पुग्न सकिन्छ,’ होटलवाला टासी गुरुङले भन्दै गए, ‘दिउँसो धेरै हावा लाग्छ, त्यसैले छिटै पुगेर फर्किनुपर्छ।’

 हामी भने पाँचबजे मात्र उकालियौं। टर्चलाइटको उज्यालोमा उकालिनेहरूको ताँतीले उकालो बाटाभरि जुनकिरीको लहर बनाएको थियो। तुसारोले सेलाएका धुलाम्मे गोरटोमा क्रमशः केहीबेर उकालिएपछि पूर्वतिर हिमालका टुप्पा उषाकालीन उज्यालोमा हाँस्न थाले। हेर्दाहेर्दै हिमालका सेता टुप्पा घामका राता किरणमा रङ्गिन थाले। ‘बाईस घुम्तीको उकालो काट्न सकियो भने सजिलै पुग्न सकिन्छ,’ हामीसँगै हिँड्ने एक जोडी कुरा गर्दै थिए।

४५ सय मिटरभन्दा माथिको उचाइमा कोरिएको बक्ररेखाजस्तो ठाडो बाईस घुम्ती भएको बाटो तिलिचो यात्राको चुनौती बनेर उभिएको थियो। स्वास्थ्य स्थितिले साथ नदिएका र धैर्य गुमाएका असहाय यात्रीका लागि घोडा चढ्ने सुविधा पनि रहेछ। हामी बिस्तारै झन्डै एक घण्टा लगाएर त्यो विख्यात उकालो पार गर्न सफल भयौं। ‘अब धेरै गाह्रो छैन, केही तेर्सो र अलिअलि उकालो बाटो थप एक घण्टाजति हिँडेपछि सजिलै तालमा पुग्न सकिन्छ।’

तालको दर्शन गरेर फर्किएका एक जना भाइले हौसला बढाउँदै भने। करिब पाँच घण्टा शरीरका सारा शक्तिसामथ्र्यको प्रयोग गरेर हामी तालको किनारामा उभिन सफल भयौं। ‘आहा ! निलो आकाशको सिङ्गो घुम्टो ओडेको रैछ,’ अम्बिकाजी उत्साहित हुनुभयो। साँच्चिकै आकाशको निलो रङ जम्मै तालमा पोखिएको थियो। ताल र आकाशको रङमा कुनै भेद थिएन। दक्षिणतिर तलदेखि माथिसम्म पूरै हिउँले ढाकेको तिलिचो हिमाल हाम्रो असह्य अवस्थाबिच उम्रिरहेको उत्साह र रोमाञ्चकता हेरेर मुस्कुराइरहेको थियो।

चिसो हावा वेग उन्मत्त हुन थालिसकेको थियो तर पनि सारीको पारि उडाएर फोटो खिच्ने युवतीहरूलाई चिसोले छुन सकेको थिएन। कोही आआफ्ना जातीय पोसाकमा सजिएर तस्बिर लिन र भिडियो बनाउन व्यस्त थिए। युवायुवती मात्र होइन, असी वर्ष पार गरिसकेका दुई जना वृद्ध जर्मन पर्यटक पनि हिँडेरै त्यहाँसम्म पुगेर तस्बिर खिचाउँदै रहेछन्।

तिलिचो विश्वको सबैभन्दा उचाइमा अवस्थित भनेर मानिएको एउटा सुन्दर ताल हो। यो अन्नपूर्ण क्षेत्रभित्र समुद्र सतहदेखि ४९१९ मिटरको उचाइमा छ। यसको लम्बाइ चार किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ सरदर ८५ मिटर रहेको छ। यसवरिपरि चिलिचो, निलगिरि, खाङसार तथा मुक्तिनाथ हिमाल रहेका छन्। यहाँ परापूर्वकालमा भगवान् शिवले तपस्या गरेको र कागभुशुण्डि ऋषिले ज्ञान पाएको किंवदन्ती रहेको छ।

किनारामा निर्मित शिवजी र बुद्ध भगवान्का मूर्तिले यो स्थल हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा स्थल रहेको पुष्टि गर्छ। स्थानीयहरू यस तालमा पूजा गरे दुःखकष्ट, रोगव्याधि नाश हुने र सुखशान्ति छाउने कुरामा विश्वास गर्छन्। यहाँ घुम्नका लागि असोजदेखि मंसिर एवं चैतदेखि जेठसम्म उत्तम समय मानिन्छ। न्याना कपडा, बाटाका लागि खाजा, टर्चलाइट, तातो पानी, सनग्लासजस्ता अत्यावश्यक कुराको जोहो गर्न भने भुल्नु हुँदैन।

प्रकाशित: ८ मंसिर २०८१ ०८:३२ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School