तस्करले धेरै, सरकारले थोरै चिनेको बुद्धचित्त

तस्करले धेरै, सरकारले थोरै चिनेको बुद्धचित्त


 रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित रूख धनी शेरबहादुर तामाङको बारीमा रहेका बैना लिइएका रूख काटिएपछि बुद्धचित्त एक पटक फेरि चर्चामा छ। कुनै समय ‘सुन भन्दा मूल्यवान् फल दिने बुद्धचित्त’, एउटै रूखबाट १२ लाख कमाइ, एउटै रूखले दियो ३६ लाख आम्दानी आदित्यादि शीर्षकमा समाचार बन्ने बयर जातिको रूख हो बुद्धचित्त या बुद्धमाला।

धेरैको मनमा जिज्ञासा हुन सक्छ-अहिले कस्तो छ त व्यापार त्यस्तो बिरुवाको, खेती कहाँ कहाँ भइरहेको छ, आम्दानी कस्तो छ ? त्यही बिरुवाको बारेमा हालसम्म प्राप्त जानकारी दिने प्रयास हो यो आलेख।

वास्तवमा बुद्धचित्त वा बुद्धमालाको वासस्थानमै गएर त्यसको गहन अध्ययन गर्ने तथा उक्त समयमा संसारका लागि नयाँ प्रजाति व्याख्या गरी भगवान् बुद्धको नाममा समर्पित गरेर जिजिपस बुद्धेनसिस नामकरण गर्ने मध्येको मुख्य मान्छे यो पंक्तिकार पनि हो। त्यसैले यसको बारेमा लुकेका थोरै वैज्ञानिक तथ्यहरूलाई कृषक तथा जनतासामु पुर्‍याउनु आफ्नो दायित्व सम्झी यस प्रकाशन मार्फत अद्यावधिक गरिएको हो।

पौराणिक किंवदन्ती अनुसार भगवान् बुद्धले तीन ठाउँ छाडेका बिरुवामध्ये लुम्बिनी र नमोबुद्धमा त्यो बिरुवा मरेर गएको तर काभ्रेको तिमाल क्षेत्रमा भने यो बिरुवा बाँचेको र सोही बिरुवा बढेर त्यसबाट अरू बिरुवाहरू फैलिएको हो भन्ने जनमानस तथा स्थलगत अध्ययनबाट पत्ता लागेको थियो।

डा. मित्र पाठक

सन् २०१५ मा यो पंक्तिकार पीएचडी अध्ययनका लागि चीन पुग्दा चाइनिज एकेडेमी अफ साइन्स अन्तर्गतको छेन्दु इन्स्टिट्यूट अफ बायोलोजीको हर्बेरियममा बुद्धचित्त जस्तै नमूना भेटेर त्यसको र नेपालमा भेटिएको बुद्धचित्तको डीएनए तुलनात्मक अध्ययन गर्दा उस्तै भेटिएपछि यो बिरुवा १९७९ मै चाइनाबाट अर्कै नाम (जिजिपस सिआङजेनसिस) बाटै व्याख्या भइसकेको पाइएको थियो।

 कुन बिरुवा हो बुद्धचित्त ?

बुद्धचित्तलाई झट्ट हेर्दा मयल जस्तै देखिने यो बिरुवा वास्तवमा बयर जातिको एउटा प्रजाति हो। वैज्ञानिक भाषामा जिजिपस जेनेरिक नामबाट चिनिएको यो बिरुवाको प्रजाति भने अहिले जिजिपस सिआङजेनसिस स्वीकार्य नामबाटै चिनिन्छ।

नेपालबाट हामीले प्रस्ताव गरिएको नाम जिजिपस बुद्धेनसिस पर्यायवाची नामको रूपमा रहेको छ। सानो छँदा काँडा सहित झण्डै लत्रिन आँटेका लामा–लामा हाँगा हुने यसको बोट जब ठूलो हुँदै जान्छ, विस्तारै काँडा कम देखिन थाल्छ।

बढीमा यसको उचाइ ६ देखि ७ मिटरसम्म भेटिएको छ। यो वनस्पति सानो छँदा र ठूलो भइसकेपछि देखिने पातहरूको भिन्नता, रूखको प्रकृति र बीउमा पाइने रुद्राक्षको मुख जस्तो सुरहरू नै यसका अरू बयर भन्दा फरक गुणहरू हुन्। यो बिरुवा सामुद्रिक सतहबाट १२०० देखि २००० मिटरसम्म वनको आसपास फैलिएका जग्गा तथा पाखो बारीमा पाइएको छ।

यो विगतदेखि नै थियो तर केही वर्षयता निकै चर्चा, चासो र बजारको समेत माग हुँदै आएको छ। यो बिरुवा के हो भन्ने सन्दर्भमा अध्ययन, अनुसन्धानको क्रममा काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्र र रामेछाप र दोलखा जिल्लाका केही स्थानहरूमा मात्रै भेटिएको छ भने चीनको सिचुवान प्रान्तको पश्चिमतिर खोला छेउछाउमा भेटिएको छ।

 उपयोग तथा आम्दानी

यो बिरुवा विशेषगरी बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूले प्रयोगमा ल्याएको पाइएको छ। चीनमा पाइने एक प्रकारको चराको आँखाको आकृति जस्तो देखिने मुख तथा सुरहरूको आधार र फलको दानाको आकारको आधारमा यसको १०८ दाने मालालाई केही हजारदेखि चार–पाँच लाखसम्म पर्ने गरेको छ भने बिरुवा ५०० देखि १ हजार र बिरुवा उमार्नका लागि किनिने बीउ पाथीको २६ हजारदेखि ५० हजारसम्म पर्थ्यो कुनै समय। दाना जति सानो फल्यो त्यसको मूल्य त्यति नै बढी हुने गर्छ। यसले गर्दा मुरीका मुरी फल्ने एउटै रूखबाट ३६ लाख कमाइ हुनु अनौठो थिएन।

बयर जातिको भएकोले थोरै पानी पर्ने, सुख्खा, ग्रेगेटो र धेरै जसो रातो माटोमा यसको खेती राम्रो भएको पाइएको छ। रोपेको ३ देखि ४ वर्षबाटै फल दिन थाल्ने यो बिरुवालाई रोपेपछि त्यति स्याहार नभए पनि हुन्छ। खेती प्रविधिका लागि यसको बिरुवा रोपी अध्ययन कार्य जारी पनि छ।

चार पाँच वर्ष पहिला पत्र–पत्रिकामा यसको महत्वको बारेमा जानकारी बाहिर आइसकेपछि देशैभरि यसको व्यावसायिक खेती गर्ने लहर नै चल्यो। तिमाल क्षेत्र लगायत अन्य ठाउँमा पनि फल राम्रै फले र फल्ने क्रममा छन्। तर कोरोनाको बेला यसको व्यापार केही मत्थर भएको जस्तो देखिन्थ्यो। फलको व्यापारमा मुख्य भूमिका खेल्ने चीनमा बढेको कोरोना पनि यसको कारण हुन सक्छ। फलत: चाइनिज व्यापारीहरू तिमाल धाउन छाडेका थिए तर रूख काटिएको विवादसँगै अब फेरि एक पटक बुद्धचित्तले बजार तताएको छ।

 किन रुचाउँछन् चाइनिजहरूले बुद्धचित्त ?

सन् २०१५ देखि २०१९ सम्म अध्ययनको सिलसिलामा चीनमा रहँदा जहाँ जहाँ पुगिन्थ्यो त्यहाँ त्यहाँ बुद्धचित्तको व्यापार बुझ्न यो पंक्तिकार झन्डै दश ठूला शहरका माला बजार र पसल घुमेको थियो कुनै बेला। ठूलो जनसंख्या कुनै धर्ममा पनि नबाँधिएको चाइनामा बुद्धचित्तको व्यापार कहाँ र किन भइरहेको होला भन्ने जिज्ञासा मेटाउनु थियो पंक्तिकारलाई। तर उत्तर पाउन सजिलो थिएन।

थोरैले मात्रै प्रयोग गरेको भेटियो तर माला र रूखको बारेमा धेरै थोरै जानकारी भने धेरैलाई थियो। बुद्ध धर्म मान्नेले त ध्यान, जपका लागि प्रयोग गरेको देखिएको हो तर सोखले प्रयोग गर्नेको सङ्ख्या पनि कम छैन। साथमा पैसा प्रशस्त भएपछि आफ्ना देशमा पर्याप्त नपाइने बजारमा आएका नयाँ कुरा प्रयोग गरिहाल्ने चाइनिज सोखले पनि बुद्धचित्त र रुद्राक्ष जस्ता फलको व्यापार बढाउन सघाएको छ भन्न सकिन्छ।

यति हुँदाहुँदै पनि चीनका ठूला शहरमा अझै पनि कि त बुद्धचित्त मालाको उपस्थिति न्यून छ कि छँदै छैन। अर्कोतर्फ सिचुआन प्रान्तको केही ठाउँमा फाट्टफुट्ट पाइने बुद्धचित्तले ठूलो देश चीनको व्यापार धान्ने अवस्था पनि देखिंदैन। यो अर्थमा नेपालमा आउने केही वर्ष यसको व्यापार घट्ने अवस्था देखिंदैन तर चाइनाका केही ठाउँमा यसको खेती गरेको चाइनिज साथीहरूको संगतबाट जानकारीमा आएको छ।

यसो भन्दैमा सबैले यसैको खेती मात्रै गरेर भोलिका दिनमा बिक्री भएन भने कुनै बेला एलोभेराको व्यापारको अवस्था नआउला भन्न पनि सकिन्न। फेरि २०७२ सालपछि यो पंक्तिकार लगायतको टीमको खोजपछि, हल्लाखल्लापछि सुरु भएको बुद्धचित्तको खेती फल्न सुरु गरेकाले नेपालमा पनि यसको उत्पादन बढ्दो क्रममा छ। सल्यान र रुकुमका किसानले वनस्पति अनुसन्धान केन्द्र सल्यानमा मूल्य र बजारका बारेमा गरेको पटक–पटकको शोधखोजले पनि यो कुरा झल्किन्छ।

अब के गर्ने ?

हामीले विशेष खालको प्रविधिको माध्यमबाट यसको दिगो उपयोग गर्ने सन्दर्भमा ध्यान दिनुपर्दछ। यो दिगो आम्दानीको स्रोत बनोस्, यसको नर्सरीको विकास गरी नेपालको उपयुक्त ठाउँहरू कहाँ–कहाँ छन् त्यसको बारेमा समेत बृहत् अध्ययन, अनुसन्धान गर्ने, यसले जैविक महत्व तथा धार्मिक महत्व राख्ने विषयसँग पनि अध्ययन गरिनुपर्दछ।

अबको अनुसन्धान यसको मूल्य बढी हुने सानो आकार र धेरै सुर वा मुख भएका गुणस्तरयुक्त फल बनाउने वा फलाउने सन्दर्भमा ध्यान पुर्‍याउनुपर्दछ। यसको रासायनिक तत्वहरूको अध्ययन अनुसन्धान गर्ने, यो दुर्लभ जस्तै भएकोले यसको सारतत्वको सन्दर्भमा नेपालमा भएको वैज्ञानिकहरू मात्रबाट सम्भव नहुन सक्छ। त्यसवेला विदेशीहरूलाई समेत ल्याई वा विदेशमा गएर विज्ञता हासिल गरेर पनि हामीले यसको प्रमोसन गर्नुपर्दछ।

एउटा दुइटा बिरुवाले मात्रै पनि देशको अर्थतन्त्र चलायमान बनाएका थुप्रै उदाहरण छन् विश्वमा तसर्थ देशले नचिनेको बहुमूल्य बुद्धचित्त भन्ने दिन नआओस्। बेलैमा यसको बहुपक्षीय रूपमा ध्यान दिई यसको औषधीय गुण तथा अन्य गुणको सन्दर्भमा पनि कम्तीमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय एवं वनस्पति विभाग स्पष्ट हुनु नितान्त आवश्यक छ।

व्यापारको क्रममा कृषक तथा व्यापारीहरूले निकै सास्ती भोग्नु परेको खबर पनि बाक्लै सुनिन्छ यसतर्फ पनि सरकारी निकायहरूको तुरुन्त ध्यान जानु जरुरी देखिन्छ। किसानले फलाएका रूखको रक्षा गर्नु पनि सरकारको दायित्व हो। स्थानीय सरकार यसमा अझै चनाखो हुनुपर्छ। शीर्षकमा भनिए जस्तो गुण्डा र तस्करहरूले बढी चिनेको, सरकारले कमै चिनेको हुनुहुँदैन बुद्धचित्त।

अन्त्यमा, समयको गतिसँगै बुद्धचित्त जस्तै फल दिने रुद्राक्ष तथा औषधिको रूपमा प्रयोग हुने बहुमूल्य हिमाली जडीबुटी एवं सुनगाभा तथा अन्य फल जाति र अमूल्य काठ दिने रक्तचन्दन, श्रीखण्ड, अगरउड जस्ता बिरुवाको पहिले व्यापक अनुसन्धान र त्यसपछि उपयोगमा नआएका वन छेउछाउमा जमिनमा व्यावसायिक खेती मार्फत किसानहरूलाई प्रविधि हस्तान्तरण गर्न सके यो देशको अर्थतन्त्रमा आर्थिक रूपले सम्भावना बोकेका वनस्पतिहरूको पनि केही हिस्सा अवश्य रहन्थ्यो।

घिउकुमारी र स्टेभिया जस्तै बिरुवाको नाममा नेटवर्किङ गर्नेहरूलाई निरुत्साहित गरी सरकारले आर्थिक महत्वका यस्ता वनस्पतिको पहिचान गरी भ्यालु एड गर्ने, किसानसमक्ष प्राविधिक ज्ञान, न्यूनतम मूल्यमा खरिद गरिदिने वा उत्पादनका आधारमा अनुदान दिने, जडीबुटी एवं बहुमूल्य वनस्पतिको बीमा गरिदिने, जडीबुटीको उपयोग हुने साना उद्योगमा प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम लैजान र जनतासमक्ष लगिसकेका कार्यक्रमको दिगो कार्यान्वयनका लागि अब कत्ति ढिला गर्नुहुँदैन।

(डा. पाठक वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र, सल्यानको प्रमुख हुन्।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School