तलेजु भवानीसँग क्षमा प्रार्थना !

तलेजु भवानीसँग क्षमा प्रार्थना !


नेपालमा विभिन्न मठमन्दिर तथा शक्तिपीठ छन्। तीमध्ये धेरैजसो सर्वसाधारणका लागि सधैं खुल्छन् र कतिपय दैनिक ‘नित्यपूजा’ भए पनि सर्वसाधारणका लागि चाहिँ विशेष समयमा मात्र खुल्छन्। विशेष समयमा मात्र जात्रा÷मेला लाग्छन्। तिनैमध्येको एउटा हो– काठमाडौंको तलेजु भवानीको मन्दिर। यो वर्षमा एक पटक आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।

इतिहासका अनुसार, मल्ल राजाहरूकी इष्टदेवीका रूपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले सिम्रौनगढ, बाराबाट उपत्यकामा ल्याएका थिए। विशेषतः नेवार समुदायकी इष्टदेवीका रूपमा रहेको काठमाडौंको तलेजु भवानीको पहिलेको मन्दिर रत्न मल्लको पालामा बनाइएको भए पनि हालको मन्दिर भने ‘सबै जनताले नखाईकन नखाने राजा’ महिन्द्र मल्लले १६२० सालमा बनाउन लगाएका थिए। उनी, यही मन्दिरको माथिल्लो तलाबाट जनताका घरको धुरीबाट धुवाँ निस्किएको ननिस्किएको अवलोकन गर्थे। तलेजु भवानीसँग राजा जगज्योति मल्लले तान्त्रिक बलका आधारमा पासा खेलेका थिए।

 पछि, अठारौं शताब्दीका राजा जयप्रकाश मल्लले पासा खेल्ने क्रममा एक दिन भवानीलाई कुदृष्टिपूर्ण नजरले हेरेपछि उनी मन्दिरबाट एकाएक हराएकी थिइन्। उक्त घटनाबाट दुःखी भएका राजाले उनीसँग क्षमा माग्दै रोइकराइ गरेपछि बल्ल आइन्दा वर्षको एक पटक दसैंको महानवमीका दिन मात्र आउने कुरा बताइछिन्। यस्ती साक्षात् देवी तलेजु भवानीको दर्शन गर्नाले रोगव्याधिबाट मुक्ति पाइन्छ र पारिवारिक सुखशान्ति मिल्छ।

किंवदन्ती होस् वा यथार्थ होस्, यस्ता रोचक र रमाइला कुरा पढेपछि मलाई पनि परबाट देखिने तलेजु मन्दिरको भव्यता नजिकैबाट नियाल्न र भवानीको दर्शन गर्नसमेत औधि मन लागेको थियो। यसपटक असोज २५ गते महानवमीका दिन बल्ल मनको इच्छा पूरा गर्ने अवसर जुर्‍यो।

वर्षमा एक दिन खुल्ने मन्दिरमा भिडभाड हुनु स्वाभाविकैै हो। बिहान ६.१५ मा कमला र म त्यहाँ पुग्दा वसन्तपुर डबलीतिरबाट लाग्ने लाइनको पछिल्लो छेउ कुमारीमन्दिर नजिकै रहेछ। पुरुष–स्त्री दुवैथरिको एउटै लाइन। हत्तपत्त लाइनमा बसिहाल्यौं। अन्यत्रबाट लागेको लाइन कहाँसम्म थियो, थाहा भएन। लाइन व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी मात्र होइन, रेडक्रस, स्काउटका युवासमेत सक्रिय देखिन्थे।

 मन्दिर प्रवेश गर्ने भक्तजनको लामो लाइन भएको मौका पारी साउन्ड बक्सबाट भजनगीत बजाएर माग्नेहरू पनि एकदुई ठाउँ बसेका भेटिए। छ्याङ्ङ खुलेको बिहानीपखको रमाइलो मौसमलाई, मानिस र परेवाको हलका चहलपहलले झन् रमाइलो बनाएको भान हुन्थ्यो। कमला मक्ख परिरहेकी थिई। लाइनमा बस्दाका एकदुई तस्बिर पनि लियौं। मन्दिरभित्र हिन्दुलाई मात्र प्रवेश रहेछ। करिब एक घण्टाको ‘भक्तिभावपूर्ण ठिङ्ङे कसरत’ पछि मन्दिरपरिसरको मूलढोका पार गर्न सफल भइयो। अब फोटो खिच्न मनाही रहेछ। लाइनमा बसेका अशक्त र वृद्धवृद्धालाई भने छिटै दर्शन गराइने राम्रो व्यवस्था पनि रहेछ।

हाम्रो लाइन तलेजु भवानी मन्दिर दक्षिणपट्टिको प्राङ्गणमा पुग्नै लागेका थियौं। कलिलो घामले तलेजु मन्दिरलाई छोइसकेछ। आहा ! मन्दिर साँच्चै उज्यालो देखियो। अब एकैछिनमा तलेजु मन्दिरको ढोकामा पुगेर भवानीको दर्शन गर्ने प्रतीक्षामा थियौं हामी। लाइनमा बसेका सबैका अनुहारमा एकप्रकारको उल्लास र उत्सुकता देखिन्थ्यो। त्यत्तिकैमा, हामीभन्दा करिब पाँचहात पछाडि लाइनमा उभिएका एकजना गहुँगोरा युवालाई औंल्याउँदै कसैले ‘त्यही हो ! त्यही हो !’ भनेको सुनियो। सादा पोसाकका प्रहरीले उनलाई पछाडि फर्कन आग्रह गरे। पहिला उनलाई अङ्ग्रेजीबाट भनियो। त्यसपछि ‘सरी’ भन्दै नेपालीबाट पनि बुझाइयो।

 हेर्दा नेपाली जस्तै देखिने ती युवकको प्रतिक्रिया सुनिएन। गोरा वर्णका, हामीले भन्ने गरिएको मंगोलियन (गुरुङ, तामाङजस्ता लाग्ने ती युवक बौद्धमार्गी थिए होलान्) जस्ता लाग्ने अन्दाजी २२/२५ वर्षे ती युवकको हातमा सयपत्री फूलको आकर्षक गुच्छा थियो। तलमाथि तीनचार जनाबाट एकैचोटि फर्कने ‘सल्लाह÷सुझाव’ पाउँदा पनि तिनले किञ्चित् नाइनास्ति गरे क्यारे ! डेढ घण्टाभन्दा बढी समय लाइन लागेर दर्शन गर्ने छेउमै आइपुगेको बेलामा फर्काइने कुराले तिनको मन केही कुँडियो पनि होला। हामीलाई सोझो लाइन लाग्न निर्देशन दिइँदै गर्दा ती ‘पुष्पगुच्छे दर्शनार्थी’लाई भने लाइनबाटै बङ्ग्याएर मूलढोकाबाहिर निकालिसकिएको थियो। पछाडि फर्कनुपर्दाको तिनको निराशामिश्रित हाँसो अहिले पनि झलझली सम्झना आइरहेछ।

एकजना दर्शनार्थी घटेपछिको हाम्रो लाइन ठाडो भर्‍याङजस्तो खुड्किला चढ्ने ठाउँमा आइपुग्यो। शिरैमाथिको भव्य मन्दिर अब नजिकैबाट हेर्न पाउँदा मनै प्रसन्न भयो। सिँढीहरू भक्तपुरे न्यातपोलकै जस्ता लागे पनि सङ्ख्यात्मक रूपमा बढी थिए र केही ठाडा पनि। बिस्तारै चढ्यौं। दुई लाइनमा लामबद्ध दर्शनार्थीको सुविधालाई ध्यानमा राखी, आठदश जनालाई अगाडि बढ्न दिएपछि अरूलाई एकैछिन रोकाइने रहेछ। दुई लाइनको बीचमा तेस्रो लाइन बनेर विभिन्न स्थानीय टोलका बाजा टोली मिठो बाजा बजाउँदै हिँड्थे हाम्रा कान कानमै।

एकैछिन मात्र हेर्न पाउने गरी भवानीको दर्शन ग¥यौं। त्यसपछि मन्दिरलाई दाहिने पार्दै मन्दिरको पूर्वी भागको खुड्किला ओर्लेर तल आयौं। अनि, त्यही रात १०८ राँगाबोका मार हानिएको रक्तमुछेल र दुर्गन्धित आँगन (देब्रेपट्टि राँगाका टाउका राखिएको कोठातिर अनायास नजर पुर्‍याउँदै) हुँदै बाहिर आइयो। यसरी तलेजु भवानीको दर्शन गर्ने वर्षौंदेखिको मनको इच्छा पूरा भयो। तर कति टाढाबाट आएर एक घण्टाभन्दा बढी समय लाइनमा बसेर पनि तलेजु भवानीको दर्शन गर्न नपाई फर्कन बाध्य भएका ती भक्तलाई भने कसैगरी मनबाट हटाउन सकिएन। तिनैलाई लिएर अहिले पनि अनेक कुरा खेल्दै छन्।

नेपाल पहिले संविधानतः हिन्दु राष्ट्र कहलिएको थियो। पछि ‘धर्म निरपेक्ष’ बनाइयो। धर्मका नाममा संविधानमा उल्लिखित पछिल्लो शब्द केही विवादास्पद पनि भयो। तर हिन्दु राष्ट्र वा ‘धर्म निरपेक्ष’ जे भनिए पनि यहाँ पहिलेदेखि अहिलेसम्म नेपाली नेपालीबीच भावनात्मक धार्मिक सहिष्णुता छँदै छ। यहाँ, बौद्धमार्गीको भनिएको लुम्बिनी, बौद्ध तथा स्वयम्भूमा हिन्दुुहरूलाई प्रवेश निषेध गरिएको छैन। त्यहाँ गोराहरू पनि उत्तिकै रमाइरहेका हुन्छन्, कालाहरू पनि त्यत्तिकै।

हाम्रो छिमेकी देश भारतमा धार्मिक विवाद बढी हुने गर्छ। राममन्दिर–बाबरी मस्जिद विवाद लामो समयसम्म चलेको सबैलाई थाहै छ। इस्लामहरू आफ्नो धर्ममा निकै कट्टर हुन्छन् पनि भन्ने गरिन्छ। र पनि, पटना र हैदरावादस्थित जामे मस्जिदमा बिनारोकतोक प्रवेश पाइएको थियो। (बरु आफ्नै देशको घण्टाघरस्थित नेपाली जामे मस्जिदमा चाहिँ आजसम्म पसिएको छैन) वर्षका एक दिन खुल्ने आफ्नै देशको मन्दिरमा भने किन बौद्धमार्गीलाई प्रवेश निषेध गरिएको होला ?

मक्का मदिनाको मस्जिदमा हिन्दु धर्मावलम्बीलाई प्रवेश निषेध रहेको बताइन्छ। तर भ्याटिकन सिटीको चर्चमा भने जोसुकैलाई पनि प्रवेश निःशुल्क। यस्तो विरोधाभास किन भएको हो, बुझ्न सकिन्न। आआफ्नै धार्मिक मान्यता होलान्।

१४०६ मा सुल्तान शमसुद्धिनको मुसलमान सेनाले पशुपतिनाथमा आक्रमण ग¥यो। त्यसको उद्देश्य बहुमूल्य रत्न तथा धनसम्पत्ति हत्याउनु थियो। त्यसपछि पशुपतिमा ‘हिन्दुका लािग मात्र प्रवेश’को व्यवस्था गर्नुपरेको रहेछ। बिधर्मीहरूले हाम्रा मन्दिरका कलात्मक बुट्टाहरूको डिजाइन चोर्ने, टुँडालहरूमा कुँदिएका कलाको अपव्याख्या गर्ने र मौका परे मूर्ति नै चोर्न सक्ने हुँदा तिनीहरूका लागि प्रवेश निषेध गर्नु राम्रै हो।

लोभीपापीका कारण, सुरक्षा कतिपय मूर्ति चोरिएका पनि छन्। तर पशुपतिनाथभन्दा पनि पुरानो चाँगुनारायणजस्तो विश्व सम्पदा सूचीमा परेको सहरबाहिरको मन्दिरमा सबैका लागि प्रवेश खुला छ। कोही सन्काहालाई मन लाग्यो भने उसले त्यहाँका कलात्मक संरचना हातैले छोएर बिगारिदिन सक्छ किनभने त्यहाँ सुरक्षाकर्मीसमेत देखिँदैनन्। यो त हामीले हाम्रो सम्पदाको संरक्षण गर्न बेवास्ता गरेको भएन र !

धार्मिक सहिष्णुता, पर्यटन र प्रचारका कुरालाई ध्यान दिने हो भने चाहिँ हामीले तलेजुजस्ता विशेष मन्दिरलाई पनि कडा सुरक्षाका साथ सधैं खुला गर्नु उचित होला। तलेजु भवानीले पक्कै पनि ‘मेरो दर्शनका लागि आउने हिन्दुबाहेकका धर्मावलम्बीलाई प्रवेश निषेध गर’ भन्नुभएको थिएन होला। फेरि त्यस दिन दर्शन गर्न नपाई फर्कने ती युवक के वास्तवमै बौद्धमार्गी थिए ? अथवा इसाई थिए ? उनले कुनै हतियार बोकेका पनि थिएनन्। मेरो विचारमा चाहिँ ती निर्दोष श्रद्धालु भक्त थिए।

यति सम्झँदै गर्दा फेरि मनमा कुरा खेल्न थाल्छ: मानिस कुन धर्मको छ भन्ने कुरा कसरी थाहा पाइन्छ ? व्यक्तिको रूपरङ, नाक, निधार, बोली वा भाषाले ? नागरिकता, परिचयपत्र वा पासपोर्टले ? के धर्म निरपेक्षता भनेको हाम्रा कुनै पनि मन्दिरमा खास धर्मावलम्बीलाई मात्र प्रवेश गराउनु हो ? अनि यसो गर्दा, नेपाली नेपालीबीच रहेको भनिएको ‘धार्मिक सहिष्णुता’ सार्थक रहन्छ ?

हामीले हाम्रा विशेष सम्पदालाई लुकाउने कि देखाउने ? किंवदन्तीअनुसार, हराएकी तलेजुराजाले क्षमा मागेर रोइकराइ गरेपछि वर्षमा एकपटक आउने भएकी रहिछिन् ! अब क्षमापूजा गरेरै भए पनि– विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार स्क्वायरसँगैको यो भव्य मन्दिर प्रवेशका लागि निश्चित शुल्क तोकेर बाह्रै महिना खुला गर्न मिल्दैन ? हे साक्षात् तलेजु भवानी ! मैले गलत सोचेको भए क्षमा गरिदेऊ है !  

प्रकाशित: १ मंसिर २०८१ ०५:३० शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School