प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । सुरुआतमा उहाँ घरमा खानलाई मात्र तरकारीखेती गर्नुहुन्थ्यो ।
तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुट्नुभएको हो । तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उहाँ सुनाउनुहुन्छ ।
उहाँको परिवारमा १२ सदस्य छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्च चलेको छ । तरकारीखेतीमा करिब ७ लाख लगानी लाग्ने गरेको छ । मल, बीउबिजन, सिँचाइलगायतमा वार्षिक लगानी कटाएर १५ लाख बचत हुन्छ खड्का भन्नुहुन्छ ।
तरकारीखेतीमा परिवारका सदस्य सबै जुट्ने गरेका छन् । भारतमा काम गर्ने वीरबहादुरका जेठा छोरा उमेश पनि अहिले गाउँमै बुबालाई खेतीमा सघाउँदै आएका छन् । कोरोना महामारीका समयमा भारतबाट फर्किए, त्यसपछि भारत गएको छैन उमेशले भन्नुभयो ।
तरकारी खेतीमा बुबालाई सघाएरै भारतमा कमाउनेभन्दा बढी पैसा कमाइ हुन्छ ।
भारतबाट आयात हुने तरकारीका कारण आफूहरूको उत्पादनले सोचेजस्तो मूल्य नपाएको खड्का परिवारको गुनासो छ । वीरबहादुरको परिवार आलु, प्याज, भन्टा, खुर्सानी, बैगनलगायत तरकारी उत्पादनमा व्यस्त छ ।
सरकारले बर्सेनि कृषिमा अनुदान दिने गरेको भए पनि आफूहरूले अहिलेसम्म अनुदान नपाएको उहाँको गुनासो छ ।