तनाव व्यवस्थापन : एक चर्चा : RajdhaniDaily.com

तनाव व्यवस्थापन : एक चर्चा : RajdhaniDaily.com


तनाव मानिसको मस्तिष्कमा आइलाग्ने असामान्य बोझ, सन्ताप वा मानसिक दबाब हो । तनावले मानिसको मनमा चिन्ता र पीडा मात्र होइन ज्वलन नै उत्पन्न गराई व्यवहारमा परिवर्तन ल्याइदिन्छ । तनाव अनुभूति नगर्ने व्यक्ति विश्वमा बिरलै हुन्छन् । सबैले एक न एकपटक जीवनमा तनावको अनुभूति गरेकै हुन्छन् । फरक यति मात्रै हो कि कसैले क्षणिक, कसैले अल्पकालीन तथा कसैले दीर्घकालीन तनावको सामना गरेका हुन्छन् ।

सामान्य वा संवेदनशील जस्तोसुकै घटना वा गालीगलोजबाटै तनाव उत्पन्न हुन सक्छ । तनाव उत्पन्न हुने कारण असीमित र अनेकौं हुन्छन् । जीवनयापनका क्रममा हामीले गर्ने हरेक क्रियाकलाप र गतिविधिहरू सोचेअनुरूप नहुँदा क्षणिक तनाव उत्पन्न हुन सक्छ । गर्न चाहेकै कार्य असफल बन्ने अवस्था आइलागे अल्पकालीन तनाव उत्पन्न हुन सक्छ । यसैगरी दीर्घ रोग, पारिवारिक झमेला, नातेदारको मृत्यु निकटतम् व्यक्तिसँग टुटेको सम्बन्ध तथा प्राकृतिक विपत्तिबाट दीर्घकालीन तनाव उत्पन्न हुन सक्छ ।

तनावको क्षेत्र वा कारण पनि हामीले जीवनयापनका क्रममा गर्ने हरेक क्रियाकलाप र गतिविधिदेखि भोग्न बाध्य हुनैपर्ने प्राकृतिक विपत्तिसम्म फैलिएको हुन्छ । तनाव यही कारणले हुन्छ भन्नै सकिँदैन । तथापि, सामान्यतया व्यक्ति विशेषको आचरण र व्यवहारबाट उत्पन्न हुन सक्ने तनावबाहेक अधिकांश व्यक्तिमा निम्न कारणले तनाव उत्पन्न हुन्छ ।

१. कार्य असफलता
परीक्षामा असफल बन्दा, हैसियतभन्दा बढी ऋणको बोझले थिच्दा, गर्न खोजेको कार्य लथालिंग भएर बिग्रँदा तथा सँगै बाँच्ने सँगै मर्ने अठोटका साथ प्रेममा बाँधिएकै व्यक्तिले धोका दिँदा व्यक्ति आफैंले आत्महत्या गरेको वा आत्मदाह गरेको घटना हामी सबैले देखे सुनेका छौं । तनावले सीमा नाघेपछि हुने यी केही अकल्पनीय घटनाका दृष्टान्त मात्र हुन् । तनावलाई यस्तो अन्तिम बिन्दुसम्म पुग्न नदिन अपनाउनुपर्ने अन्तिम उपाय पनि तनाव नियन्त्रण नै हो । जुनसुकै कारणबाट तनाव उत्पन्न भए पनि समयमै नियन्त्रण गरिए तनावबाट कसैले पीडित बन्नुपर्दैन, जिउ ज्यानको क्षति पनि हुन पाउँदैन । गर्न खोजेको कार्य असफल बन्दा जीवनयापनमा मात्र होइन व्यक्तिकै भविष्य अन्धकारपूर्ण बन्न सक्छ । कतिपय व्यक्तिमा यसलाई सामान्य रूपमा लिने क्षमता हुन्छ भने कतिपयका लागि तनाव नै मृत्युको कारण बन्छ ।

२. प्रेम वियोग
वयस्क युवायुवती विपरीत लिंगीप्रति आकर्षित हुनु प्राकृतिक नियम नै हो । यसलाई सामान्य ठान्नुपर्छ । एकको अर्काप्रति हुने आकर्षण घनिष्ट बन्दै गए अन्ततः दुई जनाबीचको सम्बन्ध अलग्गिन नसक्ने अवस्थामा सुदृढ बन्न सक्छ । यस्तै, घनिष्टताले एक अर्कोलाई आजीवन साथ दिन पुग्छ भने कुनैलाई बीचमै टुटाइदिन्छ । आजीवन साथ रहने उद्देश्यमा विकसित भइसकेको प्रेम सम्बन्धको बाधक नै घरपरिवारकै सदस्य बने, नाता सम्बन्धकै व्यक्ति बने वा त्यही पृष्ठभूमिबाट दुई पक्षबीचको प्रेम सम्बन्ध टुटे वा कुनै एक पक्षले अर्कोलाई धोका दिए व्यक्ति दीर्घकालीन तनावले ग्रस्त बन्छ । यस्तो तनावलाई पनि हामीले समाजकै वातावरणलाई हेरेर व्यवस्थापन गर्नुपर्छ ।

३. सम्बन्ध विच्छेद
पतिपत्नीबीचको सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दै आएको छ । पतिपत्नीबीच सम्बन्ध विच्छेद हुने कारणहरू पनि अनेकौं हुन सक्छन् । तथापि, आजीवन साथ रहने उद्देश्यले पतिपत्नी बनेका व्यक्तिकै मानसिकता बदलिए, पारस्परिक विश्वास र सद्भावमा खटपट आए, एकले अर्काको चाहना नबुझे, परपुरुष वा स्त्रीप्रति आकर्षित बने तथा युवाअवस्थामै शारीरिक दुर्बलता देखापरे सो कारणबाटै दुई पक्षबीच उत्पन्न तनावले सीमा नाघेपछि सम्बन्ध विच्छेद हुन सक्छ । यस्तो अवस्थामा हुने सम्बन्ध विच्छेद पनि एक पक्षका लागि खुसियालीकै क्षण बन्न सक्छ भने अर्कोका लागि तनावकै प्रारम्भिक चरण बन्न पुग्छ । यस्तो तनाव दीर्घकालीन हुन्छ ।

आचरण र व्यवहारले नै व्यक्तिलाई अरूको नजरमा दुस्मन वा मित्र बनाउँछ

४. कलह र अशान्ति
तनाव उत्पन्न गर्ने अर्को कारण कलह र अशान्ति हो । कलह र अशान्तिको कारकतत्व पनि पारिवारिक एवं बाह्य दुवै हुन सक्छ । चिन्तामुक्त बन्ने सबैको चाहना हुन्छ । चिन्तामुक्त रहन पारिवारिक वातावरण पनि अनुकूल हुनै पर्छ । अनुकूल पारिवारिक वातावरणभित्र परिवारका सदस्यबीचको सहकार्यको एकता, अनुशासन र आज्ञापालन, काम गर्ने उत्साहित वातावरण, वैयक्तिक आचरण र व्यवहारजस्ता कुरा नै पर्छन् । व्यक्तिगत बानीव्यहोरामा र पेसासँग सम्बन्धित यिनै आधारभूत पक्षप्रति परिवारकै सदस्यमध्ये कुनैले अस्वीकार गरे, कुनै एक सदस्यको अनिच्छा क्रमशः बढ्दै गए तनावकै कारण बन्न पुग्छ । परिवारका सदस्यलाई तनावमुक्त बनाउने मुख्य हात परिवारका मुलीको भूमिकामा निर्भर रहन्छ । आफ्नो आर्थिक हैसियतले परिवारको अपेक्षा पूरा हुन नसक्ने अवस्था आए त्यही प्रसंगले परिवारमा खटपट उत्पन्न गराउँछ । यस परिस्थितिलाई परिवारकै सदस्यले बुझिदिए तथा हैसियतकै मापदण्डभित्र सीमित रही कार्य गरे मात्र तनाव पनि क्रमशः अन्त्य हुँदै जान्छ । तर, सदस्यबीचकै असमझदारी बढ्दै गए कलह र अशान्तिको जड बन्ने हुँदा यसको समयमै उपचार गर्न नसके परिवारकै सबै सदस्यहरू तनावमुक्त बन्न सक्छन् ।

५. आचरण र व्यवहार
तनाव उत्पन्न गर्ने अर्को महत्वपूर्ण कारण आचरण र व्यवहार हो । कतिपय अवस्थामा व्यक्तिकै आचरण र व्यवहार नै तनावको स्रोत बन्छ । आचरण र व्यवहार पनि सबैको समान हुँदैन । आचरण र व्यवहारले नै व्यक्तिलाई असल र खराब कार्यतर्फ उन्मुख गराइदिन्छ । आचरण र व्यवहार त्यस्तो विशेषता हो, जसले निकटतम सम्पर्कमा आउने जोसुकैलाई पनि प्रभावित बनाउँछ । व्यक्तिलाई अरूको नजरमा दुस्मन वा मित्र पनि आचरण र व्यवहारले नै बनाइदिन्छ । अपरिचित व्यक्तिलाई उतिखेरै निकट एवं आत्मीय बनाउँछ । आचरण र व्यवहारका सकारात्मक एवं नकारात्मक दुवै पक्ष हुन्छन् । सकारात्मक पक्ष नै अरूको बुझाइमा नकारात्मक बने तनावको कारण बन्छ । यसैले हाम्रो आचरण र व्यवहार अरूका लागि अनुकरणीय र प्रशंसक भए केही हदसम्म हामी तनावमुक्त बन्न सक्छौं ।

६. कुलत वा दुव्र्यसन
कुलत वा दुव्र्यसन आफैंमा तनावमय हुन्छ । यसले व्यक्तिलाई परिवारको मात्र होइन समाजकै नजरमा कलंकित बनाइदिन्छ । अरूका लागि हानिकारक मानिए पनि यसमा फसेका व्यक्ति सहजै मुक्त हुन सक्दैनन् । किनकि, कुलत वा दुव्र्यसन कमजोर आचरणबाटै उत्पन्न भएको विकृति हो । कुलतमा डुबेका व्यक्तिले त्यति सजिलै यसलाई हटाउन सक्दैनन् । कतिपय व्यक्तिले यसलाई आजीवन त्याग्न सक्दैनन् । यसलाई नियन्त्रण गर्न वा यसबाट मुक्त हुन विशेष कार्ययोजना नै बनाउनुपर्छ । कुलत र दुव्र्यसनले दिने तृप्ति अन्य कसैले नदिने हुँदा कुलतीले अपनाएको यही आदत अरूका लागि घृणित हुन्छ । अन्ततः घरपरिवारदेखि समाजले नै घृणा गर्ने भएपछि कुलती व्यक्ति नै तनावग्रस्त बन्न पुग्छ । त्यसको असर परिवारका सबैलाई पर्छ ।

अप्रत्याशित रूपमा आइलाग्ने दुखान्त एवं हृदयविदारक घटनाले तनाव बढाउँछ

७. अप्रत्याशित घटना
मानिसले जीवनमा नसोचेको र नगरेकै कार्य पनि गर्नुपर्ने हुन्छ । कल्पनै नगरेको कुरा बेहोर्नुपर्छ । कहिलेकाहीँ कहालीलाग्दो अप्रत्याशित घटनाकै सामना गर्नुपर्ने हुन्छ । अप्रत्याशित रूपमा आइलाग्ने दुखान्त एवं हृदयविदारक घटनाले हामीलाई तनावपूर्ण बनाउँछ । यस प्रकारले निम्तने तनाव भने सामान्य तथा क्षणिकै हुन्छ । तथापि, त्यस्तै घटना आफू र आफ्नै परिवार सम्बद्ध भए त्यही तनाव दीर्घकालीन हुन सक्छ । दुर्घटना, आगलागी, बाढीपहिरो, भूकम्प, रोगमहामारी, झैझगडा, हत्या, चोरी डकैती दीर्घकालीन तनावको कारकतत्व बन्न पुग्छ ।

८. स्वास्थ्य समस्या
आफ्नो वा परिवारका सदस्य तथा निकटतम् नातेदारमा देखापर्ने स्वास्थ्य समस्या सम्बन्धित व्यक्तिका लागि मात्र होइन परिवारकै सदस्यका लागि तनावको कारण बन्छ । सम्बन्धित व्यक्तिका लागि त यो जटिल समस्याकै विषय बन्छ । दीर्घ रोग क्रमशः मुटु, मिर्गौला, ब्रेन, क्यान्सर, ब्लडप्रेसर, सुगर, मानसिक सन्तुलन तथा शारीरिक आशक्तताजस्ता दीर्घरोगीहरू सम्बन्धित घरपरिवारकै लागि दीर्घकालीन तनावको कारण बन्न सक्छ । उमेरका आधारमा कतिपय व्यक्तिले यसलाई सामान्य ठान्न सक्छन् भने कतिपयले असामान्य । तर, असामान्य ठान्ने व्यक्तिकै लागि यही दीर्घरोगको समस्या पनि दीर्घकालीन तनाव बन्न पुग्छ । दीर्घरोगका कारण उत्पन्न हुने तनावलाई नै सम्बन्धित व्यक्तिले व्यवस्थापन गर्ने प्रयास गर्नुपर्छ । तनाव व्यवस्थापन गर्न नसक्ने व्यक्ति आफ्नै जीवन बोझ बनेको, यसरी बाँचिरहनुभन्दा मर्नु निको भन्ने अवस्थामा पुग्न पनि सक्छन् । यस्तै, पृष्ठभूमिबाट गाउँ समाजमा अर्को दुखान्त घटना भएको हामी सबैले देख्दैसुन्दै आएकै छौं । यही तनावलाई समयमै व्यवस्थापन गर्दै आए व्यक्तिले आफ्नै ज्यान त्याग्नुपर्ने अवस्था आउँदैन ।

९. हक अधिकारमा प्रतिबन्ध
हकअधिकार उपरको बन्देज पनि तनावको कारण बन्छ । वैयक्तिक स्वतन्त्रतासम्बन्धी बन्देज पनि अधिकांशतः आंशिक र अल्पकालीन तनाव नै हुन सक्छन् । तथापि बिरलै व्यक्तिका लागि यस्तो तनाव आजीवन रहन सक्छ । दीर्घकालीन तनाव प्रायःगरी आपराधिक कार्यसँग सम्बद्ध हुन सक्छ । यसलाई सहज ढंगले लिनसके मुक्ति पाइन्छ । अन्यथा यो मानसिक विकारकै रूपमा दीर्घकालसम्म रहन सक्छ । यसर्थ, यस्तो प्रकारले उत्पन्न हुने तनावलाई पनि हामीले सामान्य ठानी व्यवस्थापन गर्दै ल्याउनुपर्छ ।

१०. प्राकृतिक विपत्ति
यस्तो तनाव व्यक्तिको नियन्त्रण बाहिरको परिस्थितिबाट निम्तिएको हुन्छ । यस्तो तनाव प्रायःगरी बाढी, पहिरो, हिमपात, असिना पानी, आँधीबेहरी, भूकम्प, ज्वालामुखी हिमपहिरो, आगलागी र रोगव्याधीकै कारणबाट उत्पन्न हुन्छ । यस्तो तनावबाट मुक्त हुने अवस्था भनेकै सामान्य प्राकृतिक विपतिप्रति अग्रीम रूपमा अपनाउनुपर्ने सावधानी नै हो । मौसम र बसोबासस्थलको अवस्थाका आधारमा उत्पन्न हुन सक्ने प्राकृतिक विपत्तिको आँकलन समयमै गरी सावधान रहनुपर्छ । प्राकृतिक प्रकोप आइलाग्नु अगाडि नै आफ्नो बसाइको व्यवस्था, जीवनयापनको प्रक्रियालाई भरपर्दो बनाउनुपर्छ । यसर्थ, माथि उल्लिखित कारणबाट तनाव उत्पन्न हुँदा त्यसलाई कसरी व्यवस्थापन गर्ने यो सबैको चासो र सरोकारको विषय हो ।
तनावको प्रकृति र अवस्थानुसार तनाव व्यवस्थापन गर्न हामीले तत्कालै निम्न प्रक्रियाहरू अपनाउनसके केही हदसम्म हामी तनावमुक्त हुन्छौं ।
(१) तनावको कारकतत्वलाई चटक्कै बिर्सिदिने,
(२) आफू र परिवारका सदस्यलाई सम्हाल्ने,
(३) आक्रोश र उत्तेजनालाई नियन्त्रणमा लिने,
(४) विगतका दुखान्त घटना बिलकुलै स्मरण नगर्ने,
(५) केहीबेर मौन रही दिमाग ठण्डा बनाउने,
(६) हरेस नखाने वा निराश नबन्ने,
(७) विगतकै सर्वाधिक खुसीको क्षण सम्झने,
(८) मनोबल उच्च राख्ने,
(९) असल काम गर्न सक्षम छु भन्ने ठान्ने,
(१०) सम्भव भए एकाग्र भक्तिले प्रार्थना गर्ने,
(११) योग वा प्राणायाम गरी चिन्ता मुक्त बन्ने ।

उल्लिखित बुँदाहरू समष्टिगत रूपमा तनाव व्यवस्थापन गर्न उपयोगी हुने भए पनि तनावको प्राकृतिका आधारमा कतिपय अवस्थामा यस्तो कार्य गर्न असम्भव पनि हुन सक्छ । तथापि, चुनौतीपूर्ण संवेदनशील अवस्थालाई पनि धैर्यताका साथ ग्रहण गर्दै समाधानका विकल्प निकाली अगाडि बढ्ने हो भने जस्तोसुकै तनाव पनि व्यवस्थापन गर्न सकिन्छ । यो हामी सबैलाई आइलाग्ने बाध्यात्मक परिस्थिति नै हो ।

(Visited 4 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School