केही समययता सामाजिक सञ्जालमा ‘ढोग दियाँ’ शब्द ‘भाइरल’ छ। विशेष गरी टिकटकदेखि फेसबुक रिल्ससम्मका प्रयोगकर्ताले ढोग दियाँ शब्द प्रयोग गरेर भाइरल हुने ‘फन्डा’ गरिरहेका छन्।
एकातर्फ भाइरल हुने नाउमा यो शब्दलाई यसरी प्रयोग गरिरहँदा सुदूरपश्चिम क्षेत्रका सांस्कृतिक अभियन्ता तथा समुदायले भने शब्दको दुरुपयोग भएको भन्दै आलोचना पनि गरिरहेको छ।
यहाँसम्म चलिरहेको बहस पछिल्लो समय गीतसम्म पुगेको छ। सामाजिक सञ्जालमा ढोग दियाँ शब्द भाइरल भएपछि त्यही शब्द टिपेर केही कलाकारहरूले गीत नै निकालिदिएका छन्। गीत निकालिदिएपछि टिकटकमा भाइरलको लत बसेकाहरूलाई झन् सजिलो भएको छ।
अर्कातिर आदरार्थी शब्दको दुरुपयोग भएको र खिल्ली उडाइएको भन्दै सम्बन्धित क्षेत्रबाट झन् आलोचना बढेको छ।
केही दिनअघि मात्रै देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ‘ढोग दियाँ’ शब्दको दुरुपयोग भएको भन्दै आपत्ति जनाएको थियो। प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले विज्ञप्ति जारी गरेर सुदूरपश्चिमको मौलिकता, संस्कार र भाषा संस्कृतिलाई होच्याउने गीत–सङ्गीतप्रति खेद प्रकट गरेका थिए।
‘हाम्रो परम्परा मौलिकता सभ्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी दुरुपयोग तथा दिन प्रतिदिन काली कर्णालीको संस्कारको बेइज्जत हुनेगरी विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरिँदै आएका अपाच्य गीत, सङ्गीत वा सामाजिक सञ्जालमा रहेका विषयवस्तुप्रति गम्भीर आपत्ति जनाउँदछौँ’, विज्ञप्तिमा भनिएको थियो।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले पनि ‘ढोग दियाँ’ शब्दको खिल्ली उडाउनु खेदपूर्ण रहेको भन्दै आइतबार विज्ञप्ति निकालेको छ। प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीले निकालेको विज्ञप्तिमा सुदूरपश्चिमको परम्परा, मौलिकता, सभ्यता र संस्कारसँग जोडिएको ओजपूर्ण शब्द ‘ढोग दियाँ’ लाई शिष्टताको खिल्ली उडाउने र अपहेलित हुने गरी कतिपय गीत सङ्गीत र सामाजिक सञ्जालमा समेत प्रयोग गरिनु खेदपूर्ण रहेको भनेको छ।
‘सुदूरपश्चिम र कर्णालीको सेरोफेरोमा नजिकको मान्यजनलाई शिष्टाचार एवं आदरार्थी शब्दको रूपमा ‘ढोग दियाँ’ शब्द प्रयोग हुने गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अत्यन्त शिष्टाचारको शब्द हो। सबैलाई ढोग दिइँदैन। पछिल्लो समयमा कुनै जाति समुदाय र भूगोललाई अपमानित हुने गरी ‘ढोग दियाँ’ शब्द विभिन्न सामाजिक सञ्चालन, स्टेज कार्यक्रम, टिकटक र गीत सङ्गीतमा देखिनु गलत कार्य हो। यस्ता किसिमका अस्वाभाविक एवं अपमानित हुने क्रियाकलाप नगर्न नगराउन प्रतिष्ठान सम्बन्धित सबैमा अपिल गर्दछ।’
उनै आयुषकी आमा नानु टिकटक तथा सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्ति दिँदा पहिले ‘नमस्ते, ढोग दियाँ’ भन्न थालिन्। उनको सिको गर्दै सामाजिक सञ्जालको भिडले यो शब्द प्रयोग गर्न थालेको हो।
‘ढोग दियाँ’ कसरी आयो चर्चामा?
गत मङ्सिरमा चर्चित टिकटकर आयुष सिंह ठकुरी र उनकी आमा नानुबिचको जुहारी टिकटकमा भाइरल थियो। त्यो सिलसिला लामै समय चल्यो। त्यस क्रममा नानु पनि भाइरल बनिन्। विवादकै क्रममा सामाजिक सञ्जालले ‘ट्रोल’ गरेपछि आयुष र उनकी पत्नी एलिजे जमाली टिकटकबाट केही समय बाहिरिए पनि।
उनै आयुषकी आमा नानु टिकटक तथा सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्ति दिँदा पहिले ‘नमस्ते, ढोग दियाँ’ भन्न थालिन्। उनको सिको गर्दै सामाजिक सञ्जालको भिडले यो शब्द प्रयोग गर्न थालेको हो।
एक/दुई गर्दा गर्दै शब्द नै ‘ट्रोल’ हुन पुग्यो। सुदूरपश्चिमबासीले त्यो ट्रोलको विरोध गर्दागर्दै अन्य समुदायले भने त्यसबाट मनोरञ्जन लिन थाल्यो। कतिपयले भने सुदूरपश्चिमेलीलाई होच्याउने गरी पनि ढोक दियाँ शब्दलाई प्रयोग गरिरहेका छन्।
‘भ्युज’को लोभमा गीत, मान्यताको खिल्ली
यता आदरार्थी शब्द ढोग दियाँ ट्रोल गरेर सामाजिक सञ्जाल अराजक बनेको त थियो नै, अर्कातिर भाइरल शब्द पाएको मौकामा केही कलाकारले न्यूनतम मर्यादा पनि ख्याल नगरेर ‘भ्युज’को लोभमा त्यहीँ शब्द प्रयोग गरेर गीत नै बनाएर युट्युबमा हाले।
पहिलो गीत अघिल्लो साता माधव विष्टले ल्याए। उनले ल्याएको गीतमा धेरै आपत्ति गर्ने ठाउँ छैन। उनको गीतमा ‘ठुलाबडा मान्यजनलाई दर्शन छ, ढोग दियाँ’ भन्ने वाक्य प्रयोग छ। जसलाई युट्युबमा हालसम्म २४ हजारले हेरेका छन्।
त्यसपछि यही साता मात्रै कविता खत्री, खेम सेन्चुरीलगायतले ‘नमस्ते ढोग दियाँ’ बोलमा गीत निकालेका छन्। त्यही गीतमाथि अहिले सबैभन्दा बढी आलोचना भइरहेको छ। यो गीतमा प्रयोग गरेका शब्द र ढोग दियाँ शब्दको सांस्कृतिक महŒव कुनै किसिमले मेल खाँदैन। यही गीत सबैभन्दा बढी भाइरल पनि भएको छ। ६ दिनमा ११ लाख ७० हजारले हेरेका छन्।
चौतर्फी आलोचनाका बिच पनि खेम सेन्चुरी समूह रोकिएको छैन, फेरी दुई दिन अघि मात्रै यही गीतलाई ‘डिजे’ शैलीमा बनाएर ‘डिजे निरोज’ नामक आइडीबाट युट्युबमा हालिएको छ। जसलाई पनि ६५ हजारले हेरिसकेका छन्।
यसरी विवादित शैलीमा आएका गीतको प्रसारणमा रोक लगाउन सम्बन्धित क्षेत्रका सरोकारवालाले दबाब दिइरहेका छन्।
यसरी काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य भएको सुदूरपश्चिम क्षेत्रका संस्कृति विद्को बुझाइ छ। ‘संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि कारबाही हुनुपर्छ,’ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति जोशी भन्छन्।
‘ढोग दियाँ’ शब्दको अर्थ र मान्यता
‘ढोग दियाँ’ फगत शब्द मात्रै होइन। यसको गहिरो सांस्कृतिक मान्यता र सम्बन्ध छ। हो, यो अक्सर भेटको सुरुवातमा र छुट्टिँदा प्रयोग हुन्छ। ढोग सबैलाई दिइन्न। नजिकका आफन्त, नातामा ठुला वा जेठो नाता लाग्ने आफन्तलाई आदरपूर्वक दिइन्छ। ढोग दियाँ शब्दसँगै ढोग दिनेले आफ्नो मान्यजनलाई शिर निहुराएर वा दण्डवत् प्रणाम गर्दछ। यो भाव हो, मूल्य मान्यता हो, संस्कार हो, यो सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिकता पनि हो।
‘ढोग दियाँ’ शब्द भन्नै नपाउने भने नभएको उपकुलपति जोशी बताउँछन्। उनी भन्छन्, ‘बहु भाषा, बहु संस्कृतिको देशमा एक अर्काको संस्कार र संस्कृतिका राम्रा पक्ष अङ्गीकार गर्नुलाई सकारात्मक रूपमै लिनुपर्छ। सही अर्थमा प्रयोग गरे यो त झन् राम्रै कुरा हो। यसलाई सभ्यताको विकासको रूपमा लिन सकिन्छ।’
पछिल्लो समय सामाजिक सञ्जालमा छ्यापछ्याप्ती जता पनि, जसलाई पनि ‘ढोग दियाँ’ भने जस्तो सबैलाई दिइदैन्, भनिदैन्। यसैले यस्तो आदरार्थी शब्द जथाभाबी प्रयोग हुनु नै शब्दको दुरुपयोग र संस्कृतिलाई होच्याउने काम भयो भनिएको हो।
यही भनाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं भाषाविद् जोशीको पनि छ। ‘प्रणाम जस्तै हो ढोग भनेको’, जोशी भन्छन्, ‘यो अत्यन्त नजिकका मान्छेलाई दिइने कुरा हो। ढोग सबैलाई दिइँदैन। साथीभाइ लाई पनि नमस्कार गरिन्छ।’
ढोग भनेको आफ्ना नजिकका बुबा आमा, काकाकाकी, दाजुभाउजु, आफ्ना गुरुलगायत नितान्त नजिकको सम्बन्धलाई मात्र दिइने उनी बताउँछन्। ‘यी वाइह्यात गीतमा भनिएजस्तै कोही प्रेमिकालाई ढोग दिन्छन, यहाँ शब्दको दुरुपयोग गर्ने काम भएको छ,’ उनी भन्छन्।
‘ढोग दियाँ’ शब्द भन्नै नपाउने भने नभएको उपकुलपति जोशी बताउँछन्। उनी भन्छन्, ‘बहु भाषा, बहु संस्कृतिको देशमा एक अर्काको संस्कार र संस्कृतिका राम्रा पक्ष अङ्गीकार गर्नुलाई सकारात्मक रूपमै लिनुपर्छ। सही अर्थमा प्रयोग गरे यो त झन् राम्रै कुरा हो। यसलाई सभ्यताको विकासको रूपमा लिन सकिन्छ।’
तर, यसको गलत प्रयोग गर्दा संस्कृतिको अपमान हुन जाने उनको तर्क छ। ‘छमछमी नाचेको छ। प्रेमीप्रेमिकाबीच रमाइलोको शब्द बनाएको छ। एकोहोरो रटान हुन्छ–ढोग दियाँ, ढोग दियाँ। यसरी मजाक बनाइनु राम्रो हुन्न,’ उपकुलपति जोशीले भने।